“महावीरशमशेर बडाहाकिम भएर इलाम आएपछि संवत् १९९४ तिर बनाएको दरबार जीर्णोद्धार गर्न सकिन्थ्यो तर २०७४ सालमा प्रशासनले भत्काएपछि म रोएँ”– प्राध्यापक युद्धप्रसाद वैद्यले भन्नुभयो।
ब्रिगेडियर (सहायक रथि) कृष्ण भण्डारीलगायतका व्यक्तिको सक्रियतामा इलाम बजारछेउमा रहेको माइस्थान मन्दिर परिसरमा नेपाली सेनाका तोप पुनः राखिएको छ, यो वर्ष फूलपातीका बेला। जंगी निसान र तोप मात्र छैन यहाँ। इलामको जीवन्त इतिहास छ, सेनाको संरक्षणमा रहेको माइस्थान मन्दिरमा हालै राखिएको शीलालेखले आँखीझ्यालको काम गरेको छ। इलाम कुनै बखत पूर्वाञ्चलकै महत्वपूर्ण केन्द्र थियो। श्री ३ जंगबहादुर राणाका ज्वाइँ गजराजसिंह थापा संवत् १९१९ मा बडाहाकिम भएर आएपछि उनले चियाको खेती सुरु गरे। चीनका सम्राटले जंगबहादुरलाई उपहारमा पठाएको बिउबाट हजारौँ बिरुवा हुर्काएर सोक्तिमलगायतका विभिन्न ठाउँमा रोपियो। संवत् १९३५ मा राणा शासकले ब्रिटेनबाट ल्याएर कारखाना स्थापना गरे। नेपाली कांग्रेसको सरकार छँदा भारतीय मूलका व्यापारीलाई हजारौँ रोपनी जमिनमा व्याप्त चियाबगान अत्यन्त सस्तोमा हस्तान्तरण गरियो। त्यो इतिहासको अवमूल्यन थियो।
सुगौली सन्धि भन्दा पहिले पूर्वमा टिस्टासम्म थियो नेपाल, पश्चिममा सतलज पन्जाब० सम्म थियो। नेपाली सेनाको छाउनी थियो, नागरी (हाल दार्जिलिङ जिल्ला)भन्ने डाँडामा। सन्धिपछि नेपाल खुम्चेर मेची–महाकालीसम्म मात्रै सीमित भयो। सेनालाई दार्जिलिङबाट सारेर करफोकमा राखियो। त्यहाँबाट नामसालिङ र अन्त्यमा माइस्थानमा ल्याइयो।
पृथ्वीनारायण शाहले इलामलाई नेपालको मानचित्रमा समेटे, संवत् १९३१ मा। ४६ वर्ष बडाहाकिम भएर इलाममा युवावस्था बिताएका हेमदल थापा (जंगबहादुर राणाका सम्धि)लाई बिर्सिएमा त्यो कृतध्न चरित्र ठहरिनेछ। इतिहासका “टापटिपे” विद्वान्हरूले गहिराइसम्म पुगेर खोज्ने हो भने इलाम हरेक दृष्टिले उच्च छ।
सुन्दरीजल (काठमाडौँ) को आर्सनलमा बनेका बन्दूक र तोपहरू राख्न बजारबाट नजिकै सिलखाना (हतियार भण्डार) बनाइएको र फौजलाई परेड तथा कवाज खेलाउन संवत् १९३९ मा टुँडिखेल बनाइयो। नरेन्द्रनाथ बाँस्तोला, उहाँका पिता टंकनाथ र बाजे काशीनाथले इलामको उत्थानमा धेरै काम गरे। पञ्चायतकालमा इलामबाट संसद् (राष्ट्रिय पञ्चायत) पुगेका खम्बसिंह बस्नेत, भगवतीदास श्रेष्ठ, सोमनाथ बास्तोला र सरस्वती राईलगायतका व्यक्तिको योगदान कम छैन।
इलाममा पछिल्ला वर्षमा विकृति बढ्यो। इतिहासको अपमान गर्नेहरू थपिए। राजा वीरेन्द्रले विश्वमै इलामको चिया पुर्याउन धेरै चासो देखाएको र झापा–इलाम–पाँचथर–ताप्लेजुङ जोड्ने मेची राजमार्ग बनाएको इतिहासको हेक्का नराख्नेहरूले चोक बजारमा रहेको वीरेन्द्रको सालिक भत्काए। सालिक भत्काउन अगाडि सर्ने केही मूर्ख मनुवाहरूको नाम पंक्तिकारको डायरीमा सुरक्षित छ। गवेषकहरू भन्छन्– पश्चिमको तानसेन जस्तै धर्म र संस्कृतिमय छ इलाम। धार्मिक र आध्यात्मिक चेतना व्यापक छ तर “ईश्वर छैनन्” भन्ने तालिममा हुर्केका र माओ, लेनिन, स्टालिन आदिलाई देवता मान्नेहरू बढ्दै जाँदा बितेका तीस रबत्तीस वर्षमा इलाममा जे/जति प्रगति हुनुपथ्र्यो, त्यो भएन। व्यक्ति, सामाजिक संघ÷संस्था, किसान र व्यापारीलगायत विभिन्न पेसामा आबद्ध व्यक्तिहरूका प्रयत्नले अर्थतन्त्र चलायमान छ तर इलामे जनताकै मत पाएर सभामुख र प्रधानमन्त्री भएका व्यक्तिले पनि इलामबासीको पीडा बुझेनन्। जनताको पीडा बुझेका भए एकजनाले पनि घर त्यागेर अरूका देशमा दास हुनुपर्ने थिएन। ज्युँदो लास हुनुपर्ने थिएन।
चार नदी (माई, जोगमाई, पुवामाई र देउमाई) द्वारा सिँचित इलामका हरेक नागरिक आफ्नौ गाउँठाउँमा केही गर्न चाहन्छन। कृषि, प्रकृति पर्यटन, जलस्रोत आदि मात्र होइन, दार्जिलिङ र नैनीताल जस्तै हावापानी भएकाले स्तरीय स्कुल–कलेज र सुविधा सम्पन्न अस्पतालहरू निर्माण गर्न सकिन्छ यहाँ। दुर्भाग्यको कुरा, चुनाव जितेर काठमाडौँमै रमाउने प्रवृत्तिका जनप्रतिनिधिले त्यतातिर ध्यानै दिएनन्। सत्ता र प्रतिपक्षको अनन्त झगडा, दलहरूको स्वार्थ एवं वडा तहसम्म जनता विभाजित हुँदै जाँदा हजारौँ सपनाको हत्या भयो।
समुद्री सतहबाट १४० मिटर उचाइमा सुरु भएर ३६३६ मिटर उचाइसम्म फैलिएको इलाम जिल्लामा राम्रा सडक र उद्योगमा मात्र ध्यान दिने हो भने धेरै काम जनस्तरबाटै हुन सक्ने स्थानीय बासिन्दा बताउँछन्। पंक्तिकार अहिले पैतृक थलो इलाममै भएकाले प्राध्यापक लेखक, विद्यार्थी, व्यापारी, किसान, कर्मचारी, राजनीतिकर्मीलगायत विविध तह र तप्काका मानिससँग सम्वाद भइरहन्छ। धेरैको गुनासो छ– इलामले गतिलो, त्यागी, विकासवादी, इमानदार, पराक्रमी, निस्वार्थ र उदार नेतृत्व नै पाएन। बितेका तीसरबत्तीस वर्षमा ज–जसले संसद्मा प्रतिनिधित्व गरे, उनीहरू दलीय स्वार्थबाट बाहिर आउनै सकेनन्।
इलाम टुँडिखेलमा बसिरहेका केही युवालाई सोध्दा उनीहरूले भने– “हाम्रा बुबा आमाहरू कांग्रेस, कम्युनिस्ट, राप्रपा जस्ता पार्टीको कुरा गर्नुहुन्छ। हामीलाई मतलव छैन। परिश्रम गर्न हजारौँ युवक, युवती इलामबाट विदेश गएका छन्। उनीहरूको पसिनाले हजारौँ नेता पाल्नुपर्ने रु त्यस्तालाई पाल्ने कि फाल्ने हो, अंकल नै विचार गर्नुहोस् त।” उनीहरूको मनमा ज्वालामुखी छ। क्रमशः लाखौँ युवा यसरी नै नयाँ ढंगले सोचिरहेका छन्। दलहरू आफ्ना अतीतबाट पाठ सिकेर भविष्यमा जनप्रिय हुन चाहँदैनन्। लाग्छ, धेरै जिल्लामा उनीहरूलाई तीसरपैंतीस वर्षमुनिका युवाले लखेट्न सक्छन्। नेता निषेधित क्षेत्र लेखिएको तुल टाँगेर विराटनगरमा केही युवाले कहिलेसम्म ठगिने भन्दै रोष प्रकट गरेका खबर सार्वजनिक भएको छ। आउँदा दिनमा यो क्रम देशभर फैलिन सक्छ। दलहरू वृद्धाश्रम बनेका छन्। नेतालाई फोकटमा पाल्नुपर्दा युवा रिसाएका छन्। यो यथार्थ बुझेर वृद्ध र नालायकहरूले उम्मेदवारी फिर्ता लिए हुन्छ।
इलाम मात्र होइन, सबै ठाउँमा युवाले राजनीतिक, आर्थिक, सामाजिकलगायत परिवर्तन खोजेका देखिन्छ। सडेको घिउ, डढेको चिनी, अयोग्य ‘कुक’, कुहिएको पिठो भएको फोहरी ठाउँमा आकर्षक स्वादिलो र ताजा मिठाइ बन्दैन। नवीन उत्साहजनक युगको प्रारम्भ संभव छैन। दक्षिण अफ्रिकाका अश्वेत नेता डेसमण्ड टुटुको कथन घतलाग्दो छ– जंगलमा बाघ र मुसा दुवैको उत्तिकै हक लाग्छ। बलियोले निर्धोलाई बहुमतले अल्पमतलाई र धनीले दरिद्रहरूलाई हेप्छन् भने त्यो डेमोक्रेसी होइन।
नेपालमा बहुमतको निरंकुशतन्त्र (टाइरेनी अफ मल्टिच्युड) मात्रै छ। वडादेखि सिंहदरवारका घोडासमेत बहुमतको दम्भले दौडेका छन्। पृथ्वीनारायण शाहका सालिक फुटाउने र भत्काउन आदर्श दिने जस्ता व्यक्तिहरू राष्ट्ररथ हाँक्ने सारथि हुन खोजेका छन्। पसलमा कपडा किन्न जाँदा व्यापारीहरू ‘सबै भन्दा राम्रो’ देखाउने गर्छन्। इलाम नेपालको सन्दर्भमा सर्वोकृष्ट जिल्ला भन्छन्, राजधानीका कैयन् जान्ने/सुन्नेहरू। बाँकी जिल्लामा जस्तै यहाँ पनि अनेक समस्या छन् तर इतिहासको उत्खनन र अन्वेषण गर्ने गवेषकहरूका लागि यो ठाउँ उदाहरणीय बन्न सक्छ।
प्राचीन ग्रीक सभ्यतामा इतिहासलाई “ज्ञान” भन्ने अर्थमा परिभाषा गरिएको पाइन्छ। महाकाली नदीको मुहानबारे कुनै जानकारी नभए पनि दिल्लीको दबाबमा मध्यरातमा संसद्बाट महाकाली सन्धि पारित गर्नेहरूले राष्ट्रवादका कुरा गरेझैँ इतिहासको अध्ययनबेगर जब राष्ट्रिय सुरक्षा, परराष्ट्रनीति, गृहनीति, अर्थनीति आदि बनाइन्छ, त्यो बालुवामाथि बनेको महल जस्तै हुन्छ। इतिहास मेटेर सत्यको घाँटी रेटेर विदेशीलाई भेटेर शत्रु रिझाउने र जनता कुँज्याउने उनै भ्रष्ट, पतीत तथा राष्ट्रघाती प्रवृत्तिलाई जनताले नै पुल्पुल्याइरहने हो भने नेपाल अझै कैयन् वर्ष अस्थिरताको सिकार बनिरहने निश्चित छ।
प्रकाशित: ४ कार्तिक २०७९ ००:५० शुक्रबार