coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

गुड्ने अस्पताल

ललितपुर गोदावरीकी प्रतीक्षा तामाङलाई सुत्केरी व्यथाले च्यापेपछि पति विनोद सवारीको जोहो गर्न लागिपरे। एकातिर पत्नीको पीडा अर्कोतिर सवारी साधन नपाउँदाको चिन्ता। विनोद आत्तिए।

उनलाई सान्त्वना दिँदै कसैले भन्यो, '१०२ मा फोन गरेर एम्बुलेन्स बोलाउनु नि।' उनले त्यसै गरे। फोन गरेको २० मिनेटमा एम्बुलेन्स आँगनमा आइपुग्यो।

प्रतीक्षालाई व्यथाले निकै च्यापेको थियो। उनी एम्बुलेन्ससम्म पुग्ने अवस्थामा थिइनन्। एम्बुलेन्सबाट तालिमप्राप्त स्वास्थ्यकर्मी बाहिर निस्किए। बिरामीको अवस्था मूल्यांकन गरे। उपकरण निकालेर आँगनमा नै प्रसूति गराए। त्यसपछि मात्र आमा र बच्चालाई राखेर थप उपचारका लागि नजिकको अस्पताल पुर्‍याइदिए।

साताअघिको उपचारपछि अहिले आमा र बच्चा स्वस्थ छन्। 'सुरुमा त कहिले अस्पताल पुगिएला भन्ने छटपटाहट थियो,' तामाङले भनिन्, 'एम्बुलेन्ससँगै घरमा अस्पताल आएजस्तो लाग्यो।' बाटोमा हुने जाम र अस्पतालको दूरीले अत्याएको मन नानी जन्मिएसँगै शान्त भएको उनले बताइन्। 

बढ्दो सवारी संख्याले राजधानीको यातायात अस्तव्यस्त छ। कुन बेला कहाँ जाम पर्छ? ठेगान हँुदैन। पाँच मिनेटको दूरी पार गर्न ५० मिनेट रोकिनुपर्ने अवस्था आउँछ। विनोद र प्रतीक्षालाई पनि त्यही जामकै चिन्ता थियो। तर, आवश्यक उपकरण र तालिमप्राप्त स्वास्थ्यकर्मीसहित घरमै गुड्ने अस्पताल आइपुगेपछि उनीहरू ढुक्क भए।

'बाटोमा जाँदा पनि अस्पतालमा बसेको जस्तो भान भयो,' प्रतीक्षा भन्छिन्, 'अस्पताल कहिले पुगिएला भन्ने चिन्ता एम्बुलेन्सभित्र पसेलगत्तै हरायो।'

प्रतीक्षा मात्र होइन, उपत्यकाभित्र यस्तै अनुभव गर्ने धेरै छन्। घरबाट अस्पतालसम्म पुग्दा बिरामीलाई तल–माथि हुन नदिन जोखिम न्यूनीकरणका प्रबन्धसहित सञ्चालित एम्बुलेन्सका कारण धेरैको ज्यान जानबाट रोकिएको छ। र, विगत ६ वर्षदेखि यस्तो सेवा दिइरहेको छ–नेपाल एम्बुलेन्स सेवाले।

लामो सवारी जामले कतिपय अवस्थामा बिरामीको जीवन सडक सकिन्छ। यसको न्यूनीकरणका लागि चिकित्सक सहितको सेवा संचालन गरेको नेपाल एम्बुलेन्स सेवाका कार्यालय प्रमुख अमित जोशी बताउँछन्। तालिमप्राप्त स्वास्थ्यकर्मी र आधुनिक उपकरण राखिएको एम्बुलेन्सले बिरामीलाई अस्पताल पुग्नुअगावै अस्पतालको सेवा दिन्छ।

जोशीका अनुसार एम्बुलेन्समा संयुक्त राज्य अमेरिकास्थित स्ट्यान्डफोर्ड युनिभर्सिटी स्कुल अफ मेडिसिनले विकास गरेको आकस्मिक सेवा सम्बन्धी तालिमप्राप्त स्वास्थ्यकर्मी एम्बुलेन्समा हुने गरेका छन्। सेवाले हाल ११ वटा एम्बुलेन्स चलाइरहेको छ।

कसैले १०२ मा फोन गरेलगत्तै उपचार सेवा सुरु गरिने जोशी बताउँछन्। 'कर्मचारीले बिरामीको अवस्था र अपनाउनुपर्ने सावधानीबारे टेलिफोनबाट जानकारी दिन्छन्,' जोशी भन्छन्, 'घन्टीसँगै उपचार सुरु हुन्छ।'

संस्थाका उपाध्यक्ष  रञ्जीत आचार्यका अनुसार गैर नाफामूलक एम्बुलेन्स सेवाले हाल काठमाडौं उपत्यकासँगै चितवन र पोखरामा सेवा दिइरहेको छ। चाडै नै बुटवलमा पनि यो सेवा सुरु गर्ने उनले बताए।

हालसम्म २० हजारभन्दा बढी बिरामीलाई सेवा प्रदान गरिसकेको यो सेवाका एम्बुलेन्सभित्रै ३६ शिशुको जन्म भएको थियो। नेपाल एम्बुलेन्स सेवाले दुई वर्षअघिको भूकम्पका बेला ७ सयभन्दा बढि घाइतेलाई उद्धार गरेको थियो।

एक वर्षअघि जनकपुरबाट राजधानीसम्म हेलिकप्टरमा ल्याइएका गम्भीर अवस्थाका बिरामी हेमन्त शर्माको जीवन जोगाउन यसैको प्रयोग गरिएको थियो। एम्बुलेन्समा भेन्टिलेटरको समेत सुविधा छ। त्यसले एक अस्पतालबाट अर्कोमा बिरामी सार्न पनि मद्दत गर्छ।

प्रकाशित: २६ जेष्ठ २०७४ ०४:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App