१८ जेष्ठ २०७७ आइतबार
अन्य

बजारमा तिहारको रमझम

सुष्मा बराली

खुमलटारकी सरोज श्रेष्ठ बिहीबार असनको एक पसलमा तिहारका लागि मरमसला किन्नमा व्यस्त थिइन् । ‘यसपालि त मरमसला कति महँगो भाको ? के गर्नु ? नकिनी भएन,’ उनले हाँस्दै भनिन् ।

‘हाम्रो देश किंवदन्तीको देश हो, जति पनि नेपालमा चाडपर्व मनाउँदै आइरहेका छौँ, यी सबै कुनै न कुनै किंवदन्तीमा आधारित छन् । हाम्रा लागि किंवदन्ती लेखिएको संविधानजस्तै हो ।’

पहिलेको तुलनामा यसपालि महँगी बढेको बताउँछिन्, असनको फुटपाथमा व्यापार गर्दै आएकी राधिका फुयाँल । ‘तिहारमा नभई नहुने भनिएको ओखरको भाउ पनि बढेको छ । गोटाकै झन्डै तीन रुपैयाँभन्दा बढी पर्छ,’ उनले भनिन् । काठमाडौं मूलपानीकी राधिकाले असनमा व्यवसाय गर्न थालेको झन्डै ३० वर्ष भयो । पहिलेको तुलनामा सामानको मूल्य निकै बढेको उनको अनुभव छ ।
यसै त भीड हुने असनका गल्लीमा यो तिहारको मुखमा खुट्टा राख्ने ठाउँ पाउन मुस्किल छ । तिहारका सामग्री किन्नेले अहिले असन भरिभराउ छ ।
तिहारमा प्रयोग गरिने टीका, फूलमाला, मसला, खानेकुरा किन्न मानिसको घुइँचो देखिन थालेको छ ।
तिहार नेपाली हिन्दू धर्मावलम्बीको दोस्रो महान् चाड हो, यसलाई यमपञ्चक पनि भनिन्छ ।  यसका अन्य उपनाम पनि रहेका छन्– दाजुभाइ र दाजुभाइबीच स्नेह बढाउने पर्व, बत्तीको पर्व, मिठाईको पर्व, देउसी–भैलोको पर्व आदि ।
यति धेरै उपनाम भएको तिहारमा किनमेल पनि निकै हुन्छ । प्रायः मरमसलालगायत सामग्री राखिने असनका पसल यतिखेर ओखर, कटुस, काजु, किसमिस, मिठाई, मिश्रीले भरिभराउ छ ।  
तिहारमा काग, कुकुर, गोवद्र्धन पूजा गरिन्छ । त्यस्तै, धन, सम्पत्ति, गरगहनाको पनि पूजा गरिन्छ । घरै झिलिमिली पारिन्छ । सेलरोटी, रोटी, फिनी, अनर्सा, खुर्मा लगायत मिष्ठान्न परिकार तयार पारिन्छ । यति धेरै गतिविधि हुने भएकाले पनि तिहारमा विभिन्न सामग्री आवश्यक हुन्छ ।
 

किंवदन्तीमा तिहारको महत्व
तिहार हिन्दू धर्मावलम्बीको विशेष पर्व हो । तिहारमा भाइटीकाको दिन लगाइने सप्तरंगी टीकाको प्रचलन दुई हजार वर्ष अघिदेखि सुरु भएको संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन् । ‘हाम्रो देश किंवदन्तीको देश हो, जति पनि नेपालमा चाडपर्व मनाउँदै आइरहेका छौँ, यी सबै कुनै न कुनै किंवदन्तीमा आधारित छन् । हाम्रा लागि लेखिएको संविधानजस्तै हो, किंवदन्ती,’ उनले भने ।
तिहारलाई यमपञ्चक पनि भनिन्छ । संस्कृतिविद् श्रेष्ठका अनुसार यमपञ्चकको पनि बेग्लै कथा र छ । तिहारका पाँच दिन बलि राजाको हो । बलि राजा अत्यन्तै दानी, मनकारी र पुण्यको काममा अगाडि थिए । त्यस्तो व्यवहारका कारण उनलाई सबैले राम्रो मान्थे । धेरैले उनको प्रशंसा गर्थे । अब उनले एउटा मात्र यज्ञ गरे भने सारा जनता उनको मातहतमा आउनेछन् भनेर उनले पूजा गर्दै थिए, जुन कुरा इन्द्रलाई चित्त बुझेको थिएन । उनी भगवान् विष्णुको शरणमा गएर बलि राजाको यज्ञ रोक्न बिन्ती गरे । विष्णुले इन्द्रको कुरा माने र वामन रूप धारण गरेर बलि राजाको यज्ञमा गए । अनि, तीन पाइला जमिन मागे । बलि राजाले एकछिन समय माग्दा वामन रूप विष्णुले अलमलाउन खोजे । बलिले आफ्नो पूजा छाडेर उनले मागेबमोजिमको जमिन दिए । तर, उनले दिएको जमिनमा विष्णुको एउटा पाइला मात्रै अटाउँछ, अर्को पाइला पातालमा राख्छन् । वामनरूपी विष्णुले अब एउटा पाइला कहाँ टेकौँ भनेर सोध्छन् । बलिले शिरमा टेक्न भन्छन् ।  उनको यो त्याग देखेर विष्णुले बलि राजालाई वर माग्न भन्छन् । बलिले भन्छन्, ‘यो पाँच दिन मेरो मात्र शासन होस् ।’ यसरी यमपञ्चक अर्थात् तिहारको सुरुवात भएको श्रेष्ठ बताउँछन् ।
पाँच दिन बलि राजाको मात्र शासन भएपछि सबै देवी–देउताले कामबाट छुट्टी पाउँछन् । यमराज पनि खाली भए । यमराजकी बहिनी यमुनाले जहिले दुखेसो पोख्थिन्, ‘दाइ कहिल्यै भेट्न आउँदैन ।’ यही पाँच दिनको दिन भने यमुनाले दाइलाई भेट्न पाउँछिन् । उनले खुसीले भाइको पूजाअर्चना गर्छिन् । फलफूल र अन्य खानेकुरा खुवाउँछिन् । यमराज खुसी भएर बहिनीलाई वर माग्न भन्छन् । यमुनाले भन्छिन्, ‘आजकै दिन वर्षमा एकपटक सम्पूर्ण दिदी–बहिनीले आफ्ना दाजुभाइसँग भेट्न पाऊन् । सबै दिदी–बहिनीले दाजुभाइको पूजा गरुन् ।’
यसपछि यमपञ्च मनाउन थालिएको श्रेष्ठ बताउँछन् । हिजोआज चाडपर्वमा देखावटीपन बढेको बताउँछन्, समालोचक राम लोहनी । ‘पुरानो चलनअनुसार तिहारमा पाँच रङको प्रयोग गरिन्थ्यो, अहिले नौवटा रङको टीका लगाउने गरिन्छ,’ उनले भने, ‘दिदीबहिनी र दाजुभाइको सुमधुर अनि पवित्र सम्बन्धलाई अझ प्रगाढ बनाउने यस पर्वमा पञ्चरङ रातो, सेतो, पहेँलो, हरियोे, नीलोको को विशेष महत्व छ ।’
तिहारमा दाजुभाइको पूजा गर्दा विभिन्न प्रकारका सामग्रीको प्रयोग गरिन्छ । जसमध्ये ओखर पनि मुख्य रहेको छ । ओखर प्रयोगको पनि आफ्नै महत्व र प्रतीक छ । लोहोनी भन्छन्, ‘ओखरको बनावट मानव टाउकोजस्तो छ । ओखरलाई यमराज अर्थात् कालको रूपमा पनि लिइन्छ । ओखर फोर्नु भनेको कालको टाउको नै फोरेर काललाई सिध्याएर आफ्नो दाजुभाइको लामो आयु हुन्छ भन्ने मान्यता रहिआएको छ ।’

प्रकाशित: २८ आश्विन २०७४ ०९:४० शनिबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App