३१ श्रावण २०७७ शनिबार
अन्य

महिला घरको बन्दी होइन

– शोभा ज्ञवाली
नेपाली समाजमा घरपरिवार चलाउने जिम्मेवारी प्रायः महिलाकै काँधमा हुन्छ । श्रीमतीले राम्रोसँग घरव्यवहार धानिदिएपछि नै श्रीमान्ले आफ्नो पेशा तथा व्यवसायमा उन्नति गर्न सकेका हुन्छन् । घरमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने महिलालाई घरबाहिर भने नेतृत्वमा पुग्न विभिन्न अवरोध सामना गर्नुपर्छ । धेरै महिलाले आफूसँग क्षमता हुँदाहुँदै पनि घरबाट बाहिर निस्कन पाएका हुँदैनन् । कतिपय श्रीमान्ले त ‘म कमाइहाल्छु, तिमीले किन काम गर्नुप¥यो’ भन्दै श्रीमतीलाई घर चलाउने काममै सीमित गरेका हुन्छन् । घर राम्रोसँग व्यवस्थापन गर्न सक्ने महिलाले अन्य पेशा अथवा व्यवसायमा पनि आफ्नो दक्षता देखाउन सक्छन् भन्ने कुरा सबैले बुझ्नु जरुरी छ । त्यसका लागि उनीहरूलाई अवसर भने दिनुपर्ने हुन्छ ।

महिला र पुरुषको सम्बन्ध एकअर्कामा परिपूरक हुन्छ । झन् श्रीमान् र श्रीमतीका बीचमा त जीवनभर एकअर्काका साथ रहने गरी सम्बन्ध कसिलो बनेको हुन्छ । बिहे गरी भित्रिँदा कुनै महिला श्रीमान्को श्रीमती मात्रै नभई बुहारी, भाउजूका रूपमा पनि भित्रिएकी हुन्छे । विभिन्न भूमिका उसले निर्वाह गर्नुपर्ने हुन्छ ।

हामीकहाँ महिला अधिकार र सशक्तीकरणका विषय जोडतोडले उठ्ने गरेका छन् । संवैधानिक रूपमा पनि महिलाले विगतमा भन्दा निकै अधिकार पाएका छन् । तर, पनि पुरुषवादी चिन्तन हाबी हुँदा महिलाहरू अहिले पनि धेरै क्षेत्रमा पछि परिरहेका छन् । शहरिया महिलाको अवस्था केही हदसम्म ठीकै भए पनि ग्रामीण भेगका महिलाको अवस्था अहिले पनि दयनीय छ । महिलाले जेजति दुःख गरे पनि आर्थिक कारोबार पुरुष अर्थात् श्रीमान्कै नियन्त्रणमा हुन्छ । त्यसैले धेरै महिलाले चाहेर पनि भनेजस्तो उद्यम गर्न सकिरहेका हुँदैनन् । र, आर्थिक विकासमा पछि परिरहेका हुन्छन् । पुरुषसरह अवसर दिए महिलाले पनि आर्थिक क्षेत्रमा सफलताको बाटो पहिल्याउन सक्छन् ।

राष्ट्रपति, सभामुख र प्रधान न्यायाधीशजस्ता गरिमामय पदमा महिला पुग्नु हाम्रा लागि गर्वको कुरा हो । नेतृत्व तहमा महिलाले आफ्नो दक्षता कुशलतापूर्वक देखाइरहेका छन् । तर, समाजमा भने महिलालाई अझै पनि कमजोर देख्ने गरिन्छ । घर व्यवस्थापनमा अब्बल ठहरिने महिलाले अन्य काममा कुशल व्यवस्थापन गर्न नसक्ने कुरै छैन । तर, पुरुषप्रधान संकुचित सोचले अहिले पनि महिलालाई अघि बढ्न बाधा सिर्जना गरिररहेकै छ । घरमा छोराले जे गरे पनि छुट हुने तर बुहारी वा छोरीलाई भने कडा अनुशासनमा बाँधेर राख्नुपर्छ भन्ने सोचमा अझैसम्म परिवर्तन आउन सकेको छैन ।

गाउँ या शहर जहाँका भए पनि महिलाले भोग्ने समस्या र दुःख करिब समान छन् । शहरमा हुर्केका तथा पढेलेखेका महिलाहरू आफ्नो अधिकारका लागि केही सचेत भए पनि उनीहरूले पर्याप्त अवसर पाएका छैनन् ।

महिलाले कुनै क्षेत्रमा राम्रो काम गरे ‘त्यसले गरेकी हो र ?’ भनेर शंका गर्ने र कुनै काम बिग्रिहाल्यो भने ‘महिलाले गरेर कहाँ हुन्छ ?’ भनेर होच्याउने प्रवृत्ति पनि पाइन्छ । जसले गर्दा महिलाहरूले कार्यक्षेत्रमा आफ्नो कार्यकौशल देखाउन सकेका हुँदैनन् । महिलालाई उनीहरूले गरेको राम्रा काममा हौसला दिने र कामका लागि विश्वास गर्ने वातावरण हुने हो भने उनीहरूले पनि पुरुषले जत्तिकै र कतिपय अवस्थामा पुरुषहरूले भन्दा पनि राम्रो परिणाम दिन सक्छन् । एउटा पुरुष कुनै कार्यक्रम सहभागी हुँदा उसलाई सामान्यतया कुन  ‘प्रोफाइल’ भएको व्यक्ति हो भनेर मात्र हेरिन्छ । उसको रूप वा रङमा मानिसमा त्यति चासो हुँदैन । तर, कुनै महिला कतै कार्यक्रममा सहभागी भइरहेकी छिन् भने उसको चालढाल, रूपरङ र पहिरनका बारेमा पनि चर्चा भइरहेको हुन्छ । कुनै महिला अलि खुलेर गफ गर्न थाली भने उसको चरित्रमाथि शंका गर्न थालिन्छ । यो महिलालाई हेर्ने हाम्रो समाजको दृष्किोणको दोष हो । महिलामाथि हुने विभेदपूर्ण व्यवहार र सोच परिवर्तन हुन जरुरी छ । महिला घरको बन्दी होइन । उसलाई बन्दी बनाउने समाज नै साँघुरो सोचको बन्दी हो । समाज जहिलेसम्म यो घेरामा रहिरहन्छ, तबसम्म हाम्रो देश विकास र सभ्यतामा पछि परिरहन्छ ।

प्रकाशित: २८ चैत्र २०७३ १७:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App