२१ असार २०७७ आइतबार
अन्य

तीन कविता

दुर्गालाल श्रेष्ठ

लौरो हराउँदा

पाएँ है पाएँ मैले

आफूलाई पाएँ

टेक्ने लौरो जब हराएँ!

 

टाउकोमा बुट्टाबुट्टा

बुट्टामाथि थियो जलप

यतिबिघ्न राम्रो मेरो

लौरो जब भयो अलप

अहो! यति डराएँ कि

हिँड्दा पनि म खोच्याएँ

टेक्ने लौरो जब हराएँ!

 

त्यो लौरो टेकेर हिजो

देखाएँ जुन सान मैले

त्यसैले त निल्यो हाय!

मेरो स्वाभिमान ऐले!

संकटकै घडी तर

बोधीज्ञान मैले पाएँ

टेक्ने लौरो जब हराएँ!

अद्भूत वाम

कम्युनिस्टै त्यो हैन म भन्छु,

कम्युनिस्टै त्यो हैन!

रेट्छ गला जो कम्युनिस्टैको

कम्युनिस्टै त्यो हैन!

 

जतिकै जेल र नेल सहेको

त्याग गरेको होस् उसले

जस्तै गहन परिस्थिति–सागर

पार गरेको होस् उसले,

किन्तु निजी वैशिष्ट्य जनाउन

बिघ्नसिवाय जो गर्दैन!

कम्युनिस्टै त्यो हैन!

 

भोकैले पनि भर्दै पेट

प्यासैले पनि मेट्दै प्यास

जसले कति संघर्षहरूमा

यसरी पनि फेरेथ्यो सास

चालढाल तर भिन्नै उसको

सममा कहिल्यै पर्दैन

कम्युनिस्टै त्यो हैन!

 

सैद्धान्तिक घर्षणकै कारण

खुल्दै जाने हो दर्शन

यैसित भागी, जोकर बन्दै

शत्रु हँसाइ उल्टै झन्

आफ्नो हांगा आफैले जो

काट्न अहो! पछि पर्दैन

कम्युनिस्टै त्यो हैन!

 

ठक्कर, हन्डर, बिघ्न–बबन्डर

सहँदै बहँदा पनि अविराम

गोल परे पनि त्यो पत्थर जो

छैन बनेको शालिग्राम

वामैमाथि बाण नहानी

जसको धितै मर्दैन

कम्युनिस्टै त्यो हैन!

 

रूख

१.

रूख भन्छ, 'ए सिद्धार्थ!

म बोधी नै हैन,

तिमीले जे पाए भन्यौ

त्यो मसँगै छैन!

२.

जुन हो त्यो, तिम्रो प्राप्ति

तिमीभित्रै थियो

छोपिराख्ने अरु हैन

दरबारकै दियो!

३.

मेरो यही छहारीमा

आइबस्नेमध्ये

तिमी बुद्ध भयौ, तर

कोही ब्याधा भए!

ब्यर्थ किन मलाई त्यो

बोधी विशेषण?

बिनसित्तै किन झूठो

बाँच्नु मैले भन?

रूख हूँ ममात्र रूख

अरु केही हैन!

रूखै होऊँ, अरु हुने

इच्छै पनि छैन!

दिएको छु भनेर'नि

कसरी म फुलूँ?

आउँदा'नि रित्तै थिएँ

कहिल्यै नभुलूँ!

७.

गवर्ैै गर्दा पनि लाग्छ

घमण्ड गरेँ कि?

बिनसित्ती कसैको म

मनमा बिझेँ कि?

जाडोको होस्जस्तै ताप

गर्मीकै होस् राप

सबैलाई आफैमा म

घोलूँ चुपचाप!

९.

किन ठानूँ यसलाई म

सहन सकेको?

बरु यो हो प्रभुनेर

पुग्दै म रहेको!

१०.

पाउनुमा बाँच्नुजस्तो

पाउनु नै के छ?

तृप्त रहूँ त्यसैमा म

परिस्थिति जे छ!

११.

धन्य धर्ती! पाएँ मैले

यति चोखो प्राण,

मानौँ म हूँ गुञ्जिएको

तिम्रो जयगान!

१२.

सासभन्दा आश ठूलो

त्योभन्दा विश्वास!

विश्वासको फूलमै छ

आस्थाको सुबास!

१३.

मेरो तप–साधनाको

त्यही हो है सार,

आस्थामात्र बाँच्नुपर्छ

मर्दैन संसार!

प्रकाशित: २ पुस २०७३ १०:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App