८ वैशाख २०८१ शनिबार
अन्य

वर्तमान शिक्षा र समाजको चिन्ता

दामोदर न्यौपानेले विभिन्न खोज–अनुसन्धान गरी लेखेको पुस्तक ‘कर्म सिकाइमा गहिरिएको खाडल’ शैक्षिक क्षेत्रसँग सम्बन्धित छ । बालबालिकाको अवस्था, सिकाई, अभिभावक र समाजको मनसायबारे पुस्तकले खोतलेको छ ।

गुल्मी, रामेछाप, गोरखाको बारपाक, सिन्धुपाल्चोकको ठोकर्पा, चितवन लगायत स्थानको भ्रमण गरी लेखिएको पुस्तकले अभिभावकलाई सन्देश पनि दिएको छ । बालअधिकार हनन, बालश्रमिक राख्ने चलन, बालबालिकाको अधिकारबारे पुस्तकमा चर्चा गरिएको छ ।

पुस्तक कर्मको मूल मर्म जीवनमा जस्तो कर्म गरिन्छ, त्यस्तै फल पाइन्छ भन्ने नै हो । शिक्षामा लगानी राम्रो भयो भने त्यसको फल पनि राम्रै हुन्छ भन्न खोजिएको छ ।

आज बालबालिकाले जे सिकेका छन्, भोलि उनीहरुको व्यवहारमा त्यही देखिन्छ । त्यसैले पुस्तकले आजको शिक्षाको चिन्ता र चिन्तन गरेको छ ।

संस्मरण विधाको यो पुस्तक शिक्षक, लेखक, विद्यालय, अधिकारकर्मी सबैका लागि सान्दर्भिक र उपयोगी  छ ।

शैक्षिक क्षेत्रको उन्नतिका लागि राज्यले कस्तो योजना, नीति तथा कार्यक्रम तर्जुमा गर्नुपर्छ भन्ने पनि लेखकले सुझाउने प्रयास गरेका छन् ।

बालअधिकार र बालमैत्री समाज निर्माणका लागि सरकारले लिएको अवधारणालाई पनि पुस्तकमा बुँदागत रुपमै उतारिएको छ । यसले बालअधिकारबारे जान्न र बुझ्न सहज बनाएको छ ।

हामीले बालबालिकालाई भविष्यका कर्णधार त भन्छौँ तर उनीहरुले समुचित वातावरण पाए÷नपाएको ख्याल गर्दैनौ । विद्यार्थीलाई कस्तो शिक्षा, संस्कार, वातावरण दिने ? पुस्तकले यही कुरा उठाएको छ ।

पुस्तकमा धेरै विषय अटाएका छन् । योगको उत्पत्ति कहाँबाट कसरी भयो, यसले कस्तो फाइदा गर्छ, योगले कसरी आत्मबल बढाउन सघाउँछ भन्ने पनि पुस्तकमा उल्लेख गरिएको छ ।

त्यस्तै, भुइँचालोले पु¥याएको असर, बालविवाह, महिलाहिंसा, यौन दुव्र्यवहार लगायत विषय पनि पुस्तकमा समेटिएको छ ।

पछिल्लो समय सहरका सरकारी स्कुल श्रमिक पढ्ने स्कुलमा परिणत हुँदै गएका छन् । त्यस्ता केही स्कुलको अध्ययनबाट आएका तथ्य र त्यहाँका शिक्षकसँगको कुराकानीको निचोड पनि पुस्तकमा समेटिएको छ । यी विषयले सरकारी विद्यालयको अवस्थालाई  उजागर गरेको छ । पुस्तकमा उल्लिखित सामाजिक यथार्थले लेखक सँगसँगै पाठक पनि कहिले भावुक बन्छ त कहिले आशाको उज्यालो देख्छ।

लेखकले पुस्तकमा अटिजम भएका बालबालिका, अपांग, दृष्टिविहीनलगायतको समस्या पनि उठाएको छ।

तथ्य, मिति, तथ्यांकले पुस्तकलाई बलियो बनाएको छ । शैक्षिक क्षेत्र र समाजको अवस्था बुझ्न पुस्तकले सघाउँछ । सबै सुन्दर विषयवस्तु हुँदाहुँदै पनि पुस्तकमा केही कमी अनुभव हुन्छ । पुस्तकले तत्कालीन अवस्थाको खोजीनिती गरे पनि इतिहास उधिनेको पाइँदैन । कुनै पनि क्षेत्रको आजको अवस्था हिजोको इतिहासले निर्धारित गरेको हुन्छ । पुस्तकमा विषयवस्तुको पूरै इतिहास आउनुपर्छ भन्ने त होइन, तर कुनै विषयवस्तुको इतिहास नबुझी वर्तमान सच्याउन सकिँदैन । त्यस्तै, लेखकले धेरै विषय समेट्न खोज्दा पुस्तक लथालिंग भएको छ । यी सामान्य कमजोरी रहे पनि पुस्तक जानकारीमूलक छ।

 

 

प्रकाशित: ३ भाद्र २०७४ १०:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App