२३ श्रावण २०७७ शुक्रबार
अन्य

कविता लेख्न बिम्ब कुर्छु

रोहन क्षेत्री

नयाँ दिल्लीमा बस्दै आएका रोहन क्षेत्री नेपाली मूलका भारतीय कवि हुन्। उनको पहिलो कविता संग्रह 'स्लो स्टारटल'ले दि (ग्रेट) इन्डियन पोएट्री कलेक्टिभको उदाउँदा कवि पुरस्कार अर्थात् 'इमर्जिङ पोयट्स प्राइज' प्राप्त गरेको छ। क्षेत्रीसँग स्क्रोल डट इनका लागि रोहिणी केजरीवालले गरेको कुराकानीको सम्पादित तथा अनुदित अंश :

तपाईंको संग्रहमा दुईखालका विषय आइरहन्छन्। स्मृति र स्ववास्तविकीकरण। स्मृतिमा देखिएका, सुनिएका वा महसुस गरिएका अतीत हुन्छन् भने स्ववास्तविकीकरणमा तपाईं हुर्केको, संसारलाई बुझेको जस्ता कुरा कवितामार्फत् थाहा पाएको सन्दर्भसँग सम्बन्धित छ। के तपाईं यसमा सहमत हुनुहुन्छ?

तपार्इंले ती दुई विषय दोहोरिएको देख्नुभएको चाखलाग्दो कुरा हो। स्मृति अवश्य हो। यो पुस्तकको खास विषयवस्तु नै स्मृतिसँग सम्बन्धित छ। यसमा हामीले सम्झेको कुरा, छोडेको कुरा वा संक्षिप्तमा रूपान्तरण भएको कुरा छ। पुस्तकमा दुईखालका धार छन्। छोटा कविताहरूले विशेष स्मृति वर्णन गर्छन् र त्यसवरपर नै घुम्छन्। अलि लामा खालका कविताहरूले सम्भि्कएका स्मृतिमा खेल्ने प्रयास गर्छन्।

तपाईंले यो पुस्तक आफ्ना हजुरबुवालाई समर्पण गर्नुभएको छ। उहाँले तपाईंको जीवनका साथै लेखनमा पनि ठूलो भूमिका खेल्नुभएको छ। के उक्त स्मृति तपाईंसम्म पुगेको उहाँको सक्कली अनुभव वा कथा हुन् त?

मेरो लेखनका सुरुवाती खोजहरू मेरो हजुरबुवाको मृत्युसँग सम्बन्धित छ। त्यो मेरो घरमा भएको पहिलो मृत्युको घटना थियो। त्यसले म बच्चा अवस्थामा हुँदादेखि नै गहिरो छाप पारेको छ। त्यसैले प्राकृतिकरूपमै, मैले कविता लेख्न सुरु गर्दा स्वतः हजुरबुवातर्फ बढी ढल्किएको थियो। त्यो सम्भवतः उहाँको विरासत, उहाँको ख्याति, दयालुपना, परिवारसँगको सम्बन्ध, एउटा मानवको रूपमा उहाँको कमजोरी र उहाँको मृत्युसम्मको साक्षी भएकाले पनि हुन सक्छ। उहाँ एक जटिल प्रकृतिको मानिस हुनुहुन्थ्यो। यसमा उल्लेख गरिएका धेरैजसो कुरा मेरो आफ्नो स्मृतिभन्दा पनि अरु मानिसले उहाँबारे गरेका कुरा हुन्।

तपाईंले बच्चै हुँदादेखि नै कविता लेख्न सुरु गर्नुभएको हो?

मैले करिब १४ वर्षको उमेरदेखि नै कविता लेख्न सुरु गरेको हुँ। मैले अंग्रेजी कक्षामा पढेको कुरा सम्भि्कनका लागि पनि यसो गरेको हुँ जस्तो लाग्छ। मलाई शब्दहरू एकदमै मन पर्छन्। महŒवपूर्ण लाग्ने शब्दहरूबाट कविता लेख्न मलाई एकदमै मन पर्छ।

तपाईंको कवितामा उल्लेख गरिएका घटनाहरूको टिपोट कतै राख्नुभएको थियो कि ती सबै स्मृतिकै आधारमा लेखिएका हुन्?

मैले कहिले पनि टिपोट बनाएको थिइनँ। त्यो सम्भव छ कि छैन भन्ने पनि मलाई थाहा छैन। तर, मैले जे लेखेको छु, त्यो केही वर्षअघिदेखि लेखिरहेको कुरा हो। सम्झनाहरू समयक्रमसँगै प्रशोधित हुँदै जाने रहेछन्। घटनाहरूका पनि तह हुने रहेछन्, सबैका कविता हुँदैनन्। 

तपाईं र तपाईंको कविता लेखनयात्राको बारेमा केही भनिदिनोस् न?

यो खासमा कवितामात्र भन्दा पनि साहित्यसँगको साक्षात्कार अथवा गोप्य भेट हो। म कालिम्पोङमा पढ्दा एकजना निकै रमाइलो अंग्रेजी शिक्षक हुनुहुन्थ्यो। सम्भवतः उहाँले पढाएको 'दि ओल्ड म्यान एन्ड दि सी'ले मेरो जीवनको बाटो नै परिवर्तन गराइदियो र म कविता लेखनमा आएँ। विद्यालय शिक्षा पूरा भएपछि मैले थप साहित्य अध्ययन गर्न थालेँ। मेरो जीवनमा गिन्सबर्ग, बिट्स, कोर्सोलगायतका कविताले गहन ढंगमा प्रवेश गरेका छन्।

तपाईंका कविताहरू व्यक्तिगत छन् र इमानदार पनि। ती कविताले रसिला बिम्बसहित कथा भनिरहेका हुन्छन्। तपाईंले यस्तो कसरी लेख्न थाल्नुभयो? तपाईंको लेखन कुन कविबाट प्रभावित छ?

मेरो शैलीमा मैले पढेका धेरै कविहरू र तिनका कवितासँगै उनीहरूको भोगाइको प्रतिध्वनि हुन्छ जस्तो लाग्छ। म सधैँ संवादात्मक हुन्छु र बिम्बहरूबाट कथा भन्छु। पछिल्लो समयमा मैले आवाज र संगीतमा ध्यान दिन थालेको छु। पछिल्लो सात वर्षमा लेखेको कविताको पुस्तकले यो प्रगतिलाई प्रतिबिम्बित गर्छन् भन्ने मेरो विश्वास छ। मलाई प्रभाव पार्ने कविहरू धेरै छन्। लेरी लेभिज, ज्याक गिल्बर्ट, फ्रान्ज राइट, एलिस ओस्वाल्ड, अरबिन्द कृष्ण मेहरोत्रा, रिल्के, फिलिप लिभाइन, रिम्बाउड, रेमन्ड कार्भरलगायतका कविताबाट म निकै प्रभावित छु।

के तपाईंले लेखनका अन्य विधामा पनि हात हाल्नुभएको छ?

अवश्य। मैले कवितासँगै केही आख्यान पनि लेखेको छु। मैले भर्खरै एउटा उपन्यास लेख्न सुरु गरेको छु।

तपाईंलाई किन कविता प्राकृतिकरूपमै आउँछ जस्तो लाग्छ?

कुनै पनि कुरा सहजै र प्राकृतिकरूपमा आउँदैन। म हरेक दिन कविता लेख्दिनँ। म बिम्ब कुर्छु। कुनै घटनाले सिर्जना गर्ने आकस्मिक भाव कुर्छु। पहिलो पंक्ति फुर्नुअघि आउने तरंग कुर्छु। म बिस्तारै सिर्जना हुने प्रक्रिया मन पराउँछु। कविता लेख्न म हतारिन्नँ।

तपाईंले धेरै अनलाइन कविता जर्नल पनि प्रकाशित गर्नुभएको छ। तपाईंका सिर्जनालाई अस्वीकार गरिएको हो कि प्रकाशन संसार तपाईंका लागि उदार भएको हो?

मैले म्यागेजिन, पुरस्कार र फेलोसिपजस्ता कुराबाट अस्वीकार पाएको छु। अस्वीकार नभएको भए मैले के गथर्ें होला? मसँग अझै पनि कविताहरू यत्रतत्र छरिएका छन् र मलाई ती सबै राम्रा छन् जस्तो लाग्छ। एकपल्ट प्रकाशित भएपछि कुनै पनि कुरा संशोधन गर्न निकै गाह्रो हुन्छ।

नयाँ प्रेम

ग्रिष्मको खडेरीको तापको झिलमिलमा

आधा दिन हिँडेकी स्त्रीजस्तो

 

मरुभूमिदेखि जोडी भाँडोमा पानी भर्न कुवासम्म

र, निकै ढिलो पेटमा कुनै आघात महसुस गर्छिन्

 

जहाँबाट प्यास बालुवामा चुहिन्छ

पीडामा उनले त्यसलाई रित्याउन सुरु गर्छिन्

 

अर्को भर्नलाई, यसरी नै जमेको क्षण

उनको बर्बादीको, सानो हुरी

 

खुम्चिएको अर्धचन्द्रलाई विक्षिप्त पार्दै

र कुनै फलबिनाको फगत रित्तो लामो समय।

अनुवाद :  शिक्षा रिसाल

 

प्रकाशित: ८ श्रावण २०७३ १३:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App