नेपालगन्ज- पश्चिम नेपालको शक्तिपीठ वागेश्वरी मन्दिर। मन्दिर दर्शन गर्न र विभिन्न धार्मिक कार्य गर्न देशविदेशबाट वार्षिक कति भक्तजन आउँछन् र उनीहरूबाट कत्ति दानदक्षिणा प्राप्त हुन्छ, यकिन छैन। अनुमानमा वार्षिक ५० लाख रुपैयाँबराबर नगद तथा सुनचाँदी संकलन हुन्छ। अहिलेसम्म दानदक्षिणाको कुनै हिसाब गरिएको छैन। वर्षौंदेखि मन्दिरका मूल महन्त चन्द्रनाथ योगी र महन्त हरिहरनाथ योगीले दानदक्षिणा प्रयोग गरिरहेका छन्। बडा दसैं र चैते दसैंमा भक्तजनको उपस्थिति बाक्लो हुन्छ, त्यस समयमा अत्यधिक दानदक्षिणा प्राप्त हुन्छ। ‘बडा दसैं र चैते दसैंमा मन्दिरमा बढी दानदक्षिणा प्राप्त हुन्छ, त्यसकारण त्यस समयमा मूल महन्त र महन्त दुवैजनाले समय दिनुहुन्छ र दानदक्षिणा बराबर बाँड्नुहुन्छ’, मन्दिरका एक कर्मचारीले भने। उनका अनुसार अन्य बेला भने मूल महन्त र महन्तले १५/१५ दिनको पालो गरी मन्दिरमा समय दिन्छन् र दानदक्षिणा बाँड्छन्। भक्तजनले दर्शन तथा पूजा गरेबापत संकलन हुने दानदक्षिणा नै वागेश्वरी मन्दिरको मुख्य आयस्रोत हो। तर, यसलाई अहिलेसम्म मन्दिरको कोषमा जम्मा गरिएको छैन।
अदालतले मन्दिरको आयव्यय व्यवस्थित र पारदर्शी बनाउन आदेश दिएको पाँच महिना भइसके पनि आदेश कार्यान्वयन भएको छैन।
यसबाहेक मन्दिरले सटर र पसलबाट मासिक भाडा उठाउँछ। मन्दिरमा हुने विवाह, विशेष पूजा र बपलि चढाएबापत लिइने शुल्कसहित मासिक करिब १ लाख रुपैयाँ आम्दानी हुने गरेको मन्दिरका कार्यालय प्रमुख राजु केसी बताउँछन्। मन्दिरको बाहिरी आम्दानीले मात्र सम्पूर्ण खर्च व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए। ‘बाहिरको आम्दानीमात्र गुठी कोषमा जम्मा हुन्छ, भित्रको दान, भेटीजति सबै महन्तज्यूले बाँड्नुहुन्छ,’ उनले भने।
केसीसहित मन्दिरमा चार कर्मचारी छन्। बाहिरको आम्दानीले कर्मचारीको तलबलगायत विभिन्न खर्च धानेको केसीले बताए। मन्दिरका लागि पानी खानेपानी संस्थानले निःशुल्क व्यवस्था गरेको छ भने मन्दिरको नाममा करिब ५ लाख विद्युत् महसुल बक्यौता छ। मन्दिर व्यवस्थापनका लागि २०५७ सालमा गठित समितिको हालसम्म बैठक बसेको अभिलेख छैन। समितिका सदस्य निष्त्रि्कय छन्। समितिको अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारीसमेत यसबारे बेखबर देखिन्छन्। मन्दिरबाट प्राप्त हुने दानदक्षिणा पारदर्शी गर्नुपर्ने आवाज उठ्दै आएको छ।
मन्दिरको आम्दानीका विषयमा पटकपटक प्रश्न उठाए पनि सम्बन्धित निकायले बेवास्ता गरेको सर्वसाधारणको गुनासो छ। स्थानीय समाजसेवी सुदीपकुमार भट्टराईले वागेश्वरी मन्दिरको आयव्यय पारदर्शी हुनुपर्ने बताउँछन्। ‘मूल महन्त र महन्तलाई आवश्यक सेवासुविधा दिएर मन्दिरबाट संकलन हुने दानदक्षिणा कोषमा राख्नुपर्छ,’ उनले भने, ‘आम्दानीजति सबै एकातिर प्रयोग हुने, मन्दिरको खर्च व्यवस्थापन गर्न सधैं समस्या हुने स्थिति आउनु भएन।’ व्यवस्थापकीय कमजोरीका कारण मन्दिरको दानदक्षिणा आफूखुसी प्रयोग भइरहेको भट्टराईको आरोप छ।
मन्दिरको आयव्ययका विषयमा पटकपटक उठेको सबाल सम्बोधन नगरेपछि कानुन व्यवसायीले यसअघि तत्कालीन पुनरावेदन अदालत नेपालगन्जमा मुद्दा दायर गरेका थिए। अधिवक्ताद्वय लोकबहादुर शाह र बलबहादुर चन्दले वागेश्वरी मन्दिर व्यवस्थापन समिति, मूल महन्त, जिल्ला प्रशासन, उपमहानगरपालिका, मालपोतलगायतका निकायलाई विपक्षी बनाएर २०७१ चैत १८ गते मुद्दा दर्ता गरेकोमा अदालतले २०७३ असार २२ गते निवेदकको पक्षमा परमादेशको फैसला गरिसकेको छ।
फैसलामा मन्दिरको सम्पत्तिको नियमित अभिलेख राख्न, आयव्यय विवरण सार्वजनिक गर्न गराउन, मन्दिरको परिचयबारे जानकारीपत्र वा पुस्तक प्रकाशन गर्न, मन्दिरमा भक्तजनले चढाउने गरेको दानदक्षिणा तथा विशेष पूजाबापत प्राप्त हुने चलअचल सम्पत्ति व्यवस्थित र एकीकृत गरी सो रकम मन्दिरको हितमा प्रयोग गर्न, मन्दिर परिसर र सोवरपरको क्षेत्र नियमित सरसफाइ गरी सार्वजनिक शौचालयको व्यवस्था गर्न, मन्दिर परिसरको तलाउको पुल यथासक्य छिटो पुनःनिर्माण वा जीर्णोद्धार गर्नगराउन आदेश दिएको छ।
आदेशअनुसारको कार्य समयमा सम्पन्न भएनभएको अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मालपोत अधिकृत र मन्दिर व्यवस्थापन समितिले खटाएको प्रतिनिधि रहेको तीनसदस्यीय समिति गठन गर्न, चलअचल सम्पत्ति केकस्तो अवस्थामा देखिन्छ, खोजीनीति गरी प्रत्येक ६/६ महिनामा अद्यावधिक विवरण सार्वजनिक गरी निवेदक र अदालतलाई पठाउने व्यवस्था गर्न, अनुगमन समितिसँग समन्वय गर्न गुठी संस्थान केन्द्रीय समितिलाई पनि निर्देशन दिइएको छ।
अदालतले आदेश गरेको पाँच महिना भइसक्दा पनि उक्त आदेश कार्यान्वयनमा नआएको भन्दै निवेदक अधिवक्ता शाहले दुःख व्यक्त गरेका छन्। ‘मन्दिरविरुद्ध सम्मानित अदालतले गरेको फैसला कार्यान्वयन गरिपाउँ्क भनेर मैले निवेदन दिइसकेको छु तर पनि अहिलेसम्म कार्यान्वयन भएको छैन,’ शाहले नागरिकसँग भने, ‘पश्चिम नेपालको धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक स्थलको रुपमा रहेको वागेश्वरी मन्दिर व्यवस्थित होस् र यसको गरिमा बढोस् भन्ने हाम्रो चाहना हो।’
मन्दिर व्यवस्थापन समितिको अध्यक्षसमेत रहेका निमित्त प्रमुख जिल्ला अधिकारी जगत बस्नेतले अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा रहेको दाबी गरे। ‘आदेश कार्यान्वयन गर्ने क्रममा छौं, मन्दिर र त्यहाँको आय व्यवस्थित गर्ने काम हुन्छ,’ उनले भने। गुठी संस्थानका अध्यक्ष लक्ष्मण ज्ञवालीले अदालतको आदेश कार्यान्वयन गर्न संवेदनशील बनेको बताए। ‘अदालतले आदेश गरिसकेपछि मैले त्यहाँका प्रमुख जिल्ला अधिकारी, रिट निवेदकलगायतसँग छलफल गरिसकेको छु,’ उनले टेलिफोनमा भने, ‘आदेश कार्यान्वयन गर्न सुरु गरिएको छ तर परिणाम आएको छैन, अब चाँडै परिणाम आउला।’ मन्दिरका मूल महन्त र महन्तलाई आवश्यक सेवासुविधा दिने र प्राप्त आम्दानी लेखा प्रणालीमा व्यवस्थित गर्ने तयारी भइरहेको अध्यक्ष ज्ञवालीले जानकारी दिए।
प्रकाशित: २५ मंसिर २०७३ ०३:०२ शनिबार