२३ असार २०७७ मंगलबार
अन्य

कला विस्तार

तीर्थ निरौला

यो वर्षको राष्ट्रियकला प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भयो । देशभरिका चार सय २६ कलाकारका चार सय ५८ कलाकृति प्रदर्शनमा राखिएका थिए । सधैँजस्तो यो वर्ष सुधारिएर प्रस्तुत हुन्छौ“ भन्दाभन्दै पनि राष्ट्रियकला प्रतियोगिता विवादरहित हुन सकेन । विशेषतः प्रतियोगिता मिथिलाकला पुरस्कारका सन्दर्भमा विवादित बन्यो । निर्णायक मण्डलीमा रहेकाहरू पूर्ण सक्षम नभएको, पुरस्कार आफ्ना मान्छेका कमजोर कलाकृतिलाई दिइएको आक्षेप लगाइयो । विवाद सतहमा आइसकेकाले सम्बन्धित पक्षको स्पष्टीकरण आउला । जे भए पनि नेपाल ललितकला संस्थानले राष्ट्रभरिका सम्पूर्ण कलाकारलाई समेट्ने र एक सूत्रमा बाँध्ने उद्देश्यमा थालनी गरेको यो कार्यक्रम नियमित हुन सक्नु नै नेपाली कलाको विकास तथा सक्रियताको सूचक हो । यसखाले नियमितता र जागरुकताले राष्ट्रलाई कलाको महिमा र आवश्यकता अपरिहार्य छ भन्ने बुझाउ“छ । कला मानव जीवनका निम्ति महत्त्वपूर्ण हुन्छ। 

चित्रकला विधा अहिलेको अवस्थासम्म आइपुग्न धेरै आरोह–अवरोह पार गरेको इतिहास छ । यसको विकासको प्रस्थान बिन्दु ग्रिक सहर हो । पौराणिक कलाले भरिपूर्ण ग्रिकबाटै कलामा परिवर्तन वा विकास देखापरेको हो । त्यतिबेला यो क्षेत्रको कलालाई शिल्पीमुखी कला भनिन्थ्यो र समयकालको मागअनुरूप कला सिर्जना गरिन्थ्यो । देवी–देवता र शिल्पलाई सुन्दर परिकल्पनामा प्रस्तुत गर्नु त्यो बेलाको कलाको मान्यता हुन्थ्यो । यसपछि कलामा नवशास्त्रीयवादको विकास भएको देखिन्छ । यो वादअन्तर्गत ग्रिकमा रोमन कथामा आधारित रहेर सौन्दर्यको पाटोलाई हृदयंगम गर्दै चित्र कोर्नुपथ्र्यो । त्यतिबेलाका प्रचलित दाविद भन्ने कलाकारले सन् १७८५ मै नौलो अवधारणामा रहेर काम गरेका थिए भन्ने गरिन्छ । यसलाई परम्परावादी कलालाई रोमन कलाले विस्थापित गरेको अवस्था भन्न मिल्छ । यसपछि कला क्षेत्रमा विकास भएको देखियो रोमान्सवाद, जसले पुराना र कठोर बन्धनमा रहेर काम गर्नुपर्ने यसअघिको कला धारलाई विस्थापित गरेको अवस्थाका रुपमा बुझिन्छ । यस धारमा कलालाई नाटकीय ढंगले प्रस्तुत गर्न थालिएको थियो । यस वादमा कलाकारले आफ्नो कल्पना र भावनालाई पनि कलामा सदुपयोग गर्न थालेका थिए। 

यसपछि उदय भयो, यथार्थवाद, जो रोमान्सपछि कला क्षेत्रमा देखियो । यसमा सामाजिक वस्तुस्थितिलाई जस्ताको तस्तै देखाउने प्रचलन बन्यो । यो कलावाद प्रकृति प्रदत्त हो । यो वादमा रहेर काम गर्ने प्रख्यात कलाकार थिए, कुर्बे । उनले यस वादमा रहेर धेरै काम गरेका थिए । यथार्थवादपछि प्रभाववादको जन्म भयो । विषयवस्तु वा पदार्थलाई प्रकृतिको सम्मुख गएर प्रकाशले रङमा पार्ने असरलाई आत्मसात् गर्दै क्यानभासमा उतार्नु यो वादको मूल मर्म वा सिद्धान्त हो । यसवादमा रहेर काम गर्ने मुख्य कलाकार थिए, पिसारो । फ्रान्सका कलाकार क्लाउड मोनेट (सन् १८४०–१९२६), यस वादमा प्रकाशले प्रकृतिमा पार्ने असर र रङमा देखिने परिवर्तन नै मुख्य रूपमा छाउने गर्छ । पछिल्लो चरणमा कोठाभित्र र व्यक्तिमा पनि यस किसिमको प्रभाव कलाकारले देखाउन थाले । प्रभाववादमा निहीत रहेर सन् १८७४ मा पहिलो प्रदर्शनी सम्पन्न भएको थियो । यसपछि जन्म भयो, उत्तर प्रभाववादको । यो सन् १८८० देखि १९०५ सम्म प्रतिष्ठित बन्यो । यतिबेला तीन नामुद प्रभाववादी कलाकार देखापरे– सेजान (१८३९–१९०९), डच चित्रकार (१८५३–१८९०), पल गाउगिन (१८४८–१९०९) । यी कलाकारले विश्वलाई धेरै प्रभाववादी कला दिएर गए। 

यस वादपछि सन् १९०७ देखि विश्व कला क्षेत्रको विकासमा घनवादी कलाको उदय भयो । यस कलाको जन्मदाता थिए, जर्ज ब्राक र पाब्लो पिकासो । घनवाद ज्यामितीय आधारमा वर्णित कला हो । जसले तेस्रो आयामको अवधारणालाई प्रकाशमा ल्याउँछ । यस कलाको सिद्धान्तमा देखिने वस्तु मात्र होइन, नदेखिने वस्तु वा आकार पनि सम्मुखमा ल्याउन प्रयत्न गरिन्छ । असुन्दरतामा पनि सुन्दरताको खोजी गरिन्छ । नेपालमा आयमेली साहित्यको प्रभाव बिन्दु पनि यही घनवादी कला हो भन्ने गरिन्छ । यसपछि विश्व कला क्षेत्रमा देखापर्‍यो, अभिव्यजनावाद । यसलगत्तै देखापर्‍यो दादावाद, जुन जर्मनमा उदय भएको हो र जसले भावना अभिव्यक्त गर्नुलाई आफ्नो लक्ष्य ठान्छ । यसपछि मस्कोमा जन्मेका कान्दिस्कीले अमूर्तवादलाई जन्म दिए । यो वादको आन्दोलन १९०९ मा कान्दिस्की फ्रान्स पुगेपछि गरेका हुन्। यो वादका कलामा कलाकार होइन, दर्शक प्रधान हुन्छ । स्रष्टाभन्दा द्रष्टा प्रधान हुन्छ । यसखाले कला आकारबाट निराकारमा, रूपणबाट अरूपणमा प्रक्षेपित हुन्छ । जसमा अनुभूति र संवेदनाका कुरा पोखिएका हुन्छन् । आजको विश्व उत्तरआधुनिक युगमा प्रवेश गरेजस्तै विश्वकला मञ्चमा कला पनि उत्तरआधुनिक युगमा प्रवेश गरेको छ । आजको कला हिजोको जस्तो हुन छाडिसकेको छ । आजको फराकिलो समय जस्तै कलाको दायरा पनि फराकिलो बन्दै गइरहेको छ । ग्यालरी र घर, दरबार र कार्यालयका भित्तामा सीमित रहने कलाको अस्तित्व अहिले बाहिरिन थालेका छन् । अर्थात् लैन्ड आर्ट, पर्फर्मेन्स आर्ट, भिजुअल आर्टका रूपमा कला वर्णित र उजागर हुन थालेको अवस्थामा छ, आज । नेपालमा पनि यो उत्तरआधुनिक कला प्रागोगिक भइआएको सर्वविदितै छ।

हामी हरेक वर्ष कहाँ पुगिरहेका हुनेछौँ भन्ने मापन गर्ने यन्त्र भनेकै यस्तै खाले प्रदर्शनी नै हुन् । राष्ट्रिय कला प्रदर्शनीमा हाम्रा मौलिक, परम्परागतदेखि विश्व प्रचलित यी माथिका सबै वाद र शैलीका नेपाली कृति अटाएका छन् । प्रदर्शनीलाई दृष्टिगत गर्दा कलाको सन्दर्भमा हामी विश्वकलाको हाराहारीमा पुग्न उद्यत् छौँ र सही गन्तव्यमा छौँ भन्न सकिन्छ ।

प्रकाशित: २८ श्रावण २०७४ १३:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App