१६ मंसिर २०७९ शुक्रबार
विचार

मोटोपन व्यवस्थापनका उपाय

शारीरिक वजनको कारकका सम्बन्धमा सोधिने प्रश्नको सरल उत्तर भनेको चाहिने भन्दा अत्यधिक खान्की खाँदा मानिस मोटो हुन्छ अनि आवश्यकता भन्दा कम भोजनले व्यक्ति दुब्लो हुन्छ भन्ने हो। तर धेरै खाने व्यक्ति निकै पातलो देखिनु अनि तुलनात्मरूपले कम खाने मानिस निकै भारी पाइनुको उत्तर सहज छैन। भोजनको मात्रा र मानिसको आकारबीच तालमेल नहुनुमा मेटाबोलिज्मलाई दोष दिन्छन् संयुक्त राज्य अमेरिकास्थित क्लिभल्यान्ड क्लिनिकका इन्डोक्राइनोलोजिस्ट मार्सियो ग्रिब्लर। आखिरमा मेटाबोलिज्म भनेको के हो अनि यसले कसरी हाम्रो मोटोपनमा असर पार्छ त ? यस्तो महत्वपूर्ण शारीरिक संयन्त्रलाई काबुमा ल्याउन संभव छ त ? भन्ने दिशामा भएका अध्ययन अनुसन्धानको विवेचना यो आलेखको लक्ष्य हो।  

शरीरलाई चलायमान राख्न चाहिने ऊर्जा उत्पादन अनि अत्यावश्यक जैविक निर्माण विनिर्माणका लागि कोस (सेल) मा हुने रासायनिक प्रक्रियालाई समष्टिगतरूपमा मेटाबोलिज्म भनिन्छ। हामीले खाएको खान्की शरीरमा पुगेपछि चरणबद्ध रासायनिक प्रक्रिया सुरु हुन्छ अनि उक्त रासायनिक प्रतिक्रियाको सहजीकरणका लागि दर्जनौँ इन्जाइम्सले भूमिका खेल्छन्। शरीरमा उत्पादन हुने हर्मोनहरूको संकेतले कुन इन्जाइम कति मात्रामा उत्पादन गर्ने भन्ने विषयलाई नियन्त्रण गर्छ। सबैको शरीरमा हर्मोनको उत्पादनमा समानता नहुने भएकाले सबै मानिसको मेटाबोलिज्म फरक हुन्छ। व्यक्ति नै पिच्छे मेटाबोलिज्म रफ्तार फरक हुने भएकाले उत्तिकै खान्की खाने अनि समान प्रकृतिको शारीरिक परिश्रम गर्नेमा एउटा मोटो अनि अर्को पातलो हुनु स्वाभाविक हुन्छ। हर्सपावर र आकारप्रकार समान भएका कारहरूमध्ये एक लिटर पेट्रोलले एउटा २० किलोमिटर कुद्ने र अर्को १० किलोमिटर मात्र हि“ड्ने तथा पुरानो हुँदै गएपछि गाडीको क्षमतामा व्यापक परिवर्तन आउने दृष्टान्तस“ग तुलना गर्न सकिन्छ मानवीय मेटाबोलिज्मलाई। व्यक्ति पिच्छे फरक हुने र पाको हुँदै गएपछि मेटाबोलिज्मको गति फरक हुनु स्वाभाविक हुन्छ।  

उदारीकरण र भूमण्डलीकरणपछि मानिसको आम्दानी बढ्यो। भुखमरी समस्याका रूपमा रहेन। खान नपाएर नागरिक मरेको सुनिन्न। क्रय क्षमता बढेपछि, खाद्य सामग्रीमा पहँुच सहज छ। मानिसले आवश्यकता भन्दा अधिक खान थाले। व्यक्तिको औसत वजन बढ्यो। खानाको तरिका मिलाउन नसक्दा मोटोपनाका कारण मुटु रोगी तथा चिनी बिरामीको संख्या बढ्यो। विगतमा खाना नपाएका कारण मरेको खबर बन्थ्यो भने अहिले मोटोपनका कारण सिर्जित रोगका कारण मर्ने मानिसको आकडा आकासिएको छ। जीउ घटाएर स्वस्थ बन्नु चुनौती भएको छ। वजन नियन्त्रणमा राख्न खाना नियन्त्रण गर्ने, जिमखाना धाउने अनि स्वस्थ खान्कीमा जोड दिनेको संख्या बढ्दो छ। उल्लिखित विधिहरू मोटोपन घटाउन सहायक हुने भए पनि त्यसलाई कसरी व्यवस्थित र दिगो बनाउने भन्ने सम्बन्धमा विशेषज्ञ सुझाव र आवधिक अन्वेषण पस्कन आवश्यक छ।  

मोटाइमा व्यक्तिको जेनेटिक्स, हर्मोन, खानपिन अनि वातावरणले महत्वपूर्ण भूमिका खेल्छ। पुर्खाबाट आएको जेनेटिक्स फेर्न सक्ने कुरा भएन अनि हर्मोनको वैज्ञानिक अन्वेषण प्रारम्भिक चरणमा रहेकाले त्यसलाई केन्द्रमा राखी मोटाइ नियत्रण सम्भव देखिएन। वजन घटाउन सबैभन्दा सहज उपाय भनेको खान्की र शारीरिक परिश्रमबीचको समन्वय हो। खानाको मात्रामा कटौती गर्दा छोटो समयमै व्यक्तिको तौल निकै घट्छ। तर ह्वात्तै खान्की घटाएर पातलो हुँदा उक्त वजन नियन्त्रण क्षणिक मात्र हुने अनि व्यक्ति केही समयपछि नै पहिलेको भन्दा पनि अझ बढी मोटो हुन्छ। कम खाना खाइ छोटो समयमा धेरै वजन घटाइ ‘द बिगेस्ट लुजर’को उपाधि पाएका मानिसलाई केही वर्षपछि सर्वेक्षण गर्दा उनीहरूलाई पहिलेको भन्दा अझ मोटाएका पाइएको छ। तसर्थ, वजन नियन्त्रणमा तातै खाउँ जली मरौँ भन्ने सिद्धान्त लाभप्रद् नहुने बरु तौल कम गर्न दीर्घकालीन लक्ष्य लाभप्रद् हुन्छ। खान्की कम गरी छिटो दुब्लाउनेहरूको वजन नियन्त्रण किन अल्पकालीन भयो भनी गरिएको बायोलोजिकल उत्खननले अनौठो परिणाम दिएको छ।  

भोजनपछि तृप्त महसुस गर्नुमा लेप्टिन हर्मोनले भूमिका खेल्छ भने पेट खाली भएपछि भोको अनुभव हुनुमा ग्रेलिन हर्मोनको। ‘द बिगेस्ट लुजर’को बायोलोजिक परीक्षण गर्दा हर्मोनको उत्पादनले फरक चरित्र देखायो। पेट टन्न भएपछि स्वाभाविकरूपले मात्रा कम हुनुपर्ने लेप्टिनले उनीहरूको शरीरमा विपरित चरित्र देखाउने र खानापछि बढ्नुपर्ने लेप्टिक हर्मोनको मात्रा झन घट्ने गरेको देखिएको छ।  

पेट टन्न भए पनि उनीहरूले सधैँ भोको महसुस गरे, खाना देख्नेबित्तिकै खाइहाल्ने गरे। पेटको आकार अझ बढ्यो अनि खान्कीमा आशक्ति देखाउन थाले। परिणामस्वरूप उनीहरू पहिले भन्दा अझ बढी खान थाले, अनि विगत भन्दा अझ मोटा भए। तसर्थ, भोको र अघाएको महसुस गराउने हर्मोनहरूलाई आफ्नो चरित्रबाट विचलन हुन नदिन वजन घटाउँदा लामो समयको लक्ष्य राख्न आवश्यक छ। अर्को महिना २० किलो घटाएपछि तौललाई सन्तुलनमा राख्न खोज्नु भन्दा दुई वर्ष लगाएर बिस्तारै वजन नियन्त्रण गर्न खोज्नु न्यायोचित हुन्छ।  

एक्कासि तौल घटाउन खोज्दा भविष्यमा प्रतिकूल परिणाम देखिने भएपछि विशेषज्ञले वजन नियन्त्रण गर्न दिएका सल्लाहको चर्चा सान्दर्भिक छ। कुन खान्की स्वस्थ छ अनि कुन खाना आफूले सहजै लामो समय खान सकिन्छ त्यसको छनोट गर्नुपर्छ। जतिसुकै स्वस्थ भए पनि पटक्कै मन नपर्ने भोजन लामो समय खान नसकिने यथार्थलाई समयमै बुझी अर्को विकल्प खोज्न उचित हुन्छ। एकै पटक धेरै कोच्नु भन्दा खान्कीको मात्रा घटाउनु लाभप्रद् छ। भोको महसुस नभई प्लेट नलिन सल्लाह दिन्छन् विज्ञहरू। कसरतले वजन घटाउने होइन बरु स्वस्थ रहन र वजन बढ्न दिँदैन भन्ने यथार्थ महसुस गरी दिनको झण्डै आधा घण्टा शारीरिक व्यायाम गर्नु फाइदाकारक हुन्छ।  

तौल नियन्त्रणका लागि मानसिक तनाव प्रत्युत्पादक हुने भन्छ अन्वेषणले। तनावका बखत कोर्टिसोल भन्ने हर्मोनको उत्पादन बढ्छ। स्ट्रेस हर्मोनका रूपमा चिनिने कोर्टिसोलको उत्पादन आकासिएपछि इन्सुलिनको मात्रा बढ्छ अनि रक्त प्रणालीमा ग्लुकोजको मात्रा घट्छ। रगतमा ग्लुकोजको मात्रा घट्दा हड्ग्री हर्मोन ग्रेलिनको परिणाम उकासिन्छ। अनि व्यक्तिले भोको महसुस गर्छ, शरीरले खाना खोज्छ। अन्ततः शरीरको साइज बढ्छ।

निन्द्रा र शारीरिक तौलबीच विपरित सम्बन्ध देखियो। दिनको ६ घण्टा पनि नसुत्दा कोर्टिसोल हर्मोन बढ्ने भएकाले त्यसको असर अन्ततः पाइन्टको कम्मर साइजमा देखिनु अस्वाभाविक भएन।  

उही खान्की कुन समयमा खायो भन्ने कुराले जीवको तौलमा कुनै असर पार्छ कि पार्दैन भन्ने सम्बन्धमा नर्थ वेस्टर्न विश्वविद्यालयका प्राध्यापक जोसेफ बास नेतृत्वको समूहले गत महिना जर्नल साइन्स मा एक रिसर्च आर्टिकल प्रकाशित गरे। दिनमा क्रियाशील रहने मानिसले कुनै पनि खाना दिन वा रात कुन बेला खायो भन्ने कुराले शारीरिक वजनमा भूमिका खेल्ने कुरालाई मोलिकुलर लेभलमा दर्शाए डा. बासले। दिनमा खान्की खाँदा हाम्रो शरीरमा क्रेटिन काइनेज बि भन्ने इन्जाइमको उत्पादन बढ्छ। यसको उत्पादन उकासिँदा क्रिएटिनलाई क्रिएटिन फोस्फेटमा परिवर्तन गर्ने चक्र क्रियाशील हुन्छ। क्रिएटिन चक्रका क्रममा शरीरको सञ्चित ऊर्जा भने नास हुन्छ, उक्त प्रक्रियामा पैदा हुने ऊर्जाले शरीरको तापक्रम केही बड्छ। शरीरमा सञ्चित हुने खान्की थर्मोजेनेसिसमार्पmत नासिन्छ, मोटाउनबाट हामी जोगिन्छौँ। स्टार्ट गरेर नहाँकेको गाडीमा तेल खर्च हुने तर कुनै सकारात्मक काम नभए जस्तै क्रिएटिन साइकलले ऊर्जा मात्र खपत गर्ने भएकाले शरीरको वजन बढ्न दिँदैन। तर रातमा खाना खाँदा क्रिएटिन चक्र अस्तित्वमा नहुने भएकाले अँध्यारोमा खाएको खान्की खपत हुनुको बदला सिधै शरीरमा सञ्चित हुन्छ। तसर्थ, स्वाभाविकरूपले उज्यालोमा सक्रिय हुने मानिसका लागि सूर्यास्तपछिको खान्की घातक देखियो। डा. बास नेतृत्वको समूहले नक्चर्नल मुसामा गरेको अनुसन्धानले वर्षौँदेखि भनिँदै आएको सुत्ने बेला खाना नखानु भन्ने भनाइलाई वैज्ञानिकरूपले पुष्टि गरेको छ।  

उल्लिखित विशेषज्ञ राय र वैज्ञानिक अन्वेषणलाई प्रशोधन गर्दा मोटो शरीरलाइ साइजमा ल्याई स्वस्थ बन्न दीर्घकालीन लक्ष्यका साथ स्वस्थ खान्की, नियमित कसरत, रात्रिकालीन विश्राम तथा दिनमा मात्र खाना खाने बानी बसाउन आवश्यक छ। मोटो मानिसलाई मुटुको समस्या, चिनी रोगलयायत विभिन्न रोगले सताउने भएकाले समयमै आफ्नो वजन नियन्त्रण गरी दीर्घजीवी बनौँ।  

प्रकाशित: २९ कार्तिक २०७९ ०६:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App