१६ चैत्र २०८० शुक्रबार
अन्य

'सामाजिक संवेदनशीलतामा पुस्तक लेखिनुपर्छ'

प्रकट पगेनी 'शिव'

सरल एवं कलात्मक भाषामा गाउँबेँसीका जीवनकथा गीत, कविता र गजलमा उतार्ने स्रष्टाको नाम हो, प्रकट पगेनी 'शिव'। कास्कीको देउराली गाउँमा जन्मे/हुर्केका पगेनीको सिर्जनामा माटोको सुवास पाइन्छ। उनी श्रोता तथा दर्शकलाई आफ्नो वाचनकलाले लठ्याउँछन्। पोखरामा बसेर साहित्य साधना गरिरहेका उनका दुई संग्रह– यो मन कतै अल्झेको छ र जुनको चिठी जुनालाई, अनि गजलसंग्रह 'प्रणय वेदका ऋचाहरू प्रकाशित छ।

तपाईं अहिले कस्तो पुस्तक पढ्दै हुनुहुन्छ?

ओशोको अन्तर्यात्रा पढ्दै छु। यो मनोवैज्ञानिक र अन्तर्यात्रासम्बन्धी पुस्तक हो। हाल उपन्यास लेख्दै छु। त्यसका लागि ध्यान केन्द्रित गर्न पनि यो पुस्तक पढ्दै छु।

यसअघि कुन पुस्तक पढ्नुभएको थियो?

शारदा शर्माको भुइँफूल।

मनपर्‍यो कि परेन? किन?

मलाई शारदा शर्माका सबैजसो पुस्तक मनपर्छ। उहाँको लेखनमा आध्यात्मिकता र संवेदनशीलता हुन्छ, त्यसैले मनपर्छ।

अब के पढ्ने योजना छ?

पुराना पुस्तक दोहोर्‍याएर पढ्ने योजना छ। नारायण वाग्लेको 'पल्पसा क्याफे' तेस्रोपटक पढ्ने योजनामा छु। यो उपन्यास पढ्दा म भित्रैदेखि भक्कानिएको पनि छु, निकै मनपर्छ।

कस्तो पुस्तक लेखियोस् भन्ने लाग्छ?

मलाई क्लिष्ट लेखन मनपर्दैन। पुस्तक पढ्दै जाँदा बहाव हुने र समय बितेको थाहा नहुने लेखनशैली तथा सामाजिक संवेदनशीलता, जुन बाहिर आएका हुँदैनन् तर समाजमा ठूलो प्रभाव पारिरहेका हुन्छन्, त्यस्ता विषयमा पुस्तक लेखिनुपर्छ।

पढेकामध्ये सबैभन्दा मनपरेको पुस्तक? किन?

मनपरेको बिपी कोइरालाको मोदी आइन् र मीठो लागेको गुरुप्रसाद मैनालीको नासो हो। मोदी आइन् सानो पुस्तक भएर पनि धेरै विषयवस्तु समेटिएको छ। यो मनपर्नुको अर्को कारण यसले महाभारतको कथालाई पनि उल्लेख गरेको छ। नासो त्यो समयमै लेखिएको उत्कृष्ट कथासंग्रहमध्ये एक हो।

नपढी नहुने पुस्तक? किन?

लेखकलाई त पाठकले आफ्नै पुस्तक पढिदिए हुन्थ्यो भन्ने लाग्छ। तथापि पुस्तक व्यक्तिको रुचि र इच्छामा भरपर्ने भएकाले व्यक्तिअनुसार फरक पुस्तक मनपर्न सक्छ। मलाई मनपरेको पुस्तक अरूलाई मननपर्न पनि सक्छ। त्यसैले यही पुस्तक पढ्नुपर्छ भन्न गाह्रो छ।

नेपाली लेखकका पुस्तक अन्य मुलुकमा किन नपढिएका?

प्रकाशक र अनुवादकको कमी मुख्य कारण हो कि! अर्काेतर्फ नेपालमा लेखक आफैँले अन्तर्राष्ट्रिय बजारसम्म प्रचार गर्न सक्ने अवस्था पनि छैन। लेखकको आर्थिक अवस्थाले उनीहरू आफ्नो पुस्तकको पर्याप्त प्रचार गर्न भ्याउँदैनन्। तर, एउटा कुराचाहिँ हो, नेपालको लेखन कमजोर छैन। सानो मुलुक भए पनि भाषाका हिसाबले हामी भारतभन्दा पनि अगाडि छौँ, विषयवस्तुका हिसाबले पनि राम्रो छ।

पढ्न मन लागेर पनि नपाएको पुस्तक?

त्यस्तो त छैन। भेटेका पुस्तक आत्मैदेखि घोत्लिएर पढ्ने बानी छ। पढ्नैका लागि मात्र पढ्ने बानी छैन। जुन पुस्तकले छुन्छ, त्यस्तो पुस्तक पढ्ने गर्छु।

घरमा कतिवटा पुस्तक छन्?

मैले एउटा स्कुलमा पुस्तकालय नै निर्माण गरिदिएको छु। अहिले पनि उक्त पुस्तकालयको हेरचाह म आफैँ गर्छु। त्यसैले घरमा पुस्तक राख्ने गरेको छैन।

प्रस्तुति : वसन्त खड्का

प्रकाशित: ३ भाद्र २०७४ ०४:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App