१६ चैत्र २०८० शुक्रबार
अन्य

आफै बिरामी 'सवारी अस्पताल'

सरकारी अध्ययनले राजधानी आसपासमा भएका कतिपय सडक दुर्घटनाको मुख्य कारण सवारी साधनको यान्त्रिक अवस्था ठीक नहुनुलाई देखाएका छन्।

ट्राफिक प्रहरीले प्राविधिकको सहयोगमा गरेका यी अध्ययनको साझा निश्कर्ष छ–नियमित परीक्षण गरेर सवारी साधनलाई चुस्तदुरुस्त नराख्दा सडक दुर्घटना बढिरहेको छ। कतिपय दुर्घटनाका कारक समान छन्। तर, तिनको निराकरणमा न सरकारले पहल गरेको छ न त यातायात व्यवसायीले नै।

नियमित परीक्षण गरेर सवारी साधनलाई चुस्त दुरुस्त नराख्दा सडकमा गुड्ने सवारी साधन ज्यान मार्ने हतियार बन्दै गएका छन्। नियम अनुसार हरेक ६ महिनामा गर्नुपर्ने सवारी परीक्षणलाई सरकारले अहिलेसम्म नियमित गराउन सकेको छैन।

चार वर्षअघि टेकुमा स्थापना भएको 'कम्प्युटराइज्ड' सवारी परीक्षण केन्द्रका उपकरण सञ्चालनमा नआउँदै बिग्रिएर थन्किएका छन्।

सवारी तथा यातायात व्यवस्था ऐन– २०४९ अनुसार सबैखाले सवारीको हरेक ६ महिनामा जाँच गराउनु पर्छ। तर, राजधानीमा चार वर्षअघि बनेको सवारी परीक्षण केन्द्रमा उपकरण अभाव र भएका उपकरणसमेत बिग्रिएपछि सवारी परीक्षण सम्बन्धी प्रावधानको खिल्ली उड्दै आएको छ। त्यसले राजधानीभित्र र बाहिर गुड्ने सवारीलाई जोखिमपूर्ण बनाउँदै लगेको छ।

नियमित सवारी परीक्षण नगर्दा ठूला सवारी दुर्घटना हुने गरेको ट्राफिक प्रहरी निर्देशनालयले विभिन्न दुर्घटनापछि गरेका छानबिनले देखाएका छन्। निर्देशनालयका प्रहरी निरीक्षक राजन भेटवालले नियमित सवारी जाँच नहुँदा पहाडी जिल्लामा ठूला सवारी दुर्घटनामा पर्ने बताउँछन्। 'नियमित सवारी साधन परीक्षण गरेर गुडाएमा दुर्घटना धेरै कम हुन्थ्यो,' प्रहरी निरीक्षक भेटवाल भन्छन्, 'झण्डै ३० प्रतिशत सवारी दुर्घटना यान्त्रिक र वातावरणीय कारणले हुने गर्छ।'

ऐनमा सवारी साधनको ब्रेक, स्टेयरिङ, गियर, चेसिस, टायर, एक्सिलेटर, क्लज प्लेट, लाइट, पट्टा, सिट, ‰याल, रंग, बनोट, भारवहान क्षमता, हर्न, इन्जिनलगायत ठीक भए–नभएको बेलाबेला परीक्षण गराउनुपर्ने व्यवस्था छ।

'मानिसको जस्तै सवारी साधनको स्वास्थ्य पनि नियमित परीक्षण गर्नुपर्छ,' यातायात व्यवस्था विभागका मेकानिकल इन्जिनियर मोहन भट्टराई भन्छन्, 'सवारी साधन कुन अवस्थामा छ, चुस्त दुरुस्त छ की छैन भनेर जाँच गर्नुपर्ने भएपनि यातायात व्यवसायीले गरेको पाइँदैन।'

यातायात व्यवस्था विभाग सवारी परीक्षण कार्यालय टेकुका प्रमुख तथा सिनियर डिभिजन इन्जिनियर रामचन्द्र पौडेल सवारी साधनको 'म्यानुअल' परीक्षण गर्दै आएको बताउँछन्।

'आँखाले सरसर्ती गाडीका पार्टपुर्जा नियाल्ने गरेका छौं,' उनले भने, 'मेसिनले र आँखाले जाँच गर्नुमा त केही फरक त भइहाल्छ नि! सवारी स्टार्ट गर्ने, गियर, बे्रेक, लाइटलगायत जाँच गरिरहेका छौं।'

चार वर्षअघि टेकुमा स्थापना भएको 'कम्प्युटराइज्ड' सवारी परीक्षण केन्द्रका उपकरण सञ्चालनमा नआउँदै बिग्रिएर थन्किएका छन्।

सवारी परीक्षण केन्द्रका प्रमुख पौडेलले विश्व बैंकको अनुदानमा केन्द्रको मर्मतसम्भार गर्न लागिएको बताए। त्यसका लागि विश्व बैंकले करिब ५५ लाख रूपैयाँ अनुदान दिएको छ। 'मर्मतका लागि सबै प्रक्रिया अघि बढिसकेको छ,' उनले भने ,'चीनबाट मेकानिक्स मगाएर असारभित्रै सञ्चालनमा ल्याउने तयारीमा छौं।' करिब ५ करोड रूपैयाँ लागतमा स्थापना केन्द्रका उपकरण नै बिग्रिएकाले अहिले सवारी जाँच गर्न खासै कोही पनि आउने गरेका छैनन्।

'यातायात व्यवसायी सवारी नियमित जाँच गर्न आउँदैनन्,' प्रमुख पौडेल भन्छन्, 'वैशाखभर ८० वटा सवारीसाधनको मात्र जाँच गरिएको छ।' कार्यालयले ठूला र साना सवारीसाधनको परीक्षण गर्न क्रमशः तीन र दुई सय शुल्क लिँदैं आएको छ।

सरकारले गत वर्षको बजेटमार्फत सातवटै प्रदेशमा सवारी जाँच केन्द्र स्थापना गर्ने घोषणा गरेको छ।

प्रकाशित: २९ जेष्ठ २०७४ ०६:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App