१५ मंसिर २०७९ बिहीबार
विचार

चाडपर्वलाई रमाइलो बनाउने खानपान

नेपाली समाजमा दसैंतिहारलयागतका चाडपर्वहरू नजिकिइसकेका छन्। नेपाली संस्कार–संस्कृति, चाडपर्व, रीतिरिवाजले नै हामीलाई नेपाली पहिचान प्रदान गरेका हुन्। हाम्रो बाह्य रूप भारतीय, पाकिस्तानी, बङ्गलादेशी अथवा धेरै देशका मान्छेसँग मिल्छ तर हामी ती सबैभन्दा फरक छौं किनभने हाम्रो भाषा, संस्कार–संस्कृति, चाडपर्व, रीतिरिवाज आफ्नै प्रकारका छन्। त्यसैले हाम्रो पहिचानमा हाम्रा चाडपर्वहरूको भूमिका अहम् छ।

उचित खानपानले चाडपर्वलाई थप ऊर्जावान् बनाउँछ। हामीले सधैं खान्छौं। चाडपर्व नआए पनि शरीरलाई चाहिने खानाको मात्रा पुर्‍याएकै हुन्छौं। जब चाडपर्व आउँछन्, अनि हामीले खानाको मात्रा बढाउन थाल्छौं। शरीरलाई चाहिने जति मात्र खाना भए पनि हुन्छ। यद्यपि चाडपर्वमा ऋण खोजेरै भए पनि चाहिनेभन्दा बढी खाना खान्छौं। अरू बेलाभन्दा चाडपर्वमा बढी मिठो बनाउनुपर्छ भनेर भातमा धेरै घिउ हाल्छौं, तरकारीमा धेरै तेल–मसला हाल्छौं। अरू बेला जति मासुले भान्सा अघाउँथ्यो, चाडपर्वमा हरेक छाक साबिकभन्दा दुईतीन गुणा बढी मासु भुट्छौं अनि कोची कोची खान्छौं। मासु मात्र खाएर कहाँ चाडपर्व रमाइलो हुन्छ र ? मासुलाई सितन बनाएर रक्सी खान्छौं। रक्सी पनि अघिपछिभन्दा दुईतीन गुणा बढी नै खान्छौं, अचेत हुने गरी। एकैछिन रक्सीको तालमा ठुला ठुला गफ गर्छौं, अनि आधाराततिर अचेत भएर सुत्छौं। भोलिपल्ट उठ्दा सूर्यदेव आकाशमाथि पुगिसकेका हुन्छन्। खानपान बिग्रन्छ, निद्रा बिग्रन्छ, मन बिग्रन्छ, शरीर बिग्रन्छ अनि दुख्न थाल्छ टाउको। चाडपर्वमा हामी जति उत्साहित हुन्छौं, उति नै खानपान बिगार्छौं।

यो त चाडपर्वमा हाम्रो खानपान कसरी बिग्रन्छ भन्ने साङ्केतिक सन्दर्भ मात्र भयो। स्वास्थ्य नबिग्रने गरी चाडपर्वलाई मनोरञ्जनपूर्ण तरिकाले मनाउनु सधैंको आवश्यकता हो। अरू बेलाभन्दा चाडपर्वकै बेला हाम्रो स्वास्थ्य बिग्रिराखेको हुन्छ, कारण खानपान र जीवनशैली नै हो। हामी सबैले चाडपर्व धुमधामका साथ मनाऔं तर यसरी मनाउँदा स्वास्थ्यको ख्याल गरौं। अनावश्यक तडकभडक नगरौं। जाँडरक्सी–जुवातासले मात्र रमाइलो हुन्छ भन्ने मनोभावना त्यागौं। मासुबिना पर्व, भोज हुँदैन भन्ने विचार त्यागौं। सबैभन्दा महत्वपूर्ण कुरा पुराना संस्कारयुक्त प्रचलनहरूलाई जोगाऔं अर्थात् हाम्रो संस्कारसंस्कृतिलाई नभुलौं। संस्कृतिको नाममा विकृति ननिम्त्याऔं।

मासु कम, शाकाहार बढी गरौं

चाडपर्व आएसँगै हाम्रो भान्सामा मासुका परिकार बढी पाक्न थाल्छन्। मासुमा राम्रा तŒव पनि धेरै हुन्छन् तर यसको बढी प्रयोगले स्वास्थ्यमा नकारात्मक मात्र प्रभाव पर्छ। मासुमा प्रोटिन त पाइन्छ तर पाचन प्रक्रियालाई चाहिने रेसादार, छोक्राबोक्रा नहुने र बोसो बढी हुने भएकाले पच्न गाह्रो हुन्छ। परिणामतः कब्जियत हुन्छ। मासु खानै पर्ने पनि होइन र नखाई नहुने पनि होइन। स्वास्थ्यका हिसाबले मासु नखाने बाटोमा लाग्नु उपयुक्त हुन्छ तर खानै परे पनि प्रशस्त हरियो सागसब्जी, गाजर, फलफूलसँग मिलाएर खाँदा जति हानी गर्ने हो त्यसबाट बच्न सकिन्छ।  

दसैंमा एक दिन खसी काटेर धेरै दिनसम्म खाने चलन छ। यसरी धेरै दिनसम्म मासु राखेर खानु स्वास्थ्यका लागि राम्रो हुँदैन। त्यसैले स्वास्थ्यका लागि मासुजन्य पदार्थ कम तथा शाकाहार भोजन बढी गर्नु नै उपयुक्त हुन्छ।  

ऋताहार, मिताहार र हिताहार  

प्रकृतिजन्य खाना नै स्वस्थ खाना हो। प्रकृतिले ऋतुअनुसार हितकर खाना प्रदान गरेको हुन्छ। हामीले बेसिजनका खाना, तरकारी, फलफूल खायौं भने त्यसले नकारात्मक असर गर्छ। त्यसैले ऋताहार अर्थात् ऋतुअनुसारको उत्पादन आहार गरौं। मिताहार अर्थात् ऋतुअनुसारको खाना पनि उचित मात्रा मिलाएर आहार गरौं। त्यसैगरी हिताहार अर्थात् आफ्नो शरीर, स्वास्थ्य, उमेर आदिको ख्याल गरेर हित गर्ने आहार गरौं। बेमौसमी खाना जति स्वादिलो र हेर्दा राम्रो देखिए पनि स्वस्थकर हुँदैन। अझै दसैंतिहारजस्ता चाडबाडमा स्वास्थ्यमा झनै ख्याल गर्नुपर्छ किनभने यस्तै रमाइलो अवसरमा हामीले स्वास्थ्य धेरै बिगार्छौं।

स्वादका पछि नलागौं

खाना जीवन निर्वाहका लागि हो। अचेल मानिस मिठो र जिब्राको स्वादका पछि दौडिरहन्छन्। बच्चाबच्चीहरू चाउचाउ, कुरकुरे, चिजबल, बन्द जुसजस्ता खानामा बढी लोभिएका पाइन्छन्। यसको कारण नै स्वाद हो। यस्तो खानेकुरा किन बढी स्वादिला हुन्छन् भन्ने कुरा बुझ्नु जरुरी छ। महिनौंसम्म प्याकेटमा बन्द गरेर पनि नबिग्रनु अनि स्वाद सधैं तेजिलो आइरहनुमा ती खानेकुरामा हालिएका रासायनिक पदार्थ अनि स्वादका लागि हालिएका अस्वस्थ मरमसला नै हुन्। यस्ता खाना स्वास्थ्यका लागि अत्यन्त अहितकर हुन्छन्। फेरि यस्ता खानेकुरा चाडबाडमै बढी खपत हुने गरेको देखिन्छ। त्यसैले चाडबाडमा यस्ता खानेकुराको प्रयोग नगरौं। बच्चाबच्चीलाई यस्ता प्याकेटिङ अस्वस्थ खानेकुराबाट टाढै राखौं। यस्ता खानेकुरा खानै पर्ने भएमा घरमै बनाएर खाऔं। त्यसैगरी चिल्लो, पिरो, अमिलो र तारेभुटेका खानेकुरा पनि मात्रा मिलाएर मात्र खानुपर्छ। पकाएर खाने खानेकुरामा पनि नुन, खुर्सानी, मसला र चिल्लो कम राखेर पकाउनुपर्छ। त्यसैले रोग लाग्न नदिन र लागेको रोगबाट मुक्त हुन बेलैमा विचार पुर्‍याउनुपर्छ।  

पानीको उचित सेवन गरौं

स्वास्थ्यका लागि उचित मात्रा पानीको सेवन गर्नु अत्यन्त महत्वपूर्ण हुन्छ। चाडपर्वमा अधिकांशले प्रोटिनजन्य खाना तुलनात्मक रूपमा धेरै खान्छन् तर पानी कम खान्छन्। पानीको कमीले शारीरिक स्फुर्ति, मानसिक शक्ति दुवैमा ह्रास आउँछ। बिहान उठ्नासाथ दुईतीन गिलास मन तातो पानी, दिनभरि पटकपटक अनि सुत्नुभन्दा अगाडि मन तातो पानी एक गिलास पियौं भने पानीको मात्र पुग्छ। चाडपर्वमा खाने, बस्ने, हिँड्ने ठेगान भएन भने स्वास्थ्यमा नराम्रो प्रभाव पर्छ।  

योजनामा चाडपर्व मनाऔं

नेपाली समाजमा चाडबाडको महत्व अत्यन्त ठूलो छ। लुगा किन्ने, मिठा परिकार खाने, नयाँ ठाउँमा घुम्ने, आफन्तकहाँ टीका थाप्न जाने, दक्षिणा दिनेजस्ता हरेक कार्य आर्थिक पाटोसँग जोडिएर आउने गर्छन्। चाडपर्व आउनुअघि कुनकुन शीर्षकमा कति र कसरी खर्च गर्ने भन्ने पूर्व योजना बनाउनु बुद्धिमानी हुन्छ। शारीरिक, मानसिक र आर्थिक रूपमा तयार भएर मात्र चाडपर्व मनाउनाले थप आर्थिक भार थेग्नुपर्दैन र चाडपर्व बोझिलो पनि हुँदैनन्। अझै घरमा कामको बाँडफाँड समेत गर्‍यौं भने यस्ता पर्वहरू झनै रमाइला बन्छन्। चाडपर्वमा भान्सामा धेरै समय बितेको हुन्छ। देशविदेश गएका परिवारजन, आफन्तजन घर फर्कने भएकाले भान्सा सधैं व्यस्त हुन्छ। भान्साको जिम्मेवारी महिलालाई मात्र दिनुभन्दा मिलेर खाना पकाउने, भान्सालाई स्वस्थ बनाउन केकस्ता खानेकुरा खाने भन्ने सल्लाह गर्ने हो भने चाडपर्व थप व्यवस्थित हुन्छन् अनि खाना पनि थप स्वस्थ बन्छ। सबैले खाइसकेपछि मात्र आमा दिदीबहिनीले खाने, उहाँहरूले रहेको खाना मात्र खाने जस्तो गरेको पनि भेटिन्छ। यो स्वास्थ्यका लागि हानिकारक छ। महिलाहरूमा पुरुषको तुलनामा ग्यास्ट्रिकको समस्या बढी देखिनुको एउटा कारण यो पनि हो। त्यसैले यस्ता चाडपर्वमा खाने खाना, गर्ने रमाइलोका विषयमा योजनाबद्ध छलफल हुनु जरुरी छ। यस्तो छलफलले चाडपर्वलाई थप स्वस्थ र रमाइलो बनाउँछ।

प्रयाप्त शारीरिक व्यायाम गर्ने

स्वास्थ्य कायम राख्न सघाउने विज्ञानसम्मत् विधि हो– व्यायाम। नियमित व्यायामले एकातिर शारीरिक स्वास्थ्य जोगाइ राख्छ भने अर्कातिर मानसिक रूपमा समेत सशक्त बनाउँछ। चाडपर्वमा आवश्यकताभन्दा बढी खानेकुरा खाइने हुनाले व्यायाम पनि अरू बेलाभन्दा बढी नै आवश्यकता पर्छ। चाडपर्वमा समय मिलाएर खेतबारीमा परिश्रमयुक्त काम गर्‍यौं भने शारीरिक व्यायामको मात्रा सिर्जनात्मक रूपमा पूरा हुन्छ। दसैंतिहारजस्ता चाडपर्वमा अरू बेलाभन्दा बढी खाना खाने तर शारीरिक अभ्यास कम गर्ने गरेको पाइन्छ। दिनभरि जुवातास खेल्ने, जाँडरक्सी खानेजस्ता काम गर्दा शरीरमा नकारात्मक स्वास्थ्य प्रभाव पर्छ। त्यसकारण स्वस्थ हुनका लागि पसिना निस्कने गरी प्रयाप्त शारीरिक अभ्यास गर्ने कुरामा कहिल्यै अल्छी नगरौं।

अध्ययनले भन्छ, अहिले खान नपाएर मर्ने मान्छे थोरै छन् तर धेरै खाएर अनि खान नजानेर मर्ने मान्छे करोडौं छन्। सन्तुलित भोजन नै जीवनलाई स्वस्थ बनाउने अनि चाडबाडलाई रमाइलो बनाउने प्रमुख अस्त्र हो। यहाँ प्रस्तुत गरिएका चाडबाडमा अपनाउनुपर्ने सन्तुलित भोजनसम्बन्धी विचारको सारलाई यसप्रकार बुँदागत रूपमा समेट्न छ:

- मांसाहार कम, शाकाहार बढी गर्ने

- रातो मासु र बढी चिल्लो नभएका परिकार बनाउने

- खानामा बजारमा प्याकेटिङ गरिएका चिजबिजलाई नसमेट्ने

- बजारमा पाइने कृत्रिम पेय पदार्थको सट्टा घरमै ताजा जुस बनाएर सेवन गर्ने

- भुटेका र तारेका खाना तथा मासुका परिकार कम बनाउने

- खानामा सलाद र फलफूल अनिवार्य रूपमा समावेश गर्ने

-बिस्तारै चपाएर खाने

- ऋतुअनुसारका खाना खाने

- आफ्नो स्वास्थ्यको ख्याल गर्दै शरीरलाई हित गर्ने मात्र खाना खाने

- शरीरका लागि आवश्यक पर्ने पानी मात्रा मिलाएर खाने

- अनिद्रा नबस्ने

- खानपान र चाडपर्वलाई रमाइलो बनाउनका लागि सार्थक योजना बनाउने

- दिनभरि रातभरि एकै ठाउँमा बसेर पानी पनि नखाई जुवाताजजस्ता खेल खेलेर स्वास्थ्यलाई बरबाद नपार्ने

- नियमित खानुपर्ने औषधि समयमै खाने, लामो यात्रा गर्नुपर्ने छ भने पर्याप्त पुग्ने औषधि लिएर हिँड्ने

- पर्व तथा भोजमा बनाइएका परिकार सकेसम्म कम खाने, घरमा बनाएका परिकारमा जोड दिने

- पसिना निस्कने गरी दैनिक व्यायाम र हिँडडुल गर्ने, घरायसी काम धेरै गर्ने

प्रकाशित: १५ आश्विन २०७९ ०६:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App