coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

आफ्नै दाँतसँग रिसाउने रोगी

मेची–महाकालीको ११ सय किलोमिटर साइकल यात्रा, २२ दिनको उपचार प्रचार, विभिन्न विद्यालयमा शिक्षकहरुलाई दन्त स्वास्थ्यको जानकारी– यी सबै काम गरिएला भन्ने डाक्टर उज्ज्वल जोशीलाई लागेकै थिएन । सन् २००६ मा बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानबाट डाक्टरको उपाधि पाइसकेपछि उज्ज्वल र उनका केही साथीहरुमा केही गर्ने जोश पलायो । त्यही जोशले उनीहरु पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म मुख तथा दाँतसम्बन्धी रोगबारे जनचेतना जगाउने अभियान चलाए । अभियानमा निस्कनु त्यतिबेला सहज थिएन किनभने संविधानसभाको पहिलो निर्वाचन हुँदै थियो । जातजातिका कुरा उरालिएका थिए र धेरैले अशान्ति महसुस गरिरहेका थिए । कतिपयले धमाधम मधेसका सम्पत्ति कौडीको भाउमा बेचेर सुरक्षित ठाउँ खोजिरहेका थिए । साथीहरुले यात्रामा नजान सुझाइरहेका थिए ।
‘हामी जुन बेला यस अभियानमा निस्कन लागेका थियौँ, पहिलो संविधान सभाको निर्वाचनको बेला थियो,’ बेला सम्झँदै डाक्टर उज्ज्वलले भने, ‘मानिसहरुमा थरिथरिका आशंका थिए । अब के हुने हो, कसो हुने होको अवस्था थियो ।’
यस्तो बेलामा उज्ज्वल र उनका साथीलाई पूर्वपश्चिम राजमार्ग वरिपरि आफूले भ्याएसम्मका ठाउँमा दन्त चिकित्सा, दन्त स्वास्थ्य आदिका बारेमा प्रचार गर्ने निधो गरिसकेका थिए । ‘अहिले गरिएन भने सायद कहिल्यै गरिँदैन,’ उनलाई यस्तै लाग्यो । त्यसैले चार जना साथीहरुले सानो प्रचार अभियान लिएर राजमार्गयात्रामा निस्कने निधो गरे । ‘हाम्रो प्रचारको उद्देश्य सानो थियो– दिनमा दुई पटक खाना खाइसकेपछि ब्रस गरौँ,’ उनले प्रस्ट्याउँदै भने, ‘यत्ति सानो कामले हाम्रो मुख तथा दाँतका धेरै समस्या समाधान हुन्छन् । यत्ति एउटा कुरा नबुझ्नाले वा गम्भीर नभइदिनाले सर्वसाधारणले धेरै दुःख पाएका छन् ।’
उनीहरुको यस यात्रालाई डेन्टल असोसिएसन, केही संघसंस्थाले पनि सहयोग गरे । आएको सहयोगले उनीहरुले साइकल किने, केही प्राथमिक उपचारका सामग्री भेला पारे । त्यति सहयोगले त खासै केही हुन्थेन तर उनीहरुको जोशमा थोरै भए पनि जाँगर थपियो । बाँकी खर्च आफँैले बेहोरे ।
सूर्तिजन्य पदार्थ दाँतको सबैभन्दा ठूलो समस्या हो र यो तराईको मूल समस्या हो भन्ने लागेर यसलाई पनि सहायक मुद्दा बनाए । यसपछि उनीहरुले साइकलमा यात्रा सुरु गरे । ‘हामीले यात्रामा रहँदा कुनै पनि किसिमको ठूलो उपचार गरेनौँ तर जनचेतना जगाउनका लागि राजमार्ग छेउछाउकाका विद्यालय, स्वास्थ्य केन्द्र आदिमा छिरेर आफूले जानेको जानकारी दिने, सहयोग गर्ने काम गर्यौँ,’ उज्ज्वलले भने ।
त्यसो त यस किसिमको यात्रामा डर नभएको होइन, कतिपय ठाउँमा बन्द, कतिपय ठाउँमा बस तोडफोड आदि त छँदैथियो । साइकल यात्रा भएकाले त्यस्ता कुराले उनीहरुलाई दुःख दिएन । ‘यतिबेला भए सायद हामी गम्भीर भएर यस किसिमको यात्रामा जाने कि नजाने भनेर सोच्थ्यौँ होला,’ उज्ज्वलले भने, ‘तर त्यो बेलाको जोशमा हामीले ती सबै खतराबारे आँखा चिम्लियौँ ।’
लगभग एक महिनाको यस यात्रामा आफूहरूले देशको सुगम ठाउँमा समेत दन्त रोगका बारेमा थाहा पाउन नसकेका जनता देखेर दुःखी हुनुपरेको अनुभूति बटुल्नु परेको उज्ज्वलले बताए । ‘जनचेतना त छँदैछैन,’ उनले आफ्नो अनुभव बताउँदै भने, ‘विद्यालयमा यसबारेमा पढाइँदैन, जाँचिदैन, विद्यार्थीहरुलाई गम्भीर भएर सोच्न प्रेरित गरिँदैन । जसका कारणले मानिसहरु दिनदिनै शिक्षित भए पनि आफ्नो स्वास्थ्यका बारेमा अनभिज्ञ छन् भन्ने महसुस गर्यौँ ।’
यतिबेला उनी नयाँ पुस्तालाई चिकित्सक बनाउने अभियानमा छन् । उनी एस मेडिकल कलेजमा पढाउँछन् । भारतको बेंगलोरमा मुख तथा दन्त चिकित्सामा विशेषज्ञ अध्ययनपछि उनले यहाँ प्राध्यापन गर्न थालेका हुन् । प्राध्यापन र आफ्नो क्लिनिकबाट फुर्सद पाउनेबित्तिकै नेपालका दूरदराजमा उपचार क्याम्प गर्ने हुटहुटी चलिहाल्छ उनको मनमा । कसैले उनलाई यस किसिमको काममा जाउँ भन्यो भने उनी दगुरिहाल्छन् ।
‘सायद त्यो बेला कलेज सकिनेबित्तिकै नेपाल भ्रमण नगरेको भए ममा हाम्रो देशमा दन्त चिकित्साको अवस्था कस्तो छ भन्ने ज्ञान हुने थिएन होला, जनचेतनाको स्तर पनि मैले बुझ्ने थिइनँ होला तर त्यस यात्राले ममा संवेदना बढाइदियो । त्यसैले म मौका मिल्नेबित्तिकै वा साथीहरुको प्रस्ताव आउनेबित्तिकै स्वास्थ्य क्याम्पमा निस्किहाल्छु,’ उनले आफ्नो भित्री इच्छा बताउँदै थपे, ‘यस बीचमा हामीले ललितपुरका विकट ठाउँमा, सोलुखुम्बुका विकट ठाउँमा उपचार क्याम्प लगायौँ । विगत पाँच वर्षयता यो क्रम जारी छ ।’
उनको क्लिनिक वा अस्पतालमा आउने व्यक्तिहरु सहज सुविधाका लागि आउँछन् । थोरै दाँत वा मुखको समस्या आइप¥यो भने उनीहरुका लागि सहज उपचारको व्यवस्था हुन्छ किनभने उनीहरु सुगम ठाउँमा छन् । तर देशमा स्वास्थ्य चौकी नभएका कैयौँ ठाउँहरु छन् । त्यहाँ चिकित्सक वा भगवान् उस्तैउस्तै ठानिन्छन् किनभने तिनको दर्शन विरलै पाइन्छ ।
‘हामीले ललितपुरलाई नजिक भनेर के गर्ने ?’ उनले अर्थ खुलाउँदै भने, ‘त्यहाँ यस्ता विकट क्षेत्र पनि छन्, जहाँ स्वास्थ्य केन्द्र छैनन्, स्वास्थ्य केन्द्र भएका ठाउँमा स्वास्थ्यकर्मी छैनन् । अनि त्यस्ता ठाउँमा हामीले एक पटक क्याम्प लगाउँदा जे जति उपचार गर्न पाइयो, त्यसले हामीलाई धेरै सन्तुष्टि दिन्छ ।’
उनलाई राजधानीबाट नजिकका क्षेत्रहरुमा गरेको उपचारले भन्दा टाढाका दुर्गम क्षेत्रमा गरेका उपचार र चिकित्सायात्राले बढी सन्तुष्टि दिने गरेको छ । उनी दुई पटक सोलुखुम्बुको पेल्माङ र छेस्कामको सीमामा पुगेका छन्, साथीहरुसँग । ठाडो उकालो कटेर त्यहाँ पुग्दा दुई तीन दिनसम्म हिँडेर स्वास्थ्य क्याम्पमा आइपुगेका थिए । त्यस ठाउँमा सर्वसाधारणले कति धेरै दुखाइ सहेर बसेका रहेछन् भन्ने मैले प्रत्यक्ष अनुभव गरेँ ।
‘एक जना बूढी आमा हुनुहुन्थ्यो । उहाँलाई कैयौँ महिनादेखि दाँतले दुःख दिएको थियो । उहाँले गाउँघरकै उपचार गर्ने भनेर नजिकैका एक जना कामीकहाँ दाँत फुकाल्ने प्रयास गर्नुभएको रहेछ । तर त्यो दाँत आधा मात्र निस्कियो । बाँकी आधा निस्कन नसक्दा महिनौँदेखि उहाँले सास्ती पाउनु भएको रहेछ । जब मैले उहाँको दाँत निकालिदिएँ, उहाँको थोते अनुहारको खुसी देखेर म छक्क परेँ,’ उनले उपचारस्मृति सुनाए, ‘हाम्रा लागि उहाँ धेरै दाँतको रोगीमध्ये एउटा हो तर उहाँका लागि सबैभन्दा कठीन अवस्थामा पाएको युनिक उपचार पाउने व्यक्ति हुनुभयो । त्यसैले पनि उहाँको अनुहारको कान्ति बयान गरिनसक्नुको थियो ।’
डाक्टर उज्ज्वलले त एक जना रोगी यस्तो फेला पारे कि अहिले सम्झँदा पनि उनलाई हाँसो उठ्छ । ‘महिनौँदेखि उपचार नपाएको दाँतको एक जना रोगी हुनुहुन्थ्यो,’ उनले बयान गर्दै भने, ‘उहाँको दाँत उखेलिदिएपछि उहाँले सोध्नुभयो– डाक्टर सा’ब मलाई तपाईंहरुले यो दाँत दिन मिल्छ ? यसरी उखेलिएको दाँत दिन त मिल्दैनथ्यो किनभने यस्ता दाँतमा संक्रमण हुन्छन् र तिनलाई राम्रोसँग पुर्नुपर्छ । उहाँले मलाई गर्नुभएको अनुरोधलाई मैले अस्वीकार गर्न सकिनँ । उहाँले आफ्नो उखेलिएको दाँत लिएर अलिपर जानुभयो र एउटा ढुंगाले त्यसलाई टुक्राटुक्रा पार्नुभयो ।’
पछि उज्ज्वलले ती अचम्मका व्यक्तिलाई सोधे, ‘तपाईंले किन यसरी दाँत फुटाल्नु भएको ?’ ती व्यक्तिले जवाफमा भने, ‘यसले मलाई यति धेरै दुःख दियो डाक्टर सा’ब, रिस फेर्नका लागि यसलाई फोडेको हुँ ।’
दस वर्षको उपचारका क्रममा आफूले त्यस्ता रोगी कहिल्यै नदेखेको डाक्टर उज्ज्वल जोशीको भनाइ छ ।
यस्तै क्याम्पमा हालैका दिनमा एक जना रोगीको गिजामा एउटा सिन्को छेडिएको घटना पनि उनका लागि अविष्मरणीय नै लाग्ने गरेको छ । एक जना रोगी ६ महिनादेखि घाँटी छेउमा एउटा छेस्को छेडिएर पीडामा बसेका थिए । उनको त्यस पीडाले न खान हुन्थ्यो, न त थुक नै निल्न । यस्तो अवस्थामा पनि यत्तिका लामो समय बिताउनु पर्दा नर्क बराबरको अवस्था उनले झेलेका थिए । पछि डाक्टर उज्ज्वलले तिनको घाँटी छेउमा मुखभित्र छिरेको छेस्को निकालिदिए ।
‘त्यसपछि त ती बिरामीले मलाई भगवानैजस्तो माने । यति धेरै धन्यवाद दिए कि मलाई चाहिँ लाजै लाग्यो,’ उनले त्यो दिन सम्झँदै भने, ‘वास्तवमा हामीलाई सहरमा यस्ता कुराको मतलब हुँदैन, तर जसले जीवनमा उपचारको ‘उ’ पनि पाएको हुँदैन, तिनका लागि यस्ता क्याम्पले ठूलो राहत दिइरहेको हुन्छ ।’
आफ्नो अस्पताल वा क्लिनिकतिर आएका रोगीहरुमा एउटा व्यवसायिक सम्बन्ध हुन्छ । सेवा लिनेहरु आउँछन्, पैसा तिर्छन् र जान्छन् । दिनेलाई पनि सेवा दिनुसँग मात्र सम्बन्ध हुन्छ । यी दुवै पक्षमा भावनाका कुराहरु निकै कम हुन्छन् सहरमा तर जब कुनै स्वास्थ्य क्याम्पमा जानु भनेको दूरदराजका इलाकामा रहेका सर्वसाधारणलाई नयाँ जीवन नै दिनु हो भन्ने उज्ज्वलले बुझेका छन् । त्यसैले त यस वर्ष पनि उनी कसैसित यस्तै स्वास्थ्य क्याम्पमा कतै जान पाइएला कि भनी साथीसंगीहरुसित सोधखोज गरिरहेका भेटिन्छन् ।

डाक्टर उज्ज्वलका सुझाव
दाँत वा गिजाको पीडालाई धेरैले प्रशूतिपीडापछिको सबैभन्दा कडा पीडाका रुपमा लिन्छन् । त्यसैले दाँत दुख्नु वा गिजाको पीडा त सत्रुलाई पनि नहोस् भन्ने कामना गर्नेहरु धेरै छन् । नेपाली समाजमा सबैभन्दा धेरै समस्या दाँत वा गिजाकै हुने गरेको छ । ९० प्रतिशतभन्दा बढी रोगी त दाँत वा गिजाकै हुने गर्छन् । आखिर किन यस्तो हुन्छ ?
दाँत वा गिजाको रोगको मूल कारण खाना खाइसकेपछि ब्रस नगर्नु नै हो । हामीले खाना खाइसकेपछि ब्रस गर्दा कतिपय अवस्थामा मिलाएर गर्दैनौँ । हामीले ब्रसलाई ४५ डिग्री कोणको ब्रस मिलाएर गर्नुपर्छ । अर्को कुरा राति सुत्ने बेलामा हामीले गुलियो खानु हुँदैन । जसलाई चिनी रोग छ, उसको गिजाको समस्या हुन्छ ।
प्रायः दाँतको समस्या अन्तिम अवस्थामा मात्र हुने गर्छ । दाँत वा गिजाको समस्या भनेको सबैभन्दा उपेक्षित समस्या हो । श्वास गन्हाउँछ, हामीले मतलब गर्दैनौँ, गिजा दुख्न थाल्छ, त्यै पनि हामी टेर्दैनौँ । जब दाँत हल्लिन थाल्छ अनि मात्र हामी गम्भीर हुन थाल्छौँ । दाँत हल्लिएर निकाल्नुपर्ने अवस्था भनेको दाँतको सबैभन्दा अन्तिम अवस्था हो । हामी सबैभन्दा अन्तिम अवस्थामा चिकित्सककहाँ पुग्छौँ ।
कुन समय ब्रस गर्ने, कसरी ब्रस गर्नेजस्ता सामान्य कुरामा ध्यान दिन सके मुख र गिजाका धेरै समस्या समाधान हुन्छ ।

 

प्रकाशित: २२ श्रावण २०७४ ०७:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App