८ वैशाख २०८१ शनिबार
अन्य

‘हक लिने कुरा होइन, यो त कमाउनु पर्छ’

अनिल यादव

छन त उनका अनेकन् इच्छा छन् । ‘वन्डर वुमन’जस्तो सुपरहिरो फिल्म खेल्ने मन छ । सशक्त महिला उद्यमीका रुपमा विश्वभर पहिचान बनाउन चाहना छ । विश्वको सौन्दर्य उद्योगमा नेपालको छुट्टै परिचय दिलाउने रहर छ । दुव्र्यवहारमा परेका महिलाको सीप वृद्धि गर्ने उत्कण्ठा छ । मान्छेका कथा सुन्न उनलाई खुब रमाइलो लाग्छ, त्यसैले टेलिभिजनमा एउटा राम्रो ‘टक सो’ चलाउने मन पनि छ ,
नामै त उनको इच्छा ! त्यसैले उनीसँग इच्छैइच्छाका भकारी छन् । असारको तेस्रो साता उनलाई निजी ‘ब्युटी बार’मा भेट्न ‘नागरिक परिवार’ पुग्दा उनी स्वयं ‘हेडलाइन’ फुराइदिइरहेकी थिइन्, ‘इच्छाका हजार इच्छा !’
यो संसारमा इच्छा नभएको मान्छे को होला र ? पूरा पो हुँदैनन् त !  काठमाडौं, लाजिम्पाटकी इच्छा कार्कीले भने आफ्ना इच्छाका कैयौँ सम्भावना देखेकी छन् । ती इच्छालाई सम्भव तुल्याउने आत्मविश्वास पनि छ उनमा । सन् २०१६ को ‘सुपर मोडल नेपाल’ सौन्दर्य प्रतियोगिताको उपाधि चुमेपछि उनी चर्चामा आएकी हुन् । उनले केही फेसन सोमा क्याटवाक पनि गरेकी छन् । त्यसैले उनलाई धेरैले मोडलका रुपमा मात्र चिन्छन् । उनी भने आफूलाई हिम्मतिली आन्ट्रप्रिनरका रुपमा चिनाउन लागिपरेकी छन् ।
क्यानडामा ६ वर्ष मेडिकल एस्थेटिक्स विषय पढेपछि एक वर्षअघि उनी नेपाल फर्किएकी हुन् । व्यवसाय गर्न उनका लागि सम्भावनाका ढोकाहरु क्यानडामा नभएको होइन तर उनै यतै आइन् ।
‘बाहिरी देशमा अरुको अन्डरमा काम गर्नुभन्दा त आफ्नै देशमा केही गर्नु राम्रो नि ! सबै युथ बाहिर गएपछि देशको प्रगति कसरी हुन्छ त ?’ इच्छाको निचोड छ ।

उनलाई सानैदेखि मिडियामा रुचि थियो । टेलिभिजनमा कार्यक्रम प्रस्तोताका रुपमा बोल्ने चाहना थियो । मोडलिङमा लागेर सौन्दर्य प्रतियोगिताको विजेता बनूँली भन्ने उनले सोचेकी थिइनन् । ‘क्यानडा जानुअघि मिस नेपाल बन्ने लक्ष्य त थियो तर त्यहाँ ६ वर्ष बिताइसकेपछि मेरो लक्ष्य पूर्ण रुपमा परिवर्तन भइसकेको थियो,’ उनले भनिन्, ‘विदेशी स्तरको युनिसेक्स सेलुन खोल्न नेपाल फर्किएँ ।
इच्छाको ‘ब्युटीबार’को कन्सेप्ट तयार थियो । पार्लर तयार भइरहेका बेला उनी फुर्सदिली भइन् । ‘मेरी बहिनीले मलाई सुपर मोडलसम्म तानेर पुर्याइन् । रमाइलोका लागि गएकी थिएँ, विजेता बनेर पो फर्किएँ,’ उनले भनिन् ।

बुबाको प्रेरणा
इच्छालाई ब्युटी बिजनेसमा लाग्न प्रेरित गरिरहने उनकै बुबा हुन् । ‘मेरो बुबा मलाई सधैँ भन्नुहुन्छ– तिमी जिन्दगीमा जे गर तर तिम्रो हातमा सीप चाहिँ हुनुपर्छ । हातमा सीप हुने महिलालाई कसैले हेप्न सक्दैन,’ उनले सुनाइन्, ‘तिमी केटी हौ, त्यसैले केटाभन्दा बढी गरेर देखाउनुपर्छ भनेर बुबाले भन्नुहुन्छ ।’ उनका बुबा पनि व्यवसायी नै हुन् । उनको परिवारमा कोही पनि कला र सौन्दर्य पृष्ठभूमिबाट छैनन् । ‘मेरो पनि पहिलो लक्ष्य आन्टप्रिनर बन्ने नै हो,’ उनले भनिन्, ‘१० वर्षभित्र एउटा पपुलर ब्युटी मेकरका रुपमा चिनिन मन छ । मोडलिङ त मेरो सोख हो । यसलाई सोखकै रुपमा अघि बढाउँछु । व्यवसाय र मोडलिङ दुवैलाई एकसाथ अघि बढाउन कति सहज हुन्छ त ? ‘आफूले आफ्नै लागि काम गर्नुको सौन्दर्य भनेकै यही हो,’ इच्छा भन्छिन््, ‘झन् त्यसमाथि मोडलिङ र ब्युटी एकअर्कासँग जोडिएका छन् । मैले प्रायः फोटोसुट गर्दा आफ्ना लागि आफैँ मेकअप गरिरहेको हुन्छु । मलाई त फाइदा पो भइरहेको छ !’

च्याउसरी सौन्दर्य प्रतियोगिता
च्याउसरी खुलेका ब्युटीपार्लर र च्याउसरी भइरहेका सौन्दर्य प्रतियोगिता देखेर इच्छालाई के इच्छा लाग्दो हो ? ‘मैले सुनेँ– ३६५ दिनमा ११ सय ब्युटी प्याजेन्ट हुन्छ रे,’ उनले आश्चर्य व्यक्त गरिन्, ‘सुन्दरताको व्यापार गर्नुभएन । थोरै प्रतियोगिता होस् तर स्तरीय होस् । प्रतिस्पर्धी पनि छानेर मात्र सहभागी हुनुपर्यो ।’ पैसा तिरेर सौन्दर्य प्रतियोगितामा भाग लिनेबारे पनि जानकार छिन् उनी, भनिन्, ‘मैले भाग लिँदाताका एक रुपैयाँ पनि तिर्नु परेन । यहाँ त सहभागीबाट २०–२५ हजार लिने पनि धेरै रहेछन् ! ट्रेनिङ दिएबापत पैसा लिने ब्युटी प्याजेन्ट राम्रो हो जस्तो लाग्दैन ।’

चित्त दुख्ने पाटो
निकट भविष्यमा म्युजिक भिडियो र फिल्म गर्ने योजना बुनेकी इच्छालाई नारीप्रधान फिल्ममा काम गर्न मन छ । उनले भनिन्, ‘मेरो हाइट नै ५ फिट ९ इन्च छ । अग्ली भएकीले मेरो को–एक्टर मसँग सुहाउँदिलो हुनुपर्छ ।’ केही मान्छेहरुको मानसिकतादेखि उनलाई चित्त दुख्छ । ‘मोडलिङ गर्नु चिप हो, राम्रो घरानाकाले गर्दैनन् भन्नेदेखि रिस उठ्छ,’ उनले आक्रोश पोखिन्, ‘अरुको पेसालाई जज गर्ने हामी को हो ? कसैको पेसामाथि अनावश्यक टिप्पणी किन गर्नु ? तीललाई पहाड बनाउने ‘जजमेन्टल’ मलाई मनपर्दैन ।’

केले बनाउँछ सुन्दर ?
मान्छेलाई केले बनाउँछ सुन्दर ? सुपर मोडलको ताज पहिरिसकेकी यी सुन्दरीको सौन्दर्य दृष्टिकोणबारे जान्न खोजियो । ‘दुई किसिमको सुन्दरता हुन्छ– एउटा भित्री र अर्को बाहिरी,’ उनले भनिन्, ‘बाहिरी सुन्दरता क्षणिक हुन्छ । बुढ्यौली लागेपछि त्यो हराउँदै जान्छ । मान्छेलाई राम्रो बनाउने त भित्री सुन्दरता नै हो । देख्नेबित्तिकै असाध्यै राम्रो लाग्ने कोही मान्छे पछि कुराकानी गर्न थालेपछि मनपर्न छाड्छ । त्यसैले भित्री सौन्दर्य सबैभन्दा शक्तिशाली कुरा हो ।’

महिला हुनुको अर्थ
आफूले सुपर मोडलको उपाधि जित्नुका पछाडि उनको अनुहारको सौन्दर्य मात्र कारण हो भन्ने लाग्दैन । प्रश्नोत्तर राउन्डमा उनलाई सोधिएको प्रश्नमा उनले दिएको जवाफले पनि निर्णायकलाई आकर्षित गरेको थियो । ‘मलाई महिला हुनुको अर्थ सोधिएको थियो,’ उनले सम्झिइन्, ‘मैले महिला भनेको समाजको ब्याकबोन हो । हाम्रो समाज अझै पनि पुरुषप्रधान समाज हो, जहाँ लोग्ने मान्छेले काम गर्न जाने, स्वास्नीले घरमा बच्चाबच्ची स्याहार्नुपर्ने मान्यता छ । जुन काम महिलाले गरिरहेका छन्, त्यो पनि हाम्रो समाजमा महिला हुनुको अर्थ हो भनेर मैले भनेकी थिएँ ।’

सम्पत्तिको हक
अहिले नेपालमा कानुनमा छोरीले पनि पैतृक सम्पत्तिमा अंश पाउने र दुई दशकपछि सम्पत्तिमा स्वइच्छा गर्न मिल्ने व्यवस्था हुन लागेको छ । उनलाई यस किसिमको व्यवस्था कस्तो लाग्छ ? उनले यस किसिमको व्यवस्थाको प्रशंसा गर्दै भनिन्, ‘कसैको छोरा या छोरी भए भन्दैमा उसलाई बाआमाले कमाएको सम्पत्ति लिने हक छैन । हक भनेको लिने कुरा होइन नि, यो त हामीले कमाउने कुरा हो । कसैले आफ्नो आमाबुबालाई हेर्दैन भने उसलाई किन अंश दिनु ?’

तस्बिर : अर्जुन शाह

(नागरिक परिवारबाट साभार)

प्रकाशित: २२ श्रावण २०७४ ०६:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App