२४ असार २०७७ बुधबार
अन्य

'पुस्तक साथमा भएन भने अप्ठेरो महसुस हुन्छ'

हरि शर्मा, राजनीतिक विश्लेषक

हरि शर्मा चर्चित राजनीतिक विश्लेषक हुन्। त्रिभुवन विश्व विद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर शर्माले अमेरिकाको करनेल विश्वविद्यालयबाट तुलनात्मक राजनीतिमा स्नातकोत्तर गरेका छन्। झन्डै १५ वर्ष अध्यापनमा बिताएका उनको सहलेखनमा पोलिटिकल लिडरसिप इन नेपाल र लोकल लिडरसिप इन नेपाल पुस्तक प्रकाशित छ। नेपालका अध्ययनशील व्यक्तिको सूचीमा अग्रपंक्तिमा पर्ने शर्माले  अन्य कैयौँ पुस्तकको च्याप्टरमा समेत योगदान दिएका छन्। शर्मा विभिन्न सामाजिक संघसंस्थामा समेत आबद्ध छन्।  

तपाईंको हातमा अहिले कुन पुस्तक छ?

एकैपटक धेरै पुस्तक पढ्ने बानी छ। अहिले डायना सेकर टेस्डेलको 'स्टोरिज अफ आर्ट एन्ड आर्टिस' पुस्तक पढ्दै छु। यो विभिन्न आख्यान तथा गैरआख्यानका दृष्टिकोणबाट कला र कलाकारिताका बारेमा लेखिएको पुस्तक हो। 

यसअघि कुन पुस्तक पढ्नुभएको थियो?

धेरैजसो गैरआख्यान पढ्ने बानी छ। अलेक्स अनेथको 'दी आइडिया अफ सोसियोलिज्म पढेको थिएँ। अनेथ मलाई मनपर्ने राजनीतिक दार्शनिक हुन्। पुस्तकमा अहिलेको विश्वमा चलिरहेको पहिचान र पुनर्वितरण महŒवपूर्ण कुरा हुन् भन्ने कुरालाई राम्रोसँग उल्लेख गरिएको छ।

मनपर्‍यो कि परेन, किन?

पुस्तकले समाजशास्त्रलाई कसरी रिइन्भेन्ट गर्न सकिन्छ भन्ने कुरा उल्लेख गरेको छ।  त्यस्तै, अहिलेको सामाजिक, आर्थिक स्वतन्त्रतालाई समाजवादसँग जोड्नुपर्छ भन्ने तर्क पनि पुस्तकले गरेको छ। त्यसैले पुस्तक मनपर्‍यो।

अब के पढ्ने योजना छ?

सामान्यतः म बेलुका एक–डेढ घन्टा पुस्तक नपढेको दिन नै हुँदैन। रिभ्युका आधारमा पुस्तक छनोट गर्छु। जस्तो पायो त्यस्तो पुस्तक पढ्ने बानी छैन। विशेषगरी न्युयोर्क टाइम्स  तथा भारतको हिन्दुस्तान टाइम्स जस्ता विभिन्न पत्रपत्रिकामा आएका रिभ्युका आधारमा राम्रो पुस्तक रहेछ भने त्यो पुस्तक खरिद गरेर पढ्छु। अब प्रताप भानु मेहताको  'रिथिंकिङ' पब्लिक इन्सिट्युसन' र स्भेतलाना एलेक्सिभिचको 'दी अनओमनली फेस अफ वार' पढ्ने तयारीमा छु।

म एकपटक पढेको पुस्तकलाई दोहोर्‍याएर पनि पढ्छु। एकपटक पढेको पुस्तक दोहोर्‍याएर पढ्दा नयाँ आनन्द र ऊर्जा मिल्छ। पुराना हिन्दी साहित्य, क्लासिक पुस्तक तथा पुराना नेपाली पुस्तक पनि पढ्छु। म आनन्दका लागि पढ्छु। एउटै पुस्तक फरक–फरक उमेरमा पढ्दा नयाँ धारणा बन्छ। तर, पुस्तक पढ्दैमा सबै विद्वान् हुन्छन् भन्ने होइन, पुस्तक पढ्ने मूर्ख पनि हुन्छन्। सबै पुस्तक पढ्नेमा वैराग्य हुँदैन।  

कस्तो पुस्तक लेखियोस् भन्ने लाग्छ?

अहिले लेखिएकै पुस्तक महŒवपूर्ण छन्। अब लेख्दै नलेखिएका पुस्तकबाट के आस गर्नु र?

पढेकामध्ये सबैभन्दा मनपरेको पुस्तक? किन?

धेरै पुस्तक पढेको हुँदा मनपर्ने पुस्तक धेरै छन्। अझ  प्रस्ट भन्नुपर्दा सबै पुस्तक स्तुते र पुज्य छन्। किनभने पुस्तक लेख्नु निकै ठूलो कुरा हो।

नपढी नहुने पुस्तक? किन?

सामान्य अवस्थामा  यो पुस्तक पढ्नुपर्छ भन्न सकिँदैन। पाठ्यक्रममा आधारित भए कुन पढ्ने भनेर भन्न सकिन्थ्यो होला। समग्र रूपमा भन्दा सबै किसिमका पुस्तक पढ्नुपर्छ। साहित्य र मानविकीले मानवताका कुरा गर्ने भएकाले पढेर बुझ्ने र त्यो सेयर गर्ने महŒवपूर्ण कुरा हो।

पुस्तकसँग तपाईंको साइनो कस्तो छ?

सानैदेखि किताबकै वरिपरि रहेेर हुर्कें। अहिले त किताब पढ्ने बानी यस्तो भइसक्यो कि बरु मान्छे साथमा नहुँदा फरक पर्दैन, तर पुस्तक साथमा भएन भने अप्ठेरो महसुस हुन्छ। मेरो झोला, बेडरुम तथा कार्यालयमा पनि पुस्तकै पुस्तक हुन्छन्। घरमा पनि जताजतै पुस्तक राखेको भनेर कराउँछन् पनि। हरेक नयाँ ठाउँमा जाँदा सबैभन्दा पहिले पुस्तक पसल खोज्छु। पुस्तक नभएको भए सायद खल्लो महसुस हुन्थ्यो होला। हाल सूचना प्रविधिका कारण इन्टरनेटकै माध्यमबाट पनि पुस्तक अध्ययन गर्न सकिन्छ तर मेरो सन्दर्भमा असली पुस्तक पढ्नुको छुट्टै मजा छ। पुस्तकको गन्ध, बनोट आदि कुराले पनि आकर्षित गर्छ।

एउटा पाठकका रूपमा काठमाडौं पुस्तक अध्ययनका लागि कति सहज छ? 

पहिलेभन्दा अहिले पुस्तक पढ्न सजिलो छ। पुस्तकालय पनि पहिलेभन्दा बढी छन्। ३० वर्षपहिलेको तुलनामा अहिले विषयमा पनि विविधता छ।

तर पुस्तक पढ्ने बानी खर्चिलो हुँदै गएको छ। पर्याप्त मात्रामा सार्वजनिक पुस्तकालय नहुँदा नयाँ–पुराना पुस्तक पढ्न पाइँदैन। अधिकांश अवस्थामा बाहिरबाटै पुस्तक मगाएर पढ्नुपर्ने बाध्यता छ। अझ भूकम्पपछि त सबैजसो पुस्तकालयलाई असर गरेको छ। कतिपय पुस्तकालयबारे जानकारी समेत हुँदैन।

जस्तो, 'सोसल साइन्स वहा'को आफ्नै पुस्तकालय छ। जहाँ समाजशास्त्रसम्बन्धी ३० हजार पुस्तक तथा अन्य लाखौँ जर्नलमा विद्युतीय पहुँच छ। तर पढ्ने मान्छेको अभाव छ। पुस्तकालयमा गएर पढ्ने मान्छेको संख्या पनि कम छ। त्यस्तै मार्टिन चौतारीमा पनि पुस्तक अध्ययनका लागि राम्रो ठाउँ हो। यसरी सार्वजनिक पुस्तकालय नभएर वा भएका पुस्तकालयबारे पनि जानकारी नहुँदा पुस्तकालयमा गएर अध्ययन गर्नेको संख्या र पुस्तकालयकै संख्या पनि कम छ। 

यद्यपि पुस्तक पढ्नु मात्र ठूलो कुरा होइन, पुस्तक पढेर केही सिक्न पाइएन वा पढेको ज्ञान बाँड्न पाइएन भने पढ्नुको अर्थ रहँदैन। एउटै पुस्तकले फरक–फरक डायमेन्सन बोकेको हुन्छ। छलफल भएन भने त्यसका सबै पाटालाई केलाउन सकिँदैन। 

नेपाली लेखकका पुस्तक अन्य मुलुकमा किन नपढिएका?

मुख्य कुरा अनुवाद नै हो। राम्रोसँग अनुवाद नभएकाले नै नपढिएको हुन सक्छ। त्यसैले राम्रो भाषामा अनुवाद हुन आवश्यक छ।

पढ्न मन लागेर पनि नपाएको पुस्तक?

अमेजन डटकमले गर्दा मनपरेको पुस्तक पढ्न नपाउने भन्ने छैन। मनपरेको पुस्तक खोजेर पढ्न सकिन्छ। पुराना पुस्तक भने नपाउने अवस्था हुन सक्छ। त्यसैका लागि पुस्तकालयको आवश्यकता परेको हो।

घरमा कतिवटा पुस्तक छन्?

प्रशस्त छन्, किनभने जहाँ गए पनि पुस्तक किनेर ल्याउने बानी छ।

प्रकाशित: २१ श्रावण २०७४ ११:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App