८ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्य

आश्रम चल्छ भेटीले

प्यूठान- पश्चिम नेपालको ऐतिहासिक तथा पर्यटकीय धार्मिक तीर्थस्थल प्युठानको स्वर्गद्वारी आश्रम भेटीकै भरमा चलिरहेको छ। आश्रमको स्वामित्वमा विभिन्न ठाउँमा रहेका गुठी जग्गा उपभोग गर्न नपाउँदा नियमित आश्रम सञ्चालनमा समस्या छ।

आश्रममा विभिन्न निकायबाट प्रचारप्रसारका लागि रकम आउँछ तर सञ्चालनका लागि कतैबाट आउँदैन। दाङस्थित १ हजार १२ बिघा खेत तत्कालीन माओवादी द्वन्द्वपछि आश्रमले उपभोग गर्न पाएको छैन। द्वन्द्वका बेला तत्कालीन बिद्रोही माओवादीले आफूहरुले कब्जामा लिएको घोषणा गरेसँगै आश्रमको प्रमुख आयस्रोत बन्द भयो।

आश्रमका अनुसार त्यहाँ रहेको गुठीबाट १ हजार ७ सय ९३ क्विन्टल धान, करिब ४ सय ४० क्विन्टल तोरी र ५ क्विन्टलजति मकै वार्षिक आम्दानी हुनेमा एक दशकदेखि किसानले कुतवाली दिन छाडेको आश्रमका लेखापाल वासु भट्टराई बताउँछन्।

आम्दानीको स्रोत यकिन नभए पनि गत आर्थिक वर्षमा स्वर्गद्वारी आश्रममा वार्षिक सरदर १ करोड ५० लाख रुपैयाँ भेटी संकलन भएको थियो। यो रकम सबै आश्रम सञ्चालनमै खर्च हुने भट्टराईले बताए।

आश्रममा आउने भक्तजन, भेटी र दानपत्रबाट आम्दानी हुने गरे पनि आम्दानीका अन्य स्रोत नहुँदा सबै वस्तु किनेर काम चलाउनुपरेको जनाउँदै लेखापाल भट्टराईले आन्तरिक रुपमा आश्रम सञ्चालनमा समस्या रहेको गुनासो गरे। आश्रममा सञ्चालन गरिएको क्यान्टिनबाट करिब १० लाख र धर्मशालाबाट करिब ९ लाख रुपैयाँ आयस्रोत जम्मा हुन्छ। नियमित भक्तजन नआउने हो भने आश्रम ६ महिनासम्म सञ्चालन गर्नै समस्या हुने उनले सुनाए।

आश्रममा तेलमा मात्र करिब ७०/८० लाख रुपैयाँ वार्षिक खर्च हुने गरेको छ। हाल गाईका लागि मासिक ३ लाखभन्दा बढी खर्च हुने गरेको छ। दाना खरिद, घाँस काट्ने, गाई चराउने ग्वालाका लागि उक्त रकम खर्च हुन्छ। गाईका लागि मासिक ५ क्विन्टल दाना किन्नुपर्छ। दैनिक अढाईदेखि तीन क्विन्टल चामल खाना तथा अक्षतामा खर्च हुने गरेको छ।

भेटीबाट अनुमानित ५०/६० लाख उठ्ने गरे पनि ७०/८० लाख तलबमै खर्च हुने गरेको छ। यहाँ १ सय ४१ कर्मचारीलाई ज्याला दिइन्छ भने २४ जना ब्राह्मणलाई नियमित तलब दिनुपर्ने उनले जनाए। आश्रममा दानापानी, ढुवानी, इन्धन, फर्निचर, ज्याला, टेलिफोन, विद्युत, औषधि, खाद्यान्न, पोसाक, छपाइ, पत्रपत्रिका, राजस्व, चन्दा, कृषिलगायत शीर्षकमा नियमित खर्च हुन्छ।

द्वन्द्वका कारण आफ्नो जग्गाको आयस्ता प्रयोग हुन नपाएको भर्न्द आश्रमले २०६० सालमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो। अदालतले २०६२ चैत १४ गते आश्रम स्वामित्वको निजी गुठी आफंैले प्रयोग गर्न पाउने र हाल बसेका उनीहरुले मोहियानीसमेत नपाउने फैसला गरे पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन।

प्युठान, कोचिवाङमा रहेको १ सय ४० रोपनी खेत पनि द्वन्द्वका बेला माओवादीले कब्जा गरेकामा केही समयपहिले मात्र फिर्ता गरेको थियो।

यहाँ उठ्ने भेटी व्यवस्थित गराउन स्वर्गद्वारी विकास समिति गठन गर्नुपर्ने आवाज उठिरहेको छ। नेपाल पत्रकार महासंघ, प्युठानका अध्यक्ष गिरुप्रसाद भण्डारीले भेटी सदुपयोग गर्न विकास समिति बनाउनुपर्ने बताए। 'आश्रमका नाममा रहेका जग्गाको आम्दानी व्यवस्थित गरिए अर्बाैंको सम्पत्ति रहेकाले स्वर्गद्वारीलाई अरुको भर पर्नुपर्दैन,' उनले भने।

प्रकाशित: २५ मंसिर २०७३ ०३:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App