८ वैशाख २०८१ शनिबार
अन्य

दोस्रो र तेस्रो किस्ता पाउने बाटो खुल्यो

सिन्धुपाल्चोक–  पहिलो किस्ता पाएर व्यक्तिगत आवास (घर) पुनर्निर्माण थालेका भूकम्प पीडितले दोस्रो र तेस्रो किस्ता अनुदान पाउने बाटो खुलेको छ।   राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले थप किस्ता निकासा गर्ने सम्वन्धी कार्यविधि ल्याएको हो । यसलाई प्रमाणीकरण कार्यविधि नाम दिइएको छ । प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले प्रमाणीकरण कार्यविधि स्वीकृत भइसकेको जानकारी दिए । ‘यसले पीडितलाई पहिलो र दोस्रो किस्ता अनुदान पाउन बाटो खोलिदिएको छ,’ उनले सोमबार  भने ।
उनका अनुसार तिहारअघि बसेको प्राधिकरण कार्यकारी समितिको बैठकले कार्यविधिको मस्यौदालाई स्वीकृति प्रदान गरेको थियो । बिज्ञसहित सरोकारवालाले तयार गरेको मस्यौदा परिमार्जनसहित पारित भएपछि कार्यविधिको रुप लिएको हो । दातृ निकायको समेत छलफलबाट पारित उक्त कार्यविधि सम्पादनसहित छाप्न पठाइएको प्रवक्ता थपलियाले बताए । ‘छापिएर आएपछि कार्यविधि कार्यान्वयनमा आउँछ,’ उनले भने ।

पीडितले पहिलो अनुदान सम्झौतासँग पहिलो किस्ता पाउन थालेको ६ महिनापछि बाँकी किस्ता पाउने बाटो खुलेको हो । पीडितलाई तीन किस्तामा अनुदान दिने निर्णय यसअघि नै भइसकेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले भूकम्प पीडितलाई १ लाख थपेर ३ लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ। उक्त निर्णयले कार्यविधि निर्माणमा ढिलाई हुँदा पीडितले दोस्रो किस्ता पाउन सकेका थिएनन् भने पहिलो किस्ता ५० हजार लिएर घर बनाउन थालेका पीडितको संरचना अलपत्र परेका थिए ।

कार्यविधि बनेसँगै पीडितले दोस्रो किस्तामा एकमुष्ट डेढ र तेस्रो किस्ता १ लाख रुपैयाँ अनुदान पाउने छन् । कार्यविधि छापिएर आएपछि कार्यान्वयनमा ल्याउनुअघि सबै प्राविधिकलाई अभिमूखीकरण (ओरेन्टेसन) गरिने प्रवक्ता थपलिया बताउँछन् । ‘प्रभावित सबै जिल्लामा एउटै प्रमाणीकरण मापदण्ड बनाउन प्राविधिकलाई कार्यविधिबारे जानकारी दिनुपरेको हो,’ उनले भने ।

गाउँमा खटिएका प्राविधिकको प्रमाणीकरण र सिफारिका आधारमा पीडितले क्रमशः थप अनुदान पाउँदै जानेछन् । पहिलो किस्ताले जमिन संरचना तयार पारेपछि पीडितले दोस्रो किस्ता पाउने छन् । त्यसले घर संरचना तयार भएपछि छानो छाउन तेस्रो किस्ता दिइन्छ । ‘यी दुबै प्रक्रियाको प्रमाणीकरण प्राविधिकबाट हुन्छ । र, सोको आधारमा किस्ता निकासा प्रक्रिया अघि बढ्छ,’ प्रवक्ता थपलियाले प्रष्ट्याए ।

प्राधिकरणले लाभग्राही पहिचान गरेका उपत्यकाबाहेकका अतिप्रभावित ११ जिल्ला जिल्ला सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रामेछाप, दोलखा, रसुवा, नुवाकोट, धादिङ, गोरखा, सिन्धुली, ओखलढुंगा र मकवानपुरका झण्डै ५ लाख ३२ हजार पीडितसँग अनुदान सम्झौता र पहिलो किस्ता वितरण भइरहेको छ । प्रधानमन्त्री भएपछि दाहालले ४५ दिनभित्र सबै पीडितलाई पहिलो किस्ता बितरण गरी सक्न प्राधिकरणलाई निर्देशन दिएका थिए । गत असोजमै सकिएको समय सीमा भित्र अनुदान बाँड्न प्राधिकरण असफल भएको थियो ।

अनुदान सम्झौता र निकासा गर्ने अख्तियार पाएको स्थानीय विकास मन्त्रालयका अनुसार अहिलेसम्म ४ लाख ६८ हजार १ सय ७८ सँग सम्झौता भएकोमा ४ लाख २५ हजार ६ सय ६४ पीडितले पहिलो किस्ता पाएका छन् । १ लाख ७ हजार भूकम्प पीडितले अझै पहिलो किस्ता अनुदान पाउन सकेका छैनन् ।

 पुर्निर्माण कार्यलाई सहज बनाउँदै तीव्रता दिन प्राधिकरणले गत असोजमै भूकम्प प्रभावित सबै जिल्लामा कार्यालयसहितको जिल्ला समन्वय समितिको सचिवालय गठन गर्ने निर्णय गरिसकेको छ । अनुदान सम्झौता, किस्ता वितरण र गुनासा व्यवस्थापन जस्ता पुनर्निर्माणका सबै मुख्य काम जिल्ला स्तरीय सचिवलायबाटै हुने प्राधिकरणले जनाएको छ ।  

 

प्रकाशित: २३ कार्तिक २०७३ ०५:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App