coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

लुट्न सके लुट् कान्छा,लुट्न सके लुट्!

मोही माग्ने ढुुंग्रो लुकाउने !

पशुपति शर्माको लोकप्रिय गीत आजभोलि सुन्न पाइएको छैन। त्यसको प्यारोडी पनि सिस्नोपानीको गाईजात्रा नआइपुगेकाले हेर्न पाइएको छैन। न टिभी न त रेडियो! यतिखेर त्यो गीत परिमार्जनसहित सबैतिर घन्किनुपर्ने हो किनभने लुट सर्वत्र व्याप्त छ।

लुट्न सके लुट कान्छा  

लुट्न सके लुट्  

अरू देशमा पाइँदैन

हाम्रो मै छ छुट्!

देशमा ब्रह्मलुट चलिरहेछ। गठबन्धनबाट बनेको सत्तापक्षले मच्चाएको यो लुटबाट कुनै क्षेत्र अछूत रहेन। राजनीतिक तथा प्रशासनिक नेतृत्वमा बसेका परिवार समेत लुटको धन्दामा चुर्लुम्मै डुबेका छन्। पञ्चायतकालको चरमोत्कर्षमा पनि यतिविघ्न नग्न लुट र कुशासन भएको थिएन। यसले के कुराको झल्को दिइरहेको छ भने सन् असी नब्बेको दशकताका अफ्रिका र मध्यअमेरिकी देशका शासकहरूले व्यवस्था परिवर्तन हुने क्रममा जसरी लुट मच्चाएका थिए, त्यसलाई पनि बिर्साउने छनक देखिइरहेको छ। त्यतिखेर मुलुकमा लुटेर युरोप अमेरिकामा रइसको जिन्दगी जिउने लहर नै चलेको थियो। हाम्रोमा तथाकथित लोकतन्त्रवादी कांग्रेसी र माओवादी–समाजवादी गठबन्धनको रूपरंग राजनीतिक सैद्धान्तिक दार्शनिक आधारमा जायज ठहर्‍याउन सकिँदैन। निर्लज्जरूपमा लुटमा सामेल भएर कुशासन, बेइमानी, धोकाधढी गर्दै राज्यका स्रोत साधन र ढुकुटीमाथि निर्लज्ज ब्रह्मलुटको आँधिबेहरी मच्चाइएको छ। यो गठबन्धन राज्यस्रोतको दोहन, सत्ता–शक्तिको दुरूपयोग र जनतालाई निरीह बनाउने प्रपञ्च मात्र बनेको सावित भैरहेछ। संविधान, जनता र लोकतन्त्रको नाममा गरिएको यो गठबन्धन पंगु सावित भएको छ।  

अर्थतन्त्र र राष्ट्रिय ढुकुटीको लुटको पछिल्लो संस्करण अर्थ मन्त्रालयमा रहेको सिसिटिभीको धुमिल दृश्यबाट छर्लंग भएको छ। न प्रविधिको प्रयोग गरियो न अनुसन्धानविज्ञहरूलाई समावेश गरियो। न त कल डिटेक्ट नै हेरियो। बदनाम भएर राजीनामा दिएका अर्थमन्त्री जनार्दन शर्मालाई कुनै प्रक्रिया नै नअपनाइ मुक्त गरियो। नैतिक, कानुनी र बैधानिक प्रक्रियालाई तिलाञ्जली दिइयो।  

मतभेद छताछुल्ल

अर्थमन्त्रीका कर्तुतहरूको जाँचबुझ गर्न बनाइएको संसदीय समितिले विधिपूर्वक र परिपक्व काम नै गरेन। लोकलाजको चित्तबुझ्ने कार्य गरेन। समिति गठन हुँदै चोख्याउन गरिएको प्रपञ्चको आकलन भित्री साँठगाँठ नतिजा आएपछि छर्लंग भयो। जनता जनार्दनले कसरी पत्याउनु? समितिका सदस्यहरूको गंभीर असहमतिलाई लत्याएर झारा टार्ने प्रतिवेदनलाई आधार बनाएर जसरी चोख्याउने प्रपञ्च गरियो त्यसले सत्ता नेतृत्वको निर्देशनमा अर्थमन्त्रीले कर्तुतहरू गरेको पुनर्पुष्टि भएको छ। यो किन पनि विवादास्पद र कारबाहीयोग्य घटना भएको छ भने सत्तासीन पार्टीभित्रै ठूलो मतभेद छताछुल्ल भइ बाहिर पोखिएको छ। यसले सत्तापक्ष कुनै लोकतान्त्रिक मूल्य/मान्यता मात्र होइन, पार्टी र सरकार सञ्चालन गर्ने न्यूनतम संवैधानिक मान्यताको पनि प्रतिकूल रहेको पुष्टि हुन्छ।  

अर्थमन्त्री चोख्याएर पुनर्नियुक्ति गर्ने गठबन्धन सरकारको हतारको निर्णय फुर्सदमा पछुताउनुपर्ने घटना भएको छ। यो गठबन्धनभित्रको रडाको पनि बनेको छ। यो स्वार्थीहरूको ‘ज्वाइन्ट भेन्चर’ अर्थात लुट्न सके लुट कान्छा मात्र हो। राजनीतिलाई व्यापार बनाएको यो स्पष्ट परिघटना हो। यसले सार्वजनिक हितलाई सरासर लात मारेको छ। यो त्यस्तो अवैधानिक प्राइभेट व्यापार बनाइएको छ जसले निश्चित व्यक्तिलाई मात्र पोसेको छ। जसलाई जनताले दुई नम्बरी भनेर बुझ्छन्। राजनीति र राजनीतिक पार्टी सार्वजनिक सम्पत्ति हो। गठबन्धन सरकारका मुठ्ठीभर व्यक्तिले बलजफ्ती सार्वजनिक सम्पत्तिलाई निजी कंपनी जस्तो बनाएका छन्। जो सरासर भ्रष्टाचार हो। यो जुन हतार र छटपटीका साथ गरिएको छ त्यसले नै षडयन्त्रलाई सावित गरेको छ। सबैले अहिले नै मनमा राखे हुन्छ, यो लहरो तानिएपछि पहरो अवश्य गर्जनेवाला छ। चुनावको पूर्वसन्ध्यामा नेपाली जनतालाई निरीह र बेसहारा ठानेर जे/जति गैरकानुनी, गैरसैद्धान्तिक कुकर्महरू गरिएको छ त्यसको हिसाबकिताब जनताले राखेका छन् जो निर्वाचनमा पोखिनुपर्छ। चुनावमा जनतालाई खरिदको माल बनाउने दुस्वप्न देख्नेहरूलाई जनताले नै दण्डित गर्नुपर्छ।

राजनीति सार्वजनिक संपत्ति

देशको राजनीति सार्वजनिक संपत्ति हो। राजनीतिक पार्टी पनि प्राइभेट कम्पनी होइन। निजी संपत्ति बाँडफाँट गरेझैँ हतारहतार दोषी अर्थमन्त्रीलाई उन्मुक्ति दिएर पुनः अर्थमन्त्रीमा सपथग्रहण गराइयो। त्यो सरासर अपराध हो। दोस्रो विश्वयुद्धका युद्ध अपराधी मर्ने बेलामा समेत कानुनको कठघरामा पुर्‍याइएका छन् भने हाम्रा कान्छाहरू दण्डबाट उन्मुक्त हुन्छन् भन्ने होइन। कानुनी राजमा दण्डहीनता सैह्य हुँदैन। हुन सक्दैन। दण्डहीनताले राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय जगत्मा पनि नेपाललाई कमजोर बनाउँछ।  

राजनीतिशास्त्रका एक प्राध्यापक भन्छन्, समाजसँग संबन्ध विच्छेद भएका राजनीतिक नेताले मात्र यस्ता अपराधजन्य निर्णय गर्छन्। पार्टीका नेताहरूको यही बेइमानीका कारण अहिले स्वतन्त्र उम्मेदवारहरूले चुनाव जितेका हुन्। गएको स्थानीय निर्वाचनको परिणामबाट थोरै भए पनि शिक्षा लिएका भए अहिले यस्तो जनविरोधी निर्णयहरू गर्ने थिएनन्। यसबाट स्पष्ट हुन्छ यिनीहरू सुध्रिनेवाला छैनन्। बिहान एफएम रेडियो सुनेका भए, टिभी हेरेका भए र पत्रपत्रिकाहरू मात्र पनि पढेका भए यस्तो आत्मघाती निर्णय गर्नबाट टाढा हुने थिए। जोगिने थिए। तर सत्ताउन्मादले यिनीहरूलाई अन्धो बनाएको देखियो।

ती प्राध्यापकले अगाडि भने, दक्षिण अफ्रिकामा नेल्सन मन्डेलाले आफू राष्ट्रपति भएपछि गोराहरूलाई किनारामा पार्दै धेरै कालाहरूलाई शासनसत्तामा पुर्‍याए तर अनुभवहीन कालाहरूले समाजलाई भ्रष्ट बनाए। शासनको उत्तरार्धमा राजनेता मन्डेलाले कुरो बुझे शासन चलाउन ‘इफिसिएन्सी’ ‘मेरिटोक्रेसी’ चाहिँदोरहेछ। त्यसपछि पुनः राष्ट्रपति बन्ने मागलाई म लुटको धनमा फुपूको श्राद्ध गर्दिन भनेर पन्छिए! उनी फेरि राष्ट्रपति बनेनन्।

सधैँ बिपी पिएल!

कहिलेकाहीँ योगासन गरेपछिको शवासनमा पल्टिरहँदा मनले राजनीतिमाथि विचरण गर्छ। किन साठी वर्षदेखि बिपी, पीएल, गणेशमान, मनमोहन, कृष्णप्रसादको नाम नै चर्चित भैरहेको होला? पछिल्लो नेतामा मदन भण्डारी मात्र देखापर्छन्। तीन दशकयताको हाम्रो प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रमा किन कोही सग्लो नेताको नाम लिन कठिन हुने गर्छ? लामो शून्यतापछि उत्तर निस्कन्छ– भए पो नाम लिनु! उनीहरू सिद्धान्त, आदर्श, दर्शन मूल्य र मान्यताका लागि लडेका थिए। अहिलेका नेता जस्ता सत्ताका लागि मरिहत्ते गरेका भए बिपी, पिएल राजा महेन्द्रसँग मिलेर बाँचुन्जेल शासनसत्तामा हुने थिए। तर नाम? त्यसो गरेको भए नाम त गुमनाम नै हुने थियो। बाँचुन्जेल दुःख पाए पनि शिर ठाडो गरी बाँचेका थिए। मरेको तीस चालीस वर्षपछि पनि उनीहरू नेपाली मनमा बाँचिरहेका छन्। अहिले सत्तामा बसेकाहरू त्यहाँबाट निस्किएको भोलिपल्टै भाग्नुपर्नेझैँ लुट मच्चाइरहेका छन्।  

अहिले सत्तामा जो/जो नेता छन् ती वास्तवमा पार्टीका पनि नेता रहनेवाला देखिँदैनन् किनभने उनीहरूमा सामूहिकता भन्ने नै छैन। ‘मै खाउँ मै लाउँ, सुख सयल मै गरु’ भन्ने कवि लेखनाथको कविताका पक्का अनुयायी बन्ने होडबाजीमा छन्। हाम्रा नेताहरू नमिलेकाले नै बाहिरी शक्ति, ब्यक्ति आएर नेपालको हरेक क्षेत्रमा खुलेआम हस्तक्षेप गर्दैछन्। हाम्रा नेताले राष्ट्रिय अडान लिन सक्थे तर भित्रभित्र विदेशी स्वार्थसँग ‘अन्डरस्ट्यान्डिङ’ गरेकाले आफ्नो कुरो प्रष्ट राख्न सक्दैनन्। बोल्नै सक्दैनन्। आन्तरिकरूपमा यी जति कमजोर छन्, त्यति नै बाह्यरूपमा पनि शितांग छन्। दह्रा भएका भए, आन्तरिकरूपमा पनि यी काविल देखिने थिए। आन्तरिकरूपमा जति कमजोर हुन्छन्, बाहिरबाट त्यति नै यिनलाई खेलाउनाको कारण नै यही हो।

लोकतन्त्र व्यक्तिवाद होइन  

लोकतन्त्र होस् वा गणतन्त्र, व्यक्तिवादी आधारमा फष्टाउन सक्दैन। सार्वजनिकीकरणले मात्र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कार्यमुखी बनाउँछ। व्यक्तिवादले निरंकुशतातिर लैजान्छ। नेपालमा निरंकुशता लोकतान्त्रिक भनिने शक्तिको उग्रवादी कम्युनिस्टसँगको सत्तामा टिक्ने र देश तथा जनतालाई लुट्ने अभियानअन्तर्गतको मिसनबाट सञ्चालित देखिन्छ। विचार, सिद्धान्त, आदर्शलाई तिलाञ्जली दिएर केवल सत्ता र फगत सत्तालाई केन्द्रविन्दुमा राखेर गठबन्धन गरिएको परिणाम अहिलेको अवस्था सिर्जना भएको हो। गठबन्धनका मतियारलाई केलाउने हो भने यिनमा अदेखि ज्ञसम्म मिल्ने कुनै आधार नै छैन। छेउ/टुप्पो मिल्दैन। ‘लुकिङ लन्डन, टकिङ टोकियो’ गरेर कता बढिन्छ? लुटको आयामलाई परिवारका ठेकेदार पोस्न सकिन्छ। नवराजकुमार/नवराजकुमारीलाई अगाडि बढाउन सकिन्छ। रिसोर्ट, मल, जग्गामा लगानी ओइर्‍याएर आयातमुखी अर्थतन्त्रलाई बढाउन सकिन्छ। लोकतन्त्रको नाउँमा लुटतन्त्र फैलाउन सकिन्छ। यो लुटतन्त्रको मतियार यहाँका स्वनामधन्य बुद्धिजीवी, प्रशासक, पेसाकर्मी, कलमजीवी र नयाँ पुस्ता पनि बन्ने हो भने भीरबाट खस्न लागेको गोरुलाई राम...राम... मात्र भन्न सकिन्छ। कुनै आधारबिना गठबन्धन बनाएर राज्यसत्ता कब्जामा पारिएकाले हामी अहिले लुट्न सके लुट काइला भन्ने गीत भट्याउन पर्ने अवस्थामा आइपुगेका हौँ। तर राज्यका तीनै अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका यो गीत सुन्नै चाहँदैनन्। राज्यको चौथो अंग भनिने सञ्चार क्षेत्र पनि यो गीतकै वरिपरि छ।

हरिबोधिनीसम्म मौन व्रत!

शासनमा बस्नेहरू दिनदहाडै दण्डहीनता देख्या नदेख्यै गरिरहेछन्। नागरिक समाज, बौद्धिक वर्ग, गैरसरकारी संस्थाहरू पनि मौका पाए लुट कान्छा भन्नेकै लागि खुलेका त होइनन् जस्तो भैरहेछ। अरू त अरू भैगए, समासामयिक विषयहरूबारे गीत गाएर जनताका पीरमर्का सबैले सुन्नेगरी भट्याउन अग्रपंक्तिमा रहने लुट् कान्छा लुटका सर्जक पशुपति शर्मा स्वयम् पनि चूपचाप छन्। मानौँ वर्षा सुरु भएपछि असारको हरिशयनीदेखि मंसिरको हरिबोधिनीसम्म शेषनागमा शयन गरेर महासागरमा चीर निद्रामा रहने विष्णु जस्ता छन्। चुनाव हुने मितिसम्म अर्थात मंसिरसम्मका लागि पशुपति शर्माले जनताको पीरमर्का जाहेर हुने गीत नलेख्ने र नगाउने वचन दिएर गठबन्धनका सत्ताधारीहरूलाई आश्वस्त पारिसकेका होइनन् भने अहिलेसम्म उनी जनताको मन–मनमा पुगिसक्नुपर्ने थियो। सत्ताको सन्यासोबाट च्यापिइसकेका हुन् भने यिनको मौन व्रतमा पनि अब कुनै दम बाँकी रहेन।

नागपञ्चमीका बाह्र नाग

यो आलेख नागपञ्चमीका दिन लेखिरहिएकाले बासुकीलगायत बाह्र नागको प्रसंग आइरहेको छ। पौराणिक कथाअनुसार मौन व्रत बसिरहेका ऋषि शमीक बोलेनन् भनेर सत्ताको उन्माद चढेका राजा परीक्षितले मरेको सर्प ऋषिको काँधमा राखिदिए। यो देखेर क्रुद्ध ऋषिपुत्र शृंगीले राजालाई श्राप दिए, तक्षक नागले डसेर तत्काल तँ दंभी, दुराचारी, अनाचारी र व्यभिचारी भ्रष्ट शासकको मृत्यु होस्। त्यसपछि राजा परीक्षित झसंग भए। दगल फस्यौेल सुनेर ब्युँझिएका ऋषिले श्राप दिने आफ्नै छोरो र श्राप पाउने राजालाई भने– अपराध रोक्नु, जनतामाथि अन्याय हुन नदिनु र अपराधीलाई दण्ड दिनु शासनमा रहेकाको प्रमुख कर्तव्य हो। त्यसो नगर्ने हो भने समाजमा उच्छृंखलता र उदण्डता मात्र मौलाउदैन, अन्याय/अत्याचार बढ्छ। शान्ति सुरक्षा हराउँछ। निर्दोष जनताले अनाहकमा दुःख पाउन थाल्छन्। यस्तै बेलामा मौका पर्खिरहेका छिमेकीहरूले चौका दाउ हान्न सक्छन्। एउटै नागबाट त्राहीमाम परीक्षितको अगाडि बाह्र नागको दिन लेखिएको आलेखबाट हाम्रा परीक्षितहरूलाई ज्ञान मिलोस् !

प्रकाशित: १८ श्रावण २०७९ ००:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App