२२ असार २०७७ सोमबार
अन्य

नासा बुलेट क्लब

भट्ट! भट्ट!  भट्ट!

सहरमा तन्नेरीहरु बेतोडले बाइक कुदाउँछन्। बजारमा थरिथरिका बाइक पाइन्छ। साहसिक युवा बुलेट बाइक रोज्छन्। रोयल इन्पि्कल्ड ब्राण्डको बुलेट बलियो, युनिक र खर्चिलो छ। काठमाडौं बजारमा ३ सय ५०, ५ सय र ५ सय ३५ सिसीका बुलेट पाइन्छ। त्यसैले किन्न र पाल्न महँगै पर्छ।

बुलेट बाइकर्सहरुको संस्था 'नासा बुलेट क्लब'का अध्यक्ष प्रकाश लिम्बुका अनुसार नेपालमा ९ हजार जति बुलेट बाइक गुड्छन्। काठमाडौं, पोखरा, धरान, वुटवल, चितवन लगायत सहरमा बाइकर्स बढ्दै छन्। नासाको शाखाका रुपमा पोखरा ट्रोपर्स क्लब, धरानमा रोयल इर्स्टन र चितवनमा रोयल राइनो क्लब खुलेका छन्।   

बाइकर्स एकता र साहसिक खेल प्रबर्धन गर्न काठमाडौंमा ०६५ फागुन ७ गते नासा स्थापना भएको हो। त्यतिबेला नेपालमा ३ सय हाराहारीमा बुलेट बाइक भएको अनुमान गरिएको थियो। आज क्लबको सदस्य संख्या २५ सय पुगिसकेको छ। 'हामी टिनएजरलाई सदस्य बनाउँदैनौं', लिम्बु भन्छन्, 'हाम्रो क्लबमा २५ देखि ६५ वर्षसम्मका सदस्य छन्।'

बुलेट चढ्ने महिला औंलामा गन्न सकिन्छ। जति चढ्छन्, ती साहसिक छन्। इन्दिरा गुरुङ, सुनिता थापा, लक्ष्मी खतिवडा, सोनु गुरुङ, निर्मला खड्का, दिव्यारानी थापा, मेरिना श्रेष्ठ लगायतले हेभी बाइकर्सको परिचय बनाइसकेका छन्। 

क्लबले राष्ट्रिय खेलकुद परिषदबाट मान्यता पाएको छ। विभिन्न पेशा र व्यवसायका सदस्यबीच भातृत्व विकास भएको छ। 'हामीलाई जन्म दिने आमा फरक फरक भए पनि', क्लबका महासचिव राम साह भन्छन्, 'हामी सबै सदस्य दाजूभाई हौं। हामी बीच आत्मियता छ।'

बुलेट घुमफिर संस्कृति विकास भएको छ। काठमाडौं सेरोफेरोका गन्तव्य उनीहरुका लागि पानी पँधेरो हो। नगरकोट, धुलिखेल, बल्थली, नमोः बुद्ध, चित्लाङ, दामन, भोटेचौर, मेलम्ची, सुन्दरीजल, हेटौंडा, सुनेकोशी बरोबर पुगिरहन्छन्। 

बेला बेलामा लामो दुरीका यात्रामा निस्कन्छन्। अहिलेसम्म उनीहरु सामुहिक रुपमा दोलखाको जिरी, मुस्ताङको मुक्तिनाथ, ताप्लेजुङको पाथिभरा र मुगुको राराताल पुगिसके। उनीहरु अनुशासित ढंगमा एउटै लहरमा बाइक कुदाउँछन्। लामो दुरीको यात्रामा सबैभन्दा अगाडि 'रोड लिडर' हुन्छ। त्यसको भूमिका प्रायः क्लबका महासचिव साह निर्वाह गर्छन। उनलाई कसैले ओभरटेक गर्न पाउँदैन। गर्दैनन्। अनुशासित भएर  चलाउने भएकाले दूर्घटना झेल्नु परेको छैन। उनीहरु जहाँ पुग्छन, त्यहीँ भिज्छन्। सिठो, पिठो जे पाइन्छ त्यसमै रमाउँछन्।

यात्रामा धेरै कुरा सिक्न, बुझ्न र नेपाल चिन्न पाइन्छ। जैबिक, जातिय र भौगोलिक विविधताको सौन्दर्य अतुलनिय छ। प्रकृति, संस्कृति, इतिहास र कलामा उत्तिकै धनी छौं हामी। नेपालीपनमा गर्बले छाती फुल्छ। कतिसम्म भने लामो यात्रा गर्ने खबर पाएपछि बेलायत, अमेरिका र युरोपतिर भएका क्लबका सदस्यहरु पनि नेपाल आइपुग्छन्। 

सम्झेर ल्याउँदा आङै सिरिङ हुने भीर पहरामा समेत पुगिसके उनीहरु। राराताल जाँदा जुम्ला क्षेत्रमा माथिबाट ढुँगा खसिरहेको अफ्ठेरो बाटोमा समेत बुलेट कुदाए उनीहरुले। कतिपय ठाउँमा आफैं पहिरो पन्छाए। आपसी सहकार्यमा उनीहरु गन्तव्य पुग्न सफल भए। 

बिशेषतः फागुन ७ गते र बुद्ध पूर्णिमाका दिन लामो यात्रामा निस्कन्छन्। आपसमा खर्च उठाउँछन्, भेटेसम्म प्रायोजक पनि खोज्छन्। जहाँजहाँ पुग्छन्, त्यहाँका विद्यालयमा केही न केही सहयोग गर्छन। सदस्यहरुमा त्यसले सामाजिक उत्तरदायित्वको जिम्मेवारी बोध गराउँछ। 

क्लबको टोली ०६७ फागुनमा जिरी पुगेको थियो। त्यतिबेला बुलेट मात्रै होइन, अरु बाइक समेत गरेर १५० मोटर बाइक थिए। उनीहरु त्यहाँ एक रात बसेर फर्किए। फेरी सन् २०११ को सेप्टेम्बर २७ (विश्व पर्यटन दिवस)मा उनीहरु पूर्वी नेपाल यात्रामा निस्के। ९ दिने यात्रामा २४ सदस्य थिए। ताप्लेजुङको सुकेटार विमानस्थलसम्म बाइकमा पुगेका थिए। त्यहाँबाट हिँडेर पाथिभरा पुगे। उनीहरुसँगै ताप्लेजुङकै तत्कालनि सभासद पासाङ शेर्पा पनि गएका थिए। 

बेनी–जोमसोम–मुक्तिनाथ मोटर बाटो खुलेपछि मुक्तिनाथ दर्शन सजिलो भएको छ। नासा बुलेट क्लबको टोली सन् २०१४ अक्टुबरमा मुक्तिनाथ पुग्यो। २० जना बाइकर्सले लहरै बाइक कुदाउँदा मुस्ताङीका साथै विदेशीले समेत आँखा तानि तानि हेरे। अनौठो माने। 

उनीहरुमा घुम्ने लत बसिसकेको छ। गएको फागुन ७ गते रसुवा र चीनको सीमा केरुङ नाका पुगे। नाका कस्तो रहेछ भनेर बुझ्न २६ वटा बाइकमा त्यता लागेका। एक रात बसेर फर्किए। त्यो यात्रामा उनीहरुले रसुवाको भुगोल र रसुवालीका आँखा पढ्न भ्याए। 

पछिल्लो पटकको उनीहरुको लामो यात्रा 'ड्रिमल्याण्ड रारा'मा हो। गत बुद्ध पूर्णिमाका दिन बुलेटमा हुँइकिएका उनीहरु ५ औं दिन राराताल पुगे। रारामा त्यस अघि मोटर बाइक पुगेको थिएन। उनीहरुले किनारमा ३६ वटा बाइक लहरै कुदाए।

ताल माथिको मुर्मा टपबाट एकै फ्रेममा पुरै राराको तस्बिर खिच्न सकिन्छ। त्यहाँबाट रारामा नजर दौडाए उनीहरुले। फर्कनु अघि मूर्माटपको विद्यालयका विद्यार्थीलाई व्याग, डटपेन, कापी, टुथ पेष्ट, ब्रस, कपडा लगायत सामान बाँडे। त्यस अघि उनीहरुले सिञ्जा भ्याली, जुम्लाको एउटा विद्यालयमा पनि सहयोग गरेका थिए। 'टुथपेष्ट कहिल्यै नदेखेका बच्चाले त दिनेवित्तिकै टुथपेष्ट खाइदिए', क्लबका अध्यक्ष प्रकाश लिम्बुले नमिठो यथार्थ सुनाए।  

सहयोगी मन भएका युवा छन् क्लबमा। १२ वैशाखको भुइँचालोपछि राहत वितरणमा धेरै दिन जुटेका थिए।

घुम्ने मन घुमिराख्छ। एक जुनिमा नेपाल घुमेर सकिँदैन। घुम्ने ठाउँ धेरै छन्। नेपाल जता हेर्‍यो उतै राम्रो छ। बर्खा लगत्तै घुम्ने ठाउँ रोज्दैछन्। उनीहरु कि त सुदूरपश्चिमको आध्यात्मिक गन्तव्य खप्तड पुग्नेछन् या लोकमार्ग भएर हलेसी, भोजपुर, हिले हुँदै धरान निस्कनेछन्।

क्लबका शाखाहरु आ–आफ्नै किसिमले पनि यात्रा गर्छन। ट्रोपर्स पोखराका सल्लाहकार नरजंङ थापा योजना सुनाउँछन्, 'बर्खापछि हामी कालापानी जाने छौं।'

बाइकर्सहरु घुमफिर संस्कृतिमा टेवा पुर्‍याउँदै छन्। आन्तरिक पर्यटनका लागि यो सुखद उपलब्धी हो। बुलेट यात्राको सृङखला बढ्दै जाओस्, शुभकामना! 

प्रकाशित: १५ श्रावण २०७३ ११:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App