७ वैशाख २०८१ शुक्रबार
विचार

के राजतन्त्र फर्केला ?

गणतन्त्रले राष्ट्रिय आकांक्षा पूरा गर्न सकेन भने के हुन्छ ? जनता सन्तुष्ट भएनन् भने के हुन्छ ? राष्ट्रिय एकता, स्वतन्त्रता, सार्वभौमसत्ता, प्रगति, राष्ट्रिय सुरक्षा र स्थिरता खतरामा परेको अवस्थामा जनताले गणतन्त्रको विकल्प खोज्छन्। तसर्थ, घाम÷जून रहुन्जेल गणतन्त्र रहँदैन। जब जनता क्रुद्ध बन्छन्, त्यो बेला गणतन्त्रलाई जनताले फोहोर फ्ँयाक्ने गाडीमा हालेर मिल्काउँछन्।  

सन् १८१५ को फ्रान्सको राज्य क्रान्तिले गणतन्त्र ल्यायो, जनविश्वास आर्जन गरेन। सन् १६६० मा ब्रिटेनका केही नेताले गणतन्त्र घोषणा गरे तर जनताले स्वीकार नगर्दा दश÷एघार वर्षपछि राजतन्त्र पुनस्र्थापना भयो। कम्बोडियामा कम्युनिस्टहरूले अमेरिकी गुप्तचर संस्थाको मद्दतमा राजतन्त्र फ्याँकेर लाखौँ जनता मारे। त्यो टिक्न सकेन र राजतन्त्र पुनस्र्थापना भयो। स्पेन, इटालीलगायतका कैयन् राष्ट्रमा राजतन्त्र हटेपछि राष्ट्र संकटमा परेको ठानेर राजा, जनता र सेनाको संयुक्त प्रयासले राजसंस्था पुनस्र्थापना भएका उदाहरण छन् ।

अनन्त सम्भावना भएको नेपालले आउँदा पाँच वर्षमा ठूलो फड्को मार्छ भनेमा दुनियाँले पुनः पत्याउने आधार केही छ ? यो ‘नकारात्मक’ लाग्ने प्रश्नको ‘कस्मेटिक’ उत्तर हो– राजनीतिमा मात्रै स्थायित्व, इमान, मौलिकपन, देशभक्ति र पारदर्शी चरित्र विकसित भएमा साठी महिनामा हरेक नेपालीको हृदयमा आशा जगाउन सकिन्छ।  

जसले बितेका तीस वर्षमा पर्याप्त अधिकार, आर्थिक स्रोत र जनसमर्थन पाएर पनि राष्ट्र उठाउन सकेनन्, आज पनि उनीहरूलाई कुनै पछुतो छैन, किन ? पौराणिक कथाको अभिशप्त पात्र विरूपाक्ष जस्तो धर्तीमाथि टाउको देखाइरहेका यी नेताहरू न स्वतन्त्र विचरण गर्न सक्छन् न त पृथ्वीको गर्भमा विलुप्त हुन चाहन्छन्। हामी यी विरूपाक्षलाई जलसिँचन गरेर पापमोचन गर्ने प्रयत्न गर्दैछौँ। किन ? किन हामीलाई ग्लानि हुँदैन ?  

राजा वीरेन्द्रले २०४६ चैत २६ गते ‘राजनीतिक दलहरूमाथिको प्रतिबन्ध फुकुवा गरिएको’ घोषणा गर्दा रातिदेखि नै खुसी भएका लाखौँ युवा बत्तीस वर्षपछि आज अतीतको समीक्षा गरिरहेका छन्। तीमध्ये धेरैजसो त वृद्ध भइसके। २०४६ सालमा कांग्रेस र वामपन्थीका जो कार्यकर्ता थिए, उनीहरूमध्ये थोरै ‘सालिक’ भए। जसले यो लामो कालखण्डमा अर्बौँ रुपियाँ कमाए, उनीहरू दलका मालिक भए। सिंहदरवारका सिंह भए ।

उनीहरूलाई मालिक कसले बनायो ? जनताले। जनता बहुमतमा र कार्यकर्ता अल्पमतमा भए पनि मालिक वर्ग (नेतागण) उत्साहित छन्। नेताले अर्बौँ रुपियाँ कमाउँदा करोडौँ, लाखौँ फाइदा हुन्छ कार्यकर्तालाई। दर्जाअनुसार ‘जिताउरी’ (जित्नेले बाँड्ने बकस) पाउँछन्। के यही ‘जिताउरीतन्त्र’ जनताको जित हो ? राष्ट्र हारे पनि केहीलाई ‘जितेको’ दम्भ छ। घर जलाएर खरानीको नाफा जस्तो।  

धेरैलाई ‘राजावादी’ र ‘राजतन्त्रवादी’ बीचको अन्तर थाहा छैन। उच्चपदस्थदेखि मिडियाका कतिपय साहू मालिकसम्म पनि अल्मलिएका छन्। राजतन्त्रबारे पुस्तक र हजारौँ लेख लेखेको हुँदा यदाकदा पत्रकारहरू मलाई ‘तपाईँ त राजावादी हो नि’ भन्छन्। म उत्तर दिन्छु– म राजावादी (रोयलिस्ट) होइन, राजतन्त्रवादी (मोनार्किस्ट) हुँ ।’ यी दुई चिन्तनमा फरक छ ।

राजदरवारका एकजना सचिवले केही वर्षपहिले यस्तै प्रश्न गर्नुहुँदा मैले उत्तर दिएको थिएँ– “एउटा राजाको मात्रै हितका बारेमा सोच्नेहरू मात्र राजावादी हुन्। राजतन्त्रवादीहरू राजालाई ‘हेडमास्टर’ र राजतन्त्रलाई स्कुल ठान्छन्। हेडमास्टर आउँछन्, जान्छन्। स्कुल चिरकालपर्यन्त रहिरहन्छ, रहनुपर्छ ।” उहाँले पुनः प्रश्न गर्नुभयो–राजावादी र राजतन्त्रवादीको बखेडा झिकेर बस्दा अलमल हुन्छ। किन कुतर्क गर्नुहुन्छ ?

“विश्वको प्रचलन, इतिहास र विद्वान् राजतन्त्रवादीहरूका विचार अध्ययन गर्नुपर्छ। राजाका छेउमा गएर जिन्दावाद भन्नेहरूले वडा तहसम्म प्रबल संगठन बनाएको भए विचार, प्रशिक्षण र आत्मबलमा राजसंस्था अझ बलियो हुन सक्न्थ्यो। सचिवजीलाई चित्त दुख्ला, दलहरूको बहिखातामा सक्रिय कार्यकर्ताको रेकर्ड सुरक्षित रहन्छ ।

त्यस्तो ‘रेकर्ड’ तपाईँहरूसँग छ ? को कहाँ कसरी बाँचेको छ भनेर कसैले चासो नदेखाए पनि ‘राष्ट्र सर्वोच्च हुन्छ’ भन्दै राजतन्त्रात्मक प्रणालीमै जानुपर्छ भन्ने पक्षमा जो तर्कपूर्ण विश्लेषण गरिरहेका छन्, ती राजतन्त्रवादी हुन्। नियत असल होला तर विचारमा भिन्नता छुट्याउन नसकेर राजतन्त्रवादी र राजावादी एउटै हुन् भन्नेहरूले नै राजसंस्थाको अवमूल्यन गरेका छन् ।

राजतन्त्रवादी र गणतन्त्रवादीको वर्गीय चरित्र फरक हुन्छ। इन्टरनेसनल मोनार्किस्ट लिग (राजतन्त्रवादीहरूको विश्वव्यापी संगठन) भन्छ– राजतन्त्र धर्म–संस्कृति, सभ्यता, मौलिकपन, राष्ट्रिय एकता र राष्ट्रको सुदृढीकरणका लागि आवश्यक हुन्छ ।

अमेरिकी पत्रकार हिथर ब्रुक भन्छन्– राजतन्त्रलाई जनताले राष्ट्रको सामूहिक सम्पत्ति ठान्छन्। गणतन्त्रमा कुनै पनि दलले राजसंस्था जस्तो उदार भूमिका खेल्न सक्दैन ।

सन् १६०३ देखि १७१४ बीचको ब्रिटेनको गाथा लेखेका छन्– मार्क किस्लान्स्कीले। त्यसमा प्रथम स्टुअर्ट राजा जेम्सदेखिको कथा छ। दोस्रो स्टुअर्टवंशी राजा चाल्र्स (प्रथम) लाई सन् १६४९ मा हत्या गरेर ओलीभर क्रमवेलले एघार वर्ष गणतन्त्र चलाउन खोजे। जनताले विद्रोह गरेकाले पुनः राजतन्त्रात्मक प्रणालीमै फर्कियो ब्रिटेन। चाल्र्स प्रथमका छोरा चाल्र्स द्वितीयलाई जर्मनीबाट ल्याएर राजा बनाइयो। बाबुको हत्या भएपछि उनको ज्यान बचाउन जर्मनीमा लगेर लुकाइएको थियो ।

‘द क्विन : अ बायोग्राफी अफ एलिजावेथ सेकेन्ड’ ग्रन्थमा बेन पिम्लटको तर्क छ– “एलिजावेथ द्वितीयले विश्वका अनेक भूभागमा ब्रिटिस राजमुकुटको छायाँमा बस्ने सबैलाई माया दिएका कारण उनले ब्रिटेनको राष्ट्रिय एकता बचाउन अतुल्य योगदान गरेकी छिन् ।” चर्चेज अफ इङ्ल्यान्डकी प्रमुख र ब्रिटेन सेनाकी परमाधिपति एलिजावेथले सबै धर्म, संस्कृति, परम्परा मान्नेहरूप्रति कुनै भेदभाव गरेको सुनिँदैन।  

भर्नर बोग्डानर (ब्रिटिस राजनीतिशास्त्री) भन्छन्– दलहरूले आफ्ना दलको प्रतिनिधित्व र कार्यकर्ताको संरक्षण गर्छन्। समस्त जनता र राष्ट्रको अभिभावक राजसंस्था हो। किनभने त्यो दल, जात, गुट र घात÷प्रतिघातभन्दा माथि हुन्छ ।

जर्ज अर्बेल राजतन्त्रवादी लेखक हुन्। उनको ‘एनिमल फार्म’ उपन्यास जगत्प्रसिद्ध छ। उनी भन्छन्– “राष्ट्रलाई शान्त र स्थायी राख्न राजसंस्था नै चाहिन्छ ।” सन् १६५१ मा लिखित थमस हब्सको ‘लेभियाथान’ ग्रन्थ राजतन्त्रको महत्व बुझाउने कृति हो।  

सन् १६४२ देखि १६५१ सम्म चलेको ब्रिटेनको गृहयुद्धका बेला लेखिएको थियो, त्यो ग्रन्थ। लेखकको तर्कको निचोड छ– “राष्ट्र हाँक्न एउटा सबल राष्ट्रनायक चाहिन्छ ।” मान्छेको स्वतन्त्रता राष्ट्रहितका सामुन्ने तुच्छ हुन्छ किनभने राष्ट्र सर्वोच्च हुन्छ। चर्च ठूलो कि राष्ट्रनायक (राजा वा महारानी) भन्ने विवादले ब्रिटेन मात्रै होइन, सारा युरोपमा आगो सल्केका बेला उनले प्रष्ट लेखे– राष्ट्रनायकले मात्रै राष्ट्र र जनतालाई संकटबाट बचाउँछन्।  

यदाकदा प्रष्टवक्ता सज्जनहरू पनि दरवारको वक्रदृष्टिमा पर्थे। राजाले पनि भूल सुधार गर्नुपर्छ भन्छन् राजतन्त्रवादीहरू। राजावादीहरू जय÷जयकार गर्न मात्र पारंगत हुन्छन्। राजा चाल्र्स द्वितीयले ‘लेभियाथान’ ग्रन्थ मन पराए। मासिक दुई पाउन्डमा मज्जाले घर खर्च चल्ने त्यो युगमा वार्षिक एक सय पाउन्ड भत्ता दिएर राजाले हब्सलाई भने– तपाईँले जे राम्रो–नराम्रो देख्नुहुन्छ, प्रष्ट लेख्नुहोस्। तपार्इँ ‘रोयलिस्ट’ होइन, मलाई थाहा छ। राजसंस्थाको दिगो हित चाहने सुयोग्य राजतन्त्रवादी हुनुहुन्छ। तसर्थ, म तपाईँको कदर गर्छु ।

पहिलेको युगमा राजाका सचिव, सहयोगी र सल्लाहकारहरू योग्य मानिस चिन्थे। राजाका वरिपरि सुयोग्य मानिस छन् भने राजालाई वदनामीबाट बचाउँछन्। उनीहरू ‘उपराजा’ बन्न खोज्दैनन्। योग्यहरूलाई राजाका समीप पर्नै नदिने र आफ्नो चाकडी गरोस् भन्ने पनि सोच्दैनन्। राजतन्त्रवादीहरू संगठित, सुसंस्कृत, सक्षम भए मात्रै राजा र राजसंस्था बलियो हुने कुरा धेरै देशका राजदरवारका उच्च पदाधिकारीहरूले बुझेका पाइन्छ। नेपालमा योग्य, इमानदार, अध्ययनशील र सक्षम होइन, ‘भजनमण्डली’ तयार गर्ने प्रवृत्तिलाई राजदरवारकै कर्मचारीले मलजल गरे।  

ब्रिटेनको इतिहास पढ्दा त्यहाँको राजतन्त्र लोकप्रिय, सुप्रबल र कीर्तिमय– ओजस्वी हुनुको रहस्य रोचक छ। राजाका दरवारमा सुयोग्य जनताका तस्बिर पनि झुण्ड्याइएका छन्। हब्सको ठूलो तस्बिर झुण्ड्याएर राजा चाल्र्स द्वितीयले अगाध आस्था र सम्मान देखाए ।

ईश्वर, अदृश्य शक्ति र अद्यात्मका आलोचक एवं ‘मेटाफिजिकल विश्वास’ विरोधी थिए हब्स। यद्यपि राजसंस्थाका प्रबल हिमायती थिए। उनको तर्क छ– राजसंस्थाका लागि राष्ट्र र जनता नै शक्ति हो। यस्तै राष्ट्र र जनता एकताबद्ध गर्न राजसंस्था चाहिन्छ ।

माइकल वारेन ‘क्राइसिस’ पत्रिकाका प्रधानसम्पादक हुन्। उनले ‘म किन राजतन्त्रवादी हुँ’ (ह्वाइ आई एम अ मोनार्किस्ट) भन्ने पुस्तक लेखेका छन्। उनी भन्छन्– “हाम्रै अमेरिकामा पनि गणतन्त्रभन्दा राजतन्त्र राम्रो भन्ने धेरै छन्। राजतन्त्रवादी हुँ भन्न लजाउनु पर्दैन। गणतन्त्रवादीले साँघुरो घेरा बनाउँछन्, राजतन्त्रले सबैलाई समेट्छ। खुला दिलले समेट्ने प्रयत्न गर्छ ।” उनले टि.एस. इलिअटलगायतका प्रसिद्ध राजतन्त्रवादी साहित्यकारहरूको चर्चा गरेका छन्।  

सन् १७७६ मा ब्रिटेनबाट स्वाधीन भएको अमेरिकामा राजतन्त्रवादीहरूले संगठन बनाएका छन्। गणतन्त्रात्मक प्रणाली भएको अमेरिकामा ‘रिपब्लिकन’ दल राजतन्त्रप्रति कठोर छ तर ‘डेमोक्र्याट’ दल उदार छ। नेपालमा पनि धर्म–संस्कृति, परम्परा, राजतन्त्र सबैका समर्थकलाई ऐक्यबद्ध गराउन नेपाली कांग्रेसको स्थापना गरिएको थियो। कालान्तरमा त्यसमा विकार आयो। त्यो विकारले कांग्रेस सिकार बनेको छ ।

मुलुक, मुकुट र मुलुकी (जनता) बचाउन स्थापना भएको नेपाली सेनाका बारेमा धेरैलाई सेनाभित्रै भ्रम व्याप्त छ। राजा द्रव्य शाहको राज्यारोहण हुँदा वि.सं. १६१६ मा सेनाले सलामी अर्पण गरेको इतिहास छ। ४६२ वर्ष लामो यो इतिहास पढ्दा राजा, सेना र जनताको त्रिशक्तिबाट राष्ट्र संरक्षण, सम्वद्र्धन र सम्पोषण भएको पाइन्छ। तसर्थ, वर्तमान कालखण्डमा सत्यमाथि ग्रहण लागे पनि यथार्थमा नेपाली सेना पनि राजतन्त्रवादी हो।  

कृत्रिम गणतन्त्रवादी त्यहाँ पनि छन् तर महाभारतकालका राजाहरूले निर्धारण गरेका अतिरथि, महारथि, रथि, उपरथि, सहायकरथि पददेखि सेनाका हरेक चालचलन, संस्कार, व्यवहारमा राजतन्त्रकै झझल्को छ। ‘गणतन्त्रवादी’ हुन खोज्ने केही जर्नेलका पत्नीहरूलाई सिपाहीहरू ‘रानीसाहब’ भन्छन् र रानीसाहबहरू प्रशन्न हुन्छन्।  

२०६२÷६३ सालमा सेनाका उच्चपदस्थहरूले संघीयता, गणतन्त्र र धर्म निरपेक्षले नेपालको राष्ट्रिय एकतामा विभाजन ल्याउँछ, तसर्थ संविधान निर्माण गर्दा सेनाको भावनाको सम्मान गरियोस् भन्ने साहस मात्र गरेको भए बेथिति बढ्ने थिएन। संविधान त बन्यो तर स्थायित्व, शान्ति, राष्ट्रिय एकता र विश्वास भत्कियो। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा झैँ सैनिक मुख्यालयमा भाइरसहरू प्रबल भएमा त्यो ध्रुवीकरणले सेनामा ठूलो विभाजन ल्याउने सम्भावना छ। अहिले विवादमा रहेको नागरिकता विधेयकका बारेमा पनि सेनाको आधिकारिक धारणा के हो ? भन्ने धेरैलाई जिज्ञासा छ।  

सत्य बोल्न डराउने प्रवृत्तिका कारण कतिपय राष्ट्रमा संकट आमन्त्रण गर्न जिम्मेवार व्यक्तिहरू गैरजम्मेवार ढंगले बिक्री भएका उदाहरण छन्। राजसंस्था विदेशी धनको प्रलोभनमा पर्दैन। स्थायी शक्ति भएका कारणले राजसंस्थाले चुनावी, दलीय, जातीय र साम्प्रदायिक स्वार्थ पनि हेर्दैन। राजाले ‘सबैको’ हुने प्रण गरे भने सबैजना राजाकै हुन्छन्। तसर्थ, कथित राजावादीको क्षणिक नाराबाजी नसुनेर राष्ट्रवादी र प्रजातन्त्रवादीहरूलाई कदर गर्नुपर्ने आवश्यकता देखिन्छ। बितेका बाह्र÷तेह्र वर्षमा गणतन्त्रका नाममा बढेको बेथिति, विग्रह, विखण्डन र विभाजनमा विदेशी शक्ति मात्र जिम्मेवार छैनन्, आफूलाई राजावादी भन्ने तर कर्तव्य पालन नगर्नेहरू पनि उत्तिकै जिम्मेवार छन्।  

सफलता भाग्यको खेल, उपहार वा संयोग होइन। आत्मबल, कठोर परिश्रम, स्पष्ट लक्ष्य र मार्गचित्र, आत्मअनुशासनबेगर प्राप्त भएको सफलता बगैँचामा उडिरहेको सुन्दर पुतली हातमा आएर केही क्षण बसेझैँ क्षणिक हुन्छ। तसर्थ भाग्यवाद, निरर्थक प्रशंसा वा रमितेहरूको कौतुक खेल केवल आत्मरति हो ।

पांचाल देशका राजा द्रुपदका सुपुत्र तथा द्रौपदीका दाजु धृष्टद्युम्नलाई प्रधानसेनापति बनाइन्छ, महाभारत युद्धमा। भगवान श्रीकृष्णको तर्क अकाट्य थियो– युद्ध कौशल, तालिम, अनुशासन, चरित्र, साहस धेरैको बराबरी हुन सक्छ तर युद्ध जित्ने अठोट सबै भन्दा प्रबल छ, धृष्टद्युम्नको। उनले राजसभामा बहिनीको अपमान देखे। कौरवको कुकृत्य देखे। अत्याचार देखे। त्यसको प्रतिशोध लिएर युद्धमा पाण्डवसेनालाई विजयी गराउन उनी सफल हुनेछन् ।

धृष्टद्युम्नले कौरव पक्षका सेनापति द्रोणाचार्यको शिरच्छेद गरेपछि हत्प्रभ भएका सेना परास्त भए। ‘अश्वत्थामा हतोहतः’ (अश्वत्थामाको मृत्यु भयो) भन्ने खबर सुनेपछि द्रोणाचार्यले युद्धमा आफ्नै छोरा अश्वत्थामा मरेको ठानेर हतियार परित्याग गरेका थिए। वास्तवमा युद्धमा अश्वत्थामा नामको हात्ती मारिएको थियो ।

भनिन्छ, विवेकशील, चतुर, प्रतिभाशालीले हरेक पललाई ‘अवसर’ बनाउँछन्। भाग्यवादीहरू अवसर ढुकेर बस्छन्। दलहरू असफल भइसकेको, लाखौँ युवा जागेको, जनताले विकल्प खोजिरहेको, छिमेकी शक्तिहरूले नेपालको स्थायित्वमा आफ्नो सुदूर भविष्य गाँसिएको सत्य अनुभूत गरेको र ‘राष्ट्रनायक’ बाट मात्र राष्ट्र सुरक्षित रहन्छ भन्ने चेतना व्यापक छ। यस्तो स्थितिमा राजतन्त्र पुनर्बहाली राष्ट्र बचाउने अचुक विकल्प बन्न सक्छ।

प्रकाशित: १७ भाद्र २०७९ ००:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App