१० माघ २०७७ शनिबार
अन्य

उज्यालोको तृष्णा

आमशिशुझैँ मैले पनि जन्मेकै दिन प्रकृतिप्रदत्त उज्यालोसँग साक्षात्कार गरेको हुनुपर्छ । तर, चेतनाले आकार ग्रहण गरी नसकुन्जेल मलाई त्यसको अर्थ थिएन । नवजातशिशुले आमासँगको अविच्छिन्न साक्षात्कारका साथै अटुट मातृत्वको पोषण प्राप्त गर्ने क्रमसँगै आफूमा चैतन्यको वीजारोपण पनि गर्दै जान्छ र चाँडै नै उसको स्मृतिमा आमाको अनुहार सुरक्षित हुन्छ । शिशुलाई आमाको मुहारसँग अभ्यस्त बनाउँदै स्मृतिमा सुरक्षित बनाउने साधन भनेकै प्राकृतिक उज्यालो हो । स्मृति भनेकै चैतन्यदायी अनुभूतिको एउटा भित्री तह हो, जुन मानव मस्तिष्कमा सञ्चित भइरहन्छ । स्मृति निर्माणको आधार चैतन्य तत्वसँग मिश्रित उज्यालो हो । उज्यालोसँगको अविच्छिन्न सामिप्यताले मानिसमा सहज र स्वाभाविक ढंगमा चेतनाको विस्तार हुँदै जान्छ । प्राकृतिक उज्यालो नहुँदो हो त जीवजगत्को सम्भावना रहने नै थिएन । स्मृति–चैतन्यकै आधारमा मानिसले जीवन र जगत्को प्रारम्भिक ज्ञान प्राप्त गर्दछ, अनि मात्र अन्तज्र्ञान प्राप्तिको मार्गमा हिँड्न प्रेरित हुन्छ । अन्तज्र्ञान प्राप्तितर्फको यात्रा भनेको आध्यात्मिकतातर्फको आरोहण पनि हो । सामान्य जनका लागि त्यो केही हदसम्म कठिनझैँ लाग्न सक्छ । आममानिस कठीनतातर्फ अग्रसर हुन चाहँदैनन् । म पनि आममानिसमध्येकै एक हुँ ।

प्राकृतिक उज्यालो नहुँदो हो त जीवजगत्को सम्भावना रहने नै थिएन । स्मृति–चैतन्यकै आधारमा मानिसले जीवन र जगत्को प्रारम्भिक ज्ञान प्राप्त गर्दछ, अनि मात्र अन्तज्र्ञान प्राप्तिको मार्गमा हिँड्न प्रेरित हुन्छ । अन्तज्र्ञान प्राप्तितर्फको यात्रा भनेको आध्यात्मिकतातर्फको आरोहण पनि हो । सामान्य जनका लागि त्यो केही हदसम्म कठिनझैँ लाग्न सक्छ ।

स्कुल–कलेज वा युनिभर्सिटीमा औपचारिक शिक्षार्जन गर्नु भनेको कर्म क्षेत्रमा लाग्नका लागि न्यूनतम ज्ञान वा योग्यता प्राप्त गर्नु हो । शिक्षण संस्था आधारभूत ज्ञान र सामाजिकीकरणका माध्यम हुन् । औपचारिक रूपमा पनि अध्ययन र अनुसन्धान गर्ने क्षेत्रहरू असीमित छन्, तर मानवजीवनको क्रियाशील उपस्थिति सीमित रहन्छ । उसले प्राप्त गर्ने ज्ञान पनि पूर्ण हुँदैन, प्रयत्नको निरन्तरताले अलिकति गहिराइसम्म पु¥याउँछ मात्र । सम्पूर्णताको प्राप्तिका लागि एउटै मानव जीवन पर्याप्त हुँदैन । आंशिक उज्यालो मात्र प्राप्त हुने हो, कसैको पनि जीवनकालभरिमा ।

युनिभर्सिटीबाट औपचारिक अध्ययनको समाप्तीसँगै म जुन संस्थामा आबद्ध रहेँ, त्यसले मलाई भिन्नै ढंगले देशका विशिष्ट मानिसको नजिकमा पु¥यायो । नेपाल टेलिभिजन मेरो मूल कर्मथलो बन्यो, जसले मलाई कार्यक्रमका माध्यमबाट मान्छेभित्रको उज्यालो खोज्न अभिप्रेरित ग¥यो– झन्डै ३० वर्षदेखि ।

मानिस हुनुको अनिवार्य विशेषतास्वरुप मैले वृत्तचित्र निर्माण गरेका व्यक्तित्वमा केही कमजोरी अवश्य थिए । तर, ती कमजोरीलाई उनीहरू स्वयंद्वारा प्रवाहित ज्ञान, विवेक र कर्मका ज्योतिद्वारा किनारीकृत गरिएको थियो । अँध्यारोलाई उज्यालोले ढाकेपछि अँध्यारो देखिँदैन । उज्यालोमा सामुन्नेका दृश्य स्पष्ट देखिन्छन् । ती व्यक्तित्वले आ–आफ्ना जीवनका उत्तराद्र्धसम्म आ–आफूलाई कर्म र संघर्षका रापमा खारेर धपधप पारेका थिए । सत्यको खोजी गर्न कहाँ सजिलो छ र ! समयको अँध्यारो दहमा डुबुल्किँदै र सुदूर आगतको क्षितिजमा निष्ठालाई केन्द्रित गरेर उज्यालोको प्रतीक्षा गर्नु कति कठिन थियो ! तर तिनीहरूले त्यो चुनौतीलाई स्वीकार गरेथेँ ।

लगातार २० वर्षको कहालीलाग्दो कारागार जीवनको आत्म–वृत्तान्त सुनाउँदै गरेका राजनीतिज्ञ खड्गमान सिंहका रसाएका आँखाबाट मैले सत्यको सुगन्ध बहेको देखेको छु । अन्तर्वार्ताका क्रममा बोल्दाबोल्दै भक्कानिएर बोल्न नसकी हिक्का छोड्दै रोएका अर्का राजनीतिज्ञ बलबहादुर राईका छातीभित्र बाँचिरहेको कठोर निष्ठाको रापले नेपाल टेलिभिजनका असंख्य दर्शकको छाती पोलेको अनुभव मैले गरेको छु । कलाकार बन्ने सपनालाई पछ्याउँदै कलानगरी पेरिस पुगेका लैनसिंह वाङ्देलले हिउँदका दिनमा साँघुरो र चिसो छिँडीमा कुँजिएर क्यानभासमा रङ पोत्दाको कहानीमा उनीभित्र अपराजित एकाग्रताको हिमाल अग्लिएको देखेको छु । भूपि शेरचनले जीवनका अन्तिम दिनमा अक्सिजनको पाइप नाकमा राखेर ओछ्यानमा ढल्कँदै देशको माटो दुखेको कविता सुनाउँदै गर्दा उनीभित्र चह¥याइरहेको सत्यको ध्वनि सुनेको छु । यतिमात्र होइन, कैयाँै पात्र जसको नजिकमा रहँदा मैले आफूलाई बाहिरी घामको उज्यालोभन्दा बढी भित्री उज्यालोछेउ रहेको अनुभूत गरेको छु । अन्य कार्यक्रमबाहेक व्यक्तित्व विशेषका डेढ सय जति वृत्तचित्र उत्पादन कार्यले मलाई उनीहरूको योगदानलाई बुझ्न र उनीहरूभित्र रहेको चैतन्यलाई स्पर्श गर्ने अवसर मिल्यो ।

कार्यक्रम निर्माणका क्रममा मैले ती प्रतिभालाई कति चिन्न सकेँ, उनीहरूको योगदानलाई दर्शकसमक्ष प्रस्तुत गर्न म कति सक्षम रहेँ, त्यो त भन्न सक्दिनँ, तर मेरो प्रयास सकेसम्म इमानदार रहन सकाँै भन्ने नै रह्यो । अधिकांश त ती प्रतिभा स्वयंद्वारा निर्मित विस्तृत आकाश थिए, मैलेछेउबाट मात्र अशंतः छुने प्रयास गरेको थिएँ । तिनीहरू आफू–आफूमै एउटा–एउटा विशाल समुद्र थिए, मैले किनारमा बसेर अनुभूतिको चक्षुले अलिकति छोएको मात्र थिएँ । मैले वास्तवमा सत्यको निश्छल रुपलाई स्पर्श गर्ने प्रयास मात्र गरेको थिएँ । धन्य छन्, ती प्रतिभा, जसले यस मुलुकलाई आ–आफ्ना इमानदारिताले सिञ्चन गरेर गए ।

अरु निकैजना थिए, मैले कार्यक्रममार्फत चिनेका असल मानिस । कसले छुन सक्ने गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको त्याग र आदर्शमय जीवनको उचाइलाई, कसले भेट्न सक्ने मनमोहन अधिकारीमा रहेको सरलताभित्रको महानतालाई, कसले देख्न सक्ने सुन्दरराज चालिसे, सुशीला कोइराला र द्वारिकादेवी ठकुरानीको निष्कपटता र निश्छलतालाई अनि कसले नाप्न सक्ने दयावीरसिंह कंशाकारको सेवा भावको उचाइलाई । यी सबै शिखर व्यक्तित्वले देशको मलीन आत्मालाई असल कर्ममार्फत अभिसिञ्चन गरिरहे । रत्नदास प्रकाश, नारायणगोपाल, नातिकाजी, यदुनाथ खनाल, हर्क गुरुङ, सत्यनारायण बहादुर श्रेष्ठ, महेशचन्द्र रेग्मी, अमर चित्रकार आदि कैयाँै सत्पात्रले यस मुलुकलाई पर्याप्त उज्यालो बाँडेर अतीत भए । उनीहरूले छाडेको उज्यालो यस मुलुकको अन्य कुनै पनि भौतिक सम्पदाभन्दा धेरैमाथि छ । त्यस उज्यालोको छेउमा बसेर मैले ती महामनाको ढुकढुकीलाई सुनेँ, मात्र केहीबेर । त्यही ‘केहीबेर’ मात्र पनि मेरा लागि जीवनभरको सुखद स्मृति बनिरहेको छ ।

सगरमाथाको शिखरमा पुग्न त आरोहणका कौशल छोटो समयमै सिक्न सकिन्छ र त्यस निम्ति गरिने अभ्यास अनि शारीरिक प्रयासले नै त्यहाँ विजय पाउन सकिन्छ । तर, राष्ट्रको चेतनालाई समृद्ध बनाउन आ–आफ्ना कर्म क्षेत्रमा समर्पित भएर अग्लिएका महान् व्यक्तिको उचाइलाई छुन सक्ने सामथ्र्य कतिमा पो होला र ! मैले उनीहरूको भौतिक उपस्थितिलाई नजिकबाट नियालेको मात्र हुँ । उनीहरूद्वारा प्रवाहित उज्यालाका लहरलाई छुँदै आफ्नो मनलाई केहीबेर विश्राम मात्र दिएको हुँ ।

संसार बदल्नेहरू उज्यालोका जन्मदाता हुन् । उज्यालोले विचार, विवेक, कर्म, गति सबै दिँदो रहेछ । स्रष्टाका अनेक रूप र कर्म छन् । वैयक्तिक लाभका खातिर गरिएको संघर्षले ठूलो अर्थ राख्दैन । समाज र राष्ट्रका लागि गरिएको त्याग र संघर्षले बाँकी अरुमाथि उज्यालो छर्छ । संसार निन्द्रितद्वारा होइन, जाग्रतद्वारा निर्माण भएको हो । उज्यालोले जाग्रत गराउँछ, अँध्यारोले निन्द्रित । स्वतन्त्रता एवं लोकतन्त्रका लागि संघर्ष र जीवनउत्सर्ग गर्नेले जगाएको चेतनाको उज्यालोलाई कसैले निभाउन सक्दैन । 

साहित्य, कला–संस्कृति, ज्ञान–विज्ञान, समाजसेवा, प्रशासन आदि क्षेत्रमा आबद्ध भई उज्यालो बाँड्दै हिँडेका प्रतिभा यस मुलुकमा धेरै छन् । उनीहरूकै कर्मका झुल्काले गर्दा यस धर्तीको प्राण बचेको छ । देशका लागि उज्यालाका स्रोत हुन् ती । तिनीहरूका कर्म चिह्नलाई जोगाएर राख्न सके भावी पिँढीले तिनबाट उज्यालो पाइरहने थियो । मैले काँचको पर्दामा ल्याएजस्तै सत्पात्र कति छन् कति, यस मुलुकमा ! तर जति त्यस्ता पात्रसँग मैले अन्तक्र्रिया गरेँ, ती आ–आफ्नो क्षेत्रमा अग्रणी थिए भन्ने मैले ठानेको छु ।

आफ्नो बुद्धि र विवेकमा तुँवालो लागिरहेको छ भन्ने जान्दाजान्दै पनि उज्यालो खोज्ने लालसालाई मैले त्याग्न सकेको भने छैन । उज्यालोप्रतिको चेतना पहिल्याई नसकेको अवस्थामा पनि म त्यसप्रति आकर्षित नै थिएँ । उज्यालो नभई नहुने रहेछ भन्ने बुझ्न सक्ने भएदेखि उज्यालो खोज्न त थालेँछु, तर अधिकांश समय भने भित्री उज्यालोभन्दा घाम लागेको ठाउँ मात्र खोजेर पो बिताएँछु । मनभित्रको अँध्यारो मेटाउन सक्ने उज्यालो खोज्न भने जानेकै रहेनछु । केही उज्याला मानिसलाई चिन्न मात्र पाएकाले पनि मभित्र उज्यालोप्रतिको तृष्णा भने पहिल्याएको छ । तृष्णा हुनु र खोजी गर्नु बेग्लै कुरा हो । लाग्छ, उज्याला मनह बगैँचाका सुन्दर र बास्नादार फूल हुन्, तिनीहरूलाई चिन्ने तृष्णा भने जागेकै छ ।

प्रकाशित: ६ जेष्ठ २०७४ ११:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App