coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

महिला स्वाभिमानमा पुरुषको बलियो काँध

चार वर्षको छोराको बर्थ डे मनाउन दाइ–भाउजू जुटिरहेका थिए। दाइ रमाइलो गर्दै भान्सामा स्वादिष्ट परिकार पकाउने काममा व्यस्त थिए। भाउजू घरको सरसफाइ, शृङ्गार, आउने पाहुना एवम् आफन्तको स्वागतको तयारीमाजुटिरहेकी थिइन्। छोराको बर्थ डेलाई अविस्मणिय बनाउन दाइभाउजू दुवै लागिपरेका थिए। यो दृश्य सकारात्मक देखिन्थ्यो। हुन त अहिले यस्ता दृश्यहरू धैरैको घरमा देख्न पाइन्छ। कुनै समय पुरुषले घरको झुठो थालसम्म पनि उठाउन हुन्न भन्ने समाजको जुन मानसिकता थियो, आज बिस्तारै यो सोच हराउँदै गइरहेको छ। नारी–पुरुष बराबर हुन्, दुवै एक अर्कामा मिलेर काम गर्नुपर्छ अब भन्ने सोच धेरैमा परिवर्तन भइरहेको छ।  

आज धैरैपुरूषले आफू मात्र अघि बढ्ने होइन कि सँगै श्रीमती पे्रमीहरूलाई पनि अघि बढाइरहेका छन्। शिक्षामा होस्, काममा होस्, हरेक ठाउँमा सहयोगी सहयात्री बनिरहेका छन्।

श्रीमतीलाई काममा सघाउने मात्र होइन, कार्यालय पुर्‍याउने, ल्याउने, श्रीमती ढिला हुँदा बच्चा हेर्ने, खुवाउने, बच्चालाई घुमाउन लैजानेसम्म गर्ने गरेर साथ दिइरहेका छन्। घरभित्र धैरैपुरूषहरू महिलालाई बुुझ्ने भएका छन्। उनको कामको प्रशंसा गर्ने, हौसला बढाउने, काम गर्न ऊर्जा थप्ने गरेका छन्।

कुनै बेला घरकी श्रीमती कहिले घरभित्र छिर्छे र भात खान पाइन्छ भनेर खैनी माडेर बस्नेपुरूषहरू, गफ हाँकेर चर्काचर्की गर्ने पुरुषहरूका माँझ पनि आज नारीपुरूष एकै हौं भन्ने सोच आइरहेको छ घरभित्रबाट नै। पुरूषले घरबाट सुरु गरेको यो अभियानले समाज परिवर्तनका लागि निकै सहयोग गरिरहेको छ। कुनै समय पुरुषले घरधन्दा गर्नु हुँदैन, जुठो भाँडा उठाउन हुँदैन, थालैमा चुठ्नुपर्छ, पहिले पुरुषले नै खानुपर्छ अनि त्यही जुठो थालमा महिलाले खानुपर्छ भन्ने पुरानो र आडम्बरी सोचमा अडेको समाज अहिले प्ररिवर्तन भइरहेको छ।  

समय बदलियो, समाज बदलियो तर मन बदलिएन । उही नरपशुरूपी रुढीवादी परम्परा बन्द हुन सकेन । महिलाको कामलाई दाग लगाउने, लाञ्छना लगाउने, महिलामाथि ठेस लगाउने र कमजोर बनाउने सोचले नै बलियो जरा गाड्यो । जसलाई उखेलेर फाल्न गाह्रो छ ।

यो सोचलाई धेरै पुरुषहरूले सकारात्मक रूपमा परिवर्तन गरिरहेका छन्। हामीले धेरैको घरमा देख्न सक्छौं, पुरानो सोच र मानसिकता धैरै कम भइसकेको छ अहिले। महिला–पुरुष एक अर्काका पूरक बनेका छन्, सहयोगी र हितेषी बन्दै गइरहेका छन्। एक अर्कोमा दोष देखाउनेभन्दा पनि एकअर्कालाई सम्मानको भाव राख्ने बलियो मित्रता बनिरहेको छ। दुवैजना एक अर्काका सहयोगी बनिरहेका छन्।  

कामका बेला श्रीमती ढिला आउँदा शङ्का गर्ने, हेप्ने, दुःख दिने, श्रीमती या घरका आइमाईहरूलाई घरबाहिर काम गर्न बन्देज गराइने, महिलाहरूलाई घरभित्रै राखेर तँ घरको नोकर होस्, तैंले घरमा बसेर चुलो–चौको मात्र गर्नुपर्छ, लोग्नेलाई सन्तुष्ट बनाउनुपर्छ भन्ने मानसिकता भएको समाजले धैरै महिलाहरूमाथि दमन र शोषण गरेर राख्यो। धेरे पुरूषले आफ्नो बलको नाजायज फाइदा उठाउँदा र शङ्का गर्दा धेरैले घरबार गुमाउन पुगेका  थिए। नबुझी हतारमा गरेको निर्णयले फुर्सदमा पछुुुताउने धैरै छन्। यो अवस्थालाई हेर्दा आज जुन पुरुषहरूले यस्ता सकारात्मक सोच बनाएर सँगै हिँडेका छन्, उनीहरूले गरेको यो कदमलाई भने मान्नैपर्छ।  

आजको समाज बिस्तारै विकसित बन्दै गइरहेको छ। नारीको पनि आफ्नो पहिचान छ है भन्ने कुराको ज्ञान घरकै श्रीमान्, बुबा, दाइभाइले सुरुवात गरिसकेका छन्। यसैबीचमा महिलाहरूले पनि आफ्नो क्षमता देखाइरहेका छन्।

सरकारी कार्यालयमा काम गर्ने निता तिवारी भन्छिन्, ‘विवाहपछि नै मैले पढाइ पूरा गरेको हुँ। श्रीमान्को सहयोग र साथ नहुने थियो भने मैले पढेर लोक सेवा पास गर्न सम्भव नै थिएन। आज सरकारी सेवामा उच्च ओहोदामा काम गर्ने अवसर मेरो श्रीमान्बाट नै प्राप्त भएकोभन्दा पनि हुन्छ। उहाँले मलाई कामका साथै पढ्ने वातावरण सहज बनाइदिनु भएको थियो। माइती घरमा आमाले पढ्नुभन्दा घरको काममा नै छोरीले सिक्नुपर्छ भन्ने सामाजिक वन्दना थियो ममा। पढाइभन्दा पनि आमाले अरू काममा मलाई व्यस्त बनाउनुहुन्थ्यो।’

आज महिलालाई हेर्ने दृष्टिकोणमा जुन सामाजिक असमाञ्जस्य छ, त्यो बिस्तारै हराउँदै गइरहेको छ। यसमा धैरै श्रीमान्ले साथ दिएका छन्। खुसी लाग्छ। यस्ता श्रीमान्हरूका कारण धेरैले आफ्नो पंख फिँजाउन पाएका छन्। आज धेरैले भनेको सुनिन्छ कि म कलेज गएको थिएँ, अफिसमै श्रीमान्ले खाना ल्याइदिनुभयो, बिहानको मेरो डिउटी थियो, श्रीमान्ले खाना छोडिदिनुभयो। बिहान श्रीमान्ले गरिदिनुभयो, साँझको काम म गर्छु। श्रीमान्को सहयोगले मैले घर र कार्यालय दुवैलाई राम्ररी समाल्दै आइरहेकी छु। श्रीमान्ले सहयोग नगरेको भए म कसरी भ्याउँथें। मुस्कान छोड्दै भन्छन्।

आज घरभित्र दिनदिनै महिलाप्रति भइरहेको घरेलु हिंसा, अत्याचार, बलात्कार बढिरहेको छ। यहाँसम्म कि आफ्नै लोग्नेले तेजाब हालेर जलाउने, तिरस्कृत पे्रमीले यौनीमा कोदालोको बिड हालेर यातना दिने, भोकै राख्ने, नाङ्गै बनाउने, पिसाब खुवाउने, बोक्सी भन्ने, डाक्टरजस्तो शिक्षित व्यक्तिले आफ्नी श्रीमतीलाई घरेलु हिंसा गर्ने, यातना दिने, यस्ता घटनाहरूले समाज धमिल्याइरहेका छन्। घरबाट बाहिर निस्कँदा हिंसा गर्छन् कि भन्ने डरले त्रसित जिन्दगी बाचिँरहेका महिलाहरूले यस्ता सहयोगीपुरूषहरूको साथ र सहयोगले धैरै महिलाहरूले आफ्नो क्षमता प्रदर्शन गर्ने मौका पाएका छन्। यसका उदाहरणहरू धेरै छन्।  

विवाहअगाडि गर्न नपाएका कामहरू श्रीमान्को सहयोगले पढ्न पाएको छु। श्रीमान्को सहयोगले काम गर्न पाएको छु भन्ने महिलाहरू धैरै छन् र खुसी पनि छन्।  

सिर्जना शर्मा पेसाले नर्स छिन्। उनका श्रीमान् शिक्षक छन्। तीन वर्षको छोरो पनि छ। नर्स पेसा कहिले नाइट, कहिले डेको डिउटी पनि भएकाले बच्चालाई श्रीमान्ले केयर गरिदिनुहुन्छ। ‘मैले कामलाई फोकस गर्ने मौका पाएकी छु र पढाइ पनि अघि लगिरहेको छु। श्रीमान् पनि पढ्दै हुनुहुन्छ। हामी मिलेर काम गरिरहेका छौं। धैरैले सानो बच्चा छ, काम छोड भन्नुहुन्छ तर श्रीमान् काम गर भन्नुहुन्छ। मास्टर पनि गर भन्नुहुन्छ,’ उनी भन्छिन्।

धेरै महिलाहरूका कारण पुरुषहरू बरबाद भएका छन् भने कति पुरुषहरूका कारण महिलाहरू बदनाम नभएका होइनन् तर धेरै यस्ता महिला–पुरूषहरू पनि छन् कि एकअर्काको हितैषी बनेर जीवनका यात्राहरू अगि बढाइरहेका छन्।  

जुनप्रकारले महिलाप्रति गरिने घरेलु हिंसा, सामाजिक हिंसा, यौन हिंसा प्रथाको आड लिएर महिलालाई गरिने मानसिक तनावले भित्रभित्रै जरो गाडिरहेको छ। समय बदलियो तर सोचमा उही रुढीवादी र अन्धकार हाम्रो समाजभित्र अझै पनि छ। आज दुुईचार घर बदलिए, अरू ज्युँका त्युँ छन्।  

आफ्नी श्रीमतीलाई सहयोग गर्दा ‘ए बुढीलाई कति सुख दिएको होला। मरिमरि काम गरिरहेको छ। आइमाईजस्तै फुसर्द नै छैन। हेर बिचरालाई’ भन्दै समाजको आलोचना खेप्ने पुरुषहरू धैरै छन्। हेर आइमाईलाई चाहिँ काममा पठाएर आफूचाहिँ जुठो भाँडा माँझेको भन्दै खिल्ला उडाउनेहरू पनि धेरै छन्। यस्ता पुरुषलाई नामर्द भन्ने हो भने दिनरात सधंै घरबाट बाहिर मोजमस्ती गर्ने, साथीभाइसँग रमाइलो गर्ने, श्रीमती र बालबच्चा बिरामी पर्दा वास्ता नगर्ने महिलालाई महिलाको दर्जा नदिई निच देखाएर हेप्ने पुरूषलाई के भन्ने ?

शारीरिक सम्बन्ध राख्न नदिएको झोंकमा कोदालोको बिंड यौनीमा हालेर यातना दिने पुरुष हाम्रा समाजका योग्य पुरुष हुन् त ?  प्रेममा असफल भएपछि तेजाव हालेर महिलालाई पीडा दिने पुरुष योग्य हुन् त हाम्रो समाजका ? दाइजो नल्याएको भन्दै शारीरिक र मानसिक यातना दिनेपुरूषलाई वाहवाह ! भनेर ताली बजाउनुपर्ने रे। अचम्मको समाज छ हाम्रो।  

जुनै समयमा नारीलाई बास्ना, खेलौनाका रूपमा हेरियो, आज पनि त्यो कायम नै छ। समय बदलियो तर पनि महिलामाथिको आतङ्क कम हुन सकेन। महिलालाई उही पुुरानो इतिहास, दाइजो काण्ड, हिंसा, बलात्कार, तिरस्कृत खेलौना र बासना, लोभ, ऐसआरामकै माध्यमका रूपमा लिइयो।

समय बदलियो, समाज बदलियो तर मन बदलिएन। उही नरपशुरूपी रुढीवादी परम्परा बन्द हुन सकेन। महिलाको कामलाई दाग लगाउने, लाञ्छना लगाउने, महिलामाथि ठेस लगाउने र कमजोर बनाउने सोचले नै बलियो जरा गाड्यो। जसलाई उखेलेर फाल्न गाह्रो छ। तर पनि यस्ता कुरीतिलाई त्यान्द्रात्यान्द्रा पारी बिस्तारै महिलालाई सबल र सक्षम बनाउने काममा लागेकापुरूषको अग्रसरतालाई भने मान्नैपर्छ। घरबाट सुरु भइरहेका यस्ता सकारात्मक कार्यले महिलाहरूलाई आत्मविश्वास र चुनौतीको भार थपिदिएको छ । 

प्रकाशित: ३२ असार २०७९ ०४:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App