१९ मंसिर २०७९ सोमबार
विचार

निर्वाचनमा कसको कोसँग प्रतिस्पर्धा?

मोही माग्ने ढुंग्रो लुकाउने !

गएको शुक्रबार (२६ अगस्ट २०२२)को ‘द न्युयोर्क टाइम्स’ले पूरै एक पृष्ठको विचारप्रधान लेख प्रकाशित गरेको छ, मोदीको भारत त्यहाँनेर छ जहाँ विश्व लोकतन्त्र मरिरहेछ (मोदीज् इन्डिया इज ह्वेर ग्लोबल डेमोक्रेसी डाइज) ! यो लेखले रन्थन्यायो। यति ठूलो पत्रिकाले यस्तो महत्व दिएर छापेको लेखले दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको कुरा पनि संस्मरण गरायो। उनले त्यतिखेर भारतले आफ्नो राष्ट्रिय चिह्नमा ‘सत्यमेव जयते’ उल्लेख भए पनि छिमेकीहरूसँग ‘सिंहमेव जयते’ बनेको आरोप लगाएका थिए। त्यो आरोपले नेपाल र भारत दुवैतिर सरगर्मी उत्पन्न गरेको थियो। अहिले अचम्म, केपी ओलीले अभिव्यक्त गरेको जस्तै कुरा आज विश्वभर चर्चामा छ। न्युयोर्क टाइम्सको सो लेखले विषयको गंभीरतालाई थप तरंगित बनाइदिएको छ।

विश्वभर तरंग फैलाउने कथन नेपालको नेताले सुरुवात गरेको हो भन्दा धेरैले ओलीको प्रशंसामा फेरि मोही माग्नेले बढाइचढाइ गरेछ भन्ने टिप्पणी भयो भने आश्चर्य नमाने हुन्छ किनभने आफूलाई मन नपरेको व्यक्तिको प्रसंग उठ्नु पनि केहीलाई असह्य हुने प्रचलन जो छ समाजमा। यसको ठीक विपरित आफूलाई मन परेको व्यक्तिका हजार दोष भए पनि त्यसलाई देख्या नदेख्यै गर्ने अर्को नेपाली संस्कार पनि उत्तिकै बलियो छ। आज उठाइएको विषय कति मात्र हो भने उखान टुक्के भनेर केहीले मटियामेट पार्न खोजिएका केपी ओलीमा विश्वव्यापीरूपमा उठ्ने गंभीर विषयको ज्ञान दुई वर्ष पहिल्यै कहाँबाट आयो?

ओलीले प्रधानमन्त्री रहँदा सत्यमेव जयते छाडेर सिंहमेव जयते भयौ भनेर विशाल छिमेकीलाई सजग गराएका थिए। जो लरतरो सचेतना थिएन। उनलाई किन बोल्नुभएको यस्तो विवादास्पद कुरा भन्दा व्यक्तिगत भेटमा उनले भनेका थिए, हेर्दै जानुस्। धैर्य गर्नुस्, समयले पुष्टि गर्छ !

चुनावको पूर्वसन्ध्या

संघीय संसद् र प्रदेशसभाको चुनाव दिनदिनै नजिकिँदैछ। एमालेले एकमतले भावी प्रधानमन्त्रीका रूपमा केपी ओलीलाई मैदानमा उतार्ने निर्णय गरेको छ। किन? ओली एमालेका निर्वाचन कमान्डर बनेका छन्। किन? मतदातालाई स्पष्ट पार्नुपर्छ। २७ बुँदामा प्रष्ट हुनुपर्छ मतदाता। हरेक मतदाताले यो प्रश्नको जवाफ पाउनुपर्छ। यस्तो अवस्थामा ओली आमजनताबीच के, किन र कसरी प्रस्तुत हुँदैछन्? के लिएर ओली मतदातासमक्ष जाँदैछन्? उनका अजेन्डा के के हुन्? ओलीले हुँकार दिएका गठबन्धनका नेता के भन्दैछन्? उनका अजेन्डा के छन्? के भनेर र कसलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दैछन्? शेरबहादुर हुन् गठबन्धनका भावी प्रधानमन्त्री? कि प्रचण्ड? कि माधव नेपाल? कि उपेन्द्र यादव? अथवा चित्रबहादुर केसी? के अजेन्डा लिएर आउँदैछन्? कि पाँच वर्षे भागबन्डा?

मतदाता गठबन्धनबारे पनि प्रष्ट हुनुपर्छ। किन चाहियो गठबन्धन? डेढ वर्षमा के गर्‍यो गठबन्धनले? के भनेर आएको थियो गठबन्धन? के गर्‍यो र के गर्दैछ? मतदाताले २७ प्रश्न तयार गरेर त्यसको जवाफ पनि माग्नुपर्छ। विपक्षीहरूले पनि गठबन्धनसँग सत्ताइस प्रश्न गरेर र्‍याख्र्‍याख्ती पार्नुपर्छ।

निर्वाचन महापर्व

निर्वाचन लोकतन्त्रको राष्ट्रिय महापर्व हो। यसको आफ्नै प्रक्रिया छ। जसरी राष्ट्रिय पर्वहरू साउन लागेपछि सुरु हुन्छन्, त्यसैगरी निर्वाचन घोषणा भएपछि निर्वाचन चाड सुरु भएको छ। चाडवाडअगाडि जसरी सडक, बाटो, राजमार्ग सुचारु हुनुपर्छ। खाद्यान्न, लत्ताकपडाको उपलब्धता, सुरक्षा, यातायातका साधनहरूको चुस्तता, स्वास्थ्य केन्द्रको सशक्तता, बिजुली र पेट्रोलियमको प्रचुरता, भेला मेलाको आयोजना हुनुपर्छ। त्यस्तै अवस्था सिर्जना गरेर निर्वाचन आयोगले स्वच्छ, स्वतन्त्र र निर्भयसाथ मतदान व्यवस्थापन गर्नुपर्छ। व्यवस्थापन गरिएको छ भनेर मात्र पुग्दैन, त्यसको ग्यारेन्टी गर्नुपर्छ। आयोगले सही व्यवस्थापन गर्न सकेन भने अनेक समस्या आउन सक्छन्। आयोगले स्वच्छ, स्वतन्त्र र निर्भयका साथ मतदान गरेर जनप्रतिनिधि छान्ने अभ्यास पनि गर्नुपर्छ।

मंसिर ४ गते हुने निर्वाचन मुलुकमा गणतन्त्र स्थापना पछिको दोस्रो आमनिर्वाचन हो। निर्वाचनले लोकतन्त्रलाई संस्थागत गर्छ। यो निर्वाचन लोकतान्त्रिक गणतन्त्ररूपी घरको जगपछि बाँध्न लागिएको टाइबिम भन्दा फरक पर्दैन। यसको ठूलो महत्व किन पनि छ भने जसरी टाइबिमले घर निर्माण प्रक्रियामा घरलाई सतहमा ल्याइपुर्‍याउँछ त्यसैगरी दोस्रो आमनिर्वाचनले लोकतान्त्रिक गणतन्त्रलाई उतारचढावबाट यथार्थको धरातलमा ल्याइदिन्छ। यो निर्वाचनपछि नेपाली लोकतान्त्रिक गणतन्त्र जगबाट सतहमा देखिनेछ। यसरी निर्वाचनलाई हेर्न सक्यौँ भने यसको महत्व र विशेषता बुझ्न सकिन्छ। त्यसैले निर्वाचन आयोगको यतिखेर ज्यादै महत्वपूर्ण भूमिका छ र हुनुपर्छ। यसो गर्न सकियो भने मात्र निर्वाचन सत्यको नजिक हुनसक्छ अनि यसको परिणाम पनि देश र जनताको पक्षमा हुनेछ। 

लोकतन्त्रमा निर्वाचन यस्तो ठूलो पर्व हो जसको देश र जनतासँग घनिष्ट सम्बन्ध जोडिएको छ। सार्वभौमसत्ता सम्पन्न मतदाताले आफ्नो मतमार्फत पाँच वर्षसम्म आफैँलाई शासन गर्ने प्रतिनिधि छानेका हुन्छन्। उनीहरूकै मतका आधारमा निर्वाचितहरूले नागरिकको सार्वभौमसत्ता प्रयोग गर्छन्। त्यसैले यो अति संवेदनशील विषय पनि हो।  

देशमा आन्तरिक अवस्था स्वच्छ, स्वतन्त्र र निर्भय भयो भने जनप्रतिनिधिले हरेक समस्या र चुनौतीलाई सफलतापूर्वक समाधान गर्न सक्छन्। देशको विदेशनीति भनेकै आन्तरिक नीतिको विस्तारित भएकाले निर्वाचनपश्चात मुलुकको विकास र समृद्धिमा छिमेकी र मित्र राष्ट्रहरूको संबन्धले नयाँ आयाम पाउँछ। त्यसैले पार्टीहरूले आफ्नो विदेशनीतिको धारणा पनि चुनावमार्फत जनतामाझ राखेका हुन्छन्। यसरी बनेको अन्तर्राष्ट्रिय संबन्ध दह्रो हुन्छ। त्यसैले निर्वाचनमा आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य, विकास र छिमेक नीतिसमेत स्पष्टरूपमा जनअनुमोदित हुनुपर्छ। आन्तरिक नीतिमा व्यापक चर्चा/परिचर्चा भयो भने मतदाताले विवेक पुर्‍याएर योग्य उम्मेदवारलाई विजयी बनाउन सक्छन्। यसले नागरिकको मौलिक अधिकार सुनिश्चित गर्न सक्छ। स्पष्ट बहसले प्रस्ताव गरिएका मस्यौदा नीतिलाई माझ्ने छ। त्यसमा रहेका किन्तु परन्तु मतदाताले हटाइदिने छन्। त्यसैले निर्वाचनअगाडि पार्टीहरूका नीति, कार्यक्रम र योजनाबारे व्यापक छलफल हुनुपर्छ। त्यसअनुकूल सक्षम उम्मेदवार पनि पार्टीहरूले उठाएका छन् कि छैनन्, त्यता मतदाताले ध्यान दिनुपर्छ। प्रश्न उठाउनुपर्छ।

निर्वाचनका पाँच मानक

आमनिर्वाचन प्रारम्भिक चरणमा छ। त्यसैले यतिखेरैदेखि बेथितिहरूबाट निर्वाचनलाई स्वच्छ, स्वतन्त्र राख्ने कुरामा ध्यान केन्द्रित गर्नैपर्छ। जसलाई पाँचवटा बुँदाबाट हेर्न सकिन्छ:

१) प्रारम्भिक चरण  

अहिले निर्वाचन प्रारम्भिक चरणमा भएकाले यतिखेरदेखि नै मतदाता सचेत रहन सके भने स्वच्छ तथा स्वतन्त्र निर्वाचन हुने र परिणाम पनि त्यसै अनुकूल आउँछ। जति ठूलो घर बनाउने हो भने पनि जग र टाइबिममा गल्ती र हेलचेक्र्याइँ गरियो भने घर मजबुत बन्न सक्दैन। त्यस्तै निर्वाचनका प्रारम्भिक काममा लापर्बाही गरियो भने निर्वाचन परिणाम पनि गलत आउँछ। त्यसैले अहिलेदेखि नै निर्वाचनका सबै सरोकारवाला सचेत, गंभीर र अनुशासित बनेर पाइला अगाडि बढाउनुपर्छ।  

२) स्थानीय निर्वाचनको अनुभव

भर्खरै स्थानीय निर्वाचन सम्पन्न भएको छ। अब संघ र प्रदेशको निर्वाचन हुँदैछ। लोकतन्त्र यस्तै अभ्यासबाट परिपक्व हुँदै जान्छ। जति निर्वाचन हुँदै जान्छ, लोकतन्त्रले त्यति नै स्थिरतासँगै यसको प्रभावकारिता पनि बढ्दै जाने हुनाले मतदाताको सहभागिता पनि निर्वाचनमा बढ्दै जान्छ। जसबाट लोकतन्त्रलाई जनताले आफ्नो व्यवस्थाका रूपमा अपनत्व बढाउँछ।

३) उम्मेदवार चयन

नयाँ उम्मेदवारले लोकतन्त्रमा विशेष अर्थ राख्छ। उम्मेदवारको अनुहारले निर्वाचनमा चुनिने जनप्रतिनिधिलाई निश्चित गर्छ। कुन पार्टीले अगाडि बढाएको उम्मेदवार कस्तो छ? ऊ कति जनउत्तरदायी छ? कस्ता नीति/कार्यक्रम लिएर मतदातासमक्ष आएको छ? उसको विगत कस्तो थियो? कतिवर्षदेखि चुनाव लडिरहेको थियो? जितेर के/के गर्‍यो?

जनताले अहिले खोजिरहेको परिवर्तनलाई आत्मसात गरेर ऊ अगाडि बढ्न सक्ला? ऊसँग के सपना छ? के योजना छ? उसले समृद्ध नेपाल, सुखी नेपालीको कस्तो राष्ट्रिय कार्यक्रम बनाएको छ? विकासबारे उसका धारणा के छन्? राजनीतिक र व्यावसायिक क्षमतामा कति काविल छ? कानुनी शासनमा ऊ कति वचनबद्ध छ? स्वतन्त्र नागरिक जसको कहीँकतै पहुँच छैन, त्यसलाई यसले मद्दत गर्ला? पावर नलगाइ काम हुने वातावरण बनाउन यो उम्मेदवार सक्षम होला? यसमाथि साँच्चै विश्वास गर्न सकिन्छ? नातावाद/कृपावाद होइन, सिस्टम बनाउन यो उम्मेदवार लाग्ला? योगदान दिनसक्ला? गठबन्धन, ग्याङ र नवसर्वदलीय सिन्डिकेट तोड्न सक्ला? मतदाता अब हिजोका छैनन्। त्यसैले मतदाता उम्मेदवार हेर्छन्। पार्टीको विगत हेर्छन्। टेस्ट गर्छन् र अनि मात्र मत खसाल्छन्।

योग्य, सक्षम र काविल उम्मेदवार बन्नसक्ने व्यक्ति पार्टीभित्रै छन् तर के तिनले टिकट पाउलान्? कतै माफिया, डन, तस्कर, कालाबजारी, भ्रष्टाचारी, दलाल, बिचौलिया, सालासाली, ठेकेदार, श्रीमती, छोराछोरीलाई पार्टीका नेताले उम्मेदवार बनाएर पोस्ने त होइनन्? भावी प्रधानमन्त्री घोषणा गरेको एमाले र त्यसका नेता केपी ओली पनि उम्मेदवार छनोटमा चुके भने नारायणहरि हुने निश्चित छ। हेर्दा जोगी जस्ता ओलीले पनि डन, माफिया, तस्कर, बिचौलिया, दलाल, ठेकेदार र नाता कुटुम्बबाटप्रभावित भएर टिकट बाँडे भने उनी त नारायणहरि हुन्छन् हुन्छन्, एमाले पनि नारायणहरि हुने निश्चित छ। अर्को पल्लापट्टिको गठबन्धनले पनि सक्ला त? कि भागबन्डामै उत्पन्न रडाकोले गठबन्धन नारायणहरि हुने हो? सैद्धान्तिक, दार्शनिक र राजनीतिकरूपमा कहीँकतै साइनो नभएका कांग्रेस, माओवादी, समाजवादी, मधेसवादी, जनमोर्चा निर्वाचनमा कसरी प्रस्तुत होलान्? वर्तमान गठबन्धनबारे राजनीतिशास्त्रका एक प्राध्यापक भन्छन्–२०५८ सालदेखि भ्रष्ट कर्मचारीको साँठगाँठमा सुरु गरिएको सर्वदलीय संयन्त्रलाई ब्युँताएर भागशान्ति जयनेपाल गर्दै राष्ट्रिय स्रोत लुट्ने र भागबन्डा लगाएर हजम गर्ने नयाँ स्वरूपको अभियान हो यो गठबन्धन। उनी भन्छन्– अरू उम्मेदवारले यो कुरा मतदातालाई बुझाउनुपर्छ।  

४) सिद्धान्तबिनाको स्वार्थी गठबन्धन

प्राध्यापक थप्छन्– पाँचदलीय गठबन्धनमाथि तिखो आरोप छ, यो राजनीतिक र सैद्धान्तिक अवधारणा विपरितको गठबन्धन हो। सम्झना छ? माओवादीको वर्गशत्रुको अजेन्डामा पञ्च थिएनन्, कांग्रेसी थिए। त्यस्तै कांग्रेसी अजेन्डामा माओवादीको टाउको ल्याउ, पचास लाख लैजाऊथियो। तर यस्ता परस्परविरोधी पार्टीहरूको एकता पछाडिको कारण के हो? केवल सत्ता स्वार्थ ! त्यसैले यो मात्र सिन्डिकेट हो। तर के भावी प्रधानमन्त्रीमा मनोनयन भएका विपक्षी नेता ओलीले यसलाई चिर्न सक्छन्? कि उनी पनि अरू भारेभुरे टिपेर अर्को गठबन्धनमा लाग्छन्?

५) विकास अजेन्डा

आउँदो चुनावमा उधारा विकास अजेन्डाले कुनै अर्थ राख्ने देखिँदैन। त्यसैले पुल, बाटा, खानेपानी, बिजुली, टेलिफोन ल्याउँछु भन्ने आश्वासनले कुनै अर्थ राख्दैन। त्यसो भए कुन दलले के विकास योजना लिएर आउलान्? मतदाता सर्वथा नयाँ योजनाको खोजीमा छन्। नयाँ योजना लिएर पार्टीहरू आकर्षकरूपमा जनसमक्ष जान नसकेकाले अनधिकृतरूपमा बनाइएको संरचना भत्काउन जाँदा काठमाडौँका मेयर बालेन साहले यतिखेर वाहवाहीपाइरहेका छन्। त्यसैले बालेन, साम्पाङ जत्तिको योजना र कार्यक्रम लिएर जान नसक्ने दल निर्वाचनमा ड्वाङ खान्छन्।

प्रकाशित: १६ भाद्र २०७९ ०६:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App