७ वैशाख २०८१ शुक्रबार
अन्य

हस्तलिखित अक्षरमै जोड

पछिल्लो समय कम्प्युटरको जमाना बढ्दै जाँदा र सस्ता ‘ट्याब्लेट’को संक्रमण घरघरै बढ्दै जाँदा निकट भविष्यमा नै हातले लेख्ने दिन जाला भन्ने आशङ्का बढिरहेका बेला शिक्षाविद् र वैज्ञानिकहरूले भने हस्तलिखित अक्षरमा जोड दिनुपर्ने निष्कर्षमा छन् ।
हामीमध्ये धेरैजसोलाई खरीपाटीमा लेखेको, कापीमा सुन्दर अक्षर बनाउन अभ्यास गरेको कुरामा अझै पनि भावुक हुन्छौँ । आफ्ना सन्तानले त्यसैगरी अक्षर चिनून् भन्ने मनमा भए पनि बढ्दो प्रविधिप्रति जानकार होऊन् भन्दै बालबालिकालाई कम्प्युटरका कीबोर्ड र मोबाइल वा ट्याब्लेटका स्क्रिनमा व्यस्त हुन थाल्दा मख्ख नै पर्छौं तर पछिल्ला समय भएका अधिकांश शोधले कापीमा लेख्ने अभ्यास र अक्षर बनाउने अभ्यासले बालबालिकाहरूको मस्तिष्कमा पर्याप्त कसरत हुने भएकाले पारम्परिक सिकाइमै जोड दिनुपर्ने देखाएका छन् ।
द जर्नल अफ लर्निङ डिसएबिलिटीजमा हालै प्रकाशित एक लेखमा हातैले गरिने कतिपय कामले बालबालिकाहरूको योजना बनाउनेजस्ता क्रियाकलात्मक सीपमा वृद्धि हुन्छ । ४ देखि ९ कक्षासम्मका विद्यार्थीमाझ वासिङ्टन विश्वविद्यालयमा शैक्षिक मनोविज्ञानका प्राध्यापक भर्जिनिया बर्निन्गरले गरेको अध्ययनपछि निष्कर्षमा भनेकी छन्, ‘लेख्ने क्रियाकलापले अक्षर बनाउने, कस्तो बनाउनेजस्ता अभ्यासमा मग्न हुँदा यसले मस्तिष्कलाई व्यस्त बनाउँछ र यस्तो व्यस्तताले लेख्य भाषामा बालबालिकालाई सचेत पार्ने काम गर्छ ।’
गएको वर्ष ‘द जर्नल अफ अर्ली चाइल्डहुड लिटरेसी’मा फ्लोरिडा इन्टरनेसनल युनिभर्सिटीकी प्राध्यापक लाउरा डाइनहार्टले राम्रा अक्षर र शैक्षिक उपलब्धिबारे लामै छलफल गरेकी थिइन् । उनको तर्क छ, ‘राम्रो अक्षर हुने बालबालिकाले राम्रो अङ्क ल्याई पास मात्र हुँदैनन् तिनले शिक्षकको ध्यान आकर्षित गर्ने हुनाले तिनले पढाइमा थप प्रगतिसमेत गर्ने गर्छन् ।’ खराब अक्षर हुने बालबालिकाले अक्षरमै बढी मिहिनेत गर्नुपर्ने हुनाले अन्य ‘कन्टेन्ट’मा ध्यान दिन सक्तैनन् र तिनले सोचेजस्तो प्रगति गर्न सक्तैनन् ।
सानै उमेरमा हातले लेख्ने क्रिया हेर्दा सामान्य देखिन्छ तर यसका लागि मस्तिष्कमा तिनले ठूलो जोड लगाएका हुन्छन् । साना–साना कुरा सिक्न पनि मस्तिष्कका विभिन्न भागले ठूलो कसरत गर्नुपर्ने हुन्छ । डा. डाइनहार्ट भन्छिन्, ‘हुन त हामीले मस्तिष्कका कैयौँ कुरा थाहा पाउनै बाँकी छ तर कुनै पनि अढाई–तीन वर्षका बालबालिकाले नयाँ कुरा सिक्दा तिनको मस्तिष्कका विभिन्न पाटाले एक साथ धेरै काम गरिरहेका हुन्छन् । अक्षर लेख्दा वा कुनै नयाँ कुरा सिक्दा पनि यही कुरा लागू हुन्छ ।’
हिजोआज बालबालिकालाई अंग्रेजी लेख्न कर्सिभ (जोडिएका अक्षर)मा जोड दिइन्छ । सन् २०१५ मा चार कक्षाका विद्यार्थीमाझ गरिएको एउटा अध्ययनले कर्सिभ लेखाइले स्पेलिङ (हिज्जे) सम्झन र अक्षर बुन्न सहयोग पुर्याउँछ । यस किसिमको खुबी चाहिँ कम्प्युटरमा गरिने टाइपिङ र ट्याबलेटमा थिचिने अक्षरले सहयोग पुर्याउँदैन ।
डा. डाइनहार्ट भन्छिन्, ‘स्कुलमा एउटा समूहलाई कम्प्युटरमा टाइप गर्न लगाएको नोट र लेख्न लगाएको नोटमध्ये लेखेर तयार पार्ने विद्यार्थीलाई बढ्ता विषयवस्तुको ज्ञान र जानकारी भएको देखियो ।’
 

 

प्रकाशित: १६ श्रावण २०७४ ०७:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App