coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

भार्वाच्वमा साहित्य तः मुंज्या

भक्तपुरको दूधपाटीस्थित भार्वाच्वमा नेपालभाषा साहित्य तः मंुज्या यसपालि पनि उत्साही श्रोताको प्रेरणामा दुई दिन निरन्तर १२/१२ घन्टा चल्यो। तर, यो महत्वपूर्ण र बृहत् साहित्य तथा सांस्कृतिक पर्वबारे 'मूलधार' का नेपाली पाठकलाई थाहै भएन। जनतालाई सांस्कृतिकरूपले प्रशिक्षित गर्ने र राजनीतिक चेतना दिने उद्देश्ले नेपाल संवत् ११०० देखि प्रत्येक वर्ष विजया दशमी अनि नेवारहरूको मोहनीपछिको द्वादशी र त्रयोदशीमा हुँदै आएको सम्मेलनले यसपालि ३६ औँ शंृखला पार गर्‍यो। निरन्तर ८ घन्टा कविता, कथा, निबन्ध, नाटक, व्यंग्य र विभिन्न वक्ताका कुरा सुन्नु, त्यसपछि निरन्तर ५ घन्टा सांस्कृतिक कार्यक्रममा सहभागी हुुनु, वा रे वा! सामान्य उत्साहले यस्तो सहभागिता सम्भवै हुँदैन।

छत्तीसौँ तः मुंज्या

तः मुंज्याको अर्थ हो बृहत् सम्मेलन। यसपालि स्वीखुगूगु नेपालभाषा साहित्य तः मुंज्या। अर्थात् ३६ औँ नेपालभाषा साहित्य बृहत् सम्मेलन। यो मूलतः नेपालभाषामा लेख्ने, बोल्ने र नाच्ने, गाउनेहरूको मेला हो। तैपनि, यो एउटै भाषामा सीमित छैन। यसमा नेपाली भाषा र देशको एक भाषा नीतिका कारण पछाडि पारिएका सबै भाषाभाषीका लेखक, कलाकारले पनि मञ्चमा आफूलाई अभिव्यक्त गर्न पाउँछन्। स्थानीय कवि, लेखक र कलाकारले आफ्नो रचना तोकिएको मितिभित्र आयोजकलाई बुझाउनुपर्छ जसमध्ये उत्कृष्टलाई पुरस्कृत गरिन्छ। निम्ताइएका लेखक–कलाकारले भने मन्तव्यसहित आफ्ना रचना प्रस्तुत गर्छन्। यसपालि विकल प्रजापति, प्रेम प्रजापति र अर्चना छुका अनि कथामा तुलसीलाल वासुकला, एलके सुन्दर र श्रीया पहिजुले क्रमशः पहिलो, दोस्रो र तेस्रो पुरस्कार जिते।

वैचारिक, परिवर्तनकारी र सन्देशमूलक साहित्य–कला पक्षधरका नाताले तः मुंज्याले सबैखालका, खासगरी कलावादी लेखक–कलाकारलाई समेट्न नसक्नु स्वाभाविक हो। तर, तिनै जनपक्षीय लेखक–कलाकारबीच पनि विविधता खोज्न सकिन्छ। यसको स्वरूपलाई पनि अन्तर्क्रियामुखी बनाउनु जरुरी छ। जस्तोः छानिएका कविका केही कविता, कथाकारका केही कथा र तिनैमाथि बहस गराउन सकिन्छ।

भार्वाच्व सम्मेलनमा स्थानीय आयोजक समितिका अध्यक्ष लक्ष्मीनारायण राजलवटको मेहनत तारिफयोग्य थियो। राजलवटसँगै उपाध्यक्ष अम्बिका न्याइच्याईं, सचिव रमेश च्याइच्याईं अनि लीला न्याइच्याईं, विश्वराज शिल्पकार, आशाराम गोठे, बद्री कोजू, रविना दुवाल, कृष्णगोपाल मुलगुठीलगायत सदस्यको ध्याउन्न दसैँ (मोहनी) को रामरमितामा भन्दा सम्मेलनलाई भव्य र सभ्य बनाउनमा केन्द्रित थियो। दाःछी इँटाको कृत्रिम सेटले दक्षिणतिर सजिएको नेपाली मौलिक शैलीको मञ्च साँच्चीकै भव्य थियो जहाँ पाँचतले न्यातापोल र भैरवनाथ मन्दिर तथा आँखी‰यालका चित्र कोरिएका थिए। भित्तामा रञ्जना लिपिमा लेखिएको थियो, स्वीखुगूगु नेपालभाषा साहित्य तः मुंज्या। उत्तरपट्टि हजार जना अट्ने मञ्च कुनै पनि बेला खाली देखिन्नथ्यो। यति ठूलो कार्यक्रमका लागि न कुनै रक्सी उत्पादक संस्था प्रायोजक थियो न सरकारबाट आर्थिक सहयोग जुटाइएको थियो। नेपालभाषा साहित्य तः मुंज्या मूल गुठीका सचिव सुरेन्द्रराज गोसाईंका अनुसार सबै स्थानीय वासिन्दाको साथ र सहयोगबाट भएको थियो। यस हिसाबले यो पूर्णतया मौलिक र अर्ग्यानिक साहित्य मेला थियो।

सिर्जनाका दुई प्रकार

छत्तीसौँ त :  मुंज्यामा मन्तव्यका क्रममा मैले भनेको थिएँ, 'सिर्जना दुईखालका हुन्छन्, परम्परागत र विद्रोही। आफूलाई जति आधुनिक भने पनि आलोचनात्मक चेतबिनाका सिर्जना परम्परागत (कन्फर्मिस्ट) हुन्छन्। ती प्रियतावादी हुन्छन्। आफ्नो प्रियतामा ठेस लाग्छ भने तिनीहरू सत्य बोलेर आफूलाई जोखिममा पार्न चाहँदैनन्। अहिले मिडियामा कन्फर्मिस्ट लेखककै दबाब छ।'

आलोचनात्मक चेत त्यो हो जसले कुनै पनि घटनालाई जनसामान्यले जसरी बु‰दैन। आलोचनात्मक चेतयुक्त लेखक वा कविको अन्तर्दृष्टिले अल्ट्रासाउन्डले जस्तै मानिसभित्रको कुरा पनि देख्छ। ऊ भव्य, सभ्य र सुकिला पोसाकधारीलाई नांगो देख्छ। सिंहदरबारमा नांगो प्रदर्शन गर्ने बादी महिला, बाध्यताले शरीर बेच्ने वेश्यालाई ऊ इमानको प्रतिमूर्ति देख्छ। युद्धविरुद्ध नांगै प्रदर्शन गर्ने अमेरिकी युवायुवती हुन् वा हत्या र बलात्कारविरुद्ध नांगै उभिएर सेनालाई चुनौती दिने मणिपुरे महिला अथवा सिंहदरबारसँग अधिकार माग्दै लुगा फुकाल्ने बादी महिला, तिनको नग्नतामा अश्लीलता होइन, गम्भीर राजनीतिक विचार छ। तिनको नग्नता खुला बजारमा बिक्रीका लागि कमनीय शरीर खोल्ने नायिकाको भन्दा पृथक् छ। कुनै पनि व्यक्ति जन्मनासाथ राज्यको सन्तति हुन्छ। त्यसैले आत्महत्यालाई पनि अपराध मानिन्छ। आत्महत्या गर्दा पनि राज्यकै एउटा सदस्यको हत्या भएको हुन्छ। अतः कोही कुनै समुदाय विशेषमा जन्मँदैमा ऊ निर्विकल्प वेश्यावृत्ति गर्न बाध्य हुन्छे भने त्यसको जिम्मेवार ऊ र उसको समुदायमात्र नभई राज्य स्वयं पनि हुन्छ। मैले भनेको थिएँ, 'जब कुनै सार्वजनिक स्थलमा एउटी महिला आफ्नो दुःख देखाउन नांगिन्छे, त्यहाँ ऊ होइन, राज्य स्वयं नांगिरहेको हुन्छ।'

नेपालभाषामा कविता

नेपालीभाषी कविबीच पनि बेलाबेला नेपालभाषा (नेवारी) का कविताको भव्यताबारे चर्चा हुन्छ। खासमा नेपालभाषी कविताको असली परिचय नेपालले पाउन बाँकी नै छ। नेपाली भाषाले राष्ट्र भाषाको मान्यता पाउनु र माध्यम भाषा बन्नुमा यसको सरलता र स्वीकार्यताको भूमिका होला। तर, शासक वर्गको भाषा भएकैले यसलाई जबर्जस्ती स्थापित गरिएको थियो। इतिहासको यो कटु सत्यलाई अगाडि सारेर अब नेपाली भाषालाई पन्छाउन सकिन्न जसरी अंग्रेजीबिना अन्तर्राष्ट्रिय सम्पर्क सम्भव हुँदैन। एकभाषिक राज्यमा देशको कुल जनसंख्याको थोरै प्रतिशत जनताले बोल्ने भाषाको साहित्य ओझेल पर्नु अस्वाभाविक होइन। यसको अर्थ अल्पमत भाषाहरूमा स्तरीय साहित्य लेखिएकै छैनन् भन्न मिल्दैन। नेपालभाषा साहित्य स्वयं एक चुनौती हो। मैथिली, भोजपुरी अन्य चुनौती हुन सक्छन्। विश्वसाहित्य वा कलाको वास्तविक रूप हेर्ने हो भने अंग्रेजी भाषाबाहिर पुग्नु जरुरी छ। त्यसैगरी नेपाली साहित्यको वास्तविक रूप हेर्ने हो भने नेपालभाषा, मैथिली, भोजपुरीलगायत भाषामा पनि छिर्नु जरुरी छ। अर्कातिर नेपाली साहित्य भन्नाले नेपाली भाषाको साहित्यमात्र भन्ने अनुदार घेरा नाघ्नु जरुरी छ।

अब माध्यम भाषाका नाताले नेपाली भाषाले अन्य सीमान्तकृत भाषाका सूचनालाई पनि बिनापूर्वाग्रह, बिनास्वार्थ प्रवाह गर्नुपर्छ। विडम्बना के भने नेपाली भाषी मिडियाले यो भूमिका निर्वाह गरिरहेका छैनन्। गर्दा हुन् त नेपालभाषी कविताको उचाइबारे सबै कविताप्रेमी नेपालीलाई थाहा हुने थियो। अनि व्यापारिक संस्थाहरूले प्रायोजन गर्ने साहित्यिक पर्वका सेसनैपिच्छे ठूला तस्बिरसहित कभरेज गर्ने मिडियाले तः मुंज्या वा विराट नेपाल भाषा साहित्य सम्मेलनको पनि चर्चा गर्थे।

श्यामसुन्दर सय्जु, पूर्ण वैद्य, योगेन्द्र प्रधान, सुन्दर मधिकर्मी, बुद्ध सायमी, आनन्द जोशी, केशवमान शाक्य, नर्मदेश्वर प्रधान, प्रतिसरा सायमी, सुदन खुसः, सुरेश किरण, योगेश राज, राजभाइ जः कमी, रजनी मिलालगायत कवि नेपालभाषाकै गौरव बढाउने कविता लेखिरहेका छन्। तः मुंज्याको दोस्रो दिन नभन्दै पूर्ण वैद्यले 'आँसुले नै अहिलेसम्म नआएको युग ल्याउँछु' भन्ने भावको कविता सुनाएर यस भनाइलाई पुष्टि गरे र धेरैको मन जिते। सांसदद्वय प्रेम सुवाल र अनुराधा थापा मगर तथा मिर्गाैलारोग विशेषज्ञ डा. कल्पना श्रेष्ठले खुलेरै उनको कविताको प्रशंसा गरे।

जनतालाई सुन्ने मेला

यो सम्मेलन मूलतः नेताले जनतालाई सुन्ने मेला हो। नारायणमान बिजुक्छे, बुद्धिकुमार गोसार्इं, सुनील प्रजापति, प्रेम सुवाल, अनुराधा थापा मगरलगायत नेता तल दर्शक दीर्घामा बसेर कवि, लेखक, पत्रकार, वकिल, न्यायाधीश, डाक्टर, इन्जिनियर, वास्तुविद्हरूका कुरा सुनिरहेका हुन्छन्। यदाकदा तिनै नेता पनि आफ्ना राजनीतिक अनुभव सुनाउन मञ्चमा पुग्छन्। मजदुर दैनिकले असोज २७ को सम्पादकीयमा लेखेको छ, 'चाडपर्वमा खाने–बस्ने मात्र होइन, देश र जनताको विषयमा चिन्तन गर्ने अवसर तः मुंज्याले दिएको छ। यो स्वयं परिवर्तनको बाहकका रूपमा, आन्दोलनका रूपमा, वर्ग संघर्षका रूपमा अगाडि बढिरहेको छ।' यसले तः मुंज्या साहित्य र संस्कृतिलाई राजनीतिक आन्दोलन नै ठान्छ भन्ने प्रस्ट हुन्छ। हुन पनि मजदुर र किसानको आवाज राज्यसम्म पुर्‍याउने र उनीहरूलाई सांस्कृतिकरूपले प्रशिक्षित गर्नलाई नै यो साहित्य मेला आयोजना हुँदै आएको आयोजकहरूको दाबी छ। सुरुको एक दशक यसले पञ्चायतविरुद्ध जनमत निर्माण गर्‍यो। प्रजातन्त्र पुनःस्थापनापछि सत्तासीन दलको जनविरोधी क्रियाकलाप, भारतसँग भएका अवाञ्छित सन्धि, सम्झौता, जनयुद्धकालमा माओवादी क्रियाकलाप र राजाको प्रतिगमन, भारतीय नाकाबन्दी, हस्तक्षेप र सीमा उल्लंघनविरुद्ध यसले आवाज उठाएको छ। यसपालि डा. कल्पना श्रेष्ठले मिर्गौला स्वस्थ राख्ने उपायबारे प्रवचन दिइन्। रविन्द्र पुरीले सम्पदा संरक्षण, माणिकलाल श्रेष्ठ र तेजेश्वरबाबु ग्वंगले नेपालभाषा तथा संस्कृति संरक्षण, भैरव रिसालले खुम्चिँदै गएको देशको सिमाना, अधिवक्ता कृष्णप्रसाद भण्डारीले संघीयता, कैलाशभक्त प्रधानांगले सहकारिता अनि प्रसूतिरोग विशेषज्ञ डा. उर्मिला कार्कीले स्त्रीरोगबाट बच्ने उपायबारे मन्तव्य दिए।

तः मुंज्याले भार्वाच्वकै कान्छा राजलवट, बुलाल राजलवट र कर्णबहादुर शिल्पकारलाई सम्मान गरेर संस्कृति उत्थानलाई प्रोत्साहित गर्‍यो। भक्तपुरको सांस्कृतिक संरक्षण र उत्थानमा निःस्वार्थ लागिपरेका यी तीन जनालाई स्थानीयले जति सम्मानका दृष्टिले हेरे पनि राष्ट्रिय मिडियामा यिनको कतै चर्चा हुँदैन। किनभने यी सोझा सांस्कृतिक अगुवा मिडियासँग सम्पर्कमा छैनन्। प्रचारको मोह पनि तिनलाई छैन। बुलाल र कर्णबहादुर दाफा भजनमा संलग्न छन् भने कान्छा भार्वाच्वमा चल्ने विभिन्न नाचका गुरु हुन्।

सुधार्नैपर्ने केही कुरा

तः मुंज्या मूलतः जनपक्षीय लेखक–कलाकारको मेला हो। यसको उद्देश्य राजनीतिक छ। तर, यसले पनि अन्य साहित्यिक मेलाबाट केही सिक्नु जरुरी छ। फाइन प्रिन्ट वा रिडर्स झापाले गर्दै आएका बारम्बार उही पात्र, उही विषय र उही कुरा दोहोर्‍याइरहने साहित्यिक मेलाप्रति साहित्यकारहरू किन त्यति आकर्षित छन्? किन तः मुंज्याको सूचनासमेत उनीहरूसम्म पुग्दैन? किन प्रगतिशील लेखक संघ स्तरमा पनि यसको दायरा व्यापक छैन? यसप्रति गम्भीर भएर सोच्नु जरुरी छ। वैचारिक, परिवर्तनकारी र सन्देशमूलक साहित्य–कला पक्षधरका नाताले तः मुंज्याले सबैखालका, खासगरी कलावादी लेखक–कलाकारलाई समेट्न नसक्नु स्वाभाविक हो। तर, तिनै जनपक्षीय लेखक–कलाकारबीच पनि विविधता खोज्न सकिन्छ। यसको स्वरूपलाई पनि अन्तर्क्रियामुखी बनाउनु जरुरी छ। जस्तोः छानिएका कविका केही कविता, कथाकारका केही कथा र तिनैमाथि बहस गराउन सकिन्छ। प्रगतिशील लेखनका चुनौती वा लेखनमा उठ्न नसकेका विषय, बजारमुखी उपन्यास, साहित्यमा बजारको असर वा महँगो स्वास्थ्य सेवा अथवा राजनीतिमा परेका गाँठो फुकाउनेबारे विषयविज्ञ र दर्शकबीच अन्तर्क्रिया चलाउन सकिन्छ।

प्रकाशित: ६ कार्तिक २०७३ ०४:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App