२५ असार २०७७ बिहीबार
अन्य

सुदूरको साहित्यिक धरोहर

राज्यले नागरिक र समाजका लागि आधारभूत आवश्यकताको सहज पहुँच र सही वितरण गरिदिनुपर्छ । पढ्न हिँडेको विद्यार्थीलाई समयमा किताब नपाउने, बिमारी परेको मानिसले औषधिमूलोबिना मर्नुपर्ने, हिँड्नलाई बाटो नहुने अनि गरिखानलाई उपाय सुल्झाउन नसक्ने सरकार, सरकार नभएर नागरिकहरूका लागि बोझ हुन्छ ।

हामी नेपाली सदियौँदेखि राज्यले ‘केही नगरिदिएको’ अवस्था भोगेर बाँचिरहेका छौँ र सरकारलाई सरापेर बस्ने नियतिबाट उम्कन सकेका छैनौ । यति हुँदा–हुँदै पनि हामीले के ग¥यौँ त राज्यका लागि ? यो प्रश्नतिर हामी कहिल्यै फर्केर हेर्ने फुर्सद निकाल्न खोज्दैनौ । तर, एउटा संस्था जो दशकसम्म लडिबुडी गर्दै उम्रियो । केही सक्षम, केही असक्षम नेतृत्व झेल्दै  र नवनिर्माण गर्दै राज्यको आसा गरेर बस्यो । निरासा हात लाग्ने अवस्था देखेपछि ऊ ‘उदास’ भएन र कस्यो कम्मर।

कैलाली बहुमुखी क्याम्पसका पिएन रामनरेश ओझा जस्ताले गोजीबाट झिकेर दिएको ११ सय ११ रूपैयाँ जस्तै हजारौँ सुदूरपश्चिमबासीको सद्भाव र सहयोगले आज सुदूरपश्चिममा आधा करोडको तीन तले साहित्यिक भवन बनेको छ ।

साहित्य अझै पनि समाजमा ‘अनुत्पादक’ क्षेत्र भनेर हेपिने विषयमा पर्छ । राजधानीको ‘गुटिय’ साहित्यिक खेती बाहेक मुलुकको मोफसलमा साहित्यले त्यति गहिरो पकड अझै बनाइसकेको मानिँदैन । र, राज्यका निकायले तुलनात्मकरूपमा कम महŒव दिने क्षेत्र पनि साहित्य नै हो । त्यसैले होला साहित्यिक व्यक्तित्व र संस्थाका मन ढकमक्क भए पनि जीवन अझै भताभुङ्ग जस्तै लाग्छन् । खासगरि मोफसलमा । किनकि त्यहाँ साहित्यको गतिलो खेती अझै हुन सकेको छैन वा गरिने गरेको छैन । त्यही क्षेत्रमा लागेको सुदूरको एक संस्थाले एक आना पैसाबिना साहित्यको भवन, त्यो पनि तीन तले ! बनाउने योजना बुन्नु भनेको फलामकै चिउरा चपाउनु सरह हो । अर्थात ‘कागजको डुङ्गामा सागर तर्ने मुर्खता’ जत्तिकै हो भन्दा अतियुक्ति नहोला ।

झलनाथ खनालको प्रधानमन्त्रित्व कालमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको एक टोली राजधानी पुग्यो । विभिन्न व्यक्ति, संस्था र सरकारसँग भेटेर आफूले बनाएको ‘दुस्साहसपूर्ण’ महŒवकांक्षी योजना प्रमलाई सुनाउने कुरा भन्दा मलाई ‘कागजको डुङ्गामा सागरको सफर’ गर्ने योजना जस्तै लागेको थियो । तर, त्यो उत्कट चाहना, लगाव र सक्रियता यति गहिरो थियो कि जहाँ आसाका किरणहरू पनि चियाइरहेको भान हुन्थ्यो ।

हुन पनि साहित्यकार भावनाको घोडमा सवार हुन अलि बढी नै सिपालु हुन्छन् । त्यो घोडाले कहिले गजवको सिर्जना दिन्छ त कहिले थप भावुकता । कैलाली बहुमुखी क्याम्पस धनगढीका पियन रामनरेश ओझा जस्ता पात्र सुदूरपश्चिमाञ्चल साहित्य समाजलाई ‘दुस्साहसिक’ यात्राका प्रेरणाका स्रोत भएको दृष्टान्त समाजका अध्यक्ष रामलाल जोशी सुनाउँछन् । ओझाजस्ता सयौँैको सद्भावले सुदूरपश्चिमाञ्चल साहित्य समाजलाई सपना साकार पार्ने प्रेरणा मिलेको थियो । र, सम्भव भयो साहित्य समाजको तीन तले ‘साहित्य सदन’ । ‘एक हातले दिँदा अर्को हातले थाहा नपाओस्’ भन्ने सिद्धान्त बोकेका बद्री भण्डारीहरूले बैँक र बाटोमै बोलाएर ‘घरमा थाहा पाए किचकिच हुन्छ’ भन्दै जब थपी थपी अढाइ लाखसम्म चन्दा दान गरे साहित्य समाजको ‘दुस्साहसी’ सपना साकार भयो । दान र निर्माणमा सुदूरपश्चिमेली कति उदार छन् भन्ने कुरा समाजको नवनिर्मित भवनले नै ऐना झैँ छर्लङ्ग गरी दिएको छ । कुनै दाताकहाँ टोली पुग्दा नबोली स्वइच्छाले दिइने दान उत्साहको ठूलो स्रोत रहेछ सुदूरपश्चिम ।
  

उसोे त साहित्य समाजको भवन निर्माणका लागि २०६० सालमा राष्ट्रकवि माधव घिमिरेले धनगढीमा शिलन्यास गरेका थिए । बिडम्बना ‘साहित्य सदन’मा एक इँटा पनि थपिन पाएन । साहित्यिक गोष्ठी र समारोह गर्न पनि कुनै रुख वा दाताको आश्रय लिनुपर्ने अवस्थाको साहित्य समाजले चानचुने आँटले त्यो साकार गर्न सम्भव पनि थिएन । त्यही अवस्थाका कारण ६ वर्षसम्म शिलान्यास गरिएको जगमा एउटा इँटा थप्ने आँट कसैले गरेन । बरु प्रज्ञा प्रतिष्ठानको धनगढीमा रहेको जमिनमा मुक्त कमैयाले कब्जा जमाए । साहित्य समाजको वर्तमान नेतृत्वले त्यसैको एक किनारामा मुक्तकमैयालाई मनाएर थोरै जमिन साहित्य समाजको भवनका लागि माग्यो । उनीहरूले सहृदयका साथ त्यो स्थान दिए ।
समाजको २०६६ साल पुस महिनामा भएको अधिवेशनबाट आएको नेतृत्वले भवन निर्माण सुरु ग¥यो । जसले साहित्यमा समर्पित युवाहरूको काँधमा समाजको अभिभारा सुम्पिएको थियो । उनीहरूले ‘फलामको चिउरा सरी’ भवन निर्माणको यात्रालाई अगाडि बढाए । साहित्य समाजको घर चन्दा उठाएर बनाउनु कल्पना जत्तिकै थियो । त्यही अपत्यारिलो सपना आज समाजले यथार्थमा परिणत गरेर  देखाएन मात्रै हरेक कक्षहरू स्थापित र अग्रज साहित्यकारहरूको नामबाट नामाङ्करण गरेर स्रष्ठालाई  अमर राख्ने कामको समेत थालनी गरेको छ । अनि नागरिकस्तरबाट साहित्यिक संस्थाको तीन तले भवन सम्भवतः मुलुकमै पहिलो हुनुपर्छ । यो सबै सम्भव हुनुको पछाडि भाषा, साहित्य, कला र संस्कृतिले समृद्ध सुदूरपश्चिमा रहेका उदार मनहरूले गरिदिएको साहित्य समाजको बुझाइ छ ।

सरकारसँग ‘जनताको सक्रियतामा सरकारको सहभागिता’ खोज्न आएको साहित्य समाजको टोली त्यो अपेक्षा लिएर आएन । जनताले आफ्नै हिम्मत, सक्रियता र इमान्दारिताले गरेको सकारात्मक कार्यमा राष्ट्र प्रमुखको सहभागिता खोज्न राजधानी आइपुग्यो । तत्कालीन समाजका अध्यक्ष जोशी, सल्लाहकार वाशुदेव पाण्डे, बद्री विनाडी, सचिव हरिकृष्ण, कोषाध्यक्ष तीर्थराज पाण्डेयहरूले प्रफुल्लताका साथ राष्ट्रपतिलाई उद्घाटनको निम्तो दिँदा तत्कालीन राष्ट्राध्यक्ष रामवरण यादव  समेत गर्ववान्वित हुनु सिंगो सुदूर हासेँ झैँ लाग्थ्यो । अझ भनौ सदियौँदेखि राज्यले दूरत्वको व्यवहार गर्दै आएको र स्वघोषित विद्वानहरूले उपेक्षा गरेको सुदूरपश्चिम सकारात्मक सिर्जना र निर्माणहरूमा अग्रणी छ भन्ने सन्देश राष्ट्रप्रमुख सपक्ष दिइरहेको भान हुन्थ्यो ।

‘मेरो पद सानो छ । तलब कम छ । तर हजुर ! भाषा, साहित्य, संस्कृतिप्रति मेरो पनि स्नेह छ ।’ भन्दै पिएन ओझा जस्ताले गोजीबाट झिकेर दिएको ११ सय ११ रूपैयाँ जस्तै हजारौँ सुदूरपश्चिमबासीको सद्भाव र सहयोगले आज सुदूरपश्चिममा जुन आधा करोडको साहित्यिक भवन बनेको छ त्यो मुलुककै लागि अनुकरणीय बन्नुपर्छ । ती दानवीरले दिएको रकमलाई संसारभरकै अंकले गुणन गरे पनि कम पर्ने पे्ररणा हामीले सारा देशलाई दिन सक्यौँ भने मुलुक हामी आफै निर्माण गर्ने बाटो देखाउन सक्छौँ । र, सदियौँदेखि अपहेलित, उपेक्षित र हेयले हेरिने सुदूरभूमि पुज्य र सम्मानित हुने पक्का छ । विडम्बना ‘केन्द्रिकृत’ र ‘कारोबारमुखी’ बन्दै गएको आजको केन्द्रीय साहित्यिक र बौद्धिक जमातले यस्ता विषयहरू ओझेल पार्ने दुस्साहस गरिरहने छन् । त्यस्ता अनुहारहरूको पहिचान र आफ्नो समाजमा अनुकरणीय काम गर्ने साहित्य समाजजस्ता व्यक्ति–संस्थालाई काँध हाल्ने काम स्थानीय सञ्चारकर्मी, बौद्धिक जमात र भद्र नागरिकहरूको पनि हो । यदि हामीले अरूले गरेको राम्रो र सकारात्मक कर्मलाई उचित सम्मान दिन जानेनौ भने हामी न त आफू प्रगतिको पथमा लम्कन सक्छौँ न त समाजलाई त्यो बाटोमा लाग्ने प्रेरणा दिन सक्छौँ ।

त्यसैले सुदूरपश्चिमाञ्चल साहित्य समाजले गरेको अनुकरणीय कदम अनुशरणीय छ भन्ने सन्देश हामीले सारा देशलाई दियौँ भने मुलुकभर तमामौँ सुदूरपश्चिमाञ्चल साहित्य समाजहरू जन्मनेछन् । त्यसो भएमा आफ्नो आँगन सफा गरिदिन, शौचालय बनाइदिन र धाराको पानी थापेर खान पनि सरकारको मुख ताक्ने प्रवृति निरुत्साहित भएर जानेछ । जसले जनतालाई स्वाबलम्बी, स्वाधिन र आत्मबलयुक्त बनाउन मद्दत गर्नेछ । अनि हामीले सदाबहार सरकार र राज्यलाई सरापेर बस्ने नियती धोइनेछ । अनि सिर्जना हुनेछ सुन्दर समाजको निर्माण हाम्रै प्रयास र प्रयत्नले ।
थयनष्जयतष्लिभ२नmबष्।िअयm  

 

प्रकाशित: १० असार २०७३ १२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App