३१ असार २०७७ बुधबार
अन्य

‘पञ्च आउँथे घोडामा, कांग्रेस–कम्युनिस्ट लुकिलुकी’

पहिलाे अाम निर्वाचन झल्काउने हुलाक टिकट । तस्बिर : मदन पुरस्कार पुस्तकालय

काभ्रेको धुलिखेल खर्पु स्थायी घर भएका राधाकृष्ण श्रेष्ठ हाल कोटेश्वरमा बस्छन् । ८२ वर्षीय उनी एकाबिहानै कोटेश्वर महादेवस्थान मन्दिर वरपर ‘मोर्निङ वाक’का लागि निस्कन्छन्। 

‘मर्निङ वाक’मा उनकै उमेर समूहका अरू वृद्ध पनि भेट हुन्छन् । कसरतका लागि निस्केका उनीहरू मन्दिरलाई दुई–चार फन्को लगाएपछि आफ्ना दौतरीसँग राजनीतिक गफमा मस्त हुन्छन्। 

गत मंगलबार बिहान महादेवस्थानमा भेटिएका श्रेष्ठ आफ्ना दौतरीसँग पुराना चुनावी अनुभव साटासाट गर्दै थिए । श्रेष्ठले पहिलोपटक २०१५ सालको आम निर्वाचनमा भोट हालेका थिए। 

‘भर्खरै जहानियाँ राणा शासन ढलेर प्रजातन्त्रको दियो बलेको थियो, त्यो बेला मतदान गर्न पाउँदा ठूलै युद्ध जितेसरह हुन्थ्यो,’ त्यसबेलाको चुनाव स्मरण गर्दै श्रेष्ठले भने, ‘राणा र राजाले उठाएका उम्मेदवार घोडामा आउँथे, कांग्रेस–कम्युनिस्टका उम्मेदवार लुकिछिपी राति भोट माग्न आउँथे।’ 

त्यसबेला नेपाली कांग्रेस, नेपाल राष्ट्रवादी गोर्खापरिषद्, प्रजापरिषद्, नेपाल कम्युनिस्ट पार्टी र राजा महेन्द्रको समर्थनमा रंगनाथ शर्माले दर्ता गराएको पार्टी चुनावी मैदानमा रहेको श्रेष्ठको सम्झना छ । त्यसबेला भर्खरै प्रजातन्त्र आएकाले नेता बोलीका पक्का थिए । जनताले पनि सहजै विश्वास गर्थे। 

‘चुनाव आएको कुरा पढे–लेखेका बुज्रुकबाट थाहा पाइन्थ्यो, उनीहरू कसरी भोट हाल्ने भनेर सिकाउँथे,’ उनले भने । श्रेष्ठलाई अहिलेका नेताको तुलनामा त्यसबखतका नेताहरू इमानदार भएजस्तो लाग्छ । ‘पहिलाका नेता बोलीका पक्का भएकाले जनता उनीहरूका कुरामा सहजै विश्वास गर्थे,’ उनले भने, ‘अहिलेका नेता बोलीका पक्का छैनन्, त्यसैले अचेल जनताले पत्याउँदैनन्।’ 

ऊबेलाको तुलनामा अहिलेको चुनावी प्रचारमा समेत व्यापक परिवर्तन देखिएको छ । ‘त्यस बेलाको चुनाव त अर्कै हुन्थ्यो, अहिले जस्तो नेता लावालस्कर लगाएर आउँदैनथे,’ उनले भने, ‘गाउँका चिने–गुनेका एक–दुईजना अगुवा लगाएर आउँथे ।’ उनलाई सम्झना भएअनुसार, भोट हाल्न पनि अहिलेजस्तो लाइन बस्नैपर्दैनथ्यो । मतदाता संख्या कम भएकाले जानेबित्तिकै भोट हाल्न सकिन्थ्यो। 

राधाकृष्णको जस्तै काभ्रे चौँरी देउरालीका ७२ वर्षीय शिवप्रसाद ढकालको चुनावी अनुभव पनि निकै घतलाग्दो छ । ढकालले २०२४ सालको स्थानीय निकाय निर्वाचनमा पहिलोपटक भोट हालेका थिए। 

त्यसपछिदेखि उनले हरेक निर्वाचनमा भोट हालेका छन् । त्यसबेला मुलुकमा निर्दलीय पञ्चायती व्यवस्था थियो । राजनीतिक दललाई प्रतिबन्ध गरिएकाले दलका नाममा चुनाव लड्न पाइँदैनथ्यो। 

‘त्यसबेला कुनै पार्टी भनेर चुनाव लडिँदैनथ्यो,’ उनले भने, ‘त्यसबेला युवालाई चुनावमा उठ्नै दिइन्नथ्यो, त्यसैले गाउँघरमा हालीमुहाली गर्ने नै चुनावी मैदानमा होमिन्थे।’

चुनावको खबर गाउँसम्म पुग्नै समय लाग्थ्यो, त्यसबेला । अहिलेजस्तो रेडियो, टिभी र पत्रपत्रिका छ्यापछ्याप्ती थिएनन् । रेडियो नेपाल मात्रै थियो । रेडियो किन्ने हैसियत धेरैको हुँदैनथ्यो। 

‘गाउँका मास्टरहरूले चुनाव आउँदै छ भनेर सुनाउँथे,’ उनले विगतको स्मरण गर्दै भने, ‘जुन उम्मेदवार गाउँको सिरानदेखि पुच्छारसम्म भोट माग्दै जनताको घरदैलोमा पुग्थ्यो, उसैले चुनाव जित्थ्यो।’

उनी विगतमा अहिलेजस्तो भोट किनबेच नहुने दाबी गर्छन् । ‘त्यतिबेला भोट किनबेच हुँदैनथ्यो, जनताले विश्वासकै आधारमा आफ्ना उम्मेदवारलाई भोट हाल्थे,’ उनले भने । अहिले नेताजस्तै मतदाता समेत बेइमान भइसकेको उनको दाबी छ । ‘मतदाता आफैँले मसँग यति भोट छ ? कति पैसा दिनुहुन्छ भनेर ठाडै उम्मेदवारसँग बार्गेनिङ गर्छन्,’ उनले भने, ‘वास्तवमा उनीहरूसँग आफ्नोबाहेक कसैको भोट हुँदैन।’ 

२०२८ सालमा राष्ट्रिय पञ्चायतले ‘गाउँ फर्क’ अभियान ल्यायो । ढकाल आफैँ काभ्रेको पोखरीचौँरीमा भएको वडाध्यक्ष निर्वाचनमा उम्मेदवार बनेका थिए, त्यसबेला । उनले त्यसबेला केही सीमित मतदातालाई चिया मात्रै खुवाएका थिए । अचेल भने धेरैले भोजभतेर नै लगाएको देखेर उनलाई अचम्म लाग्छ। 

‘त्यसबेला मैले ६ सय रुपैयाँले चुनावी खर्च पुर्‍याएको थिएँ,’ उनले भने, ‘अहिले त प्रतिनिधिसभा उम्मेदवारले कम्तीमा एक करोड रुपैयाँ खर्च गर्दा पनि जित्ने देखिँदैन ।’ ऊबेला उम्मेदवारले भित्तेलेखन, पर्चा–पम्लेट र हाते माइकमार्फत घरदैलो कार्यक्रमलाई चुनाव प्रचारको माध्यम बनाउँथे। 

ओखलढुंगाको चम्पादेवी स्थायी घर भएका पुण्यप्रसाद ढुंगेल अहिले काठमाडौंमा बसोबास गर्छन् । उनले पहिलोपटक २०३६ सालको जनमतसंग्रहमा मतदान गरेका थिए । त्यो बेला काठमाडौंको वाल्मीकि क्याम्पसमा अध्ययनरत उनी तीन दिन हिँडेर भोट हाल्न गएका थिए। 

५८ वर्षे ढुंगेलका अनुसार त्यो बेला निर्दलीय पञ्चायती व्यवस्थाको चुनावी प्रचार व्यापक थियो । ‘राष्ट्रिय पञ्चायतका उम्मेदवारहरू घोडा र बग्गी चढेर भोट माग्थे, पैसावालले जाँड–रक्सीको खोलो नै बगाउँथे,’ उनले भने, ‘उनीहरूको छुट्टै रवाफ हुन्थ्यो, बहुदलका उम्मेदवार भने लुकिछिपी रातको समयमा मात्रै भोट माग्न आउँथे, तिनलाई प्रहरीले पक्रिने जोखिम हुन्थ्यो।’

देशमा धेरैखाले परिवर्तन आए पनि जनताले सुख भने नपाएको उनको गुनासो छ । ‘देशमा निरंकुश पञ्चायत शासन ढलेर प्रजातन्त्र पुनर्बहाली भयो, तर जनताको इच्छा र चाहना भने अझैसम्म पूरा भएको छैन,’ उनले भने, ‘व्यवस्था फेरियो, जनताको स्तर भने जहाँको तहीँ छ।’ 

प्रकाशित: १५ मंसिर २०७४ १२:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App