२५ असार २०७७ बिहीबार
अन्य

व्यक्ति : अविराम अक्षर यात्रा

माधवप्रसाद नेपाल

तपाईं हामी धेरैलाई लाग्न सक्छ, उमेरले साढे सात दशक पार गर्न लागेका कवि एवं वरिष्ठ संस्कृतिविद् तुलसी दिवस अचेल घरमै अवकाशपूर्ण जीवन बिताउँदै होलान्, कसैले बोलाइहाल्यो भने सहरका कुनै कार्यक्रममा सम्मान ग्रहण गर्न जालान् वा आफ्ना सन्ततिको सहारामा जीवन गुजारा गरिरहेका होलान्। तपाईं हाम्रो यस्तो सोचाइ गलत हुन सक्छ। उनी वर्षमा झन्डै तीन महिना विदेश यात्रामा हुन्छन्। किन गइरहन्छन् उनी विदेश?

तुलसीले यसअघि पटकपटक दक्षिण कोरिया र जापानका विभिन्न सहरमा गएर लोकवार्ता र कविताबारे प्रवचन दिएका छन्, नेपाली कवितालाई चिनाएका छन् र नेपाली लोकवार्ताका बारेमा गहन व्याख्यान दिएका छन्।

तुलसी दिवस कहिले निकारागुवामा लोकवार्ताबारे प्रवचन दिन पुगेका हुन्छन् त कहिले गोवामा कविता वाचन गर्न, अनि कहिले स्पेन, फिनल्यान्ड, रुस, फ्रान्स र बेलायतका विभिन्न सहरमा पुगेर विश्वभरका समकालीन कविका माझमा कविता वाचन गर्छन्। पछिल्लोपटक गत महिना उनी अमेरिकाका वासिङ्टन डिसी, नर्थ क्यारोलिना, भर्जिनिया, टेक्सास, कोलोराडो, न्युयोर्कलगायतका राज्यमा पुगेर कविता वाचन गरे र त्यहाँका साहित्यप्रेमीबाट अभिनन्दन ग्रहण गरे। निकट भविष्यमै उनी अस्ट्रेलिया हानिँदैछन्।

उनले यसअघि पटकपटक दक्षिण कोरिया र जापानका विभिन्न सहरमा गएर लोकवार्ता र कविताबारे प्रवचन दिएका छन्, नेपाली कवितालाई चिनाएका छन् र नेपाली लोकवार्ताका बारेमा गहन व्याख्यान दिएका छन्। युगोस्लाभिया, दक्षिण अमेरिकी मुलुकहरू, अफि्रकी मुलुक सेनेगलमा उनी पटकपटक पुगेका छन्, कला, साहित्य र संस्कृतिसम्बन्धी अन्तर्राष्ट्रिय मञ्चहरूमा भाग लिन। दक्षिण एसियाका विभिन्न मुलुकमा उनका धेरै प्रशंसक छन्। जहाँ जान्छन् त्यहाँ उनी श्रोतादर्शक मन्त्रमुग्ध हुने गरी कविता वाचन गर्छन्, लोकसाहित्य र संस्कृतिबारे गहन प्रवचन दिन्छन्, जीवनदर्शनबारे मार्मिक व्याख्यान गर्छन्। यिनै पहिचानका कारण संसारभर उनको कविता सुन्न लालायित हुने नेपाली धेरै छन्।

त्यसो त तुलसी दिवस अहिले न कुनै जिम्मेवार निकायमा आबद्ध छन् न कुनै सार्वजनिक पदमै। अविवाहित उनी फुक्काफाल कवि र नेपाली लोकवार्ताका संवर्द्धक हुन्। नेपाली कविता क्षेत्रमा २० को दशकमै लोकप्रियता हासिल गरेका दिवस समकालीन धेरै साहित्यकारका गुरु हुन्, जीवनको धेरै समय अध्यापनमा बिताएका हजारौं विद्यार्थीका पथप्रदर्शक हुन् भने आफ्नो काव्यिक ओजका कारण धेरै साहित्यप्रेमीका 'फ्यान' हुन् उनी। कलासाहित्य, लोकसंस्कृति र जीवनदर्शनबारे दिवसको विनोदप्रिय सम्भाषण सुन्ने प्रशंसक धेरै छन्। उनले काव्यमय भाषामा अभिव्यक्ति छङछङी प्रवाह गर्दा श्रोतादर्शक पुलकित हुन्छन्। यही शैलीकै कारण उनी सबैको प्रिय बनेका छन्, संसारका कुनाकुनाबाट आमन्त्रित भइरहन्छन्। त्यसैले तुलसी दिवस समसामयिक स्रष्टामध्ये सबैभन्दा व्यस्त 'सेलिब्रेटी' हुन्।

स्वदेशमा रहँदा बिहान सबेरै उनको निवास ललितपुर चाकुपाटमा कोही सम्मानको निमन्त्रणा दिन पुगेका भेटिन्छन् त कोही कविता वाचनका लागि आइदिन अनुरोध गर्न पुगेका हुन्छन्। त्यस्तै कोही आफ्ना कविताबारे वा समसामयिक साहित्यबारे केही बोलिदिन आग्रह गर्न पुगेका हुन्छन्। कोही उनको एकल जीवनको अन्तर्य खोतल्ने उत्सुकताले पुगेका भेटिन्छन्। नयाँ पुस्ताका साहित्यकारलाई आफ्नै सन्तानसरह ठान्ने आदरणीय व्यक्तित्वका कारण उनलाई स्वदेशभित्र मात्र होइन भौगोलिक सीमाभन्दा परपर पनि रुचाउनेहरू धेरै भएका हुन्।

सिर्जनशील अमरत्व

राजनीति गर्नेहरूको अन्तिम लक्ष्य मन्त्री बन्ने हुन्छ। मन्त्री बनेपछि उनीहरू सम्मानित हुन्छन्, व्यक्तिलाई भन्दा कुर्सीलाई सम्मान गरिएको हो त्यो। पदबाट निस्किएपछि भूतपूर्व हुन्छन्, सामान्य नागरिकमा फर्कन्छन्। मन्त्री, कुलपति, सचिव, निर्देशक आवधिक पद हुन्। अवधिभित्र जागिर खान्छन् अनि भूतपूर्व हुन्छन्। उनी भन्छन्, 'कुर्सीमा बस्नेहरू आवधिक हुन्छन्। तीनतीन महिनामा परिवर्तन भइरहन्छन्। लेखक र कवि, कलाकार कहिल्यै पूर्व भएको मैले देखेको छैन। ती त अभूतपूर्व हुन्छन्।' पूर्वकवि, पूर्वगीतकार, पूर्वचित्रकार, पूर्वगायक कहीँ कतै सुनिएको छैन। दिवसका अनुसार सिर्जनशीलताले दिएको अमरत्व भनेको त्यही हो। कवि, कलाकारलाई धेरैभन्दा धेरै मानिसले सधैं सम्भि्करहनु नै सिर्जनशील अमरत्व हो।

बाली उठाउनै व्यस्त

किसानले असारमा धान रोप्छ। मङ्सिरमा आफ्नो खेतको सीमाभित्र पाकेको बाली उठाउँछ। बाली उठाएपछि उसलाई एक प्रकारको आनन्द हुन्छ। तुलसी दिवस जीवनको पूर्वार्द्धमा आफूले अक्षरखेती आरम्भ गरेको र अहिले त्यसको बाली उठाइरहेको बताउँछन्। उनी भन्छन्, 'अक्षरको खेती गर्नेहरूले संसारभरै बाली उठाउन पाउँदा रहेछन्।' विगतमा आफूले कला, साहित्य र संस्कृतिका क्षेत्रमा काम गरेर बाली रोपेका र अहिले संसारका विभिन्न मुलुकमा आमन्त्रित हुँदा असारमा धान रोपेको किसानले मङ्सिरमा उठाइरहेको जस्तो आभास भएको उनको भनाइ छ। उनी भन्छन्, 'यसलाई सामान्य रुपमा लिन सकिँदैन। अन्य खेतीमा लागेको भए आर्थिक रूपमा सम्पन्न हुन्थेँ होला तर अक्षर यात्रामा लागेर आलिसान जीवन बिताउन नपाए पनि ख्याति र नामको सम्मान हुँदो रहेछ।' विश्वका विभिन्न भागमा रहेका कलासाहित्य र संस्कृतिप्रेमीहरूले स्वतस्फूर्त रुपमा सम्मान गर्दा उनलाई जीवन भनेकै नाम र अमरत्वका लागि भन्ने लाग्छ।

'विश्वका धेरै ठाउँमा मेरा प्रशंसक रहेछन्, मेरा कविताका पाठकश्रोता रहेछन्, मलाई सुन्न चाहनेहरू धेरै रहेछन्, धेरै ठाउँबाट मलाई सुन्न आएका अनुरोधले मैले अक्षरखेती राम्रै गरेछु जस्तो लाग्छ', उनी भन्छन्। उनी जहाँ पुग्छन्, त्यहाँ सम्मानित हुन्छन्, प्रशंसकहरूले आत्मीयता दर्शाउँछन्। उनी भन्छन्, 'अब विश्राम लिऊँ, घरमै बसिरहूँ जस्तो लाग्छ, तर विभिन्न मुुलुकमा पुग्दा त्यहाँका शुभेच्छुकहरूले देखाएको आत्मीयताले बाँचुन्जेलसम्म लोकवार्ता र कविताका क्षेत्रमा केही गरिरहूँ जस्तो लाग्छ, सिर्जनशील कार्यमा लागिरहन मन लाग्छ।' त्यसैले त उनको नेतृत्वमा नेपाली भाषामा गन्धर्व, गोपाली, आठपहरिया राई, उराँव झाँगड, धिमाल, चौधरी, दुनुवार जातिको लोकवार्ताको गहन खोजअनुसन्धान सम्भव भएको हो।

प्रवासी साहित्यले जीवन बोलेन

वरिष्ठ कवि एवम् संस्कृतिविद् तुलसी दिवस नेपाली भाषी रहेका विश्वका जुनसुकै मुलुकमा पुगे पनि त्यस ठाउँको साहित्यबारे आफ्ना अभिव्यक्ति छुटाउन चाहँदैनन्। दिवस भन्छन्, 'म जहाँ पुगे पनि त्यहाँ स्थायी बसोबास गर्दै आएका नेपालीले सिर्जना गरेका साहित्यबारे केही बोल्न मन लाग्छ। विदेशमा बसेर लेखिएका अधिकांश सिर्जनाले त्यहीँका नेपालीले भोगेका जीवन बोल्न सकेका छैनन्। त्यसो हुँदा नेपालीको वास्तविक जीवन साहित्यमा नआएको हो कि भन्ने चिन्ता छ।'

उनका अनुसार साहित्यले तत्कालीन समय र ठाउँकोे जीवन्त चित्रण गर्न सक्नुपर्छ। त्यस्तो साहित्य मार्मिक हुन्छ, कालजयी हुन्छ। जीवन नबोलेको साहित्य के साहित्य? उनी भन्छन्, 'नेपालबाहिरका नेपाली भाषीले लेख्ने साहित्यमा यतैका अनुभव, संस्मरण बढी पाइन्छन्। लालीगुराँस, पहाड, उकालीओरालीमात्रै अटाएका छन् प्रवासी नेपालीका साहित्यमा। उनीहरू बाँचेको धरातल बोल्ने साहित्य थोरै मात्र लेखिएका छन्।' कुनै साहित्यकार अमेरिकामा बसेको छ भने उसले साहित्य रचना गर्दा त्यहीँको सुखदुःख, अनुभव, प्राप्त गरेको सफलता र असफलता, नेपालीलाई त्यहाँ टिक्न कति कष्ट भएको छ या सजिलो भएको छ? नेपालीले अमेरिकामा बाँच्दा कस्तो अनुभव गरेका छन्? जस्ता सन्दर्भहरू समेट्नुपर्नेमा त्यसो हुन नसकेको दिवसको अनुभव छ। त्यस्ता भोगाइहरू नेपाली पाठकका निम्ति ज्ञानको भण्डार हुन सक्छ, नयाँ हुन सक्छ। पहिलो पुस्ताका लेखकका साहित्यमा नेपालप्रति ध्यान राख्ने, नेपालकै पुराना सम्झनामात्र पोख्ने, भावुक र काल्पनिक कुरा समेट्ने प्रवृत्ति हुने र उनीहरूका लेखनमा यथार्थ भोगाइ नआएको दिवस बताउँछन्।

उनका अनुसार नेपालीले अवलम्बन गरेको जीवनशैली समेट्न नसक्दा प्रवासमा बसेर लेखिएका धेरै साहित्यले नेपाली पाठकको मन जित्न नसकेको हो। उनी भन्छन्, 'भावनात्मक रूपमा देशतर्फ फर्किनु राम्रो भए पनि साहित्यमा ठाउँविशेषको चित्रण जीवन्त हुन्छ, ज्ञानवर्द्धक हुन्छ र पठनीय हुन्छ।' युरोप, अमेरिकामा यतैबाट गएका साहित्यकार मात्र स्थापित छन्। उतै जन्मिएर नेपाली साहित्य लेख्नेहरू निकै कम छन्। अब नयाँ सोच, मौलिक चिन्तन र प्रतिभा भएकालाई प्रोत्साहित गर्नुपर्ने सुझाव उनको छ।

गुदी नभएको सिर्जनाले गिज्याउँछ

नेपाली सन्दर्भमा व्यक्तिगत प्रतिभालाई भन्दा पार्टीका सदस्यलाई मात्र प्रोत्साहन दिइन्छ। पार्टी निकट रहेर साहित्य सिर्जना गर्ने मानिसलाई मात्र सरकारीस्तरबाट सुविधा उपलब्ध गराउने काम भइरहेको पाइन्छ। प्राज्ञिक हैसियत प्राप्त नभएका तर राजनीतिक नेतृत्वसँग नजिक भएका व्यक्तिहरू राज्यका माथिल्लो तहमा पुगेका छन् भने पार्टी राजनीतिमा आबद्ध नभएका प्रतिभाशाली मानिसहरू सडकमै छन्। विश्वविद्यालय र विद्यालय तहको पाठ्यक्रममा पार्टीका कार्यकर्ताका भागबन्डामा कथा, कविता राखिएका छन्। दिवसका अनुसार कलासाहित्यप्रति यस्तो व्यवहार राम्रो हुँदै होइन। उनी भन्छन्, 'कवितामा गुदी छैन, शक्ति र सामर्थ्य नै छैन, त्यसैले यस्ता सिर्जनालाई अर्को पुस्ताले गिज्याउन सक्छ।'

व्यक्ति होइन, कला सम्मानित

सम्मान गर्दा को नै खुसी नहोला र? त्यसमा पनि तुलसी दिवस सातै महादेशमा सम्मानित भएका छन्। उनी भन्छन्, 'मलाई व्यक्तिगत रूपमा सम्मान गरिएको होइन। मैले साहित्य, संस्कृति र कलाप्रति केही गर्न खोजेको प्रयासलाई सम्मान गरेका हुन्।' कविलेखकलाई सम्मान गर्नु भनेको उसको सिर्जनात्मक योगदानको कदर गर्नु हो। आफ्ना कविता र कलासंस्कृतिबारेको धारणा श्रोतादर्शकले मूर्तिवत् भएर सुनिदिँदा यस क्षेत्रमा केही गरेछु कि जस्तो लाग्छ। उनी जहाँ जान्छन्, त्यहाँका नेपालीको सद्भाव देखेर पुलकित हुन्छन्। कविताका पाठकहरू झुम्मिन आउँदा उनी कविता वाचन गर्न पछि हट्दैनन्। जीवनको अपूर्णताभित्रै पूर्णताको खोजी गर्न रुचाउने दिवसले ६ दशक लामो यात्रामा गुमाउनुभन्दा प्राप्तिमै धेरै सफलता हासिल गरेका छन्। 'जीवनको उकालीबाटै ओराली पनि खोज्न जान्नुपर्छ, अभावभित्रैबाट प्राप्ति पहिचान गर्न सक्नुपर्छ, निराशाभित्रैबाट आशाका किरण बाल्न सक्नुपर्छ। मैले अक्षरखेतीबाट सिकेका केही कुरा हुन् यी।'

प्रकाशित: २१ श्रावण २०७४ ०९:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App