८ वैशाख २०८१ शनिबार
विचार

मिथ्याको बाटो

निकिता खुस्चेभ क्रेमलिनमा बसेर धेरै राष्ट्रका करोडौँ कम्युनिस्टलाई ‘कमान्ड’ गर्ने प्रबल नेता थिए। तत्कालीन सोभियत संघका ती सर्वाधिकारीको अन्तर्वार्ता लिने नेपालका पत्रकार थिए, कृष्णप्रसाद भट्टराई। सत्यनारायणबहादुर राजभण्डारीलगायतका युवा मिलेर खोलेको ‘नेपाल युनियन अफ जर्नलिस्ट’ संस्थाको सभापति छँदा मस्को पुगेका कृष्णप्रसाद भट्टराईका दाजु गोपालप्रसाद भट्टराई गोरखापत्र दैनिकका प्रधानसम्पादक भए। कृष्णप्रसाद प्रधानमन्त्री बने।

‘रत्नश्री’ पत्रिकाका सम्पादक मदनदेव भट्टराईले झण्डै अठ्ठाइस वर्षपहिले डिल्लीबजारस्थित निवासमा आयोजना गरेको दिवाभोजमा कृष्णप्रसाद भट्टराई, पत्रकार पदम ठकुराठी, गीतकार छिन्नलता (रमोला शाह), यो पंक्तिकार लगायत आठ/दश जना आमन्त्रित थियौँ। ऊबेला कृष्णप्रसाद भट्टराईले खुस्चेभलाई आफूले फुक्र्याउँदै ‘एक दिन तपाईको कमान्डमा संसार चल्नेछ’ भनेपछि खुस्चेभ गद्गद् भएको सुनाए। उनले ठट्टा गर्दै भने–आफ्नी पत्नी अरूसँग गए पनि लाने र जाने कम्युनिस्ट छन् भने ती दुवैले आत्मआलोचना गरेको खण्डमा पत्नी पुरानै पतिसँग फर्किने सम्भावना बाँकी रहन्छ। साम्यवादमा आत्मआलोचनाको गहुँत छर्केपछि सबै शुद्ध मानिन्छ।

महाकाली सन्धि गरेमा नेपाललाई हरेक साल अर्बौ रूपैयाँ प्राप्त हुनेछ भन्ने एकजना कम्युनिस्टले अहिले आएर महाकाली सन्धि गरेर गल्ती गरिएछ भनेका छन्। गल्ती गरेर खल्ती भरेपनि वा खल्ती भरेर गल्ती गरेपनि नेपाली राजनीतिमा अक्षम्य मानिँदैन। कतिपय राष्ट्रमा प्रचलन, परम्परा वा जनमतलाई शिरोधार्य गरेर संवैधानिक प्रावधानजस्तै शक्तिशाली प्रब्न्ध गरिएका उदाहरण छन्। इटलीमा जन्मेकी युरोपियन क्रिस्चियन सोनिया गान्धीले जवाहरलाल नेहरूले हाँकेको दलको अध्यक्ष बन्नसम्म पाइन्। तर विदेशमा जन्मिएकै कारणले भारतको प्रधानमन्त्री बन्ने उनको इच्छा पूर्ण भएन।

विदेशी मूलका मानिसलाई राष्ट्रपति, प्रधानमन्त्री, सेनापति लगायत महत्वपूर्ण पदमा पुर्‍याउने बाटो खोल्ने हो भने अनर्थ हुन्छ भन्ने बुझेर अधिकांश राष्ट्रले नागरिकताका बारेमा कठोर कानुन बनाएका छन्। जर्मनीको फर्थमा सन् १९२३ मा जन्मेका विद्वान् कूटनीतिज्ञ हेनरी किसिन्जर अमेरिकाको विदेशमन्त्री र राष्ट्रपति रिचर्ड निक्सनका सल्लाहकार भए तर राष्ट्रपति बन्न पाएनन्।

एकाउन्न प्रतिशत व्यक्तिले राष्ट्रघातीलाई समर्थन गरे भने ४९ प्रतिशत इमानदार, सज्जन र देशभक्तहरूको आवाज मधुरो सुनिन्छ। यस्तो प्रणालीमा ‘सत्य मेव जयते’ नै मिथ्याको दास बन्छ। ‘मिथ्या मेव जयते’ अंक गणितकै आधारमा बलियो बन्छ। एकाउन्न प्रतिशतको टिमका खेलाडीहरू जतिसुकै अपराधी भए पनि समाज र राष्ट्र उनीहरूकै आदेशमा चल्छ।

श्री ३ जंगबहादुर राणाका कर्मचारी थिए, कालीदास कोइराला। श्री ३ चन्द्रशमशेरका पालामा पनि २६ वर्ष उच्चपदस्थ भएर बसे उनी। कालीदासका भाइ कृष्णप्रसाद कोइरालाका जेठा छोरा तथा पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले विसं १९९० को भूकम्पपछि आफू विराटनगरबाट जागिर खोज्दै आएर जेठाबा कालीदासकै घरमा काठमाडौँमा बसेको लेखेका छन्।

‘अ रोल इन अ रिभोल्युसन’ नामक ग्रन्थमा मातृकाले निजामती क्षेत्रमा कालीदासले गरेको कुनै निर्णय राणा प्रधानमन्त्री र कमान्डर–इन–चिफले मात्र हेरफेर गर्न सक्थे भनेका छन्। कृष्णप्रसाद कोइरालाको सम्पत्ति खोसेर श्री ३ चन्द्रले भ्रष्टाचार मुद्दा लगाए। त्यसपछि कृष्णप्रसादले मातृका, बिपी, गिरिजा लगायतका छोराछोरीलाई अत्यन्त कष्ट, अभाव र संघर्षका साथ हुर्काएको बिपीले लेखेका छन्। कालीदासले दिएको जमिनको आयस्रोतले धेरै कोइरालाहरूको पालनपोषण भएको विराटनगरका पुराना मानिस बताउँछन्।

इतिहासमा जे लेखिन्छ, त्यो सबै सत्य हुँदैन। कतिपय कुरा ‘गाडधन’ जस्तै गुप्त हुन्छन्। घरमै आएर हातगोडा भाँचिदेलान् वा बाटोमा पैदल हिँड्दाहिँड्दै गाडीले किचिदेलान् भनेर कतिपय लेखक, पत्रकारहरू मौन बस्नुपर्ने अवस्था छ। माओवादीले आफूलाई पवित्र र दशवर्षे द्वन्द्वका बेला राष्ट्र र जनताको रक्षा गर्न चाहनेहरूलाई ‘मानवताविरोधी’ भन्दा प्रायःजसो मिडिया मौन बस्नुका कारण छन्। जुन विदेशी शक्तिले माओवादीलाई ‘सत्य’ र अरूलाई मिथ्या ठानेर पुल्पुल्याए, उनै शक्तिले नेपालका कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका लगायतका यावत् क्षेत्रमा प्रभाव बढाएका छन्।

तसर्थ ती मालिकले जसलाई ‘सत्य’ भन्छन्, त्यो सत्य ‘बहुमत’ नामको अंकगणितले पुष्टि गर्छ। नेपाल सुरक्षित रहनुपर्छ भन्नेहरू मिथ्या ठहरिएका छन्। यस्तो पीडा हरेक कमजोर राष्ट्रले भोग्नुपर्छ।

महाकाली सन्धि गरेमा नेपाललाई हरेक साल अर्बौ रूपैयाँ प्राप्त हुनेछ भन्ने एकजना कम्युनिस्टले अहिले आएर महाकाली सन्धि गरेर गल्ती गरिएछ भनेका छन्। गल्ती गरेर खल्ती भरेपनि वा खल्ती भरेर गल्ती गरेपनि नेपाली राजनीतिमा अक्षम्य मानिँदैन।

भरतशमशेरको नेतृत्वमा ‘गोरखा दल’ नामको उग्रदलले गृहमन्त्री विश्वेश्वरप्रसाद कोइरालामाथि उनकै सरकारी निवासमा हमला गरेपछि रक्षामन्त्री बबरशमशेरलाई हटाइयो। उनी मर्यादा क्रममा प्रधानमन्त्रीपछि दोस्रो स्थानमा थिए। सेनाको व्यवस्थापन र अनुशासन कायम राख्न असफल भएका कारणले बबरले पदत्याग गर्नुपरेको गृष्मबहादुर देवकोटाको तर्क छ। (स्रोत: नेपालको राजनीतिक दर्पण, भाग १)

सो काण्डपछि नेपाली सेना राणाको कमान्डबाट श्री ५ त्रिभुवनको हातमा गयो। उनी सन् १९५१ को अप्रिल १४ मा सेनाको परमाधिपति (सुप्रिम कमान्डर इन चिफ) भए। नेपालमा राणाशासन ढलेको दुई वर्षपछि भारतको देहरादुनस्थित इन्डियन मिलिटरी एकेडेमीमा तालिम लिन गएका ऋषिकुमार पाण्डेले पंक्तिकारलाई सुनाएका थिए-‘म, धर्मपालवरसिंह थापा, भरतकेशर सिंह, रघुचन्द्रबहादुर सिंह र छत्रविक्रम शाह त्रिभुवन सरकारलाई दाम राख्न गयौँ। उहाँलाई आराम छैन, प्रधानमन्त्रीलाई दाम राख्नू भन्ने आदेश पाएपछि प्रम मातृकाप्रसादलाई दाम राखेका थियौँ।

नेपालका उच्चपदस्थहरूको व्यक्तिगत विवरण (डोसिअर) राख्ने चलन राणाकालमै सुरु भयो। २००७ सालपछि काठमाडौँस्थित अमेरिकी दूतावासले समेत त्यसरी डोसिअर राखेको पाइन्छ। योग्य व्यक्ति चयन गरेर तद्नुरूप दायित्व दिने मानिस पहिले त आफू योग्य हुनुपर्छ। असल र योग्य छान्न कलेजको ‘नलेज’ नभए पनि हुन्छ भन्ने कुरा राजा महेन्द्रले प्रमाणित गरे। उनले पचासौँ क्षेत्रमा योग्य व्यक्ति छानेर जिम्मेवारी र पुरस्कार दिए। घर/परिवार पाल्ने चिन्ताबाट त्यस्ता व्यक्तिलाई मुक्त गराउन पर्याप्त चल–अचल सम्पत्ति दिए। महेन्द्रका पालामा मन्त्री बनाइएका भुवनलाल प्रधानले भनेका छन्-२०१७/१८ सालमा मन्त्रीले पन्ध्रसय रुपियाँ तलव पाउँथे। घरखर्च पुग्थ्यो तर आफू डेरामा बसिरहेको जाहेर गरेपछि राजाले बबरमहल नजिकै चालीस हजार रुपियाँमा घरजग्गा किनिदिएपछि म कृतज्ञ भएँ।

पञ्चायतकालमा कीर्तिनिधि विष्ट प्रधानमन्त्री छँदा सहायकमन्त्री बनाइएका धर्मरत्न यमी (तुलाधर) लाई पनि राजा महेन्द्रले काठमाडौँ भुरुङखेलमा घर किनिदिए। यमी पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईका ससुरा हुन्।

अभिभावक, पुर्खा र इतिहासले सत्य मानेका शाश्वत सत्यलाई आजका कतिपयले मिथ्या ठान्छन्। ‘मिथ्या मेव जयते’ सदैव मिथ्या हुन्छ। दलनायक, गुटनायक, जातनायक, भ्रष्टनायक र नालायकहरूलाई राष्ट्रनायकको हाराहारीमा उभ्याउने भूल गरेका जनताले आज पश्चाताप गरिरहेका छन्।

२०४६ साल र २०६३ सालपछिका दृश्यहरू सिंहावलोकन गर्दा खुसी हुनेहरू थोरै छन्। पदमा पुगेर वा सत्ताको स्वाद चाखेर लुट्न सक्नेहरू बाहेक अरू त आफ्नै यत्नले जीवन चलाइरहेका छन्। ‘महिनावारी’ भनिने तलव इमानदारका लागि जाडोको छोटो सिरक जस्तो हुन्छ। यता तान्यो, उता हुँदैन, उता तान्यो यता हुँदैन। सरल, सज्जन र इमानदार जनताले जतिसुकै दुःख गर्दा पनि ‘खुसी’ बेरुजु निस्कन्छ।

पलासीको युद्धमा कमान्डर–इन–चिफ (प्रधानसेनापति) मिर जाफरले ब्रिटिसको अथाह सम्पत्ति खाएर आत्मसमर्पण गरे। उनको तर्क थियो-‘तीन हजार ब्रिटिस सैनिकसँग आधुनिक हतियार भएकाले आफ्ना तर्फका झण्डै ५० हजार सैनिकमध्ये धेरैजसो मारिने सम्भावना भएको हुँदा आत्मसर्मपण गरिएको हो।’ इतिहासकारहरूले उनलाई ‘गद्दार–ए–हिन्द’ (हिन्दुस्तानको गद्दार) भनेका छन्। सन् १७६५ को फेब्रुअरी ५ मा मिर जाफरको मृत्यु भयो। मुर्सिदावाद (हाल पश्चिम बंगाल) जाफरगन्जमा रहेको उनको समाधिमा हरेक वर्ष अहिले पनि भारतीय पर्यटकहरूले थुक्ने गरेका छन्।

सन् १७५७ को जुन २३ मा रबर्ट क्लाइभको नेतृत्वमा आएको सेनाले बंगालका नवाज सिराज–उद्दौलाको विशाल देश कब्जा गर्यो। हालको बंगलादेशदेखि लिएर पश्चिम बंगाल र बिहारका अधिकांश क्षेत्रमा सिराज–उद्दौला शासक थिए। मिर जाफरझैँ प्रधानसेनापति पनि धनमा बिके भने राष्ट्रघाती बन्छन् भन्ने त्यो उदाहरण सैनिक इतिहासमा रोचक मानिन्छ।

केही वर्षअघि भक्तपुरको नगरकोटमा रहेको युद्ध–कलेजमा यो पंक्तिकारलाई प्रवचनका निम्ति बोलाइएको थियो। दुई घण्टा लामो प्रवचनपछि त्यहाँका एक विद्यार्थी (महासेनानी) ले चिया खाँदै गर्दा अनौपचारिक तर गम्भीर प्रश्नहरू गरे। दश वर्षे द्वन्द्व चलिरहेका बेला एकातिर गाउँगाउँमा मेजर र त्यो दर्जामुनिका हजारौँ सैनिक लडिरहेका थिए। सैनिक मुख्यालयमा बसेका केही उच्चपदस्थहरू नेपालस्थित कतिपय विदेशीसँग साँठगाँठ गरेर माओवादीलाई प्रत्यक्ष/अप्रत्यक्ष मद्दत गर्दै थिए। उनले उठाएका यस्ता प्रश्नहरूभित्र ज्वालामुखी थियो।

सेनाभित्रका निर्णायक तहमा नै बाह्यशक्तिको प्रभाव बढ्दा के होला भन्ने प्रश्नहरूको जुलुस थियो। निजामती, प्रहरी, सशस्त्र प्रहरी, गुप्तचर जताततै बढेको यस्तो प्रवृत्ति सरल उपायबाट समाधान हुँदैन। “पर्याप्त सूचना, पुष्ट र यथेष्ट प्रमाण तथा विदेशीका लागि काम गरेका अभिलेख भेटिए भने त्यस्ता व्यक्ति राष्ट्रका शत्रु हुन। नेपाल आमा नै पोलेर खान चाहने ती ‘मिरजाफर’ वा लेन्डुपका सन्तानले तत्काल पिण्ड दिन पाउनुपर्छ”-मेरो कुरा सुनेर चउरमा चिया पिउँदै गरेका विद्यार्थी हाँसे। उनीहरू खुसी भए।

‘सेना राजनीतिबाट टाढा बस्छ र सरकारको आदेश पालना गर्छ’ भन्ने गीत अब थोत्रो र पुरानो भइसक्यो। राष्ट्र र त्यसका हरेक राज्यसंयन्त्र (स्टेट अप्राटस्) राजनीतिले विकृत बनेका छन्। सेनालाई आदेश दिने ठाउँमा राष्ट्रघातीको बाहुल्य भयो भने त्योबेला सेनाले राष्ट्र र सरकारमध्ये एउटा कित्तामा उभिनैपर्छ। राष्ट्रिय स्वाभिमान र जागिरमध्ये एउटा मात्रै रोज्नुपर्ने अवस्थामा कुन रोज्छन्, राष्ट्रिय सुरक्षाका मठाधीशहरूले?

‘डेमोक्रेसी’ नामको टुनामुना लगाएर सिक्किमलाई भारतमा गाभिँदा सिक्किम बचाउन अन्तिम क्षणसम्म लडिरहे, १९ वर्षका वसन्तकुमार क्षत्री। नेपालमा त्यस्ता व्यक्ति कति होलान्? सुडान, इन्डोनेसिया, इथियोपिया आदि राष्ट्र टुक्र्याउँदा साहसपूर्वक बोल्ने कति थिए? नेपालमा राजदरवारले पालेका र हुर्काएका धेरैले मध्यरातमा मालिक फेरे।

आजको अवस्थामा राष्ट्रघाती र राष्ट्रवादी चिन्न नसक्ने, राष्ट्रघातीलाई काखी च्यापेर राष्ट्रवादीलाई सताउने तथा गुप्तरूपले विदेशीका लागि काम गर्ने टाठाबाठाहरू हरेक ठाउँमा छन्। त्यसैले सार्वभौमसत्ताको मालिक जनता नै हो भन्ने कथन प्रहसनको सम्वाद जस्तो बनेको छ।

सत्ररी हजार हेक्टर नेपाली भूभाग मिचिँदा किन बोलेनन्, राष्ट्रका रक्षकहरू? राष्ट्रघातीका अंगरक्षक बन्न गर्व गर्नेहरू किन राष्ट्रको अंगरक्षक र संरक्षक हुन सकेनन? हजारौँको हत्या गर्नेहरूलाई सलाम ठोक्दा किन यिनीहरूको मुटु पोल्दैन? लाखौँ विदेशीलाई राष्ट्रपति, प्रधानमन्त्री, सेनापति लगायतका आसनमा सजिलै विराजमान गराउन सकिने नागरिकताको जालझेल के नेपालका लागि हितकारी छ? राष्ट्रको सर्वोच्च हितमा समेत निरर्थक बहस किन? यी सबै विद्रुप दृश्य हेरिरहेका जनताले पुनः राष्ट्रघातीहरूलाई नै राष्ट्रको सर्वस्व सुम्पिने निर्णय गरे भने त्यसपछि उनकै सन्तानले विदेशीको बुट खाने अवस्था आउन सक्छ।

प्रकाशित: ३ भाद्र २०७९ ००:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App