२३ श्रावण २०७९ सोमबार
विचार

क्यान्सर उपचारमा पाचन ब्याक्टेरिया

पाचन प्रणाली ब्याक्टेरिया, भाइरसलगायत विभिन्न चरित्रका सूक्ष्माणुको घना बस्ती हो। पाचन नलीमा रहेका विभिन्न सूक्ष्माणुको जमातलाई ‘गट माइक्रोबायोम’ भनिन्छ। इजराइलको बाइजम्यान इन्स्टिच्युटका वैज्ञानिकहरूले प्रकाशित गरेको एक अध्ययनले हाम्रो शरीरमा मानवीय कोस (सेल) भन्दा अधिक संख्यामा बाह्य सूक्ष्माणुका कोस रहेको भन्छ। अन्वेषणले स्वस्थ मानिसको शरीरमा झन्डै आधा किलोको हाराहारीमा ब्याक्टेरिया रहेको देखायो। ब्याक्टेरिया र भाइरसको नाम सुन्दै काहालिने मानिसलाई आफ्नो शरीर खरबाैं सूक्ष्माणुको वासस्थान रहेको थाहा पाउँदा आँङै सिरिङ्ग हुनु अन्यथा होइन। पछिल्ला दशक प्रकाशित दर्जनाैँ अध्ययनहरूले माइक्रोबायोमको महत्व दर्सायो। खाना पचाउन र मानसिक स्वास्थ तन्दुरुस्त राख्न मात्र होइन, बरु प्रतिरक्षा संयन्त्र (इम्युन सिस्टम) लाई सुदृढ बनाई बाह्य संक्रमणबाट जोगाई रोग लाग्न नदिनुमा समेत आन्द्रामा रहेका ब्याक्टेरियाहरूले भूमिका खेलेको प्रमाणित भयो। माइक्रोबायोमको अध्ययन अहिलेसम्म पनि प्रारम्भिक चरणमै रहेकाले आगामी दिनमा ‘गट ब्याक्टेरिया’को महत्व सम्बन्धी थप जानकारी सार्वजनिक हुँदै जाला भन्ने आशा गरौँ। हालै ‘गट ब्याक्टेरिया’ लाई परिमार्जन गरी विगतमा निस्प्रभाव देखिएको ओखतीलाई पुनः प्रयोग गरी बिरामी क्यान्सरमुक्त हुन सफल भएको खबर छापियो। माइक्रोबायोम परिमार्जनमार्फत विज्ञानले अर्बुदरोगको इलाजमा खेलेको भूमिकाको चर्चा गर्नु यो लेखको मर्म रह्यो।

खराब तत्व शरीरमा पस्दा त्यसलाई बिनास गर्ने दायित्व प्रतिरक्षा प्रणालीको हो। विभिन्न किसिमका बाह्य विषाक्त जीवाणुको दैनिक संसर्गमा बस्दासमेत हामीलाई रोगलाग्न नदिने दायित्व इम्युन सिस्टमको हो। ब्याक्टेरिया, भाइरसलगायतका सूक्ष्माणु विनासमा प्रभावकारी देखिने प्रतिरक्षा प्रणालीका कोसहरूले क्यान्सरका सेललाई भने नास्न सक्दैनन्। अर्बुद रोगको इलाजमा ‘इम्युनोथेरापी’ एक सशक्त उपचार विधिका रूपमा स्थापित हुँदो छ। दशकौंको प्रयासका अतिरिक्त बाह्य ओखतीले क्यान्सरका कोसलाई मार्न असफल देखियो। ओखतीले क्यान्सरलाई नास्न नसक्ने भएपछि वैज्ञानिकहरू परोक्ष उपचारमा लागे, इम्युनोथेरापी प्रचलनमा आयो। यो पद्धतिमा बाह्य हस्तक्षेप (ओखती) मार्फत् रोगीको इम्युन सिस्टमलाई थप सबलीकरण गरी क्यान्सरलाई प्रहार गर्न सक्ने बनाइन्छ।  

सबै रोगीप्रति ओखतीले समान व्यवहार देखाउन नसक्नु क्यान्सर इलाजको सबैभन्दा ठूलो समस्या हो। अणुवंशिक अन्वेषणले तुलनायोग्य देखेको एउटै चरित्रका दुई अर्बुद रोगीमध्ये एउटालाई ओखतीले निको पार्ने अनि अर्को बिरामीलाई औषधीले छुँदै नछुनु क्यान्सरको सबैभन्दा ठूलो चुनौतीका रूपमा रहँदै आयो। व्यक्ति नै पिच्छे पृथक ओखती बनाएर क्यान्सरको इलाज गर्नुपर्ने अवस्थाले वैज्ञानिक अनि ओखती कम्पनीहरू तनावमा पार्नु अस्वाभाविक भएन। एकै ओखतीले क्यान्सरका धेरै रोगीलाई सन्चो पार्न सकिने आशामा धेरै अन्वेषण भए। त्यसै सम्बन्धमा इजरायली वैज्ञानिकहरूले गरेको एक अध्ययनको सकारात्मक परिणाम चर्चा योग्य देखियो। इम्युनोथेरापी विधिले क्यान्सर सन्चो पार्न सफल भएको बिरामीको मल (दिसा) अर्को त्यस्तै अर्बुद रोगीको शरीरमा प्रत्यारोपण गर्दा विगतमा निस्प्रभाव देखिएको ओखती पछिल्लो समय प्रभावकारी देखिएपछि ‘गट ब्याक्टेरिया’ सबलीकरणले अन्वेषणकर्ताको ध्यान तान्यो।  

झन्डै ५ वर्षअघि इजरायलस्थित सेवा मेडिकल सेन्टरमा मेलानोमा क्यान्सरले सताएको लेभी नाम गरेकी बिरामीलाई इम्युनोथेरापी श्रेणीमा पर्ने ‘निभोलुम्याब’ ओखतीमार्फत् इजाल गरियो। उपचारपछि क्यान्सरबाट बिरामीले मुक्ति पायो। बिरामी ‘क्यान्सर फ्रि’ भएपछि चिकित्सा विज्ञानमा खुसी छायो। मेलानोमा रोगीहरू सेवा मेडिकलमा ओइरिए, अन्यत्र पनि स्थापित संहितामार्फत् रोगीको इलाज गरियो। दुर्भाग्य निभोलुम्याबले धेरै बिरामीलाई काम गरेन, ओखती निस्प्रभाव देखियो। प्रारम्भिक इलाजमा संलग्न चिकित्सक टोली थप अन्वेषणमा लाग्यो। लेभीलाई ठीक पार्ने ओखतीले अन्यलाई किन सन्चो पारेन भनी बहुआयामिक अन्वेषण गरे उनीहरूले। आणुवंशिक बनोट समान भएका बिरामीमा समेत ड्रग्सले काम नगरेपछि लेभी र अन्य रोगीका विषम चरित्रको अध्ययन भयो। रिसर्चका क्रममा ओखतीले सकारात्मक नतिजा देखाएको बिरामी र अन्यको ‘माइक्रोबायोम’ को बनोट पृथक देखियो। अन्य बिरामीको माइक्रोबायोमको बनोट परिवर्तन गरी ओखतीले प्रभावकारिता देखिएको बिरामीका जस्तै बनाउन सके निभोलुम्याबले काम गथ्र्यो कि भन्ने सोच पलायो।  

‘गट ब्याक्टेरिया’ परिमार्जनको सबैभन्दा छिटो र छरितो विधि भनेको एक व्यक्तिको मल अर्को मानिसमा प्रत्यारोण हुने भएकाले त्यसै गर्ने निचोडमा पुगे अनुसन्धानकर्ताहरू। त्यस्तो संहितामार्फत् समान चरित्रको माइक्रोबायोम बनाउन सकिने भएकाले चिकित्सकहरू उक्त सहमतिमा पुगे। सेवा मेडिकल सेन्टरमा लेभीको मललाई प्रशोधन गरी अन्य मेलानोमाका बिरामीको पाचन प्रणालीमा प्रत्यारोपण गरियो। सबै रोगीको माइक्रोबायोम तुलनायोग्य भएको एकिन गरिएपछि बिरामीहरूलाई पुनः निभोलुम्याब ओखती दिइयो। पछि बिरामीको अवस्था जाँच गर्दा विगतमा निस्प्रभाव देखिएको ओखतीले माइक्रोबायोम परिमार्जनपछि सुखद् परिणाम दियो, रोगी क्यान्सरमुक्त भए। एक व्यक्तिको दिसा अर्को व्यक्तिमा प्रत्यारोपण गरी माइक्रोबायोम परिमार्जन गरी क्यान्सर निको पारेको उक्त घटना प्रथम भएकाले धेरै चर्चा पायो। मानव मल प्रत्यारोपण गरी इम्युनोथेरापी विधिमार्फत् अर्बुद रोगीको सफलतापूर्वक इलाज गर्न विज्ञान सफल भएको उक्त घटना गत वर्ष जर्नल साइन्समा छापियो। प्रत्यारोपण गरिएका सबै रोगीमा इम्युनोथेरापीले समान काम नगरे पनि माइक्रोबायोमको बनोट व्यक्तिको स्वास्थ र प्रभावकारी इलाजमा कति महत्वपूर्ण छ भन्ने सन्देश दिन सफल भए अध्ययनहरू। अध्ययनको सफलतापछि अहिले त्यस्तै प्रकृतिका झन्डै ३ दर्जन क्लिनिकल ट्रायल सञ्चालनमा रहेको देखियो। मुसाको ‘गट माइक्रोबायोम’ परिवर्तन गरी इम्युनोथेरापीले रोगको इलाजमा पार्ने असर अध्ययन गरेका युनिभर्सिटी अफ सिकागोका प्राध्यापक टमस गेजोस्की भने इजरायलको उक्त नतिजाप्रति उत्साहित मात्र छैनन्, बरु माइक्रोबायोम परिवर्तनमार्फत् स्वास्थ जीवन जिउने समय आएको भन्छन्।  

अमेरिकाको टेक्ससस्थित एम. डि. एन्डर्सन क्यान्सर सेन्टरका क्यान्सर विज्ञ जेनिफर वार्गो हजारौंप्रजातिका सूक्ष्माणुको बासस्थानको रूपमा रहेको मानवीय माइक्रोबायोमको संरचना क्लिष्ट मात्र छैन। त्यहाँ खराब र असल दुवै चरित्रका किटाणुहरू हुन सक्छन् भन्छन्। कुनै सूक्ष्माणु क्यान्सरलाई परास्त पार्न मद्दत गर्ने चरित्रका होलान् भने कुनै अर्बुद रोगको कारक पनि हुन सक्छन्। तसर्थ, असल र बिषाक्त माइक्रोबायोमको वर्गीकरण गर्न आवश्यक देखियो भन्छन् डा. बार्गो। हजारौंसूक्ष्माणुले बनेको माइक्रोबायोममा असल सूक्ष्माणुको छनोट र परीक्षणका लागि वर्षैको अनुसन्धान आवश्यक पर्ने भएकाले तत्कालका लागि उपलब्ध स्रोत र साधनको उपभोग सान्दर्भिक देखियो।  

विभिन्न अध्ययनले माइक्रोबायोमको बनोट र पेटको रोग तथा मानसिक समस्याका बीच अन्र्तसम्बन्ध स्थापित गरेका छन्। अनि क्यान्सरको भौगोलिक वितरण हेर्दा गाउँको तुलनामा सहरका बासिन्दामा अर्बुद रोले बढी गाँजेको देखिन्छ। सहरका बासिन्दाले प्रशोधित खान्की अत्यधिक सेवन गर्छन् भने स्थानीय उत्पादनको प्रयोग दुर्गमका बासिन्दाको बाध्यता बन्छ। कोक–पेप्सी, पिज्जा, चाउचाउ र चिप्सजस्ता प्रसोधित खान्की खाने सहरका बासिन्दा भन्दा स्थानीय उत्पादन उपभोग गर्ने गाउँलेको ‘माइक्रोबायोम’ को बनोट निकै पृथक देखिन्छ।  

अब प्रश्न उठ्छ, के कस्तो खान्कीले राम्रो गट ब्याक्टेरिया बनाउन मद्दत गर्छ त? व्यक्तिले खाने भोजनले हजारौंकिसिमका ब्याक्टेरियालगायतका विभिन्न सूक्ष्माणुले बनेको माइक्रोबायोमको बनोटलाई निर्देशित गर्छ। पेप्सी र कोक खाने व्यक्तिको माइक्रोबायोम दही–मोइ खाने व्यक्तिको भन्दा फरक हुन्छ। प्रशोधित खानेकुरा खाने र स्थानीय उत्पादन सेवन गर्ने समूहको गट ब्याक्टेरियाको चरित्र फरक हुन्छ।  

चिनियाँ अन्वेषण टोलीले खान्कीको ढाँचा, रोगको वितरण र माइक्रोबायोमको बनोटको अध्ययन गरी नतिजा सार्वजनिक गरे। चिप्स, पिज्जा, चाउचाउ, बर्गरजस्तो प्रशोधित खान्की खाने व्यक्तिको गट ब्याक्टेरियाको बनोट कमसल हुनुका अतिरिक्त उनीहरूलाई क्यान्सरलगायतका विभिन्न रोगले सताएको देखियो। त्यस्तै अनुसन्धानकर्ताहरूले स्थानीय उत्पादनलाई यथास्थितिमा सेवन गर्ने समुदायमा पाचनप्रणालीमा पाइने सूक्ष्माणु अब्बल दर्जाको पाए भने तुलनात्मक रूपले उनीहरूमा रोगको प्रकोप कम देखियो। त्यस्तै, एउटा फरक अध्ययनले दही, गुन्द्रुक, सिन्की, पाग्लाङ जस्ता ‘फर्मन्टेसन’ गरिएका खान्कीको सेवनले गट ब्याक्टेरियालाई सकारात्मक प्रभाव पारेको देखियो अनि उनीहरूमा रोगको प्रकोप पनि कम देखियो।  

अध्ययनहरूले गट ब्याक्टेरियाको बनोटले व्यक्तिमा लाग्ने अल्पकालीन र दीर्घकालीन रोगलाई मात्र निर्देशित गरेको देखिएन, बरु ओखतीको प्रभाकारितामा समेत भूमिका खेलेको पाइयो। सबल माइक्रोबायोम बनाउन सके धेरै किसिमका शारीरिक समस्याबाट छुटकारा पाउन सकिने भयो। कोक, चाउचाउ, पिज्जाजस्ता प्रशोधित खान्कीले माइक्रोबायोमको स्तर घटाउने अनि दहीमोही, गुन्द्रुक, सिन्कीजस्ता उत्पादनले गट ब्याक्टेरियको सबलीकरणमा मद्दत गर्ने भएकाले खान्कीको ढाँचा परिवर्तन गर्न आवश्यक देखियो। कोक, पिज्जा र चाउचाउ सेवनको बदला दहीको लस्सी, च्युरा र रोटीजस्ता खानामा बानी बसाल्न सके आर्थिक मितव्ययिताका अतिरिक्त स्वस्थ जीवन व्यतितमा मद्दत पुग्थ्यो। स्थानीय उत्पादनको हाइहाई तथा बाह्य खान्कीलाई बाइबाई गर्न सके धेरै रोगबाट बच्न सकिन्छ भन्ने यथार्थ समयमै स्मरण गरौँ।  

प्रकाशित: १० श्रावण २०७९ ०६:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App