२८ असार २०७७ आइतबार
अन्य

सहज र सुलभ बनाऊँ क्यान्सर उपचार

नेपालमा सहरहरू थपिँदैछन्, सहरीया जीवनशैलीले आकार लिँदैछ र स्वास्थ्य सेवामा आएका सकारात्मक परिवर्तनहरूका कारण मानिसको आयु पनि बढ्दै गएको छ । सहर बजार बढ्दै जानु भनेको भौतिक पूर्वाधारको विकास हुनु, उद्यम तथा व्यापार बढ्नु हो । सहर बजारमा शिक्षा, स्वास्थ्य सेवाका अवसरहरू हुने भएकाले त्यहाँ बस्नेहरूको संख्या बढ्दै जान्छ । सहरिया बढ्दै जानु र नागरिक धेरै वर्षसम्म जीवित रहनु राम्रो पक्ष हो तर यसको अर्को पाटो पनि छ । त्यो हो, सहरिया जीवन शैली, मुटुरोग, क्यान्सरजस्ता रोगहरूको खानी हो भने बुढ्यौलीसँगै यी रोगको खतरा पनि बढ्दै जान्छ ।
रोग लाग्नु एउटा कुरा हो । रोग लागेपछि त्यसको उपचार हुन्छ । अहिलेको विश्वमा विकास भएका प्रविधि र उपचारमा भएका आविष्कारहरूले धेरै रोगबाट मानिसलाई बचाउँछ । हामीकहाँ पनि त्यस्ता प्रविधि छन् तर सबैभन्दा ठूलो कुरा उपचारबाट सम्भव क्यान्सरलाई भाग्यको खेल ठान्नेहरू धेरै छन् । चिकित्सकहरुका अनुसार क्यान्सरसँग भाग्यभन्दा मानिसको जीवनशैली र व्यवहारको प्रत्यक्ष सम्बन्ध छ । क्यान्सरका अधिकांश विरामीमा आत्मविश्वास र बाँच्ने आशाको बलमा रोकथाम गर्न सकिन्छ ।
विश्व क्यान्सर अनुसन्धान कोष गरेको अध्ययनले दैनिक खाद्य परिकार राम्रोसँग निरीक्षण र परीक्षण गरेर मात्रै खाने गरेमा क्यान्सरको जोखिमलाई ३० देखि ४० प्रतिशतसम्म कम गर्न सकिन्छ । विज्ञहरू विषादीयुक्त खानेकुरा क्यान्सरको प्रमुख कारण मान्न थालेका छन् । यस्तो हो भने राज्यले विषादी प्रयोगमा नियन्त्रणकारी नीति लिन आवश्यक छ । उपचारका लागि आवश्यक श्रोत साधनको व्यवस्था राज्यको कर्तव्य हो भने पैसाको रोगहरूका कारण तत्व पत्ता लगाएर तीनको नियन्त्रण पनि उत्तिकै आवश्यक छ । सहरी जीवनको माग पूरा गर्न विषादी र विभिन्न खाले औषधि प्रयोग गरेर फलाएका तरकारी फलफूल बजारमा ल्याइन्छ, त्यही सामग्री आम उपभोक्ताले किन्छन्, प्रयोग गर्छन् ।
स्वस्थ एवं सन्तुलित भोजन खाने, शारीरिक व्यायाम गर्ने र धूमपानमुक्त भएमा ६० देखि ७० प्रतिशतसम्म क्यान्सरको खतरा घटाउन सकिने मान्यता छ । अनुसन्धानले ९० प्रतिशत क्यान्सरको कारण धूमपान, सूर्ति, अस्वस्थकर खानपान, रहनसहन र वातावरणीय प्रभाव मानेको छ, १० प्रतिशत क्यान्सर शरीरको आन्तरिक वा वंशाणुगत कारणले हुन्छ । विकिरण, व्यावसायिक प्रदूषण, भाइरस, परजीवी, सरसफाईमा कमी, वंशाणुगत कारण, शारीरिक दुर्वलतालाई पनि क्यान्सरको कारण मानिन्छ । नेपालमा फोक्सो, पेट, आमासय, मुख, पाठेघरको मुख, प्रोस्टेट, स्तनको क्यान्सर बढी हुने गरेका छन् । पाठेघरको क्यान्सर र पुरूषमा फोक्सोको क्यान्सर बढी  देखिएको छ ।  
क्यान्सर रोगका पछाडि अस्वस्थ खानेकुरा र वातावरण प्रमुख कारण मानिन्छ । यसको अर्थ यस्ता मामलामा राज्य बढी जिम्मेवार छ । कृषि उत्पादन कसरी भइरहेको छ, किसानले जानेर–नजानेर कसरी बालीनाली, तरकारी, फलफूल उत्पादन गरिरहेका छन् ? विदेशबाट कस्ता सामान आयात भइरहेका छन् ? यस्ता कुरा गम्भीरताका साथ खोजबिन गरिँदैन । ३/४ वर्षअघि काठमाडौंमा भित्रने तरकारीको परीक्षणको व्यापक प्रचार गरिएको थियो । परीक्षणका क्रममा अधिकांश तरकारीहरूमा आवश्यकताभन्दा बढी विषादीको मात्रा रहेका समाचारहरू छाएका थिए ।  केही महिनाको हल्लीखल्लीपछि त्यस्तो परीक्षणमा शिथिलता देखिएको छ र तरकारीको विषादी परीक्षण गर्ने मेसिन र औजारहरू नै पुरानो भएकाले त्यसबाट धेरै काम नहुने बुझाइ छ । राज्यको दायित्व आमनागरिकले  गुणस्तरीय खाद्य वस्तु, तेल–घिउ, तरकारी, माछा, मासु उपयोग गर्न पाउनु उनीहरूको अधिकार हो । त्यसका लागि विषादी मापन गर्ने आधुनिक प्रविधि सहितको व्यवस्था आवश्यक हुन्छ ।
राज्यले मुलुकभर गुणस्तरीय उपभोग्य वस्तु आपूर्तिको व्यवस्था र राम्रो स्वास्थ्य जाँचको व्यवस्था गर्नुपर्छ । आम नागरिकमा पनि आफ्नो शरीर बेलाबेलामा चेकजाँच गर्न आवश्यक छ भन्ने बुझाइ आवश्यक हुन्छ । हामीकहाँ जनताको स्वास्थ्य चेतनाको तह निकै तल छ भने राजधानी र सीमित ठूला सहरमा बाहेक अन्यन्त्र राम्रा ल्याबहरू, राम्रा प्राविधिक, चिकित्कको अभाव छ ।
नेपालमा सुरु र दोश्रो चरणका क्यान्सर पूर्ण निको हुन्छन् भने त्योभन्दा पछिल्लो चरणमा पुगेका बिरामीहरुको जीवन लम्ब्याउन सम्भव देखिन्छ तर हामीकहाँ रोगले सारो पारेपछि मात्र चिकित्सककहाँ पुग्ने प्रवृत्ति छ । यसो हुनुका पछाडि स्वास्थ्य चेतनाको कमी हो र स्वास्थ्य सेवाको सीमितता पनि कारक हो ।
महिलाहरूमा सबैभन्दा बढी हुने स्तन र पाठेघरको मुखको क्यान्सर नियमित चेकजाँच गर्दा पत्ता लगाउन र उपचार गर्न सम्भव क्यान्सर मानिन्छ । त्यस्तै पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप विकसित भइसकेको छ । पश्चिमा देशमा किशोरीहरुलाई यस्तो खोप दिइन्छ । हामीकहाँ केही वर्षअघि अनुदानमा आएका खोप प्रयोग गरियो । त्यसबाहेक आम नागरिकको पहुँचमा खोप छैन । नेपालमा २०७२ सालको बजेट भाषणमा खोप सुरु गर्ने भनिएको र अहिले चितवन र कास्कीमा खोप कार्यक्रम गरिएको छ । विकसित देशमा प्रयोगमा आइसकेको खोप पाइलट प्रयोगको रुपमा दुइटा जिल्ला मात्र गर्नुको के औचित्य ? आम नागरिकले त्यसको उपलब्धता पाउन सक्नु पर्छ । त्यसको जिम्मा सरकारको हो ।
क्यान्सर उपचारका लागि राज्यले केही अस्पतालहरु सञ्चालनमा ल्याएको छ । बिरामीका लागि सहुलियतको व्यवस्था पनि देखिन्छ तर रोकथामको क्षेत्रमा चित्तबुझ्दो कार्यक्रम चलाउन नसकेको आँकलन यस क्षेत्रमा सक्रिय व्यक्तिहरुको आँकलन छ । क्यान्सर रोकथाम, नियन्त्रण र अनुसन्धानका क्षेत्रमा सरकारले पर्याप्त चासो दिनुपर्ने उनीहरुको अहिलेको आवश्यकता हो ।
राज्य जिम्मेवार ढंगले प्रस्तुत हुने, क्यान्सरको उपचार सहज हुने र आम नागरिकमा क्यान्सर बेलैमा उपचार गरेको अवस्थामा ठीक हुन्छ भन्ने विश्वास जागेको अवस्थामा क्यान्सर जित्न सहज हुँदै गएको छ । मेडिकल विज्ञानमा भएका प्रगतिसँगै नेपालले दक्ष जनशक्ति उत्पादन गर्ने, उपचार सहज र सुलभ बनाउन कार्यक्रम बनाउनुपर्छ ।

(नागरिक परिवारबाट साभार)

प्रकाशित: १२ कार्तिक २०७४ १३:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App