११ आश्विन २०७९ मंगलबार
विचार

प्रेममा गन्धको प्रभाव

कडा परिश्रम गर्दा धेरै पसिना आउने भएकाले व्यक्तिको शरीर दुर्गन्धित हुन्छ। शरीरले छालामार्फत अनवरतरूपमा विभिन्न किसिमका रासायनिक पदार्थ बाहिर फालिरहेको हुन्छ। निस्कने रासायनिक पदार्थ शारीरिक दुर्गन्धका कारण हुन्। प्रत्येक मानिसको शरीरले फरक फरक किसिमका रसायन उत्पादन गर्ने भएकाले व्यक्तिको शारीरिक दुर्गन्ध भिन्न हुनु अस्वाभाविक भएन। जनावरमध्येमा विलक्षण सुँघ्ने क्षमता भएको कुकुर हो। मानवको तुलनामा ५० गुणा गन्ध प्रशोधन गर्ने क्षमता भएको कुकुरले घटना स्थलमा रहेको वासना पहिल्याउँदै अपराधमा संलग्न व्यक्तिसम्म पुग्न सक्नुको कारण व्यक्तिको शरीरबाट निस्कने पृथक दुर्गन्ध देखियो। वासनाले व्यक्तिको सामाजिक सम्बन्धमा पार्ने प्रभाव अनि गन्धको पुनर्आगमनले स्मरणको पुनरावृत्तिमा पार्ने असरका सम्बन्धमा बाहिरिएका अनुसन्धान उजागर गर्नु यो लेखको लक्ष्य हो।  

सुँघेको भरमा जनावरले आफ्नो संभाव्य सत्रु र मित्र पत्ता लगाउने गरेको यथार्थबाट प्रभावित भई इजरायलस्थित बाइजम्यान इन्स्टिच्युटको न्युरो बायोलोजीका प्राध्यापक नोआम सोबेलले त्यस्तै रित मानवमा रहे÷नरहेको ठम्याउन अन्वेषण अघि बढाए। नभन्दै उनको अन्वेषणले प्रकाशनयोग्य नतिजा दियो। गत महिना मात्र डा. सोबेल नेतृत्वको समूहले शारीरिक गन्धले व्यक्तिको सामाजिक संबन्धलाई कस्तो असर पार्छ भन्ने विषयको अन्वेषण जर्नल ‘साइन्स एडभान्सेज’ मा प्रकाशित गरे।  

मानिसको नाकले दश किसिमका आधारभूत गन्ध पहिचान गर्न सक्छ। ३ वटा आधारभूत रंग (प्राइमरी कलर) को समुचित मिश्रणबाट दर्जनौँ कलर बनाउन चित्रकार सफलभैmँ १० वटा आधारभूत गन्धको समिश्रणले सयौँ किसिमको ‘सेकेन्डरी स्मेलस’ निर्माण हुन्छ। अनि तद्अनुरूपका गन्धहरूको अनुभूति गर्छ हाम्रो नाकले। पसलमा पाइने दर्जनौँ किसिमका अत्तर अनि सयौँ दुर्गन्धको सहजै पहिचान गर्न सफल हुन्छौँ हामी।  

एकनासको नतिजालाई मध्यनजर राख्दै अन्वेषणका लागि मानवीय नाकको चरित्रसँग मिल्दोजुल्दो ‘इलेक्ट्रोनिक नोज’ को आष्किार गरियो। मानिसमा रहेको ४ सय किसिमको ‘अल्फेक्टरी रिसेप्टरहरू’ समेटेर निर्माण गरिएको ‘इलेक्ट्रोनिक नोज’ निकै परिष्कृत छ। प्राध्यापक सोबेलले अन्वेषणका क्रममा दर्जनौँ मानिसको शारीरिक गन्धलाई समेटे। स्याम्पल कलेक्सन गर्दा विभिन्न घारका समकक्षी, साथीसंगीको नमुना संकलन गरियो। शारीरिक वासनालाई इलोक्ट्रोनिक नोजमार्पmत समान गन्ध भएको र विपरित धारका नमुनालाई सूचीकृत गरियो। ल्याब निर्मित यन्त्रको नतिजालाई मानवीय स्वयम्सेवकको नाकले पक्का गर्‍यो। संकलित नतिजालाई प्रशोधन गर्दा समान शारीरिक गन्ध रहेका सहपाठीहरू यथार्थमा जिग्री दोस्त पाइए भने विपरित कित्तामा रहेकाहरूका बीच खासै मिल्ती देखिएन। समान शारीरिक वासना भएका तर तत्कालीन अवस्थामा अपरिचित व्यक्तिहरू भविष्यमा राम्रो मित्र बन्न सक्ने संभाव्यता देख्यो अनुसन्धानले।  

आखिर समान शारीरिक गन्ध हुने व्यक्तिहरू किन मित्र हुन्छन् त ? भन्ने प्रश्नको बायोलोजिकल कारण खोज्न आवश्यक हुन्छ नै। उक्त प्रश्नको उत्तरका लागि क्यानाडामा रहेको म्याकगिल विश्वविद्यालयका प्राध्यापक जोहान लुन्डस्र्टोमले न्युरोलोजिकल विधिको सहारा लिए। ल्याब परीक्षणका क्रममा आफ्नो जस्तै शारीरिक वासना भएकासँगको संसर्गले दिमागी तरंगलाई खासै असर पारेको देखिएन भने विपरित कित्ताका चरित्र भएका व्यक्ति भौतिकरूपले नजिकिने वित्तिकै मस्तिष्कमा डराएका बखत महसुस गरिने चरित्रको छाल पैदा भएको देखे डा. लुन्डस्र्टोमले। विपरित धारका शारीरिक वासना पैदा गर्ने व्यक्तिको आगमनसँगै दिमागले डराएका बखत पैदा गर्ने सन्देश प्रभाव गर्ने भएपछि उनीहरूका बीचको हार्दिक संबन्ध हुने संभावना हुन्न नै। यसरी प्राध्यापक सोबेलले स्थापित गरेका ‘केमेस्ट्री’ र ‘सोसियल केमेस्ट्री’को पारस्परिक संबन्धलाई डा. लुन्डस्र्टोमको न्युरोलोजिक विधिले थप मजबुत बनायो।  

यसरी समान प्रकृतिको शारीरिक दुर्गन्ध पैदा गर्ने व्यक्तिहरूका बीच सुमधुर सखारूपी संबन्ध स्थापित हुने बायोलोजिकल कारणमात्र देखिएन, बरु उक्त अवलोकनलाई सामाजिक अध्ययनले समेत पुष्टि गर्‍यो। पसिनाको गन्ध समान भएका व्यक्तिहरू राम्रो दोस्त हुने भए पनि के उक्त सुमधुरताले सफल वैवाहिक नाता स्थापित गर्न सक्छ त भन्ने प्रश्नको उत्तरसमेत वैज्ञानिकहरूले खोजेका छन्।  

चेतनाका अंगहरूमध्ये नाक अग्रस्थानमा छ। अन्य अंगको तुलनामा बाह्य सन्देशलाई बिजुलीको गतिमा दिमागमा पुर्‍याउने भएकाले वासनाको अग्रस्थान रहेको ठान्छन् अमेरिकाको पेन्सेल्भानिया विश्वविद्यालय ‘स्मेल एन्ड टेस्ट सेन्टर’ का निर्देशक रिचर्ड डोटी। त्यसो हुनुको मुख्य कारण गन्धका अणुहरू नाकका पछिल्लो भागको ‘म्युकस’ मा घुल्नेबित्तिकै मस्तिष्कको समिपमा रहने वासनासँग संबन्धित ‘अल्फेक्टरी रिसेप्टर’ मा टाँसिने भएकाले वासनाको असर दिमागमा अविलम्ब देखिन्छ।  

कीरा, फट्यांग्रा, छेपारादेखि स्तनधारी जनावरसम्मले रासायनिक पदार्थहरूको मिश्रण पैदा गर्छन् जसलाई वैज्ञानिक भाषामा ‘फेरोमोन्स’ भनिन्छ। मानिसको पसिना पनि फेरोमोन्सको एक स्वरूप हो। फेरोमोन्सले आफ्नै समूहको अर्को जनावरलाई आकर्षित वा विकर्षित गर्न मद्दत गर्छ। अणुवांशिक हिसाबले समान व्यक्ति वा जनावरहरूले एकै किसिमको फेरोमोन्स उत्पादन गर्छ।  

नातामा विवाह गर्नुहुँदैन अथवा एकै गोत्रमा नाता कायम गर्नुहुँदैन भन्ने प्रचलन सदियौँदेखि कायम रह्यो। त्यसको वैज्ञानिक कारण हेरौँ। नजिकका नाता संबन्धितको अणुवांशिक बनोट (डिएनए) धेरै हिसाबले समान हुन्छ। उस्तै ‘डिएनए’ भएका दम्पतीका सन्तान उत्कृष्ट हुन सक्दैन भन्ने बायोलोजिक विश्लेषणले पुष्टि गर्‍यो। नातामा विवाह हुने मान्यता रहेको र मुस्लिम समुदायका सन्ततीमा विभिन्न मानसिक तथा शारीरिक समस्या देखिनुलाई अस्वाभाविक मान्दैन विज्ञान। त्यस्तै एक गोत्रका बन्धु एउटै ऋषिका सन्तान भएकाले उनीहरूको अणुवांशिक सामीप्यताका कारण प्राचीनकालमा विवाहमा बन्देज गरिएको हुन सक्छ। तर ऋषिपछि हजारौँ पुस्ता पार गरिसकेका सन्ततीको अणुवांशिक बनोटले विविधता लिइसकेको हुँदा एकै गोत्र भएकै कारणले विवाहमा रोक लगाउनुलाई विज्ञानले समर्थन गर्न सक्दैन।  

फेरोमोन्सको गन्ध समान भएका व्यक्तिहरू राम्रो दोस्त हुने भए पनि के उक्त सुमधुरताले सफल वैवाहिक नाता स्थापित गर्न सक्छ त भन्ने प्रश्नको उत्तरका लागि मुसामा गरिएको एक अध्ययन स्मरणयोग्य देखियो। समान बनोट भएको फेरोमोन्स उत्पादन गर्ने मुसाहरूका बीच सुमधुर संबन्ध स्थापित गरेको देखियो। तर मुसाले शारीरिक संबन्ध भने अणुवांशिक हिसाबले केही पृथकसँग मात्र राखेको देखियो। अणुवांशिक हिसाबले समान साथीसँग शारीरिक संबन्ध राख्दा खराब सन्तती उत्पादन हुन सक्ने भएकाले प्रकृतिले मुसालाई उक्त शक्ति दिएको हुन सक्छ। अणुवांशिक हिसाबले समान चरित्रको ‘पार्टनर’ सँग संसर्ग नहोस् भन्नका लागि मुसाले फेरोमोन्सको वासनाको उपयोग गर्छ भन्ने वैज्ञानिक आकलन रह्यो। मुसाको तुलनामा मानिसको गन्ध पहिचान क्षमता निकै कमजोर भएकाले मानिसले हाडनाता विवाह गर्नुहुँदैन भन्ने मान्यता हजारौँ वर्षअघि स्थापित हुनु गलत होइन नै।  

मानव र जनावरमा गरिएको अध्ययनले शरीरले उत्पादन गर्ने पसिना, फेरोमान्सलगायतका शारीरिक गन्धमा समानता रहेकासँग घनिष्ट संबन्ध कायम हुन सक्ने भन्छ। तर ठ्याक्कै उस्तै चरीत्रको शारीरिक वासना भएका जीवहरू अणुवांशिकरूपले समेत हुबहु उस्तै हुन सक्ने भएकाले त्यस्ता जोडीबीचको शारीरिक संबन्ध भने सन्तानोत्पादनका हिसाबले प्रत्युत्पादक हुन सक्ने देखियो।  

आमाको पेटमा रहेको बच्चा पोषिलो पानीको सागरमा हुर्कन्छ, उक्त झोललाई ‘एम्निओटिक फ्ल्युड’ भनिन्छ। प्रत्येक आमाको एम्निओटिक फ्ल्युडको बनोट फरक फरक हुन्छ। भिन्न तŒवले बनेकाले प्रत्येक महिलाको पौष्टिक झोलको वासना फरक हुनु अस्वाभाविक भएन। पेटदेखि नै बच्चाले आफ्नो आमाको विशेष गन्ध अनुभव गर्ने भएकाले जन्मनेबित्तिकै नवजात शिशुले आफ्नो आमा चिन्ने हो। माताको विशेष किसिमको वासनाले बच्चालाई कसरी प्रभाव पार्छ भन्ने जान्न गत वर्ष ‘बिएमसी पेडिएट्रिक्स’ मा प्रकाशित एक अनुसन्धान हेरौँ। बच्चाहरूलाई खोप लगाउँदा रुनु, मुटुको धड्कन बढ्नु अस्वाभाविक होइन। अन्वेषणकर्ताले खोप लगाउने क्रममा केही बच्चालाई आफ्नो आमाको दूधमा भिजेको कपडा दिए, केहीलाई पानी सिँचित अनि केहीलाई अन्य महिलाको दूधको समिपमा राखे। भ्याक्सिनेसनका क्रममा आफ्नै आमाको दूधको वासनाको निकटको बच्चाले सबैभन्दा कम पीडामात्र महसुस गरेन बरु उसको मुटुको धड्कन सामान्य रह्यो। आमाको दूधको वासनाले महतारी नजिक रहेको अनुभूति गर्‍यो बच्चाले। उक्त परिदृश्यले वासना र स्मरणबीचको अन्योन्याश्रित संबन्ध स्थापित गर्न सफल भए वैज्ञानिकहरू।  

मानसिक तथा शारीरिक चोटपटकका कारण धेरै मानिसले स्मरण क्षमता गुमाएका छन्। भवितव्यमा परी मानसिक शक्ति गुमाउन पुगेका व्यक्तिलाई पुनः सकुशल बनाउन त्यति सजिलो छैन। शिथिल भएको दिमागलाई ओखतीमार्पmत उत्प्रेरित गराउन कठिन छ। हार्बार्ड विश्वविद्यालयका न्युरोसाइन्टिस्ट सन्दीप दत्ताको समूहले मुसामा अन्वेषण गरी उक्त चुनौती सामना गर्ने विधि संबन्धमा आशालाग्दो नतिजा दियो। भवितव्यमा परी मानसिक शक्ति गुमाएका बिरामीलाई बारदातका बखत व्यक्तिले महसुस गरेको गन्धको पुनरावृत्ति गराउन सके गुमेको स्मरण शक्ति फर्कन सक्ने देखायो डा. दत्ताको ‘माउस मोडल’ को प्रयोगले। उदाहरणका लागि चढेको गाडीमा पेट्रोल पोखिएर आगलागी भई परिवार गुमाएका कारण होस गुमाएको अभिभावकलाई पेट्रोलको गन्धले ओखतीको काम गर्न सक्ने भन्छ उक्त नतिजाले। त्यस्तै गुन्द्रुक भात खाँदै गर्दा आक्रमणमा परी मानसिक तागत गुमाएको व्यक्तिलाई गुन्द्रुकको वासना स्मरण शक्ति फर्काउन लाभप्रद् हुने देखियो।  

सामान्यतः मानिसले सबैभन्दा कमसल ठान्दै आएको ज्ञानेन्द्रिय नाकले असल मित्रको पहिचान, योग्य जीवन साथीको छनोट अनि मानसिक रोगको इलाजमा महत्वपूर्ण भूमिका खेलेको देखियो। त्यसैले सुँघ्ने शक्तिलाई कम नआकौँ। समयमै नाकको स्वास्थ्यमा ध्यान दिउँ। 

प्रकाशित: २४ श्रावण २०७९ ०६:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App