coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

जेम्स र सविनाको भागी विवाह

जेम्स प्रधानले थुप्रै माया प्रेमका गीत गाएका छन् । नेपाली गायन क्षेत्रमा छुट्टै पहिचान बनाएका गायक हुन ।  उनले गाएका गीतहरु भने जस्तै उनले लभ परेर भागी विवाह नै गरेका छन् । आज भन्दा करिव २५ बर्ष अगाडि उनले काठमाडाँैकी सविना शाहीसँग भागी विवाह गरेका थिए ।

पहिलो भेट
स्कुल पढ्दादेखि नै जेम्स र सविनाको चिनजान थियो । उनीहरुले स्कुले जीवनमा मायाप्रेमका बारेमा सोचेका पनि थिएनन् । एउटै कक्षामा पढ्ने विद्यार्थी भएकाले एकआपसमा बोल्न गाह्रो थिएन । केटाकेटी उमेरमा के के भयो भयो सबै कुरा याद पनि छैन । विद्यालय स्तर पास गरेपछि उनीहरु बेग्लाबेग्लै कलेज पढ्न थाले तर कलेज छुट्टी भएपछि  एउटै बाटो भएर घर जाने गर्थे । त्यो बेलादेखि जेम्सले सविनालाई मन पराउन थाले । यसै क्रममा उनले आफ्नो प्रेम स्वीकार गर्न प्रस्ताव पनि राखे । मन परेको मान्छेलाई प्रस्ताव राख्दा उनलाई डर पनि लागेको थियो । आफ्नो प्रस्तावको उत्तर कस्तो आउला उनलाई ठूलो खुल्दुली मात्र थिएन, अस्वीकार भए आफ्नो पूरै जीवन श्यामश्वेत होला भन्ने डर पनि थियो । एक हप्तापछि उनको प्रस्तावको जवाफ आयो– यस ।
जेम्सले त्यो कुरा सुनाउँदा छेउमै रहेकी सविना मुसुमुसु हाँस्दै थिइन् । उनले थपिन्, ‘हाम्रो प्रेम दुई–तीन वर्षसम्म जारी रह्यो ।’

त्यो पहिलो उपहार
लभ पर्दा सबैभन्दा पहिला जेम्सले नै सविनालाई उपहार दिएका थिए तर के दिए भन्ने कुरा भुलेका रहेका छन् । सबिनाले नै सम्झाइन्, ‘निकै वर्ष भइसक्यो । सायद पफ्र्युमजस्तो लाग्छ । त्यतिबेला लभ पर्दा पफ्र्युम दिने चलन थियो ।’ यति भनेपछि सबिना मुसुक्क हाँसिन् ।

विवाहको सम्झना
उनीहरुको अन्तर्जातीय विवाह थियो । त्यस समय अन्तर्जातीय विवाह गर्नु निकै गाह्रो कुरा थियो । त्यसबेलाको समाजले यस किसिमको विवाह मन पराउँदैनथ्यो । जेम्स र सविनालाई परिवारले स्वीकार गर्ने कुरै थिएन । दुवैलाई घर परिवारबाट स्वीकार नहुने भएपछि जेम्सले सविनालाई भगाए । सविनालाई जेम्सले भगाएर  साथीको घरमा राखे । एक महिनापछि जेम्सका परिवारले बोलाएर दुवैलाई टीकाटालो गरिदिए । मन्दिरमा गएर सानो टीकोटालोमा बिहे सक्कियो ।

एकअर्कामा दुवै सहयोगी
सविना कन्सल्टेन्सीमा काम गर्छिन् । उनले घरको काम सबै गर्न भ्याउँदिनन् । जेम्सले उनलाई घरको काममा सघाउँछन् । जेम्सलाई अफिसको काममा सबिनाले सघाउँछिन् । ‘हामी एकअर्कामा मिलानसार छौँ,’ सबिना भन्छिन् । ‘हामी किचनमा दुवै मिलेर काम गर्छौं,  घरमा खाना पनि  मिलेर नै पकाउँछौँ किनभने खाना पकाउन म सिपालु छु,’ जेम्सले भने, ‘मलाई खानामा दुई–चार आइटम बनाउन आउँछ । दालभात, तरकारी मीठै पकाउँछु । सविनालाई चाहिँ नेपालीसँगै इटालियन बनाउन मन पर्छ ।

दुवैका मन नपर्ने बानी
दुवै जना हरेक कुरामा समहत नहुन सक्छ । त्यस्तै जेम्सलाई पनि एक दुई वटा सविनाको कुरा मन नपर्दो रहेछ । जेम्सले भने, ‘मैले भनेको कुरा मानिनन् भने रिस उठ्छ । त्यसैमा उनीसँग रिसाउँछु । उनको चाहिँ कराउने बानी छ । जसले गर्दा  उनीसँग ठाकठुक पर्छ । अरु त किन रिसाउनु र ?’
सविना भने जेम्सको काउन्टरमा भन्छिन्, ‘उहाँ कुरा नबुझी रिसाउनुहुन्छ । त्यो बानी मलाई मन पर्दैन तर रिस उठेका बेला चुपचाप बस्छु । उहाँ नै रिस मरेपछि बोलाउनुहुन्छ । खासमा मैले गल्ती गरेकै हुन्न अनि गल्ती गरेकी छैन भनेर थाहा पाएपछि उहाँ आफैँ फकाउनु हुन्छ ।’  

जेम्सका गीतको पहिलो स्रोता
गीत गाउँदा वा सुनाउँदा पहिलो स्रोता जेम्स आफैँ स्रोता बन्छन् । सुबिनालाई प्रायः सुनाउँदैनन् । ‘म मेरो गीत अरुलाई सुनाउँदिनँ,’ जेम्स भन्छन् । सविना भन्छिन्, ‘मलाई त उहाँको गीत बजार आएको निकै समयपछि मात्र सुन्न पाउँछु । कुन गीत बजार आएको छ भन्ने मलाई नै थाहा हुँदैन । गीत हिट भइसक्छ अनि मात्र सुन्न पाउँछु र थाहा हुन्छ, ए यो स्वर त उहाँको हो जस्तो लाग्छ ।’
जेम्स भन्छन्, ‘सविनालाई गीतमा त्यति चासो छैन । उनलाई घरको र अफिसको कामले फुर्सदै हुँदैन ।’ त्यसको जवाफमा सबिना भन्छिन्, ‘किन नसुन्नु ? मैले सुन्ने भनेकै उहाँका गीत हुन् । ‘म हिँडे है’ गीत अति राम्रो लाग्छ ।’

नयाँ जोडीलाई सुझाव
लामो समयसम्म जीवन बिताउनु छ भने एकअर्कामा सहकार्य गर्नुपर्ने जेम्सको सुझाव छ । एकअर्कामा विश्वास हुनु जरुरी छ । विश्वास भएन भने लामो समयसम्म घरबार नचल्न सक्छ । एकले अर्कालाई हरेक कुरामा सपोर्ट गर्ने बानी बसाल्नु पर्छ किनभने कुरा नमिले पछि कसरी जीवन अगाडि बढ्छ ? होइन त !
प्रस्तुति :भोला अधिकारी

(नागरिक परिवारबाट साभार)

प्रकाशित: १३ मंसिर २०७४ ०७:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App