१६ चैत्र २०८० शुक्रबार
अन्य

सहरको फोहोर सडकमा

झापा- सहरलाई सुन्दर र सफा पार्न भन्दै बर्सेनि धेरै बजेट खर्चिने नगरपालिकाहरूले फोहोर जथाभावी फ्याँक्नेक्रम अझै रोकेका छैनन्। कहिले खोलामा अनि कहिले मानव बस्तीनजिकै फोहोर फ्याँकेर संवेदनहीनता देखाएका झापाका अधिकांश नगरले अहिले ज्यादती झन् चर्काएका छन्।

केही दिनयता बिर्तामोड नगरपालिकाले सहरमा संकलन भएजति सबै फोहोर सडक किनारामै थन्क्याइरहेको छ। मेचीकै सर्वाधिक जनघनत्व रहेको र उत्तिकै व्यस्त रहने सहरमा पर्ने  बिर्तामोडमा दैनिक १५ मेटि्रकटन फोहोर उत्पादन हुने नगरपालिकाले जनाएको छ। तर, दिनहुँ यति ठूलो परिमाणमा उत्पादन हुने फोहोरको सुरक्षित व्यवस्थापनबारे चाहिँ नगरले गम्भीर बेवास्ता दर्शाइरहेको छ।

 यतिबेला बिर्तामोड नगरले पूर्व–पश्चिम राजमार्गको फुटपाथमा फोहोर फ्याँक्दै आएको छ। मुक्ति चोकबाट पूर्वतिर लाग्दा सडकको बायाँ खण्डको लामो क्षेत्रमा अहिले नगरको फोहोर थन्क्याइएको छ। कनकाई, मनमोहन र बीएन्ड सी अस्पतालनजिकै रहेको बाटोमा आवतजावत पनि अधिक हुन्छ। नगरले त्यही ठाउँमा फोहोर थुपारिरहेको छ। नगरले यसलाई 'गहिरो जमिन पुर्ने' काइदाका रूपमा अर्थ्याउँदै आएको छ।

तर, सडकमै जथाभावी फोहोर फ्याँक्दा उत्पन्न हुने दुर्गन्ध र त्यसको असरबाट पीडित हुने सर्वसाधारणको मर्काबारे चाहिँ नगरले केही नसोचेको स्थानीयबासी बताउँछन्।

'झापाकै अरू सहरमा विभिन्न संघ–संस्थाले राजमार्ग किनार सफाइ गरेको समाचार सुनिएको छ,' बिर्तामोडकै बासिन्दा हेमन्त पौडेल भन्छन्, 'हाम्रो नगरले चाहिँ आफैं सडक किनारमा फोहोर थुपारिरहेको छ।' उनका अनुसार सहरमा फोहोर उत्पादनको कारण लगातार थपिँदै गएको छ। तर, त्यसको व्यवस्थापनबारे चाहिँ कसैले चासो देखाएका छैनन्। त्यसैले पनि समस्या सिर्जना गरेको उनको भनाइ छ।

नगरको प्रशासन फाँटका कर्मचारी मेघराज बास्तोलाले बिर्तामोड, शनिअर्जुन र कनकाई नगर मिलेर संयुक्त रूपमा ल्यान्डफिल्ड साइड बनाउने योजना बनाइरहेको तर बनाउन जमिन फेला नपरेको बताए। यद्यपि, झापाका प्रत्येक नगरहरूले वर्षौंदेखि 'जमिन खोजिरहेको' तयारी जवाफ दिने गरेका छन्।

नयाँमात्रै हैन, नगरपालिका घोषणा भएको दशकौं भइसक्दा पनि झापाका नगरहरूले फोहोर व्यवस्थापनको चुनौती झेल्ने भरपर्दो प्रबन्ध गर्न सकेका छैनन्।  झापाका मेचीनगर, भद्रपुर, दमकजस्ता पुराना र बिर्तामोड, कनकाई, शनिअर्जुनलगायत नयाँ नगरपालिकामा पनि फोहोर व्यवस्थापनको उपाय खोजिएको छैन। सम्भाव्यताको अध्ययनबिना जग्गा छनौट गरिएपछि ल्यान्डफिल्ड साइड बनाउन नगरपालिकाहरूले खरिद गरेका जमिन उपयोगहीन बन्न पुगेका छन्।

०५४ सालमा स्थापना भएको मेचीनगर नगरपालिकाले ल्यान्डफिल्ड साइडका लागि भनेर वर्षौंअघि मेचीनगर–२ मा ३ बिघाभन्दा बढी जमिन खरिद गरेको छ। तर, बाक्लो बसोबास क्षेत्रनजिकै र खोलानजिकै परेका कारण स्थानीयबासीले त्यहाँ बनाउन दिन मानेनन्। अहिले नगरपालिकाले काँकडभिट्टाको भान्साखोला टोलनजिकै फोहोर फाल्दै आएको छ। दशकभन्दा लामो अवधिमा पनि नगरले फोहोर व्यवस्थापनको प्रभावकारी उपाय खोज्न सकेको छैन।

जग्गा भएको ठाउँमा ल्यान्डफिल्ड साइड बनाउन नमिल्ने, मिल्ने ठाउँमा जमिन नपाइने भएपछि फोहोर जथाभावी फ्याँक्न नगरपालिका लागेका छन् । पूर्वकै पूरानो भद्रपुर नगरपालिका स्थापना भएको सय वर्ष नाघिसकेको छ। सय वर्षमा नगरमा घर थपिए। सहरलाई चाहिने अन्य पूर्वाधार ठडिए। तर, भद्रपुरमा फोहोर व्यवस्थित गर्न ल्यान्डफिल्ड साइडचाहिँ बन्न सकेको छैन। नगरमा दैनिक ठूलो परिमाणमा उत्पादन हुने फोहोरलाई नगरपालिकाले कहिले खोला किनारमा, कहिले खाली ठाउँमा बिसर्जन गर्दै आएको छ।

दमक नगरको अवस्था पनि उस्तै छ। प्रधानमन्त्री केपी ओलीको गृहनगरमा यसपटकको बजेटमा धेरै योजना परे। भ्यु टावरदेखि औद्योगिक करिडोरसम्म, आकासे पुलदेखि रंगशालासम्म। तर, नगरको फोहोर व्यवस्थापननिम्ति अत्यावश्यक मानिएको ल्यान्डफिल्ड साइडका लागि भने नगरमा कुनै सुरसार छैन।

प्रकाशित: ३० असार २०७३ ०७:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App