३ आश्विन २०७७ शनिबार
अन्य

दोस्रो पुस्तकको दशा

उही लेखक, त्यही कलम, उस्तै परिवेश भए पनि एउटै लेखकका सबै कृति उत्तिकै ओजिला हुँदैनन् । अधिकांश लेखक आफ्नो जीवनकालमा एउटा मात्रै कृति लेखेर चित्त बुझाउँदैनन् । फरकफरक होस् वा एउटै विधामा लेख्ने लेखक भए पनि उनीहरूका नाममा एकभन्दा बढी नै कृति प्रकाशित भएको पाइन्छ । तर, सबै कृतिलाई पाठकले उत्तिकै माया गर्दैनन् । सबै पुस्तक उत्तिकै संख्यामा बिक्री पनि हुँदैनन् ।

नेपालको सन्दर्भमा मात्र होइन, संसारभरिकै साहित्यको अवस्था हो यो । संसारका प्रसिद्ध र ‘बेस्टसेलिङ’ पुस्तकका लेखकका सबै कृति उत्तिकै बिक्री हुँदैनन् र समान ढंगमा चर्चा पनि हुँदैन । पहिलो कृतिबाट निकै चर्चा बटुलेका र सफलताको चुली चुमेका लेखकहरू त्यसपछिका कृतिमा भने ओरालो लागेको देखिनु सामान्यजस्तै छ । नेपालमा पनि अवस्था योभन्दा फरक छैन ।

पहिलो वा अघिल्लो कृतिमा सफलता पाएका कतिपय लेखक त्यसपछिका कृति कमजोर भएको मान्न तयार हुँदैनन् । सामान्य सुझाव–सल्लाह वा समीक्षाका रूपमा औँल्याइएका कमजोरी पनि स्वीकार नगर्ने परिपाटी बलियो बन्नाले नेपाली साहित्यको स्तर वृद्धि हुन नसकेको कतिपय लेखक बताउँछन् । विषयवस्तु (कन्टेन्ट) सम्पादन गर्न सक्ने जनशक्ति तथा प्रकाशक र लेखकको इच्छाशक्तिको अभाव, पुस्तकको भित्री तहसम्म पुगेर समीक्षा हुन नसक्नुले पनि राम्रा लेखकका सबै कृति वजनदार हुन सकिरहेका छैनन् । 

‘सेतो धर्ती’ उपन्यासबाट निकै चर्चा बटुलेका र मदन पुरस्कारसमेत प्राप्त गरेका लेखक अमर न्यौपानेका अन्य कृतिले त्यत्ति चर्चा पाएनन् । न्यौपानेले सबैभन्दा धेरै मेहनत भने ‘करोडौँ कस्तुरी’ उपन्यासमा गरेका थिए । ‘मैले सेतो धर्तीमा केही मेहनत नै गरेको थिइनँ तर आफै वनफूलजस्तै फूल्यो त्यो किताब । आनन्द मात्रै आयो उक्त पुस्तकका हरेक हरफ लेख्दा,’ उनी भन्छन्, ‘हृदयले लेखेको भएर पनि आनन्द आएको होला ।’ पाठकलाई पनि त्यस्तै आनन्द आएको आफूले महसुस गरेको उनी बताउँछन् । ‘मैले सेतो धर्ती हृदयले लेखेँ, पानीको घाम मस्तिष्क र मन दुवै मिसाएर लेखेको हो । हृदयले कहिल्यै मेहनत गर्दैन, प्रेम मात्रै गर्छ,’ न्यौपाने भन्छन् । करोडौँ कस्तुरी ३० प्रतिशत हृदय अनि ७० प्रतिशत मस्तिष्क मिसाएर लेखेकाले धेरै मेहनत गर्नुपरेको उनी बताउँछन् । लेखकले मेहनत गरेको किताब पाठकले मेहनत गरेर पढ्न नचाहने उनको अनुभव छ । ‘मैले त्यसमा अध्ययन गरेर बिम्ब बनाउँदै उतार्दै गरेँ । त्यसैले संरचना कम्प्लिकेटेड भयो, सहज भएन,’ उनी भन्छन् । यस्तै विविध कारणले गर्दा करोडौँ कस्तुरी पाठकले उतिविधि मन नपराएको उनी स्वीकार्छन् ।

तोदा र इति उपन्यास लेखेकी उपन्यासकार उमा सुवेदी पनि एउटै लेखकका सबै कृति स्तरीय नहुने स्वीकार्छिन् । केही अनुभवका आधारमा लेखिने र केही अनुसन्धानका आधारमा लेखिएका हुने भएकाले पनि यस्तो फरक आउने उनको भनाइ छ । त्यसो त उनी लेखकका धेरै कृतिलाई एउटै आमाका धेरै सन्तानसँग तुलना गर्छिन् । ‘एउटै आमाका ४÷५ जना सन्तान छन् भने ती सबै उस्तै सबल र बुद्धिमान हँुदैनन्, त्यसैगरी एउटै लेखकले पटकपटक लेखेका कृति सबै उत्तिकै उत्कृष्ट हुन्छन् भन्ने म मान्दिनँ,’ उनी भन्छिन् । लेखकले सबै कृतिमा एकदमै मेहनत गर्ने भए पनि त्यो कृति सफल हुने–नहुने पाठकको रूचिमा भर पर्ने उनको बुझाइ छ । ‘जतिसुकै सफल लेखक भए पनि कुनै न कुनै कृतिमा चिप्लिहाल्छ,’ उनी भन्छिन् ।

कुनै पनि लेखकका सबै कृति पाठकका लागि उत्तिकै प्यारो नहुने न्यौपाने बताउँछन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको उदाहरण दिँदै उनी भन्छन्, ‘मुनामदन सात–आठ लाख छापियो भन्ने सुनिन्छ, तर शाकुन्तल पाँच–सात हजार पनि छापियोजस्तो लाग्दैन । देवकोटाको लक्ष्मी निबन्धसंग्रह ३०÷४०  हजार बिक्री भयो होला, तर दाडिमको रुखनेर निकै कम भयो होला,’ उनी भन्छन् । विश्वप्रसिद्ध लेखक रविन्द्रनाथ टैगोरले धेरै कथा लेखे पनि ‘काबुलीवाला’जस्तो चर्चित अरु हुन नसकेको उनी उदाहरण दिन्छन् ।

पाठकको उच्च अपेक्षा

सबै कृति पाठकका लागि उत्तिकै प्रिय नहुनुमा पाठकको अपेक्षा र लेखकको महŒवाकांक्षा दुवै कारण देख्छन् न्यौपाने । पाठकले राम्रो लेखकसँग अपेक्षा ठूलो गर्ने भए पनि लेखक एउटा सामान्य मानिस भएकोले उसमा हुने सिर्जनशीलताको सीमितताले सधैँ पाठकको अपेक्षा पूरा गर्न नसक्ने उनी बताउँछन् । ‘पाठकमा चुलिएर रहेको अपेक्षाले पनि लेखक बढी कन्सस भइदिन्छ । धेरै कन्सस हुनु पनि कमजोर हुनु हो,’ उनी भन्छन् । ‘ओभरकन्सस’ को सन्दर्भलाई प्रेमसँग जोड्दै उनी धेरै कन्सस हुँदा मानिसले प्रेम पनि गर्न नसक्ने उदाहरण दिन्छन् । एउटा राम्रो कृति लेखेको लेखकबाट पाठकको धेरै अपेक्षा हुनु स्वाभाविक भएको बताउँदै उनी आफू स्वयंले पनि त्यो अनुसार लेख्न नसकेको स्वीकार्छन् । 

धेरैजसो लेखकले कृतिमा आफ्नो अनुभव वा कल्पना गरेको विषयवस्तु प्रस्तुत गर्छन् । लेखकले आफूले जानेको कुरा लेख्यो भने त्यो अति राम्रो भएर सुन्दर ढंगले प्रस्तुत गर्न सकेको हुन्छ । कुनै न कुनै लेखकले अलि टाढा गएर अथवा आफूले अनुभूत नगरेको कुरा लेखेको हुन्छ, त्यस्ता कुरामा भने सबै कुरा, सबै पक्ष बलियो गरी नआउन पनि सक्छ । कतिपय विषयवस्तुमा लेखकले निकै मेहनत गरे पनि सानोसानो कुराले गर्दा पाठकलाई कृति मन नपर्न सक्छ । त्यस्तो नहुनका लागि लेखक पर्याप्त सचेत हुँदाहुँदै पनि कुनै कुनै ठाउँमा चिप्लिँदा पाठकमा अरूचि पैदा हुन सक्ने सुवेदी बताउँछिन् । आफूले अहिलेसम्म लेखेका कृति अनुभवका आधारमा लेखेको उनी बताउँछिन् । ‘अहिलेसम्मका कृतिमा खासै दुःख गर्नु नपरे पनि इति एउटा अनुसन्धानत्मक उपन्यास भएकाले यसमा मैले धेरै मेहनत गरेकी छु,’ उनी भन्छिन् । लेखकलाई आफ्ना कृति मन परे पनि वा निकै मेहनत गरेर लेखेको भए पनि पाठकको अदालतमा उत्रिँदा नतिजा जे पनि आउने र त्यसलाई स्वीकार गर्नुपर्ने उनको भनाइ छ ।  

पाठकको अपेक्षा र लेखकको महŒवाकांक्षा दुवैले एउटै लेखकका फरकफरक कृति उत्तिकै रूचिकर हुने–नहुने निर्धारण गर्ने न्यौपानेको विचारसँग सुवेदी पनि सहमत छिन् । ‘लेखकले विशेषगरी पहिलो कृतिमा आफूले भोगेका, जानेका, अनुभवका कुरा लेख्छ तर दोस्रो कृतिमा पनि त्यही व्यहोरा राख्न त मिल्दैन, विषयान्तर गर्नुपर्ने हुन्छ । अर्को विषय लिनुपर्ने हुन्छ,’ उनी भन्छिन्, ‘दोस्रो कृतिमा उसले कति मेहनत गर्छ भन्ने कुराले पनि कृतिको सफलता निर्धारण गर्छ ।’ तर, लेखकले लेख्दै गएपछि अलि लापर्वाही पनि गर्न सक्ने उनलाई लाग्छ । नेपालका लेखक मात्र होइन, संसारभरिकै लेखक अलिकति चर्चा कमाएपछि केही लापर्वाह हुने सुवेदीको दाबी छ । ‘पाठकको अभिरूचिमा पनि पुस्तक चल्ने–नचल्ने कुरा भर पर्छ । लेखकले अलिकति आफ्नो नाम चलिसकेपछि मेहनत कम गर्ने प्रवृत्तिले पनि दोस्रो कृतिलाई असर पार्ने गरेको छ,’ उनी भन्छिन् । त्यसो त, विषयवस्तुको गम्भीरता र शैलीका आधारमा पनि पाठकको रूचि फरक पर्ने भएकाले कृतिको सफलता–असफलता निर्धारण हुने उनी बताउँछिन् ।

सुवेदीले एउटै लेखकका धेरै कृति पढेकी छन् । ध्रुवचन्द्र गौतमका धेरैजसो, कृष्ण धरावासी, विश्वेश्वरप्रसाद कोइरालाका सबै कृति उनले पढ्न भ्याएकी छन् । यीमध्ये कोइरालाको लेखन उत्कृष्ट भएको र कुनै पनि कृतिमा उनी नचिप्लिएको उनको बुझाइ छ । ‘ध्रुवचन्द्रको अलिखित उपन्यास जुन ढंगको भयो, त्यो हिसाबले अहिले लेख्दै गरेको वा यसअगाडिका केही कृतिमा अलिकति खुकुलोपन आएजस्तो लाग्छ,’ उनी भन्छिन् । धरावासीले धेरै कृति मेहनत गरेर लेखे पनि पछिल्ला सिर्जना उतिविधि रूचाइएका देखिँदैनन् । ‘कतै पाठकको अपेक्षा नै अलि अस्वाभाविक नै पो भयो कि,’ उनी भन्छिन् । पाठकको अपेक्षा र अभिरूचिले फरक पार्ने भए पनि स्तर निर्धारणमा लेखकले गर्नेे अनुसन्धानको दायराले पनि फरक पार्ने उनको भनाइ छ । त्यसबाहेक, पहिलो कृति लेख्दा लेखक अलि धेरै उत्साहित, दोस्रो लेख्दा केही कम उत्साही हुँदै विस्तारै उत्साह हराएर हेलचेक्राइँ गर्दा आफ्नै पहिलो, दोस्रो र अन्य कृतिबीच धेरै अन्तर देखिने सुवेदी बताउँछिन् । पहिलो पुस्तकको तुलनामा दोस्रो पुस्तक उत्तिकै सफल नहुनुमा पाठकको अपेक्षा बढी हुनुसँगै लेखकको उच्च आत्मविश्वास अर्थात् ‘ओभरकन्फिडेन्स’ले प्रभाव पार्ने लामा बताउँछिन् । ‘एक हदको चर्चा पाइसकेको लेखकका केही पकेट रिडर पनि हुन्छन्,’ उनी भन्छिन् । लेखकले सधैँ राम्रै लेख्ने प्रयत्न गर्ने र मेहनत गरिसके पनि कमीकमजोरी हुन सक्ने उनको भनाइ छ ।

नवीनताको अभाव

नेपाली साहित्यमा अनुसन्धान र नवीनताको अभाव रहेको पाठक तथा समालोचकहरू औँल्याउँछन् । लेखिरहेको विषयवस्तुमा अनुसन्धान खासै नगर्ने परिपाटीले गर्दा पनि नेपाली कृतिहरूको गुणस्तरीयतामा प्रश्नचिह्न लागेको समालोचक कुमारी लामा बताउँछिन् । ‘नेपाली लेखकहरूले आफ्नो लेखनशैली र विषयवस्तुमा नवीनता ल्याउन जरुरी छ,’ उनी भन्छिन् । पारिजात, शंकर लामिछाने, विश्वेश्वरप्रसाद कोइराला, शारदा शर्मा, दिनेश अधिकारीलगायत लेखकको धेरै वटा कृति पढे पनि अन्यको नपढेको उनी बताउँछिन् । आफूले अपेक्षा गरेअनुसारको स्तर नभएकाले पनि धेरै नेपाली लेखकका कृति नपढेको उनको भनाइ छ । 

खरो समालोचकको छवि बनाएका हरि अधिकारी कुनै पनि लेखक जतिसुकै ठूलो भए पनि उसका सबै रचना बराबर, उत्तिकै स्तरीय, उत्तिकै लोकप्रिय र उत्तिकै राम्रा नहुने बताउँछन् ।  ‘एउटा किताब धेरै रूचाइयो अथवा धेरै लोकप्रिय भयो भने दोस्रो किताब अथवा तेस्रो किताब लेख्दाखेरी लेखकको उत्तिकै मेहनत नपरेको हुन सक्छ,’ उनी भन्छन्, ‘लेख्ने भन्दा पनि त्यो विषयको कुरा, प्रसंग, त्यतिबेलाको लेखकको प्रस्तुत गर्ने उत्साह, त्यसमाथि गरिने मेहनतको स्तर फरक परेर पनि हुन सक्छ ।’ तर, बिक्री नभए पनि वा पाठकले कम पढे पनि कृति स्तरीय हुन सक्ने उनको भनाइ छ ।

फ्रेन्च लेखक गुस्ताव फ्लोवेरको कृति ‘म्याडम बोवारी’ लाई निकै राम्रो कृति मानिन्छ । तर, त्यसपछिका उनका कतिपय कृति लोकप्रिय हुन सकेनन् । सबै किताबले उस्तैउस्तै महŒव पाएका लेखक पनि संसारमा नभएका भने होइनन् । भारतीय लेखक प्रेमचन्दका कृति ‘गोदान’ लाई उत्कृष्ट मानिए पनि उनका ‘गवन’ र ‘सेवा सदन’ जस्ता उपन्यास पनि उत्तिकै राम्रा मानिने अधिकारी बताउँछन् । त्यस्तै, शरतचन्द चट्टोपाध्यायको ‘देवदास’ एकदमै राम्रो र लोकप्रिय मानिए पनि उनका अन्य उपन्यास स्तरीय हुँदाहुँदै पनि कम चर्चित भएको उनी बताउँछन् । ‘यसै कारणले कुनै पनि कृति यस्तै हुन्छ भनेर अनुमान गर्न सकिँदैन । लेखकको तत्कालीन मनस्थिति र अन्य कुराबारे पनि त्यति धेरै अध्ययन भएको भेटिँदैन,’ अधिकारी भन्छन् ।

नेपाली लेखककै बारेमा भन्नु पर्दा पनि नारायण वाग्लेको ‘पल्पसा क्याफे’ मा धेरै कुरा मिलेर लोकप्रिय हुन पुगेको उनी बताउँछन् । तर, उनको दोस्रो उपन्यास ‘मयुर टाइम्स’ पाठकले पटक्कै मन पराएनन् । ठूला लेखक नभएकाले वा साहित्यमा गम्भीर हुन नसकेकोले अथवा त्यसप्रति निष्ठावान् नभएकाले ‘मयुर टाइम्स’ ‘पल्पसा क्याफे’को स्तरमा पु¥याउन नसकेको उनी बताउँछन् । ‘उनमा साहित्यप्रति गम्भीरता थिएन त्यसैले पहिलो पुस्तकको स्तरलाई कायम राख्न सकेनन्,’ उनी खरो टिप्पणी गर्छन्, ‘किनभने उनी पत्रकार भएको र पत्रकरितामा लेखेको कुरा चोटिलो पार्ने कार्य मात्र गरे ।’ पल्पसा क्याफेमा वाग्लेले जुन किसिमले सामाजिक विषयवस्तुको चित्रण गरेका छन्, एकदम हल्काफुल्का वा पत्रकारिताको शैलीले मान्छेले झट्ट पढ्दा रमाइलो लाग्ने किसिमले चित्रण गरेकाले पाठकको मन जित्न सफल भएको अधिकारीको बुझाइ छ । 

सुबिन भट्टराईको पहिलो कृति साहित्यिक वा स्तरीय नहुँदानहुँदै पनि चलेको उनको दाबी छ । ‘तर, एउटा कमसल कृति चलेपछि उनले त्यही धाराको लेख्दा बजार पाइँदो रहेछ भन्ने सोचेर लगातार रद्दी किसिमका कृति उत्पादन गरिरहेका छन्,’ अधिकारी भन्छन् । नेपालको सन्दर्भमा यस्तै भइरहेको उनले अनभुव गरेका छन् । त्यस्तै, बुद्धिसागरको पहिलो उपन्यास ‘कर्णाली ब्लुज’ मा पनि लेखकले एउटा फरक परिवेश, फरक पात्रहरूलाई सकभर इमानदारीका साथ र आफ्नो तŒव, आफ्नो कथालाई पनि परिवेश र यथार्थसँग जोडेर व्यक्त गरेकाले उक्त कृति रूचाइएको उनी बताउँछन् । लेखकले निकै मेहनत गरेकाले पनि त्यो लोकप्रिय हुन पुगेको र त्यसले साहित्यको स्तर पनि कायम राखेको अधिकारीको ठम्याइ छ । ‘तर, पछि उनले आफूलाई दोहो¥याउने काममात्र गरे र एउटा विशेष किसिमको परिस्थिति, विशेष किसिमको पात्र र वर्णनको तरिकालाई अपनाएपछि पाठकले मन पराउँछन् भन्ने सोच्न पुगे र फिरफिरेमा फ्लप भए,’ उनको विश्लेषण छ ।

नयनराज पाण्डेको सन्दर्भमा पनि यही कुरा लागु हुने अधिकारीको दाबी छ । पाण्डेको उपन्यास ‘उलार’ मा यथार्थताको नजिक रहेर लेख्नुपर्ने कुरा मात्रै ठिक्क किसिमले सटिकताका साथ व्यक्त गरेकाले त्यो राम्रो हुन पुग्यो । त्यसपछिको उपन्यास ‘घामकीरी’ त्यति धेरै सफल हुन नसकेको उनी बताउँछन् । ‘किनभने उनले उक्त उपन्यासमा धेरै खेल्ने र केही नयाँ दृश्य दिएर पाठकलाई चमत्कृत पार्छु भन्ने प्रयास गरे र असफल हुन पुगे,’ अधिकारी भन्छन् ।

पहिलो कृतिमा चर्चा पाएका लेखकहरूले अन्य कृति लेख्दा लोकप्रियताको तत्व वा फर्मुला घुसाउने प्रयासमा लाग्दा एकदमै कमजोर बन्न पुगेको उनको विश्लेषण छ । त्यस्तै, प्रकाशकहरूले यस्तोयस्तो कुरा वा घटना समावेश गरेर लेखेका खण्डमा बिक्छ भन्ने कुरा लेखकले हुबहु मान्दा पनि कृति निकै कमजोर हुन पुगेको उनको आरोप छ । ‘बजारमा बिक्छ भन्ने लोभमा, प्रकाशकको फर्मुला उपयोग गर्न खोज्दा लेखक नराम्ररी चिप्लिने गरेका थुप्रै उदाहरण छन्,’ अधिकारी भन्छन्, ‘यस्तो हुनाले केही राम्रा वा सम्भावना भएका लेखक पनि असफल बन्न पुगेका छन् ।’

पहिलो वा अघिल्लो कृतिमा सफलता पाएका कतिपय लेखक त्यसपछिका कृति कमजोर भएको मान्न तयार हुँदैनन् । सामान्य सुझाव–सल्लाह वा समीक्षाका रूपमा औँल्याइएका कमजोरी पनि स्वीकार नगर्ने परिपाटी बलियो बन्नाले नेपाली साहित्यको स्तर वृद्धि हुन नसकेको कतिपय लेखक बताउँछन् । विषयवस्तु (कन्टेन्ट) सम्पादन गर्न सक्ने जनशक्ति तथा प्रकाशक र लेखकको इच्छाशक्तिको अभाव, पुस्तकको भित्री तहसम्म पुगेर समीक्षा हुन नसक्नुले पनि राम्रा लेखकका सबै कृति वजनदार हुन सकिरहेका छैनन् । 

बक्स

प्रकाशित: १३ कार्तिक २०७३ ११:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App