१६ चैत्र २०८० शुक्रबार
अन्य

उत्तरार्द्धमा उचाइ चुम्दै तारा

काठमाडौं- अन्तर्राष्ट्रिय पदकका हिसाबले भारोत्तोनल नेपालको सबैभन्दा सफल खेलमा पर्दछ। दक्षिण एसियाली खेलकुद (साग) का अधिकांश संस्करणमा भारोत्तोलनबाट नेपालले पदक जित्दै आएको छ।

भारोत्तोलनलाई सफल खेलको सूचीमा पुर्‍याउन योगदान गर्नेमध्ये भलिबलबाट खेलजीवन सुरु गरेकी तारादेवी पनि एक हुन्। १७ वर्षअघि काठमाडौंमा आठौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) हुँदा उनी महिला भलिबल टोलीको बन्द प्रशिक्षणमा परेकी थिइन्। तर, तेक्वान्दो खेलाडी प्रमिला थापाको सुझावमा फलाम उचाल्ने खेलमा लागेपछि उनको करिअर नयाँ मोडमा हुइँकिन थाल्यो।

घरेलु प्रतियोगितामा अपराजित तारादेवीले भारतमा गत फागुनमा सम्पन्न १२ औं सागमा पहिलोपटक महिला भारोत्तोलन समावेश गरिँदा ७५ केजी माथिको तौलसमूहमा कांस्य पदक जितिन्।

२०५८ पुसबाट भारोत्तोलन प्रतिस्पर्धामा औपचारिक सुरुआत गरेकी उनले पहिलोपटक नै स्वर्ण पदक जितेकी थिइन्। त्यसयता उनले सबै घरेलु प्रतियोगितामा स्वर्ण पदक जित्दै आएकी छिन्।

नेपाल प्रहरीकी तारादेवी पा“च वर्षयता लगातार 'स्ट्रोङ्गेस्ट वुमन' घोषित हुँदै आएकी छन्।

पल्सर स्पोर्टस अवार्डमा वर्षको उत्कृष्ट महिला विधा जितिसकेकी तारादेवी यसपटक पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेकी छन्। नेपालगन्जमा २०६८ सालमा दक्षिण एसियाली भारोत्तोलन च्याम्पियनसिप हुँदा त्यहाँ स्वर्णपदक जित्ने एक्लो नेपाली खेलाडी थिइन्। गतवर्ष उनले थाइल्यान्डमा भएको एसियाली महिला भारोत्तोलन च्याम्पियनसिपमा ७५ केजीमाथि स्न्याच, क्लिन एन्ड जर्क र कुल गरी तीनवटैमा कीर्तिमान बनाएकी थिइन्। उनले स्न्याचमा ७१ केजी, क्लिन एन्ड जर्कमा ९५ केजी गरी कुल १ सय ६६ केजी उठाएर आफ्नै कीर्तिमान तोडेकी थिइन्।

प्रकाशित: ४ श्रावण २०७३ ०३:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App