२७ असार २०७७ शनिबार
अन्य

एक आध्यात्मिक भौतिकवादी साधक

सेतै फुलेको दाह्रीबीच उनको ओठमा मुस्कान सदावहार फुलिरहन्छ। स्वाभाविक मुस्कान। त्यही मुस्कानले उनीभित्रको आनन्द बोलिरहेझैँ लाग्छ। 

उनी आफूलाई महाआनन्दको यात्री भन्छन्। उनको यात्रा हो, अध्यात्मको। उनी भन्छन्, ‘अध्यात्ममा आनन्द छ, महाआनन्द।'

के त्यसो भए ४८ वर्षपहिले अर्थात् ३० वर्षको उमेरसम्म उनी आनन्दित थिएनन् त?

संयोग पनि कस्तो? उनको त नामै आनन्द छ, स्वामी आनन्द अरुण। यो नाम उनले ओशो रजनीशबाट पाएका हुन्। यो नाम पाएको पनि ४८ वर्ष भइसक्यो, उनी भने अहिले ७३ लागे। ओशोबाट दीक्षित भएपछि नाममा मात्र आनन्द भएन। उनी भन्छन्, ‘जीवनमा पनि आनन्दको यात्रा सुरु भयो।'

के त्यसो भए ४८ वर्षपहिले अर्थात् ३० वर्षको उमेरसम्म उनी आनन्दित थिएनन् त?

‘ओशोलाई नभेटेसम्म म आनन्दको खोजीमै भौँतारिरहेको थिएँ,' उनी भन्छन्, ‘सन् १९६९ मा ओशोलाई भेटेँ, जीवनमा खोजेको कुरा पाएजस्तो लाग्यो।'

त्यसपछि उनलाई अध्यात्मको सही अर्थ प्राप्त गरेझैँ भयो। उनले ओशोबाट दीक्षा लिए। ओशोले उनलाई दीक्षित गरेर दिइएको नाम हो– स्वामी आनन्द अरुण।

आनन्द अरुणको नामको पनि ठूलो लफडा रहेछ। अरुणका बुवा सरकारी बडाहाकिम थिए। बाबुको सरुवा भइरहने कारण उनको स्कुले स्थिर र राम्रो हुन सकेन। नातिको पढाइ बिग्रने देखेर भारत विहारका मावली हजुरबाले उनलाई उतै लगेर पढाउने विचार गरे।

उनी नामको किस्सा सुनाउँछन्, ‘जब स्कुलमा भर्ना भएँ। त्यतिबेला मेरो नाम अरुणकुमार प्रसाद नारायण सिंह थियो। बुवाको नामको ‘प्रसाद', हजुरबाको नामको ‘नारायण' समेत जोडेर मेरो नाम लेखिदिएका थिए।'

यो लामो नाम उनलाई त्यति मन परेन। त्यसपछि उनले बिस्तारै–बिस्तारै पछाडिबाट नाम काट्दै आए, औपचारिक नाम अरुणकुमार सिंह भयो। व्यावसायिक जीवनमा भने उनी इन्जिनियर अरुण सिंहका नामले चिनिए।

पछिल्ला ४८ वर्षदेखि उनी नेपालमा र विदेशमा पनि स्वामी आनन्द अरुणको नामले प्रख्यात छन्। उनी ओशो तपोवनका संस्थापक र ओशो दर्शनको प्रचारकको रूपमा अन्तर्राष्ट्रिय क्षेत्रमा पनि चिनिन्छन्।

भारतमा पढाइ हुनु र ओशोसँग भेट हुनुले मात्र उनलाई आध्यात्मिक बनाएको होइन, आध्यात्मिक जीवनको लहरो तान्दै जाँदा उनको बाल्यकालसम्म पुग्नुपर्छ।

अझ उनी के दाबी गर्छन् भने उनको आध्यात्मिक जीवन पूर्वजन्मदेखि नै सुरु हुन्छ।

अरुणको परिवार पहिले जनकपुर बस्थ्यो। उनको जन्म पनि त्यहीँ भयो। पछि उनीहरू काठमाडौं सरे। २००७ सालतिर उनको परिवार काठमाडौंको बागबजार बस्थ्यो। उनी सम्झन्छन्, ‘त्यो समय अन्य बच्चाहरू विभिन्न खेल खेल्थे। म भने इँटाहरू जम्मा पारेर मन्दिर बनाएर खेल्थेँ। यो कुरा पछि आमाले सुनाउनुहुन्थ्यो।'

बाल्यकालमै अध्यात्मको गहिरो प्यास जागृत भएको अनुभव उनले गरेका थिए। उनी झन्डै पाँच वर्षको हुँदा एकपटक उनलाई तीर्थ यात्रामा लगिएको थियो, वैद्यनाथ धाम। गण्डक र गंगाको किनार सोनपुरमा तीर्थयात्री बास बसे। बिहान उनी किनारमा हात मुख धोएर बसेका थिए। त्यही बेला  समाधिमा गए अर्थात् उनी ध्यानमा गए।

उनी भन्छन्, ‘हातखुट्टा चलाउन खोजेँ, चलाउनै सकिनँ। म त चुपचाप ध्यानमा गएँछु।'

उनी समाधिमा गएपछि सबै डराए। उनलाई बोकेर लगियो। त्यो समाधि धेरैबेर कायम रहेन, केही बेरमा सब ठीक भयो।

त्यसरी गंगा र गण्डक दोभानमा आफू बेहोस भइजानुको आध्यात्मिक व्याख्या गर्दै उनी भन्छन्, ‘पछि थाहा भयो, त्यो सतोरी भएको रहेछ। सतोरी भनेको सविकल्प समाधि हो, जुन केही समय मात्र रहन्छ। त्यसपछिको आनन्द अत्यन्त अद्भूत हुन्छ।'

त्यस्तो सतोरी उनलाई जवानीसम्म पनि धेरैपटक भएको बताए। धेरैजसो सतोरी गंगा किनार या कुनै दोभानमा भएको अरुणको अनुभव छ। उनी भन्छन्, ‘हिन्दू धर्ममा संगमलाई शक्तिशाली मानिन्छ, त्यो अनुभव आफैं गरेँ।'

त्यतिबेलाको ध्यान र समाधि आफ्नो बोधको सीमाभन्दा पर भएको उनी बताउँछन्। यसबारे अरुले पनि स्पष्ट बुझेका थिएनन्, तर एक बालक नजानिँदो तरिकाले अध्यात्मतिर तानिँदै थिए।

उनको यो नजानिँदो आध्यात्मिकताले बिस्तारै सचेत यात्रा तय गर्दै गयो।

सम्पन्न मावलीमा बसेर पढेका उनलाई औपचारिक अध्ययनको पनि राम्रो वातावरण मिल्यो। उनी स्कुल पढ्दा धेरैजसो लाइब्रेरीमा आध्यात्मिक पुस्तक पढ्ने गरेको सुनाउँछन्। ‘स्कुल प्रशासनलाई खुसी बनाएर लाइब्रेरीमै बस्ने वातावरण मिलाएँ। मलाई लाइब्रेरियन बनाइएको थियो,' उनी भन्छन्, ‘त्यसबेला प्रशस्त पढ्ने मौका मिल्यो।'

उनले सबैभन्दा पहिले स्वामी विवेकानन्द पढे, आफ्नो पहिलो गुरु पनि स्वामी विवेकानन्दलाई मान्छन्। पढेर प्राप्त अध्यात्म ज्ञान उनी व्यावहारिक जीवनमा प्रयोग गर्ने प्रयास गर्थे।

स्कुले जीवन चल्दै थियो। स्वाभाविक रुपमा अरुणमा किशोरवय चढ्दै गयो। शारीरिक परिवर्तनसँगै उनले आफूमा अत्यन्तै उच्च कामवासनाको अनुभव गरे।

एकातिर उनको मन अध्यात्मतिर थियो, अर्काेतिर बाटामा युवती देख्दा पनि उनीमा काम–भावना तीव्र भएर आउँथ्यो। बारम्बार स्वप्नदोष भइरह्यो। कहिलेकाहीँ यो देखेर दिकदारी पनि लाग्थ्यो। भन्छन्, ‘म आध्यात्मिक मानिस, यो कामवासनालाई जित्छु भनेर दैनिक संकल्प गर्थें। जित्छु भनी दैनिक डायरी लेख्थेँ। तर असफल हुन्थेँ।'

यहीबेला उनले महात्मा गान्धी पढे। गान्धीलाई पढेपछि अति कामभावना जागृत हुनुमा उनले खानपिनलाई जिम्मेवार ठाने। गान्धीलाई नक्कल गरेको भन्दै सुनाए, ‘गान्धीजीले सेक्सलाई नियन्त्रण गर्ने हो भने खानपिनमा कन्ट्रोल गर्नुपर्छ भनेका थिए। त्यसैलाई पछ्याएँ।'

अरुणमा चिया, मासु, अन्डा, खुर्सानीजस्ता खानेकुराको लत थियो। दैनिक १८ देखि २० कपसम्म चिया पिउँथे। ती सब लत छोडे। फलफूल र काँचा तरकारी धेरै खान थाले। कक्षा आठदेखि प्रवीणता तहसम्म उनको यो खानपिन कायम भयो।

उनी भन्छन्, ‘जे चीजको पनि एक्सटि्रममा जाने मेरो बानी छ। त्यसबेला मैले गान्धीजीको त्यो सल्लाहलाई अभ्यास गरेँ।' उनले चार वर्ष त आगोमा पाकेको केही पनि खाएनन्।

त्यसपछिको परिवर्तन उनले साँच्चिकै अनुभव गरे। उनी भन्छन्, ‘त्यसपछि त वासना हुँदै भएन। जतिबेला रोमान्स गर्ने समय थियो। त्यतिबेला त म परम जोगी थिएँ।'

पाँच वर्षसम्म खानपान नियन्त्रण गरेका उनले जब ओशोलाई सुन्न थाले, त्यसपछि फेरि बाटो मोडियो। ओशोले भने, ‘यो बिल्कुल ठीक छैन। खानपान नियन्त्रण गरेर यो समाधान हुँदैन। यसले त केही समयलाई दबाउँछ मात्र।'

अरुणले त्यतिबेलासम्म जो जति गुरु भेटे, ती सबैले कामलाई दबाएर राख्न सिकाए। तर ओशोले दबाउने होइन, बरु अनुभूत गर्न सिकाए।

अरुणले फेरि सामान्य खान थाले, काम फेरि जाग्न थाल्यो। उनी भन्छन्, ‘त्यसपछि त मेरो कामभावना झन् सय गुणा बढी भएर आयो।'

ओशो भेटिनु उनीभित्र जागेको अध्यात्मको प्यास मेटिनुजस्तै भयो। अनि अध्यात्मलाई आनन्दको उच्चतम् उपभोगको रुपमा जीवनमा प्रयोग गरे। ओशो आफैंले उनलाई दीक्षित गरे, ‘स्वामी आनन्द अरुण'को रूपमा उनको अध्यात्म यात्रा सुरु भयो।

अरुण ओशो दीक्षाको सार खुलाउँछन्, ‘स्वामी भनेको आफ्नो मालिक आफैं बन्नु हो। अरुको दासत्वबाट मुक्त हुनु हो। स्वयं आफ्नै वृत्तिहरूको दासत्वबाट समेत मुक्त हुनु हो।'

यो सबै त्यतिबेला भयो, जतिबेला उनी पटना युनिभर्सिटीमा इन्जिनियरिङ पढ्दै थिए। इन्जिनियरिङ पढ्दै गर्दा उनी भारतका  धेरै गुरु थापे–

रामकृष्णदेखि आनन्द मूर्ति, कुलचन्द्र ठाकुर र शिवानन्द आश्रमसम्म नाम चलेका जोगीहरूबाट दीक्षा लिए। एउटा प्यासीले कुवा धाएझैं आध्यात्मिक गुरुहरू खोज्दै हिँडे उनी।

ओशो भेटिनु त्यही शृंखलाको एक निर्णायक मुकाम थियो। उनी भन्छन्, ‘त्यसपछि गुरु खोज्दै हिँड्ने मेरो यात्रा एक ठाउँ टुंगियो। र, अध्यात्मको अर्काे अविराम यात्रा सुरु भयो।'

उनले ओशोलाई पछ्याउने अठोट मात्र गरेनन्, ओशो दर्शनको प्रचारमा समर्पित हुने निर्णय गरे, विद्यार्थी छँदै ओशोबाट दीक्षा लिई प्रचार गर्न थाले। सन् १९७० मा उनले ओशो प्रेम परिवार भनेर मिसन सुरु गरेका थिए। भारतमा पढाइ सकेर नेपाल आएको एक वर्षपछि सन् १९७४ मा औपचारिक रूपमा उनले ओशोको सेन्टर चलाउने अनुमति पाए। अनि उनले आफ्नै घर ताहाचलमा आशीष रजनीश ध्यान केन्द्र सञ्चालन गरी ध्यान सिकाउन थाले।

त्यतिबेला उनी नेपालमा सरकारी इन्जिनियर थिए। जागिर गर्दै उनले ध्यान केन्द्र पनि सञ्चालन गरे, न्युरोडको पीपल बोटछेउ सडकमा ओशोका किताब बेचे। ‘त्यहाँ किताब बेच्न सुरु गर्ने मै हुँ,' उनी भन्छन्। उनी दिनभरि सरकारी अफिसमा इन्जिनियरिङ गर्थे अनि कार्यालय छुटेपछि न्युरोडमा किताब बेच्थे।

उति साह्रो रुचि नहुँदा पनि अरुणले इन्जिनियरिङ पढे। जे काम गरे पनि पूरा लगावसाथ गर्ने उनको बानीले इन्जियरिङको पढाइमा आनन्द मात्र दिलाएन, व्यावसायिक जीवनमा पनि अत्यन्त सफल बनायो।

खास उनी संगीतका सोखिन थिए। सानैदेखि उनी बाँसुरी राम्रो बजाउँथे।

‘म संगीत या साहित्य पढ्न चाहन्थेँ। तर त्यतिबेला हुनेखाने सबैका छोरालाई इन्जिनियर बनाउने चलन थियो। त्यसैले मलाई पनि साइन्स नै पढाए,' उनी भन्छन्। संगीतको औपचारिक पढाइलाई अगाडि बढाउन नपाए पनि उनलाई त्यसको रसले भने पछिसम्म छोडेन। इन्जिनियरिङ पढ्दै गर्दा उनलाई भायोलिन सिक्ने मुड चल्यो।

‘भाओलिन सिक्ने धुनमा जाँच पनि बिग्रिएको थियो,' उनी भन्छन्, ‘भायोलिन पनि पूरा सिक्न सकिनँ।' संगीत अनि बाजागाजाप्रति उनको रुचि अझै घटेको छैन। उनी अहिले पनि आनन्दका लागि संगीत सुन्छन्। उनका आइफोन र आइपोडमा बच्चुकैलाश, शिवशंकर र अरुणा लामाका सुमधुर गीत भरिएका छन्। हिन्दी गजल पनि उनी सुन्न मन पराउँछन्। विभिन्न भगवान्का स्तुति र आध्यात्मिक भजन भने उनले दैनिकजसो सुन्ने नै भए।

सन् १९७३ मा पढाइ सकेपछि नेपाल आएर उनी सरकारी जागिरे भए। सात वर्षको सरकारी जागिरको अनुभव भने साह्रै नराम्रो रहेको अरुण बताउँछन्।

‘सात वर्षको त्यो जीवन त जेलजस्तै भयो मलाई,' उनी भन्छन् ‘जहिले पनि बोसले बोलाएर गाली गर्थ्याे। इमानदार तरिकाले काम गर्नेलाई तलको कर्मचारीले पनि नटेर्ने रहेछ, माथिको हाकिम पनि खुसी नहुने।'

सरकारी जागिरमा हुने घुसखोरी, अनियमितता, बेइमानीसँग उनी हारे। अन्ततः सन् १९८० मा उनले १४ हजार रुपैयाँ सञ्चय कोषबापतको रकम  लिएर जागिर छोडे, जतिबेला उनी सेकेन्ड क्लास इन्जिनियर थिए। जागिर खाँदासम्म साइकल किन्नेसम्म पनि पैसा कमाउन नसकेको उनको अनुभव छ। सञ्चय कोषको पैसा लिएर उनले भेस्पा स्कुटर किने। यो उनको पहिलो सवारी थियो। त्यसपछि भने उनले आफ्नै बिडिए कम्पनी खोले।

यसपछि इमानदारीपूर्वक आफ्नो सीप बेचेर उनले राम्रो पैसा कमाए, घर बनाए र छोराछोरीलाई पढाए। उनका एक छोरा र एक छोरी चिकित्सक र एक छोरी कम्प्युटर इन्जिनियर छन्। छोराछोरीको यो प्रगतिदेखि उनी आनन्दित छन्। तीन सन्तान भए पनि वैवाहिक जीवन भने सफल नभएको उनी बताउँछन्।

उनले आफ्नो कम्पनीबाट त्रिभुवन विश्वविद्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विभिन्न संरचना, बनेपामा रहेका आइटी पार्क, होटल दरबार, होटल सांग्रिला, होटल शेर्पाजस्ता ठूला आयोजना सम्पन्न बन्यो। सरकारी इन्जिनियर रहँदा आगलागीपछिको सिंहदरबारको पुनर्निर्माणलगायत ठूला आयोजनामा योगदान पुर्‍याए। अहिले पनि उनको कन्सल्ट्यान्ट कम्पनी चलिरहेकै छ।

६ वर्ष अघिसम्म उनले आफ्नै कम्पनीमा जागिर पनि गरे। सन् २०१० देखि भने उनले पूर्णकालीन इन्जिनियरिङबाट अवकाश लिएका छन्, ३७ वर्षको सक्रिय व्यावसायिक जीवनबाट मुक्त भए। अहिले उनी तपोवनको व्यवस्थापन र देश–विदेशका विभिन्न ठाउँमा खोलेका ओशो ध्यानकेन्द्रमा मानिसलाई दीक्षित गर्न व्यस्त छन्। अध्ययन र लेखन पनि उनको दिनचर्याको अभिन्न अंग बनेको छ।

व्यावसायिक सफलताको चुलीमै रहेको समय अरुणको दिमागमा यस्तो केन्द्रकोे परिकल्पना बन्योे, जहाँ मानिस अध्ययन, आराम र साधना एकै ठाउँ हुन सकोस् र यो सुलभ पनि होस्। अनि उनले काठमाडौंको शिवपुरीमा तपोवन कम्युन बनाए। जसमा राष्ट्रिय अन्तर्राष्ट्रिय ओशो दर्शनप्रेमीहरू साथमा आएर बस्न सक्छन्। ध्यान, योग र अध्यात्मको अभ्यास गर्छन्।

अहिले तपोवन इन्टरनेसनल कम्युन ओशो दर्शन, अध्यात्म अध्ययन र अभ्यासको केन्द्र बनेको छ।

मानिसलाई निष्ठापूर्वक आफ्नो काम गर्न उत्प्रेरित गरिन्छ तपोवनमा। स्वामी आनन्द अरुण तपोवनमा मानिसलाई ध्यान र साधनाबाट आनन्द लिन सिकाउँछन्, वैयक्तिक वृत्तिको जञ्जालबाट मुक्त हुने ओशोका दर्शनबारे सिकाउँछन्।

खान–लाउनकै समस्याले पिरोलिरहेसम्म मानिसहरू अध्यात्मको आनन्दतर्फ आकर्षित हुन नसक्ने उनी बताउँछन्। त्यसैले उनी देश विकासको वकालत गर्छन् ‘जनतालाई गरिबी, अशिक्षा, रोगबाट मुक्त बनाउनुपर्छ।'

एक आध्यात्मिक अगुवाको यस्तो विकासवादी विचारलाई आध्यात्मिक भौतिकवाद भन्न मिल्छ?

उनी भन्छन्, ‘अवश्य मिल्छ। यो आध्यात्मिक भौतिकवाद नै हो। अझ हामी त आध्यात्मिक साम्यवाद भन्छौँ।'

उनको विचारमा कार्ल मार्क्सको वैज्ञानिक साम्यवाद त विचार मात्र हो। व्यावहारिक साम्यवाद आध्यात्मिक साम्यवाद हो, जुन तपोवनमा अभ्यास भइरहेको छ। उनी भन्छन्, ‘यहाँ न कसैको निजी सम्पत्ति छ, न त कोही वर्ग, जाति, धर्ममा स्तरीकृत छन्। सबैले उपभोग गर्ने आनन्द एउटै हो।'

यदि निजी सम्पत्तिको अन्त्य र सामूहिक लक्ष्यप्रति प्रेरित समाज साम्यवाद हो भने त्यो अध्यात्मबाट मात्र सम्भव हुने उनको तर्क छ।

प्रकाशित: ९ वैशाख २०७४ ११:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App