२३ असार २०७७ मंगलबार
अन्य

एउटै गीतमा ३६५ को स्वर

सिंहदरबारस्थित रेडियो नेपालको प्रांगण कलाकारले भरिएको थियो । सांगीतिक क्षेत्रमा चिनिएका, गनिएका कलाकारको जमघट देख्दा लाग्थ्यो, ‘रेडियो नेपालले ठूलै सांगीतिक कार्यक्रम गर्दै छ ।’

कास्कीका निपेश ढाका (३६) को शब्द, संगीत र निर्देशनमा रेकर्डिङ हुन लागेको गीत थियो त्यो । गीत रेकर्डिङको नेतृत्व पनि उनैले गरेका थिए । विश्वमै पहिलोपटक यति धेरै कलाकारको स्वरमा गीत रेकर्डिङ हुन लागेको थियो ।

०७३ जेठ ६ गतेको त्यो भेला रेडियो नेपालले गराएको भने थिएन । त्यहाँ कुनै सांगीतिक कार्यक्रम पनि थिएन । गीत रेकर्डिङ लागि जम्मा भएकाको भेला थियो त्यो । चाखलाग्दो कुरा त एउटा गीतमा स्वर दिन तीन सय ६५ कलाकार भेला भएका थिए ।

कास्कीका निपेश ढाका (३६) को शब्द, संगीत र निर्देशनमा रेकर्डिङ हुन लागेको गीत थियो त्यो । गीत रेकर्डिङको नेतृत्व पनि उनैले गरेका थिए । विश्वमै पहिलोपटक यति धेरै कलाकारको स्वरमा गीत रेकर्डिङ हुन लागेको थियो ।

सबै कलाकार एकै ठाउँमा एकै दिन भेला पारेर गरिएको रेकर्डिङमा शताब्दी नजिकका राष्ट्रकवि माधव घिमिरेदेखि पाँच वर्षीय निस्पल अधिकारी समेतको स्वर छ । शम्भुजित बाँस्कोटा, विजय लामा, डा. भोला रिजाल, मीरा राणा, कोमल वली, इन्दिरा जोशी, राजेशपायल राई, प्रताप लामा, प्रताप दास, यम बराल, विमला राई, सुरेश अधिकारी, ज्ञानु राणा, हिमाल सागर, देविका बन्दना, हरिदेवी कोइराला, प्रकाश गुरुङ, दीपक लिम्बु, ओमविक्रम विष्ट, अजय अधिकारी ‘सुशील’, शान्तिन कोइराला लगायत संगीतकर्मीले गीतमा स्वर दिए । गीत गाउँदै गर्दाको भिडियो हेर्दा सबै विद्याका कलाकार अटाएको देखिन्छ । लोक, आधुनिक, रक, पप गाउने कलाकारको स्वर गीतमा छ । गीतलाई त्यसैगरी लयबद्ध गरिएको छ । स्रष्टाको सम्मान गर्न कतै आधुनिक, कतै पप कतै रक त कतै लोकजस्तो गरी लय हालिएको निपेशले बताए ।

जर्मनीबाट वातावरण विज्ञानमा उच्च शिक्षा हासिल गरेका निपेशले नेपालको भूगोल, समाज, तथा पर्यावरणलाई समेटेर गीत सिर्जना गरेका छन् ।

सोही गीतको एल्बमलाई ‘मिलनकोली’ नाम दिइएको छ । गीतको श्रव्यदृश्यसहित शनिबार एक कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले लोर्कापण गरिन् । आर्मी अफिसर क्लबमा आयोजित ‘मिलनकोली’को लोर्कापणमा राष्ट्रकवि घिमिरेलगायत नेपालका ख्याति प्राप्त गायक–गायिकाको बाक्लो उपस्थिति देखिन्थ्यो ।

वातावरण संरक्षणको विषयलाई उठान गरी सिर्जना गरिएको गीतमा तीन सय ५६ कलाकारको स्वर समावेश गर्नु विश्व रेर्कडका लागि रहेको निपेशले बताए ।

अहिलेसम्म विश्वमा कतै पनि यति धेरै कलाकारलाई एकै ठाउँमा भेला पारेर एकै दिनमा गीत रेर्कडिङ नभएको भन्दै गीत गिनिज बुक अफ द वल्र्ड रेकर्ड हुने निपेशको दाबी छ ।

गीतको श्रव्यदृश्य ३३ मिनेट ४९ सेकेन्डको छ । यसमा सबैले क्रमशः गाएका थिए ।

कसरी आयो सोच

निपेश वातावरण र म्युजिकसँग कलेज पढ्दैदेखि नजिक थिए । ०५५ मा उनले शास्त्रीय संगीत पनि गरे । गणितमा स्नातकोत्तर गरेपछि शिक्षण पेसामै भ्याइनभ्याई भयो उनलाई । सोही बेला उनले आफ्नै संगीत र स्वरमा एल हस्पिटल गीति एल्बम पनि बजाएरमा ल्याएका थिए । ०६३ देखि तीन वर्षसम्म विभिन्न स्कुल, कलेज अध्यापन गरेर आम्दानी पनि राम्रै गरिरहेका थिए ।

आम्दानीले मात्रै सन्तोष दिन सकेन उनलाई । वातावरण विज्ञान पढ्नका लागि जर्मनी गए उनी । जर्मनीको टेक्निकल युनिभर्सिटी अफ म्युनिखमा माटो, जल विज्ञान र जमिनको व्यवस्थापन विषयमा मास्टर्स डिग्री पढ्न हानिए ।

वातावरणमा पहिलैदेखि चासो राख्ने निपेशले जर्मनीको अध्ययनपछि झनै वातावरणलाई नजिकबाट बुझ्ने मौका पाए । ‘वातावरणलाई बुझेपछि मन पोलेर जर्मनी बस्नै सकिनँ,’ उनी भन्छन्, ‘नेपाल गएर वातावरण क्षेत्रमा मैले गर्नुपर्ने धेरै छ जस्तो लागेर फर्किएँ ।’ वातावरण विज्ञानको डिग्री पाएपछि जर्मनीमै पनि उनलाई धेरै अवसर आएका थिए । तर, जर्मनीमा बसेर काम गर्न उनको मनले मानेन । केही गर्ने दृढ सपना बोकेर उनी स्वदेश फर्किए, ०७० मा । नेपाल आएपछि पनि आइएनजिओले बोलाइरहे उनलाई । तर, पूर्णकालीन जागिर गरेर बस्न उनको मनले मानेन ।

नेपाल आएपछि दिन प्रतिदिन वातावरणमा परेको असरबारे नजिक हुँदै गए उनी । संगीतमा पनि रुचि भएका निपेशले वातावरण संरक्षणलाई सन्देश दिन गीत रचना गर्ने सोच बनाए ।

विश्व वातावरण दिवस, २०१५ जुन ५, यही दिन हो, निपेशले गीतको रचना थालेको । गीत रच्दै गर्दा त्रिभुवन विश्वविद्यालय परिसरमा गएर प्लास्ट्रिक टिपे, ४७ बोराजति । प्लास्ट्रिक टिपिरहँदा त्यहाँका विद्यार्थी उनलाई सोध्न आउँथे, ‘के खोज्नुभएको ?’

‘यार्सागुम्बा,’ उनी उत्तर दिन्थे । किनकि, उनी स–सानो आँखाले नभ्याउने वातावरणलाई असर गर्ने टुक्रा बटुलिरहेका थिए । मेहनत गरेर यार्सा खोजेजस्तै खोज्नुपर्ने भएकाले यार्सागुम्बा भनेका रहेछन् ।

तीन महिना लगाएर उनले गीत लेखे । गीतमा प्राकृतिक स्रोत, कृषि, माटो र जीवन, खानी र कारखाना, जलाधार क्षेत्र, कृषक, वैकल्पिक शक्ति, स्वास्थ्य, मानवअधिकार सबैलाई समेटेका छन् ।

युवालाई लक्षित गर्दै लेखका छन्–

विदेश पलायन हुनलाई मन छैन, यो देश छोड्नै मन छैन ।

आफैँ उद्यम नगरी भा’छैन, उठौँ देशका युवा !

प्रतिभाको पलायन रोके देश बन्थ्यो होला ।

वृद्ध, बालक मात्रै छन् गाउँमा, सुनसान भा’छ घरमा ।

उनले कृषिलाई लक्षित गर्दै लेखेका छन–

मानो रोपी मुरी फल्ने माटो खेर गयो,

कृषि प्रधान देश हाम्रो जमिन बाँझै रह्यो ।

पहाडमा बस्ती बस्थ्यो बाजेको पालामा,

सुनै फल्ने गथ्र्यो अरे बेँसीको माटोमा ।

बेँसी त अहिले  चिरा–चिरा पारे,

बाघचाल खेल्ने रेखाजस्तो जमिन चिरेर ।

जोगाऔँ माटो, जल, जमिन, जंगल,

यही हो हाम्रो धन, नयाँ नेपालको संकल्प ।

गीतको श्रव्यदृश्य हेरेपछि राष्ट्रपति भण्डारीले भनेकी थिइन्, ‘गीतका प्रत्येक पंक्तिले सन्देश बोकेको छ । जसले वातावरण संवद्र्धन र संरक्षणमा पक्कै योगदान पु¥याउँछ ।’ राम्रो अभियान थालेको भन्दै उनले सफलताको शुभकामना समेत दिएकी थिइन् ।

अबको बाटो

आफ्नो एल्बमलाई गिनिजबुकमा रेकर्ड राख्ने प्रयासमा छन् उनी । त्यसका लागि उनले प्रक्रिया पनि थालिसकेका छन् । योसँगै वातावरण संरक्षणमा लाग्ने उनको योजना छ । ‘पर्यावरणीय समस्या कुनै गाउँ, सहर वा राष्ट्रको मात्रै नभएर विश्वकै समस्या हो,’ उनले भने, ‘पर्यावरणीय समस्यालाई हामीले रोक्न सक्दैनौँ, तर हाम्रै दैनिक हुने गतिविधि घटाएर वातावरणलाई जोगाउन सक्छौँ ।’ उनी यही वातावरण जोगाउने सन्देश फैलाउन लागेका छन् । ‘मलाई अहिले पनि देश–विदेशमा धेरै अवसर आइरहेका छन्,’ उनले भने, ‘मेरा लागि अवसर केही ठूलो कुरा होइन, चेतना फैलाएर वातावरणमा केही योगदान दिन सके त्यही ठूलो हुन्छ । त्यसैले अबको बाँकी यात्रा चेतनामूलक सन्देश फैलाउनै लगाउनेछु ।’

प्रकाशित: २४ भाद्र २०७४ ०९:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App