coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

रोचक पौराणिक विवाह

राेशन दाहाल

नेपालमा अन्य महिनाभन्दा मंसिरमा धेरै विवाह हुने गरेको छ । विवाहलाई एक अनिवार्य धार्मिक संस्कार मानिन्छ । विवाहपछि नै महिला–पुरुषलाई दाम्पत्य जीवन सुरु गर्नका लागि कानुन र समाजले मान्यता दिन्छ ।
विवाहका बारेमा हिन्दु शास्त्रहरुमा थुप्रै रोचक प्रसङ्ग उल्लेख छन् । यस्ता पौराणिक विवाहका बारेमा पढ्दा र सुन्दा निकै अचम्म लाग्छन्, त्यस बेलाको चलन देखेर । विभिन्न शास्त्रहरुमा उल्लेख गरिएका केही वैवाहिक प्रसङ्ग यहाँ उल्लेख गरिएका छन्–

गणेश र ऋद्धिसिद्धि
शुभ कार्यहरुमा सबैभन्दा पहिला पूजा गरिने गणेश शिव र पार्वतीका छोरा हुन् । सुरुमा उनको मुखमा दुईवटा दाँत थिए । परशुरामसँग युद्ध गर्ने क्रममा एउटा दाँत भाँचिएको थियो । त्यसैले उनलाई एकदन्त पनि भनिन्छ ।

विवाहयोग्य उमेर पुगेपछि पनि उनको विवाह हुन सकिरहेको थिएन । कुनै पनि कन्या उनीसँग विवाह गर्न तयार थिएनन् । उनको टाउको हात्तीको जस्तो हुनु र एउटा मात्रै दाँत हुनु त्यसको कारण थियो ।
अरुले विवाह गरेको देख्दा उनको आत्मसम्मानमा चोट पुग्थ्यो ।

आफ्नो विवाह हुन सक्दैन भने अरुको पनि विवाह हुन नदिने उनको सोच विकसित भयो । त्यसैले उनले अन्य देवताहरुको विवाहमा बाधा उत्पन्न गर्न सुरु गरे ।
उनको सहयोग उनकै वाहन मुसोले गथ्र्यो । गणेशको आदेश मान्दै मुसोले विवाहमण्डप नष्ट गरिदिन्थ्यो । यसका कारण विवाह कार्यमा रोकावट आउँथ्यो ।
गणेशको यस कार्यबाट देवताहरु दिक्क हुन थाले । उनीहरुले यसबारे शिवसँग गुनासो गरे । स्वयं शिवसँग पनि यस समस्याको समाधान थिएन । उनले देवताहरुलाई ब्रह्माकहाँ पठाए ।
ब्रह्माले देवताहरुको गुनासो सुनेर ऋद्धि र सिद्धि नाम गरेका दुई मानसपुत्री प्रकट गरे । छोरीहरुलाई लिएर उनी गणेशकहाँ पुगे र दुवैलाई शिक्षा दिन अनुरोध गरे । यसका लागि गणेश तयार भए ।
देवताहरुको विवाह हुँदा मुसोले गणेशकहाँ खबर ल्याउँथ्यो तर ऋद्धि र सिद्धिले गणेशको ध्यान भट्काइदिन्थे र अन्य प्रसङ्ग झिकेर अल्झाउँथे । देवताहरुको विवाह सजिलैसँग पूरा हुन्थ्यो ।
पछि गणेशले यो कुरा थाहा पाए । गणेश क्रोधित हुनुभन्दा पहिल्यै ब्रह्मा उपस्थित भए र ऋद्धि र सिद्धिसँग विवाह गर्न आग्रह गरे । ब्रह्माको आग्रह मान्दै गणेशले ऋद्धि र सिद्धिसँग धुमधामका साथ विवाह गरे । उनीहरुबाट दुई छोरा जन्मिए, शुभ र लाभ ।

दशरथका तीन रानी
रावणले अधिकांश देवताहरुलाई बन्दी बनाएर उनीहरुमाथि अत्याचार गरिरहेका थिए । अयोध्याका राजा दशरथको विवाह भएर रामको जन्म हुनेछ र रामले रावणलाई मारिदिनेछन् भनेर देवताहरुलाई थाहा थियो । यो भविष्यवाणी रावणलाई पनि थाहा थियो । रावण दशरथको विवाहै हुन नदिने योजनामा थिए ।
विवाहयोग्य उमेर पुगेपछि दशरथलाई कैकय देशकी राजकुमारी कैकयीबाट विवाहको प्रस्ताव आयो । ज्योतिषहरुले विवाहका लागि दशरथ र कैकेयीको कुण्डली मिलान गरे । दशरथले कैकेयीसँग विवाह गरे भने कैकेयीकै कारण दरशथको वंश नाश हुनेछ भनेर ज्योतिषहरुले भविष्यवाणी गरे । विवाह त्यत्तिकै रोकियो ।
कैकय देशले यस अस्वीकारलाई आफ्नो देशकै बेइज्जतीको रुपमा लियो । दशरथको विवाह रोकिएपछि रावण पनि खुशी भए ।
केही समयपछि दशरथका लागि कौशल देशकी राजकुमारी कौशल्याको प्रस्ताव आयो । ज्योतिषहरुको कुण्डली मिलानमा दुई जनाको विवाह उत्तम देखियो ।
विवाह हुने तयारी हुन थाल्यो । रावणद्वारा थुनिएका देवताहरु दशरथको विवाह हुन लागेको खबर सुनेर खुशी भए । रावणले आफ्ना गुप्तचरद्वारा यो विवाहबारे थाहा पाए । उनले महाबली नाम गरेको दैत्यलाई कौशल्याको अपहरण गरेर मारिदिन अह्राए । दशरथ जन्ती लिएर कौशल्याको घरमा पुग्दा दैत्यले कौशल्याको अपहरण गरिसकेको थियो । उसले कौशल्यालाई एउटा बाक्सामा बन्द गरेर समुद्रमा फ्याँकिदियो ।
कौशल्या एकाएक हराएपछि उनको खोजी हुन थाल्यो । नभेटेपछि कौशल्याको घरका मानिसहरुले इज्जत बचाउनका लागि कौशल्याकी बहिनी सुमित्रालाई तुरुन्तै बेहुलीको रुपमा तयार गराए र गुपचुप तरिकाले विवाह गराइदिए । यो कुरा थोरै मानिसले मात्रै थाहा पाए । दशरथलाई समेत थाहा भएन ।
रावणले दशरथको टोलीलाई डुङ्गामा चढेर समुद्रबाट जाँदै गर्दा आँधीद्वारा सबैलाई तहसनहस गरिदिन दैत्यलाई अह्राए ।
एकाएक समुद्रमा आँधी आएपछि सबै जना ज्यान बचाउने कोसिसमा लागे । दशरथ र सुमित्रा एउटा ठूलो काठमा बग्दै भोलिपल्ट एउटा टापूमा गएर ठोक्किए । दशरथले उनीहरु बगेर कहाँ आइपुगे भनेर थाहा पाउन सकेनन् ।
साँझको समयमा सुमित्राले कुनै चीज टापू नजिकैबाट गइरहेको देखिन् । त्यो एउटा बाक्सा थियो । कुनै खानेकुरा पाइन्छ कि भनेर उनीहरुले त्यसलाई ताने र खोले । त्यसभित्र कौशल्या थिइन् । कौशल्या र सुमित्रा दुवैले आफूमाथि घटेको घटना दशरथलाई सुनाए । तीनै जना कोही सहयोग गर्न आउने आशमा त्यही टापूमा बस्न थाले ।
यता देवताहरुले रावणसँग जसरी पनि रामको जन्म हुने र दशरथ, कौशल्या र सुमित्रा टापुमा सहयोगको आशामा बसिरहेका छन् भनेर सुनाइदिए ।
रावणले क्रोधित हुँदै एक शक्तिशाली दैत्यलाई तीनै जनाको हत्या गर्न टापूमा पठाए । मारेको प्रमाणका रुपमा तीनै जानको आँखा निकालेर ल्याउनू भनेर आदेश दिए । मानवको रुपमा गएको दैत्यले टापूमा सुरुमा सुमित्रालाई भेट्यो । सुमित्राले दैत्यलाई दाइ भनेर सम्बोधन गरिन् । दैत्यको मनले कसैलाई पनि मार्न मानेन र उसले जनावरका आँखा लगेर रावणलाई देखायो र आफूले तीनै जनालाई मारेर आएको बतायो ।
पाँचौँ दिन टापूनजिकै एउटा डुङ्गा देखियो । दशरथले डुङ्गा चलाउने मानिसलाई बोलाएर आफ्नो परिचय दिए । आफूहरुलाई तारिदिए धेरै इनाम दिने लोभ देखाए ।
नाविकले दशरथलाई डुङ्गामा चढ्न नदिने भयो । ऊ कैकय देशको नागरिक थियो । कैकयीको बेइज्जत गरेका कारण ऊ दशरथसँग रिसाएको थियो ।
लामो समयको छलफलपछि एउटा सम्झौता भयो । जसअनुसार दशरथ सुरुमा कैकय जानेछन् र कैकेयीसँग विवाह गर्नेछन् । यसले गर्दा कैकय देशको बेइज्जतीको दाग हट्नेछ । पाँच दिनसम्म टापूमा दुःख पाएका दशरथ, सुमित्रा र कौशल्याले त्यहीँ मर्नुभन्दा कैकेयीसँग विवाह गर्नु उपयुक्त माने ।
यसरी दशरथको विवाह कैकेयीसँग पनि भयो र उनका तीन पत्नी भए ।

राधाको दुई विवाह
रावल गाउँका वृषभानु र कीर्तिकी छोरी थिइन्, राधा ।
राधा र कृष्ण बाल्यकालका घनिष्ठ साथी थिए । राधा कृष्णभन्दा जेठी थिइन् । राधाको रुपमा देवी लक्ष्मी पृथ्वीमा आएकी थिइन् । कृष्णचाहिँ विष्णुका अवतार थिए । उनीहरु सानै हुँदा ब्रह्माले उनीहरुको विवाह गराएका थिए ।
नन्दबाबा आफ्नो छोरा कृष्णलाई बोकेर भण्डीर गाउँ लाने गर्थे । एक दिन नन्द बाबाले कृष्णलाई खेलाउँदै गर्दा एकाएक चम्किलो रोशनीका साथमा आँधी आयो ।
एकैछिनमा वरिपरि अँध्यारो छायो । नन्द बाबाले आध्यात्मिक गहनताको अनुभव गरे । त्यो शक्ति राधाको उपस्थितिको कारण थियो भनेर गर्ग संहितामा उल्लेख छ ।
राधा आएपछि कृष्णले किशोर रुप धारण गरे । त्यही बेला भण्डीरको जङ्गलमा ललिता र विशाखाको उपस्थितिमा ब्रह्माले कृष्ण र राधाको विवाह गराइदिए ।
विवाह सकिनेबित्तिकै वातावरण पहिलाकै जस्तो भयो । राधा, ब्रह्मा, ललिता र विशाखा अन्तर्धान भए । कृष्ण बाल्यावस्थामै फर्किए ।
कंसले कृष्णलाई मथुरामा बोलाएपछि राधा र कृष्ण छुट्टिए । मथुरा जानुभन्दा पहिला श्रीकृष्णले राधालाई भेटेका थिए ।
पछि जतिला नाम गरेकी गोपिनीका छोरा अभिमन्युसँग राधाको विवाह भयो । राधाका बुबा वृषभानुले उनको विवाह गराइदिएका थिए । यो विवाह योगमायाको प्रभावका कारण भएको थियो र योगमायाकै प्रभावले अभिमन्युले राधालाई कहिल्यै छुनसमेत सकेनन् । अभिमन्यु सधैँ आफ्नो दैनिक कार्यमा अति व्यस्त हुन्थे र लाजका कारण पनि उनले राधासँग कुरा गर्न सक्दैनथे ।
पछि राधा र कृष्णको द्वारिकामा भेट भयो । राधालाई त्यहाँ कसैले चिन्दैन थियो । राधाकै अनुरोधमा श्रीकृष्णले उनलाई देविकाका रुपमा महलमा नियुक्त गरे । राधा दिनभरि महलमै बसेर मौका मिल्नेबित्तिकै श्रीकृष्णको दर्शन गर्थिन् ।
एक दिन राधा महलबाट टाढा गइन् । श्रीकृष्ण उनी भएको ठाउँमा पुगे । त्यो भेट नै उनीहरुबीचको अन्तिम मिलन थियो । राधाले आफ्नो प्राण छोड्दै थिइन् । श्रीकृष्णले अन्तिम समयमा केही माग्न चाहन्छौ भनेर सोध्दा राधाले श्रीकृष्णलाई बाँसुरी बजाइरहेको देख्न चाहन्छु भनिन् ।
उनले कृष्णको बाँसुरीको धुन सुन्दै शरीर त्यागिदिइन् ।


कालिदास र विद्योत्तमा
विद्योत्तमा राजकुमारी थिइन् । उनले आफूलाई शास्त्रार्थमा हराउने व्यक्तिसँग मात्रै विवाह गर्नेछु भनेर प्रतिज्ञा गरेकी थिइन् । उनले अहिलेसम्म सबै विद्वानहरुलाई शास्त्रार्थमा हराइसकेकी थिइन् । विद्वानहरु आफ्नो अपमान भएकोमा विद्योत्तमासँग दुःखी थिए । त्यसैको बदला लिन केही विद्वानहरुले मूर्ख मानिने कालिदासँग शास्त्रार्थका लागि विद्योत्तमाको भेट गराए ।
विद्योत्तमाले इशारा गरेर गहिरो प्रश्न सोध्थिन् । कालिदास मौन सङ्केतद्वारा उत्तर दिन्थे । कालिदासले गहिरो उत्तर दिइरहेका छन् भन्ने विद्योत्तमालाई लाग्थ्यो ।
यसै क्रममा विद्योत्तमाले खुल्ला हात देखाएर इशाराले प्रश्न सोधिन् । कालिदासलाई विद्योत्तमाले आफूलाई थप्पड हान्ने धम्की दिइरहेकी छिन् भन्ने लाग्यो । उनले आफ्नो मुड्की देखाए । विद्योत्तमाले कालिदास पाँचै इन्द्रियहरु अलग भए पनि सबै एक मनद्वारा सञ्चालित छन् भनेर उत्तर दिइरहेका छन् भन्ने बुझिन् ।
अन्त्यमा कालिदास र विद्योत्तमाबीच विवाह सम्पन्न भयो । विद्योत्तमाले पछि कालिदास अनपढ छन् भनेर थाहा पाइन् । उनले कालिदासलाई विद्वान नबनी घर नआउनू भनेर गाली गरिन् । विद्वान बनेर आएमा मात्र आफूले स्वीकार गर्ने बताइन् ।
पछि कालिदास विद्वान बनेर फर्किए । उनले विद्योत्तमालाई पत्नी मानेनन्, बरु सही बाटो देखाएकोमा गुरु माने ।

साम्ब र लक्ष्मणा
श्रीकृष्णका मुख्य आठ जना पत्नीहरुमध्ये जाम्बवती एक थिइन् । उनको एक छोराको नाम थियो, साम्ब । साम्ब दुर्योधन र भानुमतीबाट जन्मिएकी कन्या लक्ष्मणालाई मन पराउँथे । लक्ष्मणा पनि साम्बलाई मन पराउँथिन् । दुवैको मिलनमा बाधा थिए, दुर्योधन । उनी आफ्नी छोरीको विवाह श्रीकृष्णको छोरासँग गराउन चाहदैन थिए ।
एक दिन साम्बले लक्ष्मणालाई आफ्नो रथमा राखेर भगाए । कौरवहरुले साम्बले लक्ष्मणालाई भगाएको थाहा पाए र युद्ध गरेर साम्बलाई बन्दी बनाए ।
बलराम समस्या समाधान गर्ने उद्देश्यले हस्तिनापुर पुगे ।
उनले साम्ब र लक्ष्मणालाई बिदाइ गर्न अनुरोध गरे तर कौरवहरुले मानेनन् । बलरामले क्रोधित हुँदै हस्तिनापुरलाई गंगामा डुबाइदिन थाले । कौरवहरुको बीचमा हाहाकार मच्चियो र सबैले बलरामसँग माफी मागे ।
उनीहरुले साम्ब र लक्ष्मणालाई बिदा गरे । द्वारिकामा साम्ब र लक्ष्मणाको वैदिक रीतिले विवाह सम्पन्न भयो ।

रेवती र बलराम
सत्ययुगको कुरा हो । राजा रेवतकी छोरी थिइन्, रेवती । उनका लागि सुयोग्य वर भेटिइरहेको थिएन । छोरीका लागि वर नपाएकोमा रेवत चिन्तित थिए ।
आफ्नो दुःखेसो पोख्न उनी छोरीलाई लिएर ब्रह्मलोक पुगे । त्यहाँ त्यस बेला वेदपाठ चलिरहेको थियो । वेदपाठ सकिएपछि ब्रह्मालाई रेवतले आफ्नो चिन्ताका बारेमा बताए ।
ब्रह्माले उत्तर दिए, ‘तपाईं यहाँ रहुञ्जेलमा सत्य र त्रेतायुग सकिएर पृथ्वीमा द्वापरयुग चलिरहेको छ । तपार्इंका सम्बन्धीहरु अब कोही पनि बाँकी छैनन् । त्यहाँ विष्णु भगवान्ले श्रीकृष्णको रुपमा अवतार लिनुभएको छ । उहाँका दाइ बलराम पनि त्यहाँ छन् । उनी शेषनागका अवतार हुन् । तपाईंले छोरीका लागि बलरामजस्तो सुयोग्य वर पाउन सक्नुहुन्न । त्यसैले रेवतीको विवाह बलरामसँग गरिदिनुहोस् ।’
रेवतले बलरामलाई भेटे र ब्रह्मासँग भएको कुराकानीका बारेमा सुनाए तर एउटा समस्या उत्पन्न भयो । सत्ययुगमा मान्छेको उचाई एक्काइस हातको हुन्थ्यो । त्रेतायुगमा मानिस चौध हात र द्वापरयुगमा सात हातको हुन्थ्यो । त्यसैले रेवती बलरामभन्दा धेरै अग्ली भइन् ।
समस्या समाधान गर्नका लागि बलरामले आफ्नो हलोले रेवतीलाई माथिबाट ताने । रेवती घटिन् । उनीहरु दुईको बीचमा विवाह सम्पन्न भयो । यति हुँदा पनि बलरामभन्दा रेवती अग्ली नै देखिइन् । भनिन्छ, यही कारणले अहिले पृथ्वीमा बलराम र रेवती सँगै बसेका मूर्तिहरु भेटिँदैनन् ।

नल र दमयन्ती
विदर्भ देशमा भीष्मक नामक राजाले राज्य गरिरहेका थिए । उनकी छोरी थिइन्, दमयन्ती । अति सुन्दरताका कारण देवताहरु पनि उनीसँग विवाह गर्ने इच्छा राख्थे ।
अर्को एउटा देश थियो, निषध । त्यस देशका राजा वीरसेनका छोरा थिए, नल । उनी न्यायप्रेमी राजा थिए । उनको चर्चा टाढाटाढासम्म फैलिएको थियो ।
नलका बारेमा दमयन्ती र दमयन्तीका बारेमा नलले सुने । उनीहरु आपसमा मोहित बने र प्रेममा डुब्दै गए । जसका बारेमा देवताहरुले पनि थाहा पाए ।
राजा भीष्मकले दमयन्तीको स्वयंवर कार्यक्रम आयोजना गरे । देवताहरु पनि नलको भेष बनाएर कार्यक्रममा पुगे । धेरै अनुहार भएका नल कार्यक्रममा देखिएपछि सबै अचम्ममा परे । दमयन्ती भने आश्चर्यमा परिनन् । उनलाई देवताहरुको खुट्टाले जमिन छुँदैन भन्ने थाहा थियो । त्यसैका आधारमा उनले नललाई चिनिन् र माला लगाइदिइन् ।
उनीहरुबाट एउटा छोरी र एक छोरा जन्मिए ।
हनुमान र सुर्वचला
हनुमानको पहिलो विवाह सूर्यकी छोरी सुर्वचलासँग भएको थियो । यो विवाह उनले सूर्यबाट सबै ज्ञान प्राप्त गर्नका लागि गरेका थिए ।
सूर्यदेवसँग नौ खालका विद्या थिए । हनुमान ती सबै सिक्न चाहन्थे । उनले सूर्यलाई आफ्नो गुरु बनाए । सूर्यले उनलाई पाँच प्रकारका विद्या सिकाए । बाँकी ४ वटा विद्या सिक्ने शिष्य विवाहित हुनुपथ्र्यो । हनुमान बाल ब्रह्माचारी थिए । यस समस्याको समाधान गर्दै सूर्यले हनुमानसँग विवाह गर्न भने । सुरुमा त हनुमानले मानेका थिएनन् तर पछि बाँकी विद्या पाउनका लागि विवाह गर्न स्वीकार गरे । कन्या खोज्ने क्रम सुवर्चलामा आएर टुङ्गियो । सूर्यले विवाहपछि पनि हनुमान ब्रह्मचारी नै रहने र सुवर्चला फेरि तपस्यामा लीन हुने बताए । दुईको बीचमा विवाह सम्पन्न भयो । विवाहपछि सुवर्चला तपस्यामा लीन भइन् र हनुमानले बाँकी चार विद्या प्राप्त गरे ।
पछि उनको विवाह सत्यवती र अंगकुसुमासँग पनि भयो ।
हनुमान सामान्य जीवनदेखि कहिल्यै खुसी थिएनन् । उनको जीवनको उद्देश्य परमार्थ प्राप्त गर्नु थियो । तीन विवाह भएपछि उनी सधैँ ब्रह्मचारी रहे । उनलाई बालब्रह्माचारी पनि भनिन्छ । उनी राजपाट, सुख, भोगविलास सबै छाडेर वनमा दुःख–कष्ट सहँदै राम नाममा डुबिरहे ।

विश्वामित्र र मेनका
महर्षि विश्वामित्र वनमा कठोर तपस्यामा लीन थिए । कसैले उनको तपस्याको सूचना इन्द्रलोकमा पु¥याइदियो । इन्द्रलाई साधनाको बलमा कतै विश्वामित्रले आफ्नो अस्तित्व नै सङ्कटमा पारिदिने हो कि भन्ने डर भयो । तपस्याका कारण विश्वामित्र सबै देवताहरुको प्रमुख बन्लान् भन्ने डर इन्द्रलाई थियो ।
इन्द्रले विश्वामित्रको तपस्या भङ्ग गर्ने योजना बनाए र स्वर्गकी अप्सरामध्येकी एक मेनकालाई बोलाएर मृत्युलोकमा मानव शरीर धारण गरेर बस्न आदेश दिए । पृथ्वीमा मेनकाको काम विश्वामित्रलाई आफूतिर आकर्षित गरेर उनको तपस्या भङ्ग गर्नु थियो ।
मेनका आकर्षक शरीरका साथ विश्वामित्रको अगाडि उपस्थित भइन् । उनले विश्वामित्रको ध्यान भङ्ग गर्ने सक्दो कोसिस गरिन् ।
मौका पाउनेबित्तिकै उनी ऋषिका आँखाले देखिने ठाउँमा उपस्थित हुन्थिन् । हावा लाग्दा आफ्ना लुगा उड्न दिन्थिन् । विश्वामित्रको शरीर तपको कारण कठोर बनिसकेको थियो । उनमा कुनै खालको भावना थिएन । तर मेनकाको प्रयासले विश्वामित्र बिस्तारै बदलिँदै गए ।
उनी मेनकाको प्रेममा पूरै डुबे । उनको तपस्या भङ्ग भयो ।
विश्वामित्रले फेरि तपस्या सुरु गर्न सक्छन् भन्ने लागेर मेनका इन्द्रलोक फर्किनन् । वर्षौंसम्म उनीहरु सँगै बसे । मेनकाले एउटी कन्या जन्माइन् । कन्या जन्माएको केही समयपछि रातको समयमा उनी इन्द्रलोकको यादका कारण त्यतै फर्किन् ।
विश्वामित्रले कन्यालाई रातको समयमा कण्व ऋषिको आश्रममा लगेर छोडिदिए । तिनै कन्या पछि शकुन्तलाको रुपमा चर्चित भइन् र सम्राट दुष्यन्तसँग प्रेम विवाह गरिन् । उनीहरुका छोरा जन्मिए, भरत ।

ब्रह्मा र सरस्वती
सरस्वती ब्रह्माकै छोरी थिइन् । उनकी आमा थिइनन् । ब्रह्माले आफ्नै योगबलले सरस्वतीलाई जन्माएका थिए । हुन त उनले सान्ध्य र ब्राह्मीलाई पनि जन्माएका थिए, तर सरस्वती अति आकर्षक थिइन् । ब्रह्माले सरस्वतीको आकर्षणबाट आफूलाई बचाउन सकेनन् । आफ्नी अर्धाङ्गिनी बनाउने विचार गरे । सरस्वतीले आफ्ना बुबाको मनोभावना बुझिन् र लुक्ने प्रयास गरिन् । उनको हरेक प्रयास खेर गयो । विवश भएर उनले आफ्नो बुबासँग विवाह गर्नुप¥यो । उनी ब्रह्मासँग करिब एक सय वर्षासम्म जङ्गलमा पत्नीको रुपमा बसिन् । उनीहरुबाट एउटा छोरा जन्मियो, स्वयम्भू मनु । मनुलाई पृथ्वीमा जन्म लिने पहिलो मानव मानिन्छ ।

दुर्योधन र भानुमती
भानुमती कम्बोजका राजा चन्द्रवर्माकी छोरी थिइन् । राजाले आफ्नी छोरीको विवाहका लागि स्वयंवर कार्यक्रम राखे । कार्यक्रममा शिशुपाल, जरासन्ध, रुक्मि, वक्र, दुर्योधन, कर्ण लगायतका राजाहरुलाई बोलाइयो ।
भानुमती हातमा माला लिएर दासी र अङ्गरक्षकहरुका साथमा दरबारमा आइन् । दुर्योधन उनलाई देखेर मोहित भए ।
भानुमती दुर्योधनको सामुन्ने हुँदै अगाडि बढिन् । दुर्योधनले यस्तो सहन सकेनन् र भानुमतीतिर झम्टिँदै जबर्जस्ती वरमाला आफ्नो घाँटीमा लगाए । अन्य राजाहरुले उनको विरोध गरे । दुर्योधनले कर्णलाई अगाडि सारे ।
जरासन्धको र कर्णको बीचमा २१ दिनसम्म युद्ध भयो । जरासन्ध पनि भानुमतीलाई आफ्नी पत्नी बनाउन चाहन्थे । युद्धमा जरासन्धलाई कर्णले हराए । जरासन्धले पहिलोपटक हारेका थिए ।
भीष्मपितामहले पनि अम्बिका र अम्बालिकालाई हरण गरेर ल्याएको प्रसङ्ग सुनाएर दुर्योधनले भानुमतीलाई आफूसँग विवाहका लागि राजी गराए । उनीहरुबाट दुई सन्तान जन्मिए । लक्ष्मण र लक्ष्मणा । लक्ष्मण महाभारतयुद्धमा अभिमन्युद्वारा मरे भने लक्ष्मणालाई श्रीकृष्ण र जाम्बवतीका छोरा साम्बले अपहरण गरेर विवाह गरे ।

अभिमन्यु र वत्सला
वत्सला बलरामकी छोरी थिइन् । बलराम आफ्नी छोरीको विवाह दुर्योधनका छोरा लक्ष्मणसँग गराइदिन चाहन्थे । वत्सला भने अर्जुन र सुभद्राका छोरा अभिमन्युसँग प्रेम गर्थिन् । अभिमन्यु सानैदेखि मामाघरमा बसेका थिए । अभिमन्युले पनि वत्सलालाई मन पराउँथे ।
वत्सलालाई पाउनका लागि अभिमन्युले घटोत्कचको सहायता लिए । घटोत्कचले लक्ष्मणलाई डर देखाए । डरकै कारण लक्ष्मणले जीवनभरि विवाह गर्दिनँ भनेर कसम खाए ।
अभिमन्युले वत्सलाको हरण गरे । अन्त्यमा उनीहरुको विवाह भयो ।

तुलसी र शंखचूड
दम्भ नाम गरेका दानवका राजा थिए । उनी विष्णुभक्त थिए । लामो समयसम्म पनि छोरा नजन्मिएपछि उनले दैत्यहरुका गुरु शुक्राचार्यलाई गुरु बनाएर मन्त्र प्राप्त गरे र त्यो मन्त्र लिएर घोर तपस्या गरे ।
उनको लामो समयको तपस्याबाट खुसी हुँदै विष्णु प्रकट भए र छोरा प्राप्त हुने वरदान दिए ।
अर्कोतिर श्रीकृष्णको पार्षदहरुका अग्रणी सुदामा नाम गरेका एक गोप थिए । उनलाई राधाले असुर योनीमा जन्म लिने श्राप दिएकी थिइन् । तिनै गोप यस बेला दम्भको छोराको रुपमा जन्मिए । उनको नाम शंखचूड राखियो ।
हुर्किएपछि शंखचूडले ब्राह्मालाई खुसी बनाउनका लागि तपस्या गरे । उनको घोर तपस्याबाट ब्रह्मा खुसी भएर वर माग्न भने ।
‘म देवताहरुमा अजेय बनूँ,’ शंखचूडले वर मागे ।
ब्रह्माले वर दिँदै बद्रीवनमा जाऊ र त्यहाँ धर्मध्वजकी छोरी तुलसीले तपस्या गरिरहेकी छन्, उनीसँग विवाह गर भनेर सल्लाह दिए ।
उनीहरुबीच गान्धर्व विवाह भयो । शंखचूड र तुलसी खुसीसाथ जीवन बिताउन थाले ।
शंखचूडले आफ्नो पराक्रम देखाउँदै र ब्रह्माले दिएको वरदानको बलमा देवता, राक्षसलगायत सबै प्राणीलाई जिते ।
स्वर्ग शंखचूडले खोसेपछि देवताहरु ब्रह्मासँग सहयोग माग्न गए । ब्रह्माले आफैँले वरदान दिएको हुनाले त्यसका लागि उपाय निकालेनन् र उनीसहित देवताहरु विष्णुकहाँ पुगे ।
विष्णुले शंखचूडको मृत्यु शिवको त्रिशूलबाट हुने बताएपछि सबै देवताहरु शिवलाई भेट्न पुगे ।
शिवले चित्ररथ नामक गणलाई आफ्नो दूत बनाएर शंखचूडकहाँ पठाए र देवताहरुको राज्य फिर्ता दिन भने । शंखचूड महादेवसँग युद्ध गर्नसमेत पछि नहट्ने भए ।
देवता र दानवहरुहरुको बीचमा लामो समयसम्म युद्ध चलिह्यो ।
अन्तिममा शिवले शंखचूडको वध गर्नका लागि आफ्नो त्रिशूल उठाए । त्यही बेला शंखचूडको हातमा श्रीहरिको कवच भएकाले र उनको पत्नीको सतिङ्खव अखण्डित भएकाले उनको वध सम्भव नभएको आकाशवाणी भयो ।
विष्णुले वृद्ध ब्राह्मण बनेर शंखचूडसँग कवच दानमा मागे । शंखचूडले दान दिए । त्यसपछि विष्णु शंखचूडको रुप धारण गरेर तुलसीकहाँ पुगे ।
त्यहाँ उनले तुलसीको सतिङ्खव भङ्ग गरे । तुलसीको सतिङ्खव भङ्ग हुनेबित्तिकै शिवले त्रिशूल प्रहार गरेर शंखचूडको वध गरे ।
यता तुलसीले नक्कली शंखचूडलाई चिनिन् । विष्णु आफ्नो मूल स्वरुपमा आए । तुलसीले विष्णुलाई श्राप दिइन्, “तपाईंले छल गरेर मेरो धर्म नष्ट गर्नुभयो । मेरो श्रापका कारण अब तपाईं पत्थर बनेर पृथ्वीमा रहनुपर्नेछ । यही श्रापका कारण विष्णुले शालिग्राम हुनुपर्यो ।

 

प्रकाशित: ९ मंसिर २०७४ ०७:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App