२८ श्रावण २०७७ बुधबार
अन्य

खप्तड कसरी पुग्ने ?

धेरैले सुनेको र घुम्न चाहेको सुन्दर सुदूरपश्चिमको भूमि–खप्तड । अध्यात्म, योग र ध्यान गर्न लायक गन्तव्य । ठूल–ठूला पाटन (चौर), दह, जीवजन्तु र हिमाल त्यहाँको सौन्दर्य । प्रकृतिको सुन्दर आँगनमा पुग्दा मन हल्का हुन्छ । तनाबबाट मुक्ति मिल्छ ।
आध्यात्मिक हिसाबले पनि महत्वपूर्ण छ खप्तड । उहिल्यै युधिष्ठिर खप्तड हुँदै स्वर्ग गएका थिए रे । स्कन्द पुराणमा खप्तडको चर्चा  छ । त्यहाँ ‘खेचराद्री’ भनिएको छ । खेचरको अपभ्रंश हुँदै खप्तड भएको मानिन्छ । त्यहाँ त्रिबेणीधाम, सहस्त्रलिंग, केदारढुँगा लगायत धार्मिक सम्पदा छन् ।
त्रिबेणीधाममा गंगा दशहराका बेला (जेठ–असार)मा ठूलो मेला लाग्छ । रातभर डेउडा नाचगान गरेर बिहान त्रिबेणीमा नुहाई धुवाई गरेर तिर्थालु बाटो लाग्छन् । त्यसरी नुहाए पाप पखालिने जनविश्वास छ ।    
जैबिक विविधताको फूलबारी खप्तडमा २२ वटा पाटन छन् । त्यहाँ सयौं थरी चरा, ३७२ प्रजातिका वनस्पति र १३० थरिका जडीबुटी पाइन्छ । बझाङे पा पनि पाइन्छ ।    
वर्षैभरी घुम्न सकिन्छ खप्तडमा । जेठ–असारमा जंगली फूल, असोज–कात्तिकमा हिमाल, पुस–माघमा हिउँ र चैत–वैशाखमा गुराँसको उज्यालो छाउँछ खप्तडमा । त्यस क्षेत्रबाट अपि शैपाल मात्रै होइन, केही भारतीय हिमाल पनि देखिन्छ ।    
उहिले खप्तड गाउँलेको चरण क्षेत्र थियो । सरकारले ०४३ असार ९ गते खप्तड राष्ट्रिय निकुञ्ज घोषणा ग¥यो । २२५ वर्ग किमिमा फैलिएको निकुञ्जले बाजुरा, डोटी, बझाङ र अछामको भूमि समेटेको छ जसको उचाई १,२६२ देखि ३,२७६ मिटरसम्म छ ।
निकुञ्ज मुख्यालयलाई केन्द्र मानेर त्रिवेणीधाम, खप्तड बाबा आश्रम, खापर दह, सहस्त्र लिंग र घोडा दाउने घुम्न दुई दिन चाहिन्छ । त्रिवेणीधाम गंगा, जमुना र सरस्वती नदीको संगम हो । खापर दह पनि गज्जबकै छ । त्यसको फन्को मार्न मज्जा आउँछ ।
खप्तडमा सेनाको एउटा गुल्म छ । निकुञ्जले बीचपानी र मुख्यालयमा गेस्ट हाउस चलाएको छ । पहिल्यै खबर गरेर जाँदामात्र सुविधा पाइन्छ । त्यहाँ सुविधायुक्त होटल, लज र रेष्टुँरा छैनन् । दसैंपछि खप्तड यात्रा सिजन सुरु हुन्छ । त्यतिबेला दुबै ठाउँमा खाना र बास पाइन्छ ।
‘पर्यटकले हामीलाई पहिल्यै खबर गरेर आउँदा सजिलो हुन्छ’, निकुञ्जका वार्डेन चन्द्रबहादुर चन्द भन्छन् ‘बीचपानी र निकुञ्ज मुख्यालयमा १०–१० जनाले रात विताउन सक्छन् ।’
पर्यटक बढ्दै जाँदा सुविधा थपिनेमा आशावादी बनौं । सरकारले निकुञ्जभित्रका होटल व्यवस्थापन निर्देशिका जारी गर्दैछ । त्यो आएपछि निकुञ्जमा होटल खोल्न सजिलो हुने चन्दले बताए । ‘हामी निर्देशिका पास हुनेवित्तिकै होटलका लागि सूचना निकाल्छौं’, उनी भन्छन्, ‘खप्तडमा व्यवस्थित होटल खाँचो परिसक्यो ।’
त्यसो त नेपाली सेनाले लोक कल्याणकारी अभियान अन्तर्गत झिग्राना, बीचपानी र माथि खप्तडमा सुविधायुक्त होटल चलाए पर्यटकलाई धेरै सजिलो हुने थियो ।   
भुस्वर्गै भने हुन्छ खप्तडलाई, खप्तड हुँदै राराताल जाने एउटा पदमार्ग छ भने बडिमालिका हुँदै रामारोशन जोड्ने अर्को पदमार्ग । पर्यटन विकास समाज (टिडिएस) धनगढीले खप्तड, बडिमालिका हुँदै रामारोशन जोड्न ‘फार वेस्ट हेरिटेज ट्रेल’ एक्सप्लोर गरेर प्रचार गर्दै आएको छ ।
काठमाडौंबाट यात्रामा निस्कनेले १६ दिन छुट्टयाउन पर्छ रामारोशनसम्म पुग्न । रारासम्म यात्रा गर्ने हो भने १२ दिन । खप्तडसम्म जान क्याम्पिङ गर्नु पर्दैन । स्लिपिङ व्याग र ड्राईफुड्स चाहिँ बोक्नु पर्छ । न्याना कपडा त चाहियो नै । राराताल वा रामारोशनतिर सोझिने मन छ भने व्यवस्थित क्याम्पिङ टे«ेकको विकल्प छैन ।
खप्तड बेस क्यामप भिग्रानासम्म सडक ट्रयाक खुलेको छ । बर्खामा पहिरोले बाटो बिगारेको छ । पहिरो पन्छाएपछि तिहारताका झिग्रानासम्म सिलगढीबाट फोरव्हिल जिपमा जान सकिन्छ । अचेल भने हिँड्नै पर्छ । भिग्राना खप्तडको प्रबेशद्वार हो । डोटी सदरमुकाम सिलगढीबाट हिँडेर पहिलो बास झिग्रानामा । त्यहाँ सामान्य होटल छन् । झिग्रानाबाट ४ घन्टामा बीचपानी र ८ घन्टामा निकुञ्ज मुख्यालय ।
खप्तडको विकासमा समिति खुलेको छ । त्यसले ठाउँ–ठाउँमा सँकेत चिन्ह र जानकारीमुलक बोर्ड  राखेको देखिँदैन, जुन आधारभूत आवश्यक्ता हो । त्यसबाहेक बीचपानी र निकुञ्ज मुख्यालयमा अलपत्र गेष्टहाउसलाई व्यवस्थित गर्न जरुरी  छ ।
खप्तडको प्रचारमा खप्तड बाबाको योगदान ठूलो छ । जीवनको लामो कालखण्ड उनले त्यहाँ विताएका थिए । योग, ध्यान र साधना गरेर बसे उनी । जाडोमा उनी तराई झर्थे, अरुबेला खप्तडमै बिताउँथे । उनलाई भेट्न राजा वीरेन्द्र हेलिकप्टरमा खप्तडै पुग्थे ।   
माल पाएर पनि चाल पाएका छैनौं हामीले । खप्तड जस्तो पवित्र भूमिलाई पर्यटकीय गन्तव्य बनाउन धेरै काम गर्न बाँकी छ । त्यहाँ योग र ध्यान गराउन सकिन्छ । बरु योग गुरु रामदेवलाई बोलाएर योग शिविर चलाउन सके संसारभरका आध्यात्मिक चिन्तकलाई खप्तडमा तान्न सकिन्छ । रामदेवलाई ल्याउन सकेमा खप्तडको प्रचारमा त्यसले ठूलो योगदान पुग्ने छ । सँगै पदमार्ग स्तरोन्नती, होटल सुविधा र ठाउँठाउँमा आराम गृह जरुरी छ ।  
खप्तड घोप्टिएको कचौरा आकारको छ । त्यहाँ पुग्ने धेरै बाटा छन् जस्तो कि डोटीको झिग्राना, बझाङको छान्ना, बाजुराको कोल्टी, अछामको साँफेबगर र डोटी सीमा चौखुट्टेबाट खप्तड उकालिन सकिन्छ । चल्तिको बाटो झिग्राना हो ।
धेरैको योजनामा खप्तड परिसकेको छ, तपाइँ चाहिँ कहिले घुम्ने ?
कसरी पुग्ने ः काठमाडौं–धनगढी ६५० किमि । बसमा १४ घन्टा । धनगढी–सिलगढी २०० किमि । बसमा आठ घन्टा । काठमाडौं–धनगढी १ घन्टा हवाई यात्रा । डोटी सदरमुकाम सिलगढीबाट पदयात्रामा पहिलो बास झिग्राना र झिग्रानाबाट ८ घन्टा पदयात्रामा निकुञ्जको मुख्यालय ।  
 

प्रकाशित: ३१ भाद्र २०७४ ०९:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App