२६ असार २०७७ शुक्रबार
अन्य

मेरो पहिलो पुस्तक

थोरै डर–त्राससँगै रोमाञ्चक अनुभव हो– एउटा चित्रकारले पहिलोपटक चित्र प्रदर्शनी गर्नु, गायकले पहिलो गीति एल्बम बजारमा ल्याउनु, लेखकले पहिलो पुस्तक प्रकाशन गर्नु र पाइलटले पहिलो उडान भर्नु।

एउटा लेखकका लागि पहिलो पुस्तकको प्रकाशन निश्चय नै गर्व र खुसीको कुरा हो। यसको बिक्री–वितरण आफ्नै ठाउँमा होस्, जब एउटा लेखकले पहिलो कृति प्रकाशन गर्छ, तब उसलाई आफू लेखक भएको भान हुन थाल्छ।

पहिलो पुस्तकपछि कति लेखक पलायन हुन्छन् भने कति झनै सशक्त हुने प्रयास गर्छन्। आख्यानकार ध्रुवचन्द्र गौतम पहिलो पुस्तक रहरले लेखेको बताउँछन्।

अन्यतिर साहित्यको विकास भएपछि मात्रै हाम्रोमा यसको थालनी भएको थियो। लेखपढ र साहित्य रचनामा पहिलेदेखि नै खुकुलो हुन्थ्यो भने समाज परिवर्तनमा नेपाली साहित्यको ठूलो प्रभाव पर्थ्यो।

-ध्रुवचन्द्र गौतम

 

'बजारमा १० औंलाभित्र अट्ने लेखक थिए, लेखन क्षेत्रमा लाग्ने व्यक्तिलाई त्यतिबेलाको समाज विद्वान् नै ठान्थ्यो,' आख्यानकार गौतम पहिलो पुस्तक लेखन र प्रकाशनको अनुभव भन्छन्, 'बजारमा थोरै मात्रै लेखकको चर्चा थियो, नयाँलाई लेखनीको परिधिमा टेक्न मुस्किलै हुन्थ्यो।'

गौतमको पहिलो उपन्यास 'अन्त्यपछि' ०२३ सालमा पाठकमाझ आयो। ५० वर्षअघिको समय बेग्लै थियो। समाजमा थोरै मात्र पढे–लेखेका मानिसको जमात थियो। लेख्ने रुचि भएकाले आफ्नै डायरी लेख्थे। पहुँच र पैसा हुनेले प्रकाशनमा पनि ल्याउँथे। उतिबेला बजारमा किताब–कापी त्यति सजिलै उपलब्ध थिएनन्। थोरै मात्र पढ्ने–लेख्ने कार्यमा समर्पित थिए।

पहिलो पुस्तक पाठकमाझ ल्याउन धेरै लेखकले उत्तिकै कठिनाइ र दुःख झेलेका छन्। 'हरेक क्षेत्रमा लाग्नेको पहिलो अनुभव र भोगाइ फरक हुन्छ,' गौतम भन्छन्, 'साहित्य क्षेत्रमा लाग्ने लेखकको पहिलो पुस्तक प्रकाशन अनुभव झनै भिन्न हुन्छ।'

गौतमको पहिलो उपन्यास पहिलोपटक रुपरेखामा पनि छापिएको थियो। उनी भन्छन्, 'उतिबेला किताब प्रकाशन गर्ने संस्थाहरु खासै थिएनन्, नेपाल प्रेस इन्स्टिच्युटबाट प्रकाशन हुने साप्ताहिक पत्रिका रुपरेखामा मेरो पहिलो उपन्यास प्रकाशित भएको थियो।' गौतमको बुझाइमा पहिलेका धेरै लेखक रहरले साहित्य क्षेत्रमा लागेका थिए। सामान्य नेपाली लेख्न सक्ने किताब लेख्नतिर लाग्थे। उतिबेला आफ्ना कृति बजारमा ल्याउनु कम्ता चुनौती थिएन। धेरै चुनौती र अभावको सामना गर्दै थोरै लेखक मात्रै ०२४ सालभन्दा पहिले साहित्य क्षेत्रमा जमेको पाइन्छ। '०२४ सालपहिले विजय मल्ल, भूपि शेरचन, मदन रेग्मी, गोविन्द गोठाले, द्वारिका श्रेष्ठ, पारिजातलगायत साहित्य क्षेत्रमा देखिन्थे,' गौतम भन्छन्, 'उतिबेला ती लेखकको समाजमा ठूलो छाप थियो।'

गौतमले आफ्नो पहिलो उपन्यास 'अन्त्यपछि' एक महिनामा लेखेर सकाएका थिए। काठमाडौंबाट बाहिरी जिल्लाको अवलोकनमा जाँदा उनी धनगढी बजार पुगेका थिए, बजारको एउटा पुरानो होटलमा चिया पिउँदै गर्दा उनलाई उपन्यासको विषयवस्तु फुरेको थियो। 'काठमाडौंबाट बाहिर जाँदाका तीतामीठा अनुभव नै उपन्यासमा समेटेको थिएँ,' गौतम भन्छन्।

उनको पहिलो उपन्यास ६८ पेजको छ। निजी प्रकाशन नभएकाले पहिला रुपरेखा साप्ताहिक र दोस्रो चरणमा आफैँले सादा कभरको पुस्तक प्रकाशन गरेको गौतम बताउँछन्। उतिबेला नयाँ लेखकलाई पुराना लेखकले पनि उत्तिकै सहयोग गर्थे। '०२३ सालमा झापामा भएको साहित्य सम्मेलनमा गएको थिएँ, त्यतिबेलाका कवि झापा र काठमाडौंमा साहित्यिक गोष्ठी गर्थे,' गौतम भन्छन्, 'यस्ताखाले गाष्ठीले साहित्य क्षेत्रमा पहिलोपटक लाग्ने व्यक्तिलाई ठूलो मद्दत गरेको पनि थियो।'

राणाकालमा जनतालाई जान्ने–बुझ्ने गराउनुहुन्न भन्ने शासकको सोच थियो। त्यसैले नेपाली साहित्य र पुस्तक लेखन प्रजातन्त्रपछि मात्रै फस्टाएको गौतम बताउँछन्। 'अन्यतिर साहित्यको विकास भएपछि मात्रै हाम्रोमा यसको थालनी भएको थियो,' गौतम भन्छन्, 'लेखपढ र साहित्य रचनामा पहिलेदेखि नै खुकुलो हुन्थ्यो भने समाज परिवर्तनमा नेपाली साहित्यको ठूलो प्रभाव पर्थ्यो।'

आफूले सानैदेखि कथा–कविता लेख्न सुरु गरेकाले पुस्तक प्रकाशन गर्न त्यति कठिनाइ नपरेको गौतमको बुझाइ छ। उनले ०२८ सालमा साझा प्रकाशनबाट दोस्रो कृति 'बालुवामाथि' प्रकाशनमा ल्याएका थिए। ०२३ सालदेखि नै नेपाली साहित्यमा सक्रिय गौतमका २५ उपन्याससहित ५० भन्दा बढी पुस्तक प्रकाशित छन्।

'अहिलेका पुस्तक प्रचारप्रसारको भरमा चलेका छन्,' गौतम भन्छन्, 'अहिले नेपाली साहित्यमा भड्किलोपना देखिएको छ, भड्किलो लेखने र चर्को प्रचारबाजी गर्नेले चर्चा कमाएको देखिन्छ।'

०००

'अहिले पुस्तक छाप्न धेरै सजिलो छ, सिर्जना मात्रै गरे पुग्छ,' लेखक आहुति भन्छन्, 'पहिले–पहिले स्तरीय लेख–रचना भए पनि प्रकाशन गर्न निकै कठिन थियो।'

नयाँघर, स्खलित, गहुँगोरो अफ्रिका लगायत आहुतिका ६ कृति प्रकाशित छन्। उनको पहिलो कृति हो– तपस्वीका गीतहरु, कवितासंग्रह, जुन ०४९ सालमा प्रकाशित भएको हो। यतिबेलासम्म पुस्तक प्रकाशन सहज थिएन। पञ्चायतकालमा लेखकहरुले खुलेर लेख्न पाउँदैनथे। राजाविरोधी विषय पुस्तकमा लेखेको भेटाए कारबाही हुन्थ्यो। आहुति भन्छन्, 'उतिबेलाका धेरै लेखक सरकारको पक्ष र सामाजिक विषयमा कलम चलाउँथे।'

उतिबेलाका लेख–रचना स्तरीय भए पनि पाठकको कमी नै थियो। पढ्ने–लेख्ने क्षेत्रमा धेरैको बानी परिसकेको थिएन। 'त्यतिबेला स्कुल पढ्ने सीमित विद्यार्थीले मात्रै पुस्तक पढ्ने गर्थे,' आहुति भन्छन्, 'लेखक अनुसारका पाठक थिए। २० वर्षपहिले लेखन, प्रकाशनमा अहिलेजस्तो अस्वस्थ प्रतिस्पर्धा भने थिएन।'

एउटा पुस्तक बजारमा ल्याउन लेखकले अनेकौँ झमेला खेपेको हुन्छ। पुस्तक बजारमा आएपछि पनि चर्चा–परिचर्चा हुने कुनै ग्यारेन्टी हुँदैन।

०००

शारदा शर्माको पहिलो पुस्तक हो– सीमान्त अुनुभूति कवितासंग्रह। जुन ०३९ सालमा प्रकाशन भएको हो। सानैदेखिको कविता लेख्ने बानीले पनि उनले पहिलो पुस्तक कवितासंग्रह नै प्रकाशन गरेको बताउँछिन्। 'पुस्तक नै हुन्छ भनेर कविता लेख्न बसेकी थिइनँ,' उनी भन्छिन्, 'आफ्नो भावना र सिर्जनालाई अभिव्यक्त गर्न पुस्तक लेखेकी हुँ।' उनी आठ वर्षको उमेरदेखि नै कविता लेख्न थालेकी हुन्। 'पुस्तक निकाल्न सानातिना झमेला हुन्छन् नै, तर मलाई त्यस्तो ठूलो झमेला व्यर्होनुपरेन,' उनले भनिन्।

उनले कथा, कविता, निबन्ध, कथा, संस्मरण लगायत विधामा कलम चलाउँदै आएकी छन्। पहिलो पुस्तक भने उनी आफैँले प्रकाशन गरेकी हुन्। 'सुरुसुरुमा प्रकाशकबारे त्यति थाहा पनि थिएन,' उनी भन्छिन्, 'पहिलो पुस्तक आफैँले बजारमा ल्याएँ।'

उनको बुझाइमा साहित्यका पुस्तकले सामाजिक परिवर्तन पनि गर्न सक्नुपर्छ। उनी भन्छिन्, 'सुरुमा त जानी–नजानी सिक्नकै लागि लेखेँ, जब देश र समाज बुझ्ने भएँ, त्यसपछि अरुका लागि लेख्न सुरु गरें।' उनले हालसम्म विभिन्न विधाका ११ पुस्तक प्रकाशनमा ल्याइसकेकी छिन्। 'सुरुसुरुमा त किताब निस्केपछि बेग्लै खुशीको अनुभूति हुन्थ्यो,' लेखक शर्माले थपिन्, 'लेख्दै जाँदा अहिले जिम्मेवारी र खुसी दुवै थपिएको महसुस भएको छ।'

शारदालाई सुरुमा किताबको प्रचारप्रसारबारे पनि त्यति ज्ञान थिएन। उनी भन्छिन्, 'प्रचारप्रसारको अभावमा पहिलाका स्तरीय पुस्तक पनि चलेका थिएनन्।'

०००

लेखकको रुचि, अध्ययन र बुझाइ विभिन्न विधामा हुन्छ। चारवटा पुस्तक प्रकाशनमा ल्याइसकेकी उमा सुवेदीको पहिलो प्रकाशित पुस्तक हो– तप्किएका अञ्जुलीहरु (गजलसंग्रह), जुन ०६७ सालमा प्रकाशन भएको हो। उनको अनुभवमा प्रायः लेखकले रहरमै पहिलो पुस्तक लेख्छन्। उनी भन्छिन्, 'मैले पहिलो पुस्तक रहर र लहडमा लेखेँ, तर प्रकाशनको जिम्मा लिएको प्रकाशन संस्थाले पुस्तकको डिजाइन बिगारेकाले पहिलो पुस्तक खासै राम्रो हुन सकेन।' उनी प्रकाशन संस्थाले पुस्तकको लेआउट, अक्षर साइज र कभर बिगारेकोप्रति असन्तुष्ट छन्। 'मेरो सानैदेखिको धोको पुस्तक लेख्नु थियो। पहिलो पुस्तक प्रकाशन हुँदा खुसी नहुने कुरै भएन।'

उनको पहिलो पुस्तकमा समावेश 'परदेशमा दुख्यो मन'को गजलप्रेमीमाझ चर्चा भएको थियो। पुस्तक लेखेर इजरायल गएकी उमा उतै हुँदा अन्य सिर्जना पनि गरिन्। उनको पछिल्लो कृति 'तोदा' उपन्यास राम्रै

 चलेको उनी बताउँछिन्। 'पहिलो पुस्तकको लेखाइ ठीकै थियो,' उनी भन्छिन्, 'त्यसपछि लेखनलाई अलि गम्भीरतापूर्वक लिएँ।' उमा नयाँ उपन्यासको तयारीमा छन्।

नेपाली विषयमा विद्यावारिधि गरेका डा. राम शर्मा पहिलो पुस्तक प्रकाशन गर्ने प्रायःले संयमता नअपनाउने र लहडमा पुस्तक प्रकाशन गर्ने टिप्पणी गर्छन्। 'रहरले साहित्यमा प्रवेश गर्नेले साहित्यको मर्म नबुझिदिँदा नेपाली साहित्य क्षेत्रमा थोरै विकृति आएको छ,' उनले भने, 'साहित्य समाजको ऐना हो तर केही लेखकको कमी–कमजोरीका कारण यसमा विकृति थपिँदै गएको छ।'

प्रकाशित: २७ जेष्ठ २०७४ १०:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App