coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

घुम्ती पुस्तक पसल

पढ, प्रत्येक दिन पढ । यस्तो चिज पढ कि त्यो कसैले नपढेको होस् । सोच, प्रत्येक दिन सोच अनि यस्तो सोच कि कसैले नसोचेको होस् । गर, प्रत्येक दिन यस्तो काम गर, जो कसैले नगरेको होस् । सधैँ अरुका कुरा पछ्याएर हिँड्नु तिम्रो दिमागको खराबी हो ।

हुन पनि आम मानिसले सधैँ अरुका कुरा पछ्याउँछ । अरुकै कुरा सुन्छ र गर्छ पनि । अमेरिकी पत्रकार, उपन्यासकार, निबन्धकार तथा कविको समेत परिचय बनाएका क्रिस्टोफर मोर्लीले मर्ने बेलामा दिमाग रन्थन्याउने त्यो कुरा भनेका भए पनि त्यसलाई पछ्याउने कति नै होलान् ! धेरै कम ।

तिनै उपन्यासकारको पहिलो उपन्यास ‘पेर्नासस अन ह्विल्स’मा एउटा गज्जबको सोच छ । उपन्यासको पात्र रोजर मिफ्लिन किताब बेचेर हैरान छ, दिक्क छ । आखिर ज्ञान किन्न को चाहन्छ ? ऊ यो टाँगामा किताब बेच्ने पसल बेच्न चाहन्छ । तर कसैका लागि दिक्कलाग्दो काम अरु कसैका लागि गज्जबको सोच हुन सक्छ । यो व्यापार चलाउन सक्छु भन्ने आँटले आइपुग्छे, हेलेन म्याकगिल ।

३९ वर्षीया हेलेन दाजु एन्ड्रयुको रेखदेख गरेर दिक्क छे । व्यापारबाट नाम कमाएको एन्ड्रयु खेतीतर्फ आकर्षित भएर गाउँ पुगेको छ र त्यहाँ खेतीकिसानीसँगै लेखनमा पनि सोख पालेको छ । यस्ता सोखिनसँग दिन दिनै झगडा गर्नु भन्दा पनि केही नयाँ गर्नुपर्ने सोचले हेलेनलाई हल्लाइरहेका बेला ऊ त्यहाँबाट भाग्ने सोचमा छे । रोजर मिफ्लिनले टाँगा गाडामा किताब बेच्दै हिँडेको देखेर हेलेन उम्कने सही मौका देख्छे र टाँगा किनेर एउटा ज्ञान बेच्ने ‘एडभेन्चरस’ यात्रामा निस्कन्छे । अहिलेको समयमा यस्तै दैनिन्दिनीबाट उम्केर किताब बेच्ने साहसिक यात्रामा निस्कन सकिन्छ त ? अथवा किताब बेच्ने काम साहसिक हुन सक्ला त ? तर केहीका लागि चाहिँ यो साहसिक यात्रा नै हो । अँ समय परिस्थिति अनुसार हिजोआज कोही पनि गोरुगाडामा किताब बेच्न निस्कँदैन । त्यसलाई आधुनिकीकरण गरेर साहसिक यात्रामा भने निस्कन सक्छ ।

एन पाचेटको घुम्ती पसल

अमेरिकाको नासभिलमा नयाँ किसिमको पुस्तक पसल खुलेको छ तर पुरानो भ्यानमा । चहकिलो नीलो रङको चल्तापुर्जा किताब पसलको नाउँ पर्नासस बुक्स । त्यसो त पर्नासस बुक्सको नाउँबाट नासभिल क्षेत्रमा एउटा लोकप्रिय पुस्तक पसल पनि छ । सहरमा एकै ठाउँ ग्राहक कुरिरहने बुक स्टोरभन्दा भिडभाड जम्मा हुने ठाउँमा चलायमान पुस्तक पसल निकै राम्रो हुने अपेक्षाका साथ केही समययता यो सुचारु गरिएको हो । यो चलायमान पुस्तक पसल सहरका चल्तीका रेस्टुराँ, सपिङ सेन्टर, तरकारी बजारजस्ता ठाउँमा अडिन्छ ।

यो चल्तीको पुस्तक पसल चलाउने दुई जना पुस्तक प्रेमी महिला हुन् । हरेन हाएस कम्पनीको काम रेखदेख गर्छिन् र अर्की हुन्, उपन्यासकार एन पाचेट । क्रिस्टोफर मोर्लीको उपन्यासबाट प्रेरित भएर उनले यो पसल चलाएकी हुन् ।

यो पसल २०११ बाट सञ्चालनमा आएको हो । त्यसै पनि किताब किन्न मानिसहरु पसलसम्म जान अल्छ्याइँ गर्छन् भन्ने हाएसलाई थाहा छ । त्यसैले हिँड्दाहिँड्दै किताबै उनीहरुका अगाडि आइपुग्यो भने कसो नकिन्लान् भन्ने सोचले पनि यो चक्कावाला पुस्तक पसल सुरु गरेकी हुन् । ‘बजारभरि आइसक्रिम बेच्ने गाडी पाइन्छन्, अन्य चिज बेच्ने ट्रक देखिन्छन् तर पुस्तक बेच्ने गाडी चाहिँ अहिलेसम्म मैले देख्न पाइनँ,’ हाएसले न्युयोर्क टाइम्स पत्रिकालाई बताइन् । रमाइलो के भइदियो भने किताबवाला गाडी देखेपछि सर्वसाधारणको चासो ह्वात्तै बढ्यो ।

‘यस्तो व्यापारको एउटा फाइदा के छ भने यसले तपाईंलाई ब्रान्डिङ गर्न सघाउ पु¥याउँछ,’ हाएस भन्छिन्, ‘व्यापार पनि हुने र तपाईंको कामको प्रचार पनि सित्तैमा हुने भएपछि यो काम गज्जबको भएन त !’

त्यसो त चक्कामाथि किताब अभियान चलाउने सोच निकै अघिदेखि भए पनि ठूलो समस्या चाहिँ महँगो गाडी नै थियो । तर उनले जर्जिया राज्यको राष्ट्रिय पुस्तकालयले आफूसँग भएको गाडी बेच्ने सूचना इन्टरनेटमा राख्यो । त्यो गाडी घुम्ती लाइब्रेरीका रुपमा पहिलेदेखि नै उपयोग गरिएकाले यसलाई कम खर्चमै घुम्ती पुस्तक पसल चलाउन सकिने सम्भावना उनले देखिन् ।

त्यसैले १० हजार डलरमा गाडी किनेर त्यसलाई थप २० हजार डलरको मर्मतपछि एउटा गज्जबको घुम्ती पुस्तक पसल बनाइन् ।
पछिल्लो समय संसारभरि नै किताब पसलहरु बन्द हुँदै जान थालेका छन् । यसको सबैभन्दा ठूलो कारण चाहिँ पसल राखिने ठाउँको घरभाडा चर्को रुपमा बढ्नु नै हो । अन्य सामग्री बेच्दा जति नाफा हुन्छ किताब बेच्दा हुँदैन । त्यसैले सहरभरि किताब पसल बिलाउँदै जाने र जति मूल्यमा बेच्दा पनि हुने किसिमका फेसनका सामग्री र महँगा गहनाका सो रुम बढ्दै जाने क्रम तीव्र रुपमा बढेको छ । नेपाल पनि यो मामिलामा फरक देखिएको छैन ।

यस्तो अवस्थामा पुस्तक पसलहरुले आफूलाई विस्तार गर्न हाएसले आवश्यक देखिन् । ठूला पुस्तक पसलहरुको ‘चेन स्टोर’ पछिल्लो समय बन्दै हुँदै गर्दा त्यसले जुन ‘खाली ठाउँ’ बनाएको थियो, त्यसलाई पुर्न पनि यो गतिलो माध्यम हुन सक्ने हाएसको अनुमान थियो । स्टोर बिना नै पुस्तक बेच्न सकिने भयो भने ठूलो खर्च बच्छ र कम दाममा सर्वसाधारणलाई किताब बिक्री गर्न सकिन्छ भन्ने उनको सोच थियो । किताब पसलहरु हराउँदै जाने हो भने पाठक पनि बिलाउँदै जान्छ भन्ने सोच राख्ने लेखक जेम्स प्याटर्सनले आफूले वार्षिक रुपमा कमाउने ठूलो रोयल्टी रकममध्ये केही यस्तै काममा लगाएका छन् । डेकातुरमा लेखक प्याटर्सनले स्कुल बसलाई घुम्ती पुस्तक पसल बनाउन सहयोग गरेका थिए । यो घुम्ती पसलमा फिफ्थ डाइमेन्सन बुक्स कम्पनीले निकालेका १ लाखभन्दा बढी पुस्तक सो पसलमा राखिन्छ र त्यसलाई घुम्ती प्रदर्शनीका रुपमा उपयोग गरिन्छ ।

त्यसो त यस्ता घुम्ती पुस्तक पसलहरु खाना पस्किने फुड ट्रक जत्ति लोकप्रिय हुन सकेका छैनन् । हुने कुरा पनि भएन । तर सहर–सहरमा यस किसिमका घुम्ती पुस्तक पसलले पाठकहरुलाई भने रोमाञ्चित बनाउने कुरामा हाएस ढुक्क छिन् ।

अमेरिकाका दर्जनौँ साना पुस्तक पसलेले विभिन्न ठाउँमा यस्तै स–साना मिनी भ्यानलाई घुम्ती पुस्तक पसलका रुपमा विस्तार गरेका छन् । अमेरिकाको अर्को राज्य सान फ्रान्सिस्कोको बे एरियामा यस्ता ११ ठाउँमा घुम्ती पुस्तक पसल सञ्चालित छन् ।

सियाटल सहरमा त थर्ड प्लेस बुक्स कम्पनीले यस्तै तेस्रो घुम्ती पसल खोलिसक्यो । ग्रिनलाइट बुक स्टोरले ब्रुकलिनको फोर्ट ग्रिन क्षेत्रमा दोस्रो घुम्ती पुस्तक पसल स्थापना ग¥यो । एकातिर डिजिटल किताबको हल्ला र सहरको मुख्य भागको घरभाडा बढ्दै जाँदा घटेको किताब पसल २०१५ यता ह्वात्तै बढेको छ । २०१५ मा त्यस्ता पसलको संख्या २२ सय ठाउँमा खुलिसकेका थिए । जबकि २००९ मा १६ सय ठाउँमा मात्र थिए ।

‘पछिल्लो समयमा पाठक पसलमा पुग्ने होइन, पाठककहाँ पुस्तक पसल पुग्ने समय आयो,’ अमेरिकन बुक एसोसिएसनका मुख्य कार्यकारी ओरेन टेइचर भन्छन्, ‘हात हातमा मोबाइल, मोबाइलमार्फत् अर्डर गर्न सकिने सुविधाजस्ता कुराले अब मानिसहरु पुस्तक पसलमा छिर्न दिक्क मान्न थाले । त्यसैले अरु नै बाटो हेर्नुपर्ने आवश्यकताबोध भइरहेका बेला घुम्ती पुस्तक पसल एउटा सम्भावनाको पाटो हुन सक्छ ।’

पार्नाससले आफूलाई विस्तार गर्ने तयारी पनि गरिरहेको छ । ‘हामीसँग धेरै बजेट त छैन तर यस्तै घुम्ती पसल सञ्चालन गर्ने उपयुक्त गाडी फेला परे अर्को पनि थप्ने योजना बुनिरहेका छौँ,’ हाएस भन्छिन्, ‘यसले पाठकहरुलाई सुविधा मात्र होइन, नयाँ पाठकसम्म पुग्न सहयोग पनि पुग्नेछ ।’
हाएसको भ्यानमा १ हजार पुस्तक छन् । उनको घुम्ती पुस्तक पसलमा नयाँ पुस्तकसँगै बजारका बेस्ट सेलर किन्न पाइन्छन् । आफ्नै स्टोरका २० हजारभन्दा बढी पुस्तक यसका आकर्षण हुन् ।

दुई साथी, ४ हजार किताब र १० हजार किमि यात्रा
यात्राका क्रममा हामी कति नै किताब पो लिएर निस्कन सकौंला ! तपाईंले बढीमा जतिसुकै किताब बोक्नु भएको होस्, शताब्दी मिश्रा र अक्षय रावतारेले जति त पक्कै बोक्न सक्नु हुन्न !

शताब्दी र अक्षयले यतिबेला एउटा मिनी भ्यानमा चार हजार किताब बोकेर १० हजार किलोमिटर यात्राको यात्रामा निस्केका छन् ।
दुवैको एउटै उद्देश्य छ । उनीहरू सहर, नगर र गाउँगाउँ पुगी किताब पढ्ने बानी विकास गराउन चाहन्छन् । बढीभन्दा बढी मानिसहरूले किताब पढ्न आवश्यक छ भन्ने उनीहरूको धारणा छ ।

यी दुवै साथीको यात्रा २०१५ को डिसेम्बर महिनामा पूर्वोत्तर भारतको भुवनेश्वरबाट सुरु भएको थियो । बिबिसीले उनीहरूलाई उत्तर प्रदेशमा फेला पारेको थियो ।
शताब्दी र अक्षयको १६ औं बास उत्तर प्रदेश बन्न पुगेको छ । यात्राले थाकेका दुवैले भने, ‘हामी आफ्नो लक्ष्य प्राप्तिमा सफल भयौं ।’ यात्राका क्रममा सयौंसँग भेटेको र भेटका क्रममा लेखक, पुस्तकप्रेमीदेखि लिएर पहिलो पटक किताब किन्नेहरू पनि रहेको उनीहरूले बताए ।

‘अहिलेसम्म हामीले २ हजार किताब बेच्यौं,’ शताब्दीले भनिन्, ‘ठूला सहरमा गएर बेचेका किताबहरू किनेर फेरि भ्यान भर्ने गरेका छौं ।’
त्यसो त किताब बेच्नु उनीहरूको पहिलो प्राथमिकता भने होइन । त्यसैले कतिपय पुस्तकप्रेमीलाई उधारो पनि दिएका छन् । उनीहरूको प्राथमिकता मानिसहरूमा पढ्ने बानीको विकास गर्नुस् भन्ने सन्देश दिनु, पढ्नुका फाइदा बताउनु र पढ्न प्रेरित गर्नु हो ।

अक्षय भन्छन्, ‘हाम्रा वरिपरि धेरै घटना घटिरहेका छन् । असहिष्णुता बढिरहेको छ । कारण के हो भने, मानिसहरू पढ्दैनन् । किताब पढ्दा दिमाग फराकिलो हुन्छ र अरुका विचारलाई पनि प्रशंसा गर्न थाल्नु हुन्छ ।’ अक्षयले एक जना शिक्षकको उदाहरण दिँदै भने, ‘ती शिक्षक २० वर्ष अरुलाई पढाइरहे तर उनले आफ्नो पाठ्यक्रमका १५–२० पुस्तक मात्र पढेका थिए ।’ नपढ्नु एउटा समस्या भएको अक्षयको भनाइ छ ।

‘शिक्षकहरूले त आफ्ना विद्यार्थीभन्दा बढी पढ्नुपर्छ, आफ्नो विषयभन्दा फराकिलो ज्ञानका लागि पढ्नुपर्छ । सपिङ मलभन्दा बढी पुस्तकालय खुल्नुपर्ने हो तर यहाँ त उल्टो भइरहेको छ,’ अक्षयले चिन्ता व्यक्त गर्दै भने ।
शताब्दी चाहिँ किताबको मूल्य अचाक्ली बढेकामा चिन्ता गर्छिन् । महँगा किताबका कारण किताब बेच्ने पसल तीव्र गतिमा बन्द भइरहेको उनको भनाइ छ ।
आफू घुमेका स–साना सहरहरूमा एउटै पनि पुस्तकालय नदेख्दा शताब्दी छक्क परेकी छन् । ‘मान्छे पढ्न नचाहने होइनन्, तर तिनले खोजेजस्तो किताब नै पाउँदैनन्,’ शताब्दीले भनिन् ।

यस्तो अवस्था परिवर्तन गर्न भनेर नै शताब्दी र अक्षयले भुवनेश्वरमा किताब पसल चलाइरहेका छन् । शताब्दीले भनिन्, ‘मानिसहरू दिनभरि किताबसँग झ्याम्मिऊन् भनेर पढ्ने ठाउँ छुट्याइदिएका छौं । उनीहरू सित्तैमा दिनभर पढ्न सक्छन् ।’ उनीहरूको मिनी भ्यानमा अंग्रेजी र अन्य भाषाका किताब भरिएका छन् । अक्षय भन्छन्, ‘मानिसहरू आफ्नै भाषाका किताब पढ्न चाहन्छन् ।

विविध भाषामा लेख्ने र पढ्नेको संख्या बढे देशकै तस्बिर परिवर्तन हुने कुरामा म ढुक्क छु ।’
यसअघि उनीहरूले २०१४ मा उडिसा राज्यको यात्रा गरिसकेका छन् । त्यो बेला उनीहरूले पाएको प्रतिक्रियाबाट उत्साहित भएर भारतयात्रा सुरु गरेको उनीहरूले बताए । ‘उडिसामा यस्तै यात्रा गर्दा पहिलो पटक किताब किन्नेहरू पनि आए । हामीले यस्तो यात्रामा कम मूल्यका किताब राख्छौं । दुई सय रुपैयाँभन्दा बढीको किताब थिएन । त्यसैले सर्वसाधारणले पनि उत्साहित भएर किने ।’

शताब्दीले उडिसाका आदिवासी क्षेत्रमा बस तथा रेल स्टेसनहरूमा किताब बेच्ने गर्दछन् । यसो गर्नुको मुख्य उद्देश्य चाहिँ साना सहरका मानिसहरू ठूला पसलमा छिर्न डराउनाले पनि हो । आफ्नो यस्तो पुस्तक अभियानले सानो भए पनि काम गर्न सके हुन्थ्यो भन्ने शताब्दी र अक्षयको उद्देश्य छ ।

 

प्रकाशित: ४ मंसिर २०७३ ०५:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App