४ आश्विन २०७७ आइतबार
अन्य

साउने सोमबार आस्था कि रहर?

आस्थावान्का लागि साउनमा पहेँलो रङ भोलेबाबाको प्रतीक हो। हरेक सोमबार व्रत राखेर उनीहरू शिवभक्ति दर्शाउँछन्। गेरुवस्त्र धारण गरेर 'हरहर महादेव' गाउँछन्।

पहेँलो रङ धेरैका लागि भोलेबाबाको प्रतीक भए पनि कतिपयका लागि भने फेसन हो। शिवभक्तको पाइला पछ्याउँदै उनीहरू फेसनेबल बन्न साउनमा गेरुवस्त्र धारण गर्छन्।

पहेँलो मात्र होइन, हरियो रङलाई पनि धेरै महिलाले धर्म र आस्थासँग जोडेर लगाउँछन्। आफ्नो पति र प्रेमीको दीर्घायुको कामना गर्दै उनीहरू हरियो रङमा रमाउँछन् भने हातमा मेहन्दी लगाउँछन्। गेरुवस्त्रझैँ हरियो रङ र मेहन्दी पनि कतिपयका लागि भने फेसन बन्दै गएको छ।

पहेँलो मात्र होइन, हरियो रङलाई पनि धेरै महिलाले धर्म र आस्थासँग जोडेर लगाउँछन्। आफ्नो पति र प्रेमीको दीर्घायुको कामना गर्दै उनीहरू हरियो रङमा रमाउँछन् भने हातमा मेहन्दी लगाउँछन्। गेरुवस्त्रझैँ हरियो रङ र मेहन्दी पनि कतिपयका लागि भने फेसन बन्दै गएको छ।

कीर्तिपुरकी लिभु लुइँटेलले यसपालि पहिलोपटक हातमा मेहन्दी लगाइन्। अविवाहित उनले आफ्नो प्रेमिकाका लागि मेहन्दी लगाएकी होइनन्। 'साथीले चुरा, मेहन्दी सबै लगाएका छन्, त्यो देखेपछि मलाई पनि मन लाग्यो,' उनले भनिन्।

परिवारमा पहिलेदेखि नै साउनको व्रत बस्ने र पूजा गर्ने चलन भएकाले साउने सोमबारबारे जानकारी भएको उनले बताइन्। 'मेहन्दी पहिलोपटक लगाएँ, व्रत बेलाबेला बस्थेँ,' उनी भन्छिन्।

मैतीदेवीकी अनिशा ताम्राकारका लागि साउन हरियो र मेहन्दीको महिना हो। नाडीभरि पहेँलो र हरियो चुरा, हत्केलामा कलात्मक मेहन्दी अनि दुवै रङ मिसिएको कुर्ता उनको साउने फेसन हो। हरेक वर्ष उनी यसरी नै सजिन्छिन्। 'मलाई धेरै कुरा थाहा छैन, रहरले लगाएकी हुँ, पति पाउँला भनेर होइन,' उनले भनिन्। उनी साउनभर चुराहरू फेरिफेरि लगाउँछिन्।

ताम्राकारकी साथी उषा चौधरीले पनि हरियो र पहेँलो चुरा तथा मेहन्दी लगाएकी छन्। चौधरीले पनि फेसनका लागि मेहन्दी र चुरा लगाएकी हुन्। 'हरियो, पहेँलो रङ मिलाएर लगाउन रहर लागेर लगाउँछु,' उनले भनिन्।

वनस्थलीकी आकांक्षा रोक्कालाई हरियो रङमा सजिएर साथीहरूलाई देखाउनु छ। रोजगारीका कारण ढिलोगरी हरियो र मेहन्दीमा सजिन न्युरोड पुगेकी उनले भनिन्, 'फेसबुक चलाउँदिनँ, साथीलाई देखाउन मनपर्छ।'

सर्लाहीकी शर्मिला गोलेलाई मेहन्दी र चुरामा सजिन मनपर्छ। हाफ पाइन्टमाथि पहेँलो टि–सर्ट र हातभरि हरियो र पहेँलो चुरा। उनलाई यो 'कम्बिनेसन' सुहाएको छ। 'पहेँलो–हरियो रङको कम्बिनेसन मिल्छ, अरूमा मिल्दैन,' उनले भनिन्।

मेहन्दी र चुराले सजिएका हातको फोटो फेसबुकमा राख्न कतिपय महिलाले भने प्रतिस्पर्धा नै गर्छन्। पहिले शिवभक्त महिला मात्र यस्तो पहिरनमा हिँड्थे। अहिले भने व्रत लिने मात्र होइन, नलिनेहरू पनि फेसनका लागि यस्तै पहिरनमा सजिन थालेका छन्।

विवाहित र अविवाहित दुवैखाले महिला चुरा किन्न आउने गरेको मैतीदेवीकी चुरा पसले नगिमा बानु बताउँछिन्। 'हरियो चुरा पुर्‍याउनै मुस्किल पर्छ,' बानुले भनिन्। उनका अनुसार हरियो र पहेँलो चुराको माग बढी भएकोले एकपटक लिएपछि अर्को पटक होलसेल पसलमा समेत सकिइसकेको हुन्छ। साउनमा चुराको बढी बिक्री हुने भएकाले उनले पसलमा थप जनशक्ति समेत राख्ने गरेकी छन्।

आरबी चुरा पसल कालोपुलका मनसुर साहका अनुभवमा दुई/तीन वर्षयता नयाँ पुस्ताका युवतीबीच चुरा र मेहन्दीको लहड नै चल्न थालेको छ। 'पहिला बिहे गरेकाले मात्र लगाउँथे, व्रत बस्थे, अहिले अविवाहित केटीहरू नै बढी खोज्छन्,' उनले भने।

हातमा मेहन्दी भर्ने कलाकारका अनुसार युवतीमा हातको जस्तै डिजाइन खुट्टामा समेत भर्ने चलन आएको छ। 'विवाहितभन्दा अविवाहित नै बढी आउँछन्,' न्युरोडमा मेहन्दी भर्दै आएका वीरगन्जका मेहन्दी कलाकार गुड्डुकुमार साहले भने।

महादेवका लागि साउन र फागुन विशेष भएकाले उनको आराधना हुने गरेको वास्तुशास्त्री कृष्ण शास्त्री बताउँछन्। साउनमा खेतीपाती गरिने, महादेवलाई मनपर्ने फूलहरू धतुरो र बेल फूल्ने भएकाले यो महिना उनका लागि प्रिय मानिने गरेको शास्त्रीले बताए।

समाजशास्त्री मानबहादुर साहुका अनुसार कुनै पनि संस्कृति खुम्चने र विस्तार हुने गर्छ। यही प्रक्रियाअन्तर्गत साउने सोमबारमा विभिन्न पक्षको प्रभाव पर्दै गएकाले हरियो र पहेँलो रङ लोकप्रिय बनेको हो।

प्रकाशित: ७ श्रावण २०७४ ०९:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App