१९ असार २०७७ शुक्रबार
अन्य

‘छोरी नभई बुहारी कहाँबाट ल्याउने ?’

नेपालको प्रतिष्ठित मारवाडी घरानाको बाक्लो बसोबास भएको सहर विराटनगर हो । यहाँको सहरी क्षेत्रमा मात्रै सात हजार बढी मारवाडी समुदायको बसोबास छ । निजी क्षेत्रमा आफ्नो दबादबा कायम राखेको यस समुदाय भने विगत केही वर्षयता छोरीको समस्याले पिरोलिएको छ ।
छोरीको संख्या कम हुँदा बुहारी नै पाइन छाडेपछि विराटनगरका मारवाडी महिलाले ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ अभियान नै थालेको छ । मारवाडी समुदायको माहेश्वरीमा छोराभन्दा छोरीको संख्या निकै कम छ । २०५८ र २०६८ को जनगणनामा पनि यो समुदायमा छोरीको संख्या घट्दो क्रममा रहेको देखिन्छ । जनगणना २०५८ अनुसार मारवाडी समुदायमा पुरुष २३ हजार २ सय ५ र महिला २० हजार ७ सय ६६ थिए । जनगणना २०६८ अनुसार मारवाडी पुरुष २७ हजार ४० र महिला २४ हजार ४ सय ३ जना छन् ।
‘छोरीको संख्या कम हुँदा हाम्रो समुदायमा समस्या बढेको छ,’ अखिल भारतवर्षीय माहेश्वरी महिला संगठन, विराटनगरका सदस्य अनिता सोनीले भनिन्, ‘केटी थोरै हुँदा अन्तरजातीय विवाह बढेको छ, जसले परिवारमा कलह र झगडा बढाएको छ ।’ उनका अनुसार छोरी कम हुँदा विवाहका लागि केटा पक्षले प्रस्ताव राख्दा केटी पक्षको ‘अनावश्यक माग’ पनि मान्नुपर्ने हुँदा परिवारमा कलह बढेको हो । विराटनगरका मारवाडी समुदायको बिहेबारी भारतको सिलिगुडी, आसाम र कोलकतामा बाक्लो भइरहेको छ । ‘समुदाय उही भए पनि रहनसहन, आकांक्षा निकै फरक भएकाले परिवारमै समस्या आउन थालेको छ,’ सोनी भन्छिन्, ‘त्यसमाथि केटी पक्षको अनावश्यक मागले समस्या थपिन थालेको छ । कतिपय समुदायले अन्तरजातीय विवाह गर्न थालेपछि सम्बन्ध विच्छेद पनि बढेको छ ।’
छोरीको संख्या कम हुँदा परिवार धान्न र पुस्ता बचाइराख्न नै ‘चुनौती’ देखिएपछि दसकअघि बैजनाथ सोनीले विराटनगरमा ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ अभियान थालेका थिए । बैजनाथको निधनपछि त्यस अभियानलाई उनका छोरा महेश सोनी र जितेन्द्र राठी तथा माहेश्वरी महिलाहरुले निरन्तरता दिएका छन् ।
विराटनगरको अग्रवाल महिला मञ्चले पनि यस अभियानलाई साथ दिएको छ । मारवाडी समुदायका अगुवाले छोराको मात्रै चाहना गर्नाले पछिल्लो समय छोरीको संख्यामा कमी आएको मञ्चकी रचना पोद्दार सहमत छिन् । उनी भन्छिन्, ‘लिंग पहिचान गरेर भ्रूण हत्या गर्ने क्रमलाई निरुत्साहित गर्न र गर्भमा आएपछि जन्मिन नै नदिने क्रम रोक्न चेतना आवश्यक देखिएपछि अभियान थालिएको हो ।’ छोरी जन्माउने क्रम घटेसँगै महिला र पुरुषबीचको संख्यामा आएको फरकपनले छोराहरुले बेहुली पाउन छाड्ेका छन् । ‘अभियानले छोरीको संख्या बढाउन प्रोत्साहन गरेको छ,’ उनले भनिन् ।

‘छोरी नभई बुहारी कहाँबाट ल्याउने ?’ दुई वर्षअघि कोसी अञ्चल अस्पतालको प्रसूति वार्डको भित्तोमा अग्रवाल महिला मञ्चले लेखेको यो सन्देशले धेरैको ध्यान खिच्यो । अस्पतालमै पुगेर यो अभियान थाल्दा सुरुमा धेरैले अनौठो माने । खिसी गर्नेहरू पनि निस्के तर छोरी नहुँदा घर–परिवारमै भइरहेको पीडाले मारवाडी महिलालाई अभियान रोक्न मानेनन् । ‘छोरीलाई महत्व नदिने समुदायकै महिला छोरी बचाउन अग्रसर भएको भन्दै धेरैले खिसी गरे,’ पोद्दारले भनिन् ।
‘भ्रूणहत्याबाट आफ्नो समुदायमा परेको असर बुझाउन हामी सक्रिय छौँ,’ आशा तोदीले भनिन्, ‘अहिले त युवतीहरु पनि यस अभियानमा सहभागी छन् । गर्भवतीहरुलाई परिवारले गर्भपतन गराउन दबाब दिए मञ्चलाई सूचना दिन पनि भनिरहेका छौँ ।’ मारवाडी समुदायले थालेको अभियानमा नयाँ पुस्ताले पनि चासो देखाएको छ ।
वर्षा लोहियाले मारवाडी समुदायमा छोरीलाई हेर्ने दृष्टिकोणमा अहिले पनि परिवर्तन आउन नसकेको र भ्रूणहत्याको दर अधिक रहेको स्वीकार्छिन् । उनले भनिन्, ‘छोरी पनि छोरासरह सबै कामका लागि योग्य छन् भन्ने बुझाउन अझै सकिएको छैन । आमाहरुकै उक्साहटमा गर्भमै छोरी मार्ने क्रम नरोकिएकाले चिन्ता थपिएको हो ।’
मारवाडी समुदायमा छोरीको संख्या घट्दाको असर भने देखिन थालेको छ । आफ्नै जातका छोरी नपाएर अन्तरजातीय विवाह गरेर बुहारी भित्रयाउनु पर्ने बाध्यता छ । कतिपयले त अन्य जातका छोरीसँग मागी विवाह गर्न थालेका छन् । यसरी बढेको अन्तरजातीय विवाहले आफ्नो जातिकै नश्ल प्रभावित हुने चिन्ता पनि उनीहरुमा छ । मारवाडी समुदायमा छोरीको संख्या घट्ने क्रम नरोक्ने हो भने केही वर्षपछि अधिकांशले अन्य जातिकासँग विवाह गर्नुपर्ने बाध्यता आउँछ ।
मारवाडी समुदायमा अन्तरजातीय विवाह गर्ने क्रम बढ्नाले अब छोरीको संख्या बढाउने विषयमा सचेत हुनुपर्ने महेश सोनीको भनाइ छ । अग्रवाल महिला मञ्चकी पोद्दारले छोरीलाई गर्भमै मार्नु अपराध भएकाले यसलाई रोक्न राज्यले पनि विशेष ध्यान दिनुपर्ने बताउँछिन् । छोरीलाई बोझको रुपमा हेर्नेहरुकै कारण अहिले आफ्नो समुदायमा महिलाको संख्या घटेर यो अवस्था आएको उनले बताइन् ।

छोरी कम हुँदा विकृति बढ्यो
   

– अनिता सोनी

कार्यकारीणी सदस्य,
अखिल भारत बर्षिय माहेश्वरी महिला संगठन,
बिराटनगर, नेपाल ।


बिना फूलको फूलबारी रमाइलो हुन्न,
सर्जकबिना सिर्जना कल्पना गर्न सकिन्न ।

मारवाडी समुदायमा छोराको तुलनामा छोरीको संख्या निकै कम छ । जसले गर्दा परिवार र पुस्ता सञ्चालनमै समस्या देखिएको छ । छोरीको संख्या बढाउन हामीले ‘बेटी बचाऔं, बेटी पढाऔँ’ अभियान नै थालेका छौँ । अभियानको केही सकारात्मक प्रभाव देखा पर्न थालेको छ । छोराको अनुपातमा छोरीको संख्या कम हुँदा सामाजिक असन्तुलनको स्थिति उत्पन्न भएको छ । प्रत्येक एक सय छोराको अनुपातमा ९३ छोरी भएको अनुमान सर्भेक्षणमा आइरहेको छ । यस्तो परिस्थितिबारे विस्तृत अध्ययन गर्दा स्थिति अझ बढी चिन्तापूर्ण देखिन्छ ।
छोरीको संख्या कम हुँदा समस्या भइरहेको छ । अन्तरजातीय विवाहले परिवारमा कलह बढेको छ । छोरी पक्षको अस्वाभाविक र आलिसान ‘डिमान्ड’ले परिवारमै विग्रह र कलह बढाएको उदाहरण पनि छ । ठूलो सहरमा बिहे गर्ने, बिहे गरे पनि घरको यो–यो काम गर्ने, यो–यो काम नगर्नेजस्ता बुहारीको मागले परिवारमा समस्या आइरहेको छ । जसले गर्दा सम्बन्ध विच्छेदका घटना पनि झाङ्गिएको छ ।
आधुनिक परिवेशमा पनि छोरीभन्दा छोराको चाहना बढी देखिन्छ । समाजमा जतिसुकै परिवर्तनको कुरा गरे पनि छोराभन्दा छोरीको जीवनशैली कठीन हुन्छ । छोरी जन्मिनदेखि नै उसलाई  हुर्काउन, पढाउन र त्यसपछि वैवाहिक सम्बन्धमा विशेष ध्यान राखिएको देखिन्छ । तापनि आमाबुबाको मनमा हरबखत अदृश्य चिन्ता वा शंका उत्पन्न भइरहन्छ ।
यस सामाजिक समस्या समाधानका लागि हाम्रो सोचमा नै आमूल परिर्वतन आवश्यक देखिन्छ । हामीलाई छोरी र बुहारीसँग समान व्यवहार गर्नैपर्छ । छोरा र ज्वाइँमा पनि फरक रहँदैन र आमाबुबाजस्तै सासुससुराप्रति पनि आफ्नो जिम्मेवारी सहर्ष स्वीकार गर्छन् । यसरी हामीलाई समाजमा लैंगीक समानता ल्याउन सहायक हुन्छ ।
(सोनीसँग गरिएको कुराकानीमा आधारित)

(नागरिक परिवारबाट साभार)

 

प्रकाशित: २५ भाद्र २०७४ १२:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App