१६ चैत्र २०८० शुक्रबार
अन्य

'मस्तिष्कलाई झंकृत गराउने पुस्तक लेखिनुपर्छ'

शारदा शर्मा, साहित्यकार

नेपाली साहित्यमा चर्चित नाम हो, शारदा शर्मा। कथा, कविता, समालोचना, उपन्यास, निबन्ध, यात्रा संस्मरण आदि विधामा कलम चलाउने उनले झन्डै एक दर्जन पुस्तक लेखिसकेकी छन्। सबैभन्दा पछिल्लो उपन्यास  'कम्प' लेखेकी उनको राजनीतिक साहित्यिक प्रकृतिको एउटा डायरी छापिने तयारीमा छ। प्राणीशास्त्रमा बिएससी र नेपाली साहित्यमा स्नातकोत्तर गरेकी उनले  विभिन्न अन्तर्राष्ट्रिय संघसंस्था तथा नियोगमा समेत कामको अनुभव संगालेकी छन्।

तपाईंको हातमा अहिले कुन पुस्तक छ? 

कृष्ण धरावासीको 'लीलाबोध'। नेपाली साहित्यमा तेस्रो आयामको आरम्भपछि इन्द्रबहादुर राईले लीलालेखनलाई अगाडि बढाए। लीलालेखनका विविध गतिविधि र पक्ष धरावासीले यस पुस्तकमा प्रस्ट्याउन खोजेका छन्। लीलालेखनको गतिशील यात्रालाई सैद्धान्तिक स्पष्टता दिने प्रयत्न गरेका छन् उनले। धरावासी साहित्यमा गहिराइ खोज्ने गम्भीर लेखक मात्र होइनन्, सूक्ष्म विचारक र परिपक्व विश्लेषक पनि हुन्।  

यसअघि कुन पुस्तक पढ्नुभएको थियो?

एकैपटक धेरै पुस्तक पढ्ने बानी छ मेरो। पछिल्लोपटक पढेका पुस्तकमा राधाकृष्ण मैनालीको नलेखिएको इतिहास पनि हो। जीवा लामिछानेको 'सरसर्ती संसार' पनि पढेँ।  त्यहाँ एक ठाउँमा उल्लेख गरिएको एन फ्रांकको  'द डायरी अफ अ योङ गर्ल' पढ्न मन लाग्यो, खोजेर ल्याएँ। प्रथम विश्वयुद्धको पृष्ठभूमिमा भूमिगत अवस्थामा रहेकी एउटी कलिली डच यहुदी केटीको यो दैनिकीमा त्यतिखेर हिटलरले त्रस्त पारेको विश्व छ। हिटलरका आतंकले पिल्सिएका डच जनता र खासगरी यहुदी समुदायको दारुण व्यथा छ।

भाइ शंकर तिवारीले डा. रामचन्द्र प्रधानको पुस्तक 'भगवतगीता, अ प्राइमरी'लाई नेपाली भाषामा अनुवाद गर्नुभएको रहेछ। गीताज्ञान प्रवेशिका भन्ने त्यो सानो पुस्तकमा श्रीमद्भगवत गीताका महŒवपूर्ण पक्षलाई सरलतापूर्वक व्याख्या गरिएको रहेछ। नेपाली अनुवाद साह्रै राम्रो छ। पढेर मजा आयो।

मन पर्‍यो कि परेन? किन?

आत्मकथा पढ्न मन पर्छ मलाई। विविध विषयमा निजी अनुभूति व्यक्त भएका रचना बढी पढ्छु। अध्यात्म र दर्शनका सरल किसिमले लेखिएका पुस्तक पनि मन पर्छन्।

यतिखेर आत्मकथामा धेरै आत्मश्लाघा र झूट पनि लेख्ने अभ्यास बढेको चर्चा गर्छन् मान्छेहरु। राधाकृष्णजीको यो पुस्तकमा अधिकतर इमानदारी छ जस्तो लागेको हो मलाई। फेरि यतिखेर हामी जहाँ छौँ, जुन लोकतान्त्रिक हक–अधिकारको उपयोग गरिरहेका छौँ, त्यसको जगमा धेरै अग्रजको रगत–पसिना र परिश्रम परेको छ भन्ने कुरा बु‰न पनि यो पुस्तक उपयोगी छ। नेपालको एक समयको राजनीतिक उहापोहको तस्बिर छ यसमा। कहालीलाग्दा प्रसंग छन् र रमाइलो पनि छ। जीवनलाई अत्यन्त चुनौतीपूर्ण  किसिमले व्यहोरेर आइसकेकाले कुनै बिन्दुबाट पछाडि फर्केर हेर्दा आफ्नो जीवन कस्तो देख्छन्, कस्तो अनुभव गर्छन्, बडो रोमाञ्चक अनुभव हुन्छ यस्तो कृति पढ्दा।

यात्राका पुस्तक, डायरी पनि म अभिरुचिले पढ्छु। आफू पुग्न नसकेका ठाउँ, जनजीवनबारे थाहा हुन्छ। आफू अनुपस्थित रहेको समयबारे ज्ञान हुन्छ। अनेक स्थिति र अवस्थामा मान्छेका भावना पढ्नु रमाइलो कुरा हो।

पाठकका निम्ति स्वस्स्फूर्त रूपमा सिक्ने कुरा पनि यस्ता पुस्तकमा प्रशस्त हुन्छन्।

अब के पढ्ने योजना छ?

भनिसकेँ, म अचेल कल्पना र सिद्धान्तका कुरा कम पढ्छु। मान्छेका प्रत्यक्ष अनुभवका कुरा पढ्न बढी मन लाग्छ। रामहरि जोशी र राजेश्वर देवकोटाका आत्मकथा पढ्ने पालोमा छन् अब। डा रवीन्द्र समीरको 'भूकम्पमा मलमपट्टी' किनेर ल्याएकी छु। यी लेखक डाक्टरभित्रको मानवीय संवेदनाको पक्ष सुन्दर छ। अस्ति भर्खर निस्केको युग पाठकको माङ्गेना पनि केही पढेँ। यतिखेरको नेपाली समाजमा विद्यमान जातीय, क्षेत्रीय समस्यालाई अलि बेग्लै तरिकाले बु‰न, केलाउन, व्याख्या गर्न खोजेका छन् युगले। उनका कतिपय विश्लेषणमा सहमत हुन नसके पनि उनी राम्रो लेखनसीप भएका र विद्रोही चेतनाले भरिएका प्रतिभाशाली लेखक हुन् भन्ने मलाई लाग्छ। 

कस्तो पुस्तक लेखियोस् भन्ने लाग्छ?

त्यस्तो साहित्य वा साहित्यिक स्पर्श भएका पुस्तक लेखिन आवश्यक छ, जुन पुस्तक पढ्दा मस्तिष्क झंकृत हुन्छ, आनन्दित हुन्छ। केही पाएको अनुभव गर्छ पाठकले। पढिसकेपछि लामो समयसम्म हृदयले तृप्ति अनुभव गर्छ। खोज–अनुसन्धान गरेर लेखिने गह्रौँ विषयगत पुस्तक पनि महŒवपूर्ण छन्, तर पुस्तक जतिसुकै उपयोगी भए पनि प्रस्तुति प्रभावकारी भएन भने त्यसमा प्रवेश गर्नै गाह्रो हुन्छ। पुस्तक औषधि खाएजसरी पढ्ने उमेर सायद अब मेरो रहेन।  म पुस्तकमा कला खोज्छु, लेखन शैलीमा आकर्षण खोज्छु।

पढेकामध्ये सबैभन्दा मन परेको पुस्तक? किन?

धेरै छन् मन परेका, नेपाली पुस्तक नै छन्। त्यस्तो एउटै त छैन कुनै।

नपढी नहुने पुस्तक? किन?

म सधैँ भन्छु– महाभारत। यो कहिल्यै पुरानो नहुने पुस्तक हो। मान्छेका समस्त वृत्तिलाई यति बृहत् परिवेशमा यति जीवन्ततासाथ प्रस्तुत गरिएको यो अद्भूत ग्रन्थ सबै कालमा उत्तिकै सान्दर्भिक छ।

नेपाली लेखकका पुस्तक अन्य मुलुकमा किन नपढिएका?

नेपाली लेखकले लेखेका रचना सबै नराम्रा अयोग्य भएर त्यसो भएको होला भन्ने मलाई लाग्दैन। हरेक मुलुकमा राम्रा–नराम्रा सबै खाले पुस्तक लेखिन्छन्। हाम्रो समस्या मूलत :  राम्रो अनुवादकै समस्या हो।

त्यसबाहेक पुस्तक छाप्नुअघि त्यसलाई चुस्त बनाउन योग्य मान्छेबाट सम्पादन गराउने चलन नभएका कारण धेरै राम्रा नेपाली पुस्तकको गुणवत्ता खस्केको पनि देख्छु। त्यो सच्याउन सकिन्छ।

पढ्न मन लागेर पनि नपाएको पुस्तक?

त्यस्तो छैन, पढ्न मन लागेको पुस्तक त जसरी पनि पढिन्छ नि।

घरैमा भएका पनि यति धेरै पुस्तक बाँकी छन् पढ्नुपर्ने, खासगरी आध्यात्मिक दार्शनिक महŒवका पुस्तक– मलाई मनपर्ने, पढेपिच्छे नयाँ लाग्ने, जहिल्यै आनन्द दिने पुस्तक। तिनै पढ्न पनि मेरो बाँकी उमेरले भ्याउँदैनजस्तो लाग्छ। हरेकपल्ट आफ्नो लाइब्रेरीमा छिर्दा मलाई यस्तो अनुभव हुन्छ। पढेका पुस्तकको संख्या बढाउनेभन्दा पनि पुस्तकबाट प्राप्त हुने सन्तुष्टि बढी महŒवपूर्ण लाग्छ अचेल।

जानकारी सूचना लिनका निम्ति मात्र पढ्ने कुरा कम भएको छ। जिन्दगीभर सूचना बटुल्नकै निम्ति त पढियो। अचेल मनलाई आनन्द र शान्ति दिने  पुस्तक पढ्छु, दोहोर्‍याएर तेहेर्‍याएर पढ्छु।

घरीघरी सोच्छु– चाहिएका बेला जुनसुकै सूचना, एउटा क्लिकमा निस्कन्छ हातैमा, सबै कुरा दिमागमै किन अटाइरहन पर्‍यो र? डिक्सनरी पल्टाएर कनीकनी अर्थ लगाएर बु‰नपर्ने कुरा पनि पढ्दिनँ आजभोलि। 

घरमा कतिवटा पुस्तक छन्?

पुस्तकालय छ एउटा। पुस्तक त खै, मैले गनेको छैन। आठ दश हजार होलान् कि?

प्रस्तुतिः वसन्त खड्का

प्रकाशित: ३१ असार २०७४ ०५:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App