४ वैशाख २०८१ मंगलबार
अन्य

प्रदेश विखण्डनबिरुद्ध सन्धिखर्कमा विशाल सभा

अर्घाखाँची– सरकारले पाँच नम्बर प्रदेशलाई विखण्डन गर्ने गरी संविधान संशोधन विधेयक दर्ता गराएपछि आन्दोलित बनेको जिल्लामा सोमबार विशाल सभा भएको छ । मंसिर १४ गते मंगलबार सरकारले  संसद सचिवालयमा संशोधन विधेयक दर्ता गराएपछि बुधबारदेखि जिल्ला पूर्ण रुपमा ठप्प बनेको छ। जिल्लामा दैनिक प्रदर्शन भइरहेका छन्।

सोमबार जिल्लाका गाउँ गाउँबाट हजारौंको संख्यामा मानिसहरु सदरमुकाम आएका थिए । सन्धिखर्कको शान्तिवगैंचाबाट सुरु भएको प्रदर्शन बजार परिक्रमा गरी टुँडिखेलमा पुगेर कोण सभामा परिणत भएको छ। कोणसभालाई सम्वोधन गर्दै नेकपा एमालेका नेता तथा अर्घाखाँची क्षेत्र नम्बर २ का सांसद दुमसिंह थापाले सरकारले नागरिकको भावना विपरित ल्याएको संविधान संशोधन प्रस्तावलाई असफल बनाएरै छाड्ने बताए । उनले विवाद नभएको प्रदेशलाई विखण्डन गरेर सरकारले मुठभेट निम्त्याउन खोजेको बताए । थापाले संविधानसभाबाट  ९० प्रतिशितभन्दा धेरै प्रतिनिधिको हस्ताक्षरबाट बनेको संविधानलाई स्वीकार नगर्नु मधेसी मोर्चाको कमजोरी भएको बताए ।

उनले पाँच नम्बर प्रदेशलाई विखण्डन गर्ने गरि ल्याइएको विधेयकलाई सबै मिलेर असफल पार्नु पर्ने बताए । ‘भारतको इसारामा पाँच नम्बर प्रदेश टुक्राउन खोजिएको छ’ उनले भने, ‘विदेशी हस्तक्षेपका विरुद्ध सम्पूर्ण राष्ट्रभक्ति शक्तिहरु एकजुट हुनुपर्ने बेला आएको छ।’  

सांसद थापाले पाँच नम्बर प्रदेश विखण्डन बिरुद्धको आन्दोलन कुनै एक पार्टीको नभइ सबै पार्टी र आम नागरिकको आन्दोलन भएको बताए । नेकपा माओवादीका पोलिटव्युरो सदस्य चन्द्रबहादुर खड्काले प्रधानमन्त्री प्रचण्डले जनभावनाको कदर गर्दै पाँच नम्बर विखण्डन गर्ने प्रस्तावलाई खारेज गर्नुपर्ने बताए । उनले शान्त रहेर बसेको पाँच नम्बर क्षेत्रका नागरिकलाई आतंकित हुने ढंगले ल्याएको बिधेयकको प्रतिवाद गरिने बताए ।

‘पाँच नम्बर प्रदेशलाई विखण्डन गर्न खोज्नु  वन तस्करले सोझो रुखलाई छानी छानी काटे जस्तै हो’  उनले भने, ‘बाङ्गा रुखलाई काट्न सक्ने भए विवादमा रहेका ठाउँलाई चलाउँथे।’ उनले माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझी, कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीले संशोधनको चर्को बिरोध गरेकाले   विधेयक पारित नहुने बताए । नेता खड्काले पाँच नम्बर प्रदेशको विखण्डनको बिरुद्धमा जनसागर नै उर्लिएकाले सरकार समय  मै जिम्मेवार नबने ठूलो दुर्घटना निम्तने बताए।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला इन्चार्ज नजिर मियाँले  पाँच नम्बर प्रदेशको विखण्डनको पक्षमा मधेसका नागरिक समेत नरहेकाले सरकार बाह्य शक्तिको प्रभावमा परेको बताए । ‘सदियौं देखिको तराइ र पडाडको सम्वन्धलाई जवरजस्त विच्छेल गर्न खोजिँदै छ’ उनले भने, ‘जनता जागिसकेकाले सरकारको कदम कुनै पनि हालतमा सफल हुँदैन ।’ उनले एमालेले बिरोध गर्दा गर्दै संविधान संशोधन विधेयक पारित हुन नसक्ने ठोकुवा गरे । ‘संविधान संशोधन विधेयक दर्ता गराएर सरकारले अर्कोद्वन्द्व निम्त्याउन खोजेको छ’ मियाँले भने,  ‘अहिले सम्म जनताको आन्दोलन असफल भएका छैनन्, यो आन्दोलन पनि हुँदैन ।’

सभामा नेपाली कांग्रेसका सभापति तथा संयुक्त संघर्ष समितिका संयोजक विष्णु मुस्कान, नेपाली कांग्रेसका पूर्व सभापति कमलप्रसाद भुसाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष झविलाल थापा, पूर्व केन्द्रीय सदस्य सागर केसी, नयाँ शक्ति नेपाल पार्टीका संयोजक खिमबहादुर विक, परिवार दलका अध्यक्ष डिल्लीराज भुसाल, उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ,  पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी, अन्तरपार्टी जिल्ला सञ्जालकी अध्यक्ष शुसिला गैरे लगायतले मन्तव्य राख्दै प्रदेश विखण्डको बिरुद्धको आन्दोलनलाई शसक्त पार्दै लैजाने बताएका थिए ।

 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App