१६ चैत्र २०८० शुक्रबार
अन्य

घामको प्रहारबाट छाला जोगाउन

डा. रूपक घिमिरे ‘आयुष्मान’
छाला रोग विशेषज्ञ
गर्मी बढेसँगै छालाको सुरक्षाका लागि सनस्क्रिनको प्रयोग कसरी गर्ने ? भन्ने बारेमा चासो राख्नेहरू बढ्छन् । घामको नकारात्मक असरबाट छाला जोगाउन गर्मी वा जाडो जुनसुकै मौसममा पनि सनस्क्रिन लगाउन जरुरी हुन्छ । तर, सनस्क्रिन लगाउने सम्बन्धमा विभिन्न भ्रम रहेको पाइन्छ । सनस्क्रिन लगायो भने छाला बिर्गन्छ, छाला चिल्लो बनाउँछ, डन्डीफोर आउँछ, छाला कालो बनाउँछ, छाला चिपचिप हुने र धुलो टाँसिन्छ भनेर यसको प्रयोग नगर्नेहरू पनि धेरै नै छन् । छालालाई स्वस्थ र सुन्दर राख्न यसको नियमित हेरचाह र स्याहार गर्नुपर्छ ।
छाला रोग विशेषज्ञसँग परामर्श गरेर सनस्क्रिन छनोट गर्नुपर्छ । चिल्लो छाला भएकाहरूले जेलयुक्त सनस्क्रिन लगाउनुपर्छ । सुक्खा छालाका लागि लोसन प्रयोग गर्न सकिन्छ । सामान्य छालामा क्रिम उपयुक्त हुन्छ । सनस्क्रिनले छालालाई घामको विकिरणबाट जोगाउँछ नै, चाउरिपनालाई पनि कम गर्छ ।
कस्तो सनस्क्रिन प्रयोग गर्ने ?
धेरैको ध्यान सनस्क्रिनमा हुने तत्वभन्दा पनि ब्रान्डमा बढी हुन्छ । सनस्क्रिनको ब्रान्डभन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्छ । सूर्यको विकिरणमा यूभीए र यूभीबी हुन्छ । यी दुवै खाले विकिरणलाई रोक्न सक्ने सनस्क्रिन प्रयोग गर्नुपर्छ । जिन्क अक्साइड, टाइटनियम अक्साइड, फिरस अक्साइड तत्व भएको सनस्क्रिनले दुवै खाले विकिरणलाई रोक्न सक्छ ।
सनब्लक क्रिम, लोसन, जेल र स्प्रेमा पनि उपलब्ध हुन्छ । यसको मुख्य काम भनेको सूर्यको अल्ट्राभ्वाइलेट किरणलाई केही मात्रामा भए पनि सोस्नु र परावर्तन गर्नु हो । यसले छालालाई घाममा डढ्नबाट जोगाउँछ । सुक्खा छालामा क्रिम र लोसन प्रयोग गर्नुपर्छ । डन्डीफोर भएको र चिल्लो छालाका लागि जेल तथा स्प्रे ठीक हुन्छ । छालामा लाइटिङ ल्याउने क्रिममा पनि सनस्क्रिन क्रिम मिसाएको हुन्छ ।
एसपीएफ भनेको के हो ?  
सनब्लक क्रिमको बट्टामा लेखिएको एसपीएफको अर्थ ‘सन प्रोटेक्सन फ्याक्टर’ हो । नेपाली बजारमा १५ देखि १०० नम्बर उल्लेख गरिएका सनब्लक क्रिम पाइन्छन् । एपीएफ ३० वा ५० लाई कसैले उमेरसँग तुलना गरेको पाइन्छ । ३० एसपीएफ भएको सनस्क्रिन ३० वर्ष उमेरकाले लगाउने भन्ने भ्रम रहेको पाइन्छ । एपीएफ ३० भन्नाले सनस्क्रिन लगाएको मान्छे घाममा ३० घण्टा बस्नु र नलगाएको मान्छे एक घण्टा बस्नु यूभीबीको असर एउटै हुन्छ भन्ने हो । साधारणतयः एपीएफ १५ को सनस्क्रिनले ९४ प्रतिशतसम्म सूर्यको विकिरण रोक्छ । एपीएफ ३० ले ९७, र एसपीएफ ५० ले ९८ प्रतिशत विकिरण रोक्छ । त्यसैले, बढी एसपीएफले धेरै सूर्य विकिरण रोक्छ भन्ने होइन ।
कति सनस्क्रिन लगाउनुपर्छ ?
नियमित सनस्क्रिन लगाउनेहरूलाई पनि सनस्क्रिनको मात्रा कति चाहिन्छ भन्ने थाहा हुँदैन । प्रतिवर्ग सेन्टिमिटर छालामा दुई मिलीग्राम सनस्क्रिन लगाउनुपर्छ । तर, साधारणतयः अधिकांशले चार गुणा कम अर्थात् शून्य दशमलव पाँच मिलीग्राम मात्र सनस्क्रिन लगाएको हुन्छ । जसले गर्दा उसले जति नै धेरै एसपीएफ उल्लेख गरिएको सनस्क्रिन लगाएको भए पनि एपीएफको लेबल चार÷पाँचमा झर्छ । कतिपय चिकित्सकले एक चम्चा सनस्क्रिन लिएर तीन÷चार पत्रसम्म लगाउन सुझाव दिन्छन् । जसबाट हामीले चाहेको सनप्रोटेक्सन पाइन्छ । मात्रा मिलाएर सनस्क्रिन लगाइएन भने त्यसबाट पाउनुपर्ने फाइदा पाइँदैन ।
कपितय प्रचार–प्रसारमा सनस्क्रिन लगाएपछि घाममा खुलमखुल्ला हिँडे पनि हुन्छ भन्ने सन्देश दिन खोजिएको हुन्छ । यो गलत हो । सनस्क्रिन लगाए पनि घाममा छाला सीधा एक्सपोज हुँदा त्यसले असर गर्छ । छाता, पूरा बाहुला भएको पहिरन लगाउने, ह्याट लगाउने गर्नुपर्छ । सकेसम्म बिहान १० देखि २ बजेसम्मको घाममा निस्कनु हुँदैन ।
सनस्क्रिनले कसरी काम गर्छ ?
सनस्क्रिनले फिजिकल तथा केमिकल दुवै तरिकाले छालाको सुरक्षा गर्छ । सनस्क्रिन लगाएपछि घामका किरणलाई परावर्तन गर्ने काम फिजिकल हो भने यसले घामबाट डढेको छालालाई थोरै मात्रामा भए पनि रिपेयर गर्ने काम चाहिँ केमिकल हो । सूर्यको खराब किरणलाई सोस्ने काम पनि केमिकलभित्र पर्छ ।
सनस्क्रिनले छालाको सुरक्षा गर्ने हो भने हरेक दिन बिहान ८ बजे, ११ बजे र २ बजे तीन पटक सनस्क्रिन लगाउनुपर्छ । । घाममा देखिने शरीरका सबै भागमा लगाउनुपर्ने हुन्छ । कतिपय मानिस सनस्क्रिन घाममा निस्कँदा मात्र लगाउनुपर्छ भन्ने ठान्छन् । तर, राति सुतेर बिहान उठेपछि उज्यालोमा जानुअघि पनि सनस्क्रिन लगाउनुपर्छ । अँध्यारोबाट उज्यालोतिर जाँदा छालामा हुने असर कम गर्न पनि यो क्रिम उपयुक्त हुन्छ । यसले चायापोतोे जाँदैन । छालालाई घामबाट बिग्रन नदिन यो धेरै काम लाग्छ । सनस्क्रिन लगाउनु भनेको हामीले दिनहुँ दाँत माझेजस्तै हो । हामी भविष्यमा दाँतमा कुनै खराबी नओस् भनेर जसरी ब्रस गर्छों, त्यसरी नै छालाको सुरक्षाका लागि सनस्क्रिन क्रिम लगाउनुपर्छ ।  

 

प्रकाशित: २७ जेष्ठ २०७४ ०८:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App