१६ चैत्र २०८० शुक्रबार
अन्य

एमालेद्वारा काठमाडौं मेयरमा पाँच नाम सिफारिश, स्थापितको नाम परेन

काठमाडौं— नेकपा एमाले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिश गरेको छ। एमाले प्रदेश नम्बर तीन कमिटीले बुधबार मेयर उम्मेदवारका लागि पाँच नाम केन्द्रलाई सिफारिश गरेको हो।

जिल्ला कमिटीको सिफारिशमा परेका मध्येबाट स्थायी समितिले उम्मेदवार तोक्नेछ। स्थायी समितिले सिफारिशमा नपरेकाहरुलाई पनि उम्मेदवार बनाउन सक्छ।

काठमाडौं मेयर उम्मेदवारमा एमालेबाट सिफारिश हुनेहरुमा जीवनराम श्रेष्ठ, विद्यासुन्दर शाक्य, विदुर मैनाली, बसन्त मानन्धर र कल्पना रिजाल छन्।

एमालेको मेयर उम्मेदवारको रुपमा चर्चामा आएका केशव स्थापितको नाम जिल्ला कमिटीको सिफारिशमा परेको छैन। मेयरका लागि यसअघि चर्चामा रहेका गौरी प्रधानलाई पनि काठमाडौं जिल्ला कमिटीले सिफारिश गरेको छैन। पार्टी कमिटीमा नभएकाहरुलाई सिफारिश नगरिएको काठमाडौं जिल्लाका सह इन्चार्ज तथा केन्द्रीय सदस्यीय सुरेन्द्र मानन्धरले बताए।

'हामीले एउटा विधि तय गरेर सर्वसम्मत रुपमा निर्णय गरेका हौं। त्यसमा पार्टी कमिटीमा नरहेकाहरुलाई सिफारिश नगरिएको हो', उनले नागरिकन्युजसँग भने। महानगर, उपमहानगरपालिकाका मेयर उपमेयरको अन्तिम निर्णय पार्टी स्थायी कमिटीले गर्नेछ। सिफारिशमा नपरेकाहरुलाई पनि स्थायी समितिले उम्मेदवार बनाउन सक्नेछ।

मेयर सिफारिशमा परेका जीवनराम श्रेष्ठ एमाले केन्द्रीय सदस्य हुन्। यसअघि दुई पटक खेलकूद परिषदको सदस्यसचिव भएका उनी अन्तरार्ष्ट्रिय ओलम्पिक कमिटी नेपाल च्याप्टर अध्यक्ष हुन्। विद्यासुन्दर शाक्य पूर्व वडाअध्यक्ष एवं एमाले काठमाडौं जिल्ला कमिटी सचिव हुन्। सिफारिशमा परेका विदुर मैनाली तिनै व्यक्ति हुन् जो केशव स्थापित काठमाडौं महानगरपालिकाको मेयर हुँदा उपमेयर थिए। बसन्त मान्धर एमाले अखिलका पूर्व महासचिव हुन्। एक बेला युवा संघमा सक्रिय रहेकी कल्पना रिजाल अनेम संघकी नेता हुन्।

त्यसैगरी उपमेयरका लागि पनि एमालेले पाँच जनाको नाम सिफारिश गरेको छ। सुजिता शाक्य, शान्ति अधिकारी, रत्ना गुरुङ, विद्या न्यौपाने, इन्दिरा पन्त र श्याम भण्डारीको नाम सिफारिश गरेको छ।

उपमेयरमा सिफारिश सुजिता शाक्य एमाले केन्द्रीय सदस्य हुन्। उनी स्थायी कमिटी सदस्य शंकर पोखरेलकी पत्नी पनि हुन्। संविधान सभाको दोस्रो निर्वाचनमा काठमाडौं क्षेत्र नं.५ बाट सांसदमा सिफारिश परेर टिकट नपाएकी शान्ति अधिकारी अनेमसंघकी केन्द्रीय महासचिव हुन्। उनी एमाले पूर्वअध्यक्ष मनमोहन अधिकारीकी बुहारी पनि हुन्। रत्ना गुरुङ पूर्व सांसद हुन्। इन्दिरा पन्त सहकारी अान्दोलनमा सक्रिय एमाले नेतृ हुन्।

उपमेयरमा सिफारिश भएकी विद्या न्यौपाने जिल्ला कमिटीकी उपसचिव हुन्। यसअघि चर्चामा नआएका श्याम भण्डारीलाई पनि जिल्ला कमिटीले उपमेयरमा सिफारिश गरेको छ।

 

प्रकाशित: १३ वैशाख २०७४ ११:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App