३ आश्विन २०७७ शनिबार
अन्य

कसले बिगार्‍यो भाषा?

भाषा शर्मा/चाँदनी हमाल

'भाषा जहिले पनि जटिलताबाट सरलताउन्मुख हुन्छ।' संसारका सबै जीवित भाषामा यो कुरा लागु हुन्छ। तर, नेपालमा केही वर्षदेखि भाषा बिगार्ने खेल चल्दै आएको छ। त्रिभुवन विश्वविद्यालयको केन्द्रीय नेपाली विभाग, नेपाल प्रज्ञा–प्रतिष्ठान र साझा प्रकाशनबीच मतैक्य हुन सकेको छैन। सबै निकाय आआफ्नो डम्फु बजाउँदै आएका छन्। यही कारण भाषाप्रेमी, लेखक, विद्यार्थी सधैँ दुविधामा पर्दै आएका छन्। यतिसम्म भयो कि, त्रिविमा नेपाली विभाग प्रमुख परिवर्तन हुँदासाथ हिज्जेलाई 'जुँगाको लडाइँ' बनाउन थालियो। प्रज्ञा–प्रतिष्ठान र केन्द्रीय विभागका अधिकारी पनि उही लडाइँमा देखिनेगरी उत्रिन थाले। प्रज्ञा–प्रतिष्ठान राजनीतिक दलको भर्तिकेन्द्र बन्न थालेपछि त्यहाँ मनोनित हुने पदाधिकारीमा भाषा, साहित्य, संस्कृतिको ज्ञान नहुनु स्वाभाविकै भयो। नतिजामा नेपाली भाषा सरल होइन झनै जटिल बन्दै जान थाल्यो। यसका कतिपय श्रुतिमधुर शब्द लोप हुन पुगे। यसमा 'वाचडग'को भूमिका निर्वाह गर्नुपर्ने सञ्चारमाध्यम आफ्नो जिम्मेवारी पूरा गर्नबाट चुक्दै गएको आरोप छ। कुन हिज्जे मानक हो भन्ने विषयमा सञ्चारकर्मी सधैँ अन्योलमा परे–परिरहेका छन्। त्यसपछि सुरु भयो– 'कसले बिगार्‍यो भाषा'को छेडखान।

पाठ्यक्रम शैली पुस्तिका नसच्याएसम्म अध्ययन–अध्यापनमा कठिनाइ तथा प्रयोगकर्तामा अन्योल कायमै रहने देखिन्छ। प्रज्ञा–प्रतिष्ठानले तत्कालका लागि भाषा विवाद थामथुम पार्न खोजे पनि यसको दीर्घकालीन समाधानका लागि विज्ञ सम्मेलनबाटै एउटा मानक तय गर्नुको विकल्प छैन।

संयुक्त अक्षरलाई सरल बनाउन खुट्टा काटेर लेख्ने भन्ने विवाद २०६९ सालको निर्णयले उब्जाएको हो। यो निर्णयसँगै औपचारिक रूपमा भाषा कस्तो बनाउने भन्ने पहल गरिरहेका संस्था प्रज्ञा–प्रतिष्ठान र त्रिविको केन्द्रय नेपाली विभाग दुवै विवादमा तानिए। नेपाली भाषाको हिज्जे र वर्णविन्यासका विषयमा उठेको विवादको समाधान स्वतन्त्र र निष्पक्षरूपमा गरिनुपर्ने माग चौतर्फी उठ्यो। अनेकौँ आलोचना हुँदै अहिले फेरि नेपाली भाषा उही पुरानै शैलीमा फर्किएको छ। प्रज्ञा–प्रतिष्ठानले २०७२ सालमा प्रकाशन गरेको नेपाली बृहत् शब्दकोशले आफ्नै मानक विपरीत पुरानो नियमअनुसार चल्ने निर्णय गरेपछि नेपाली शब्दको रूप पुरानै अवस्थामा फर्किएको हो।

चक्रपाणि चालिसेको सम्पादनमा १९९८ सालमा प्रकाशित 'नेपाली बगली–कोश'लाई पहिलो नेपाली कोश मानिन्छ। लेखनाथ पौड्याल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटाजस्ता मूर्धन्य  स्रष्टाहरूले प्रयोग गरेका नेपाली भाषाका हिज्जेहरू त्यसै कोशअनुरूप थिए। २०१९ सालमा बालचन्द्र शर्माको सम्पादनमा रोयल नेपाल एकेडेमीबाट प्रकाशित नेपाली शब्दकोश पनि विवादरहित थियो। त्यसपछि २०५५ सालसम्म प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित शब्दकोशका विभिन्न संस्करणमा हिज्जेलाई लिएर कुनै विवाद आएन।

२०६७ सालमा 'नेपाली भाषा संगोष्ठी'ले निर्णय गरेको भाषा परिमार्जनलाई नेपाल सरकार, त्रिभुवन विश्वविद्यालय, उच्च माध्यमिक शिक्षापरिषद्, शिक्षा मन्त्रालयलेे मान्यता दिएपछि भने नयाँ उपक्रम सुुरु भयो। प्रज्ञाले २०७२ सालमा शब्दकोश ल्याएपछि साझाका पुस्तकहरू त्यसैअनुरूप छापिन थाले। विद्यार्थीलाई त्यही ढंगमा पढाउन थालियो भने कतिपय लेखक–साहित्यकारले पनि त्यसैलाई पछ्याए।

२०४० सालमा प्रकाशित नेपाली बृहत् शब्दकोशलाई नै नेपाली भाषाको मानक शब्दकोश मानिन्छ । त्यसका नौ संस्करण निस्किए। अर्थलेखन समेत अद्यावधिक गर्न २०५८, २०६७ र २०७२ सालमा परिमार्जन गरिए। यी परिमार्जनहरू २०५७ मा प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको नेपाली वर्ण विन्यास अधिगोष्ठी र नेपाली भाषा संगोष्ठी २०६७ मा भएको छलफलका आधारमा भएका थिए।

तर, संयुक्त व्यञ्जनमा खुट्टा काटेर लेख्ने, ‘व' लाई 'ब' बनाउने र दीर्घ उकारलाई ह्रस्व बनाउनेजस्ता कामले भाषामा खेल्नेहरू बढी मारमा परे। स्कुले व्याकरणमा यसले असर गर्दा पढ्ने–पढाउने कार्यमा अन्योल सृजना गर्‍यो। हिज्जे बिगारेर शदियौँदेखि चलिसकेका नेपाली भाषाका शब्दलाई नियतवश अंगभंग भएको आवाज उठे। चलनचल्तीका कुरा शब्दकोशका नियमअनुसार चल्न सकेनन्।

क्षतिपूर्ति दीर्घीभवन भनी दीर्घ लेखिने शब्दहरू तद्भव नियमअनुसार ह्रस्व लेख्ने निर्णय भएपछि फूललाई फुल, दूधलाई दुध लेख्न थालिनाले अर्थको अनर्थ भएको भाषाविद् चूडामणि गौतम, शरच्चन्द्र वस्ती, बलदेव गाउँलेलगायतले ठहर्‍याए। गौतमले नेपाली शब्दको दुर्दशा फुलको माला क्या मज्जासहित विवादित वर्ण विन्यासको नयाँ शब्दकोश नै प्रकाशन गरे। संस्कृतनिकट रहेका र व्यापक चलनमा रहेका शब्द पनि ह्रस्व लेखिने निर्णयप्रति उनीहरूको तीव्र विमति थियो। भाषा विवादको चुरो भने २०६६ सालमा त्रिभुवन विश्वविद्यालयको नेपाली शिक्षण विभागले ल्याएको अनिवार्य नेपाली शिक्षण शैली पुस्तिका रहेको प्रज्ञाका पदाधिकारीहरू आरोप लगाउँछन्।

त्यही पछ्याउँदै प्रज्ञाले नयाँ शब्दकोश २०७२ ल्याएको सहप्राध्यापक हेमनाथ पौडेल बताउँछन्। त्यो विवादित भएपछि त्रिविकै प्राध्यापक र प्रतिष्ठानबीच भाषाका बारेमा शीतयुद्ध नै चल्यो। एकअर्कासँग नबोल्ने र कार्यक्रम बहिष्कार गर्नेसम्मको अवस्था आयो। दोषारोपण गर्दै सच्याउने दबाब बढ्दै जाँदा सतहमा देखिएको प्रतिष्ठानमाथि नै सबै अपजस थोपरियो। सडक, संसद् हुँदै विवाद अदालतसम्म पुग्यो। नयाँ मानक बनाउन लागिपरेका हेमाङ्गराज अधिकारी र पुरानै चलन कायम राख्नुपर्ने वकालत गर्दै आएका बलदेव अधिकारीका पक्ष–विपक्षमा गुट पैदा भए।

 यहीबीच प्रज्ञा–प्रतिष्ठानले प्रयोगमा ल्याएको नयाँ वर्णविन्यासका कारण उठेको विवाद थामथुम पार्न भाषा सच्याउने निर्णय र पुरानै चलाउने निर्णय गर्‍यो। भाषा विवाद उत्कर्षमा पुगेपछि संसद् र सर्वोच्च अदालतमा समेत पुगेको अवस्थामा प्रतिष्ठानले विवादित विषय सच्याउने निर्णय गर्नुपरेको हो। यस विवादका विषयमा अग्राधिकार पाउँदै आगामी पुस १३ गते पूर्ण इजलासमा बहस हुने भएको छ। विवादले आरोप–प्रत्यारोपको रूप लिन थालेपछि प्रज्ञाले विवाद समाधान गर्न समिति गठन गरेरै अघि बढेको थियो। समितिले विवादित विषयमा अध्ययन–अनुसन्धान गर्न प्रज्ञाले ल्याएको वर्ण विन्यास र पुरानो मानकको अध्ययन गरी तयार पारेको अध्ययन प्रतिवेदनपछि भाषा सच्याउने निर्णय गरेको हो। वर्णविन्यासमा चलिरहेको विवाद, विभिन्न व्यक्ति–संस्था एवं समूहले चलाएको विरोध अभियान र विज्ञ समितिको रायलाई दृष्टिगत गरी पुरानै मानकअनुसारको वर्णविन्यासलाई विकल्पसहित मान्यता दिने निर्णय प्रज्ञाले गरेको हो। उसले प्रयोेगकर्ताले चाहेका खण्डमा नयाँ वर्ण विन्यासको उपयोग गर्न सक्ने जनाएको छ। प्राज्ञ–परिषद्को कात्तिक ३० गतेको बैठकपछि प्रज्ञाले वर्णविन्यासको कम्प्युटर संस्करणको परिमार्जनसमेत थालिसकेको प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बताए। ‘विवाद सल्टाउन प्राज्ञ–परिषद्ले आधारभूत कुराहरू सच्याउने प्रयास गरेका छौँ,' उनले भने, ‘नेपाली भाषा सरल बनाउनुपर्छ, तर मौलिकता बिगार्न हुन्न भन्ने आवाजलाई हामीले सम्बोेधन गर्नैपर्छ।' खसजातिको मात्र वर्चस्व रहेको नेपाली भाषालाई समयसापेक्ष बनाउन नयाँ वर्ण विन्यासले कोसिस गरेको समेत उनले जिकिर गरे। ‘भाषाको विकासशील रूपलाई हेरेर सर्वसाधारणले सरल मानुन् भनेर गरेका हौँ,' उनले थपे, ‘तर बुझाइको क्रममा अलिकता तलमाथि परेको हुनाले संस्करण विवादमा पर्‍यो।'

प्रतिष्ठानले माग भएबमोजिम सुधार्नुपर्ने कुरालाई नकारात्मक नमानेको पनि उप्रेतीले प्रष्ट्याए। ‘भाषा विकासको इतिहासमा एकमत छैन, धेरै विवाद पहिलेदेखि छन्,' उनले भने, ‘सडकमा विवाद गरेर, अदालत गएर अनि नाराजुलुस गरेर समस्या समाधान हुन्न।'

प्राज्ञ–परिषद्को निर्णयअनुसार नेपाली बृहत् शब्दकोशको नवौँ संस्करणमा प्रयोग भएको वर्णविन्यासका सच्याइएका पक्षहरूसमेत प्रतिष्ठानले सार्वजनिक गरेको छ। जसअनुसार संयुक्त व्यञ्जन वर्णको व्यवस्थापनको क्रममा विशेषगरी ‘द' वर्णसँग जोडिएर आउने शब्दका मूल व्यञ्जनकोृ खुट्टा काटी गरिएको सम्पूर्ण प्रयोगलाई सच्याइ संयुक्त व्यञ्जन नै लेख्ने। जस्तोः बुद्ध, युद्ध, द्वन्द्व, विद्यालगायतका शब्दहरू। नयाँ मानक बनाउन खोज्नेले बुध्द, युध्द, द्वन्द्व पारेका थिए।

अन्य वर्णबाट बनेका संयुक्त व्यञ्जन प्रयोग भएका प्रविष्टिलाई नेपाली बृहत् शब्दकोशका २०५८, २०६७ का प्रविष्टि अनुकूल राख्ने। त्यसैगरी पदयोग र वियोगका सम्बन्धमा एकल अर्थ दिने व्यक्तिका नाममा पहिला दुई शब्द जोडेर लेख्ने। जस्तैः लक्ष्मीप्रसाद, रामचन्द्र, लेखनाथ आदि। तर, व्यक्तिनाम व्यक्तिको पहिचानसँग जोडिएकाले कुनै व्यक्तिले इच्छाअनुसार छुट्याएर लेखेमा अन्यथा नमान्ने। लिपिचिह्न गणना नगरी एकार्थी स्थान नाम, दिनको नाम शब्दलाई पदयोग गरेर लेख्ने। जस्तोः भक्तपुर, ललितपुर, आइतबार विश्वविद्यालय, विद्यावारिधि आदि।

त्यसैगरी, विभक्ति चिह्न र नामयोगीलाई पूर्व प्रचलनअनुसार मूल शब्दसँग योग गरेर लेख्ने। जस्तोः रामले, घरमाथि, परिसरबाहिर इत्यादि। संयुक्त क्रिया जोडेर लेख्ने। जस्तोः खानुपर्छ, खाइहाल्छ, मिलाइन्छ। तर, पूर्वकालिक अपूर्ण, पूर्ण र सामान्य भविष्यत् क्रियालाई छुट्याएर लेख्ने जस्तोः ऊ भात खाइ विद्यालय जान्छ। दुई शब्दबाट बनेका एकार्थी समस्त शब्दलाई पदयोग गरेर लेख्ने। जस्तोः शुभकामना, प्रधानमन्त्री, शुभयात्रा आदि।

ह्रस्व–दीर्घ र इकार सम्बन्धमा पनि पुरानै मानकलाई प्रतिष्ठानले मान्यता दिएको छ। जात, थर बुझाउने पहिचानसँग जोडिएका सबै शब्दका अन्तिम ईकार र ऊकार दीर्घ लेख्ने। जस्तैः लिम्बू ,राई आदि, तर जातले प्रचलनमा ल्याएका साय्मि, यमिजस्ता प्रयोगलाई भने यथावत् राख्ने।

 विवादित स, ष, श को प्रयोग २०५८ र २०६७ को नेपाली शब्दकोशका संस्करणबमोजिम नै गर्ने निर्णय भएको छ। तर, पहिचान खुल्ने जाति, थर बुझाउने शब्दमा आउने श लाई जातिले प्रचलनमा ल्याएअनुसार गर्न सकिने निर्णयमा उल्लेख छ। जस्तैः शर्मा, शेर्पा, शाह, शेरचन आदि। विस्थापित प्रविष्टिलाई पूर्व संस्करणबमोजिम नयाँ संस्करणमा सच्चिँदैछ। नेपाली बृहत् शब्दकोश २०४० मा प्रविष्टि पाएका तर आगन्तुक र तद्भव शब्दको व्यवस्थापनमा परिवर्तन भएका शब्दहरूका प्रविष्टिलाई वैकल्पिक प्रविष्टिको रूपमा शब्दकोशमा समावेश गर्ने र त्यस्ता प्रविष्टिको अर्थ लेख्दा मानक प्रविष्टिका अर्थलाई हेर्नुसमेत भनेर जनाइँदैछ। जस्तोः शहिद, शहर, गरिब, कानून आदि। यसअघि कानूनसमेत ह्रस्व–दीर्घ विवादको चपेटामा पर्दा न्यायकर्मी नै अन्योलमा परेका थिए।

फूल, फुल, जुन, जून, पुरा, पूराजस्ता सुन्दा एउटै लाग्ने तर अर्थ फरक दिने शब्दको प्रविष्टि र अर्थ पनि फरकफरक दिइने भएको छ। नयाँ शब्दकोशलाई परिमार्जनसहित पुनः प्रकाशन गरी प्रयोगमा ल्याउने प्रतिष्ठानका कुलपति उप्रेतीले जानकारी दिए। यीबाहेक नेपाली भाषाको एउटै मानक निर्धारण गर्न सरोकारवाला निकायहरूसँग छलफल चलाउने तयारी प्रतिष्ठानले गरेको उनको भनाइ छ।

निश्चित कार्यविधि तोकेर प्रतिष्ठानले गठन गरेको प्राज्ञ–समितिका प्रा.डा. चूडामणि बन्धु, डा. नोबलकिशोर राई र सहप्राध्यापक हेमनाथ पौडेलले एकमतले सुझावसहितको प्रतिवेदन प्रतिष्ठानलाई बुझाइक्ष्सकेका छन्। शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रममा भने नयाँ निर्णयले असर गर्ने पौडेल बताउँछन्। ‘प्रतिष्ठानले भनेको ‘द' जोडिएको शब्द नचलाएका कारण पदयोग र वियोगमा भने बढी असर पर्छ,' उनी भन्छन्। विस्थापित प्रविष्टि तथा क्रियापदका विषयमा पनि पछिल्लो निर्णयले सोझै असर गर्छ। उनले भनेजस्तै पाठ्यक्रम शैली पुस्तिका नसच्याएसम्म अध्ययन–अध्यापनमा कठिनाइ कायमै रहने विज्ञहरू बताउँछन्। उनीहरूका अनुसार तत्कालका लागि भाषा विवाद थामथुम भए पनि यसको दीर्घकालीन समाधानका लागि विज्ञ सम्मेलनबाटै एउटा मानक तय गर्नुको विकल्प छैन।

प्रकाशित: ११ मंसिर २०७३ ११:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App